भारत–पाकिस्तानबीच बढ्ने युद्ध–तनावलाई अन्त्य गर्न भूमिका खेलेको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टाइन युद्धमा भने सोही भूमिका पूरा गर्न चाहेनन् । मध्यपूर्वमा जारी युद्धमा अमेरिकाको भूमिका स्पष्ट पार्दै शनिबार इरानको फोर्दो, नतान्ज र इस्फहानस्थित आणविक केन्द्रमा हमला गरेको छ ।
‘इरान अब पनि शान्ति वार्तामा नआए वा प्रत्याक्रमण गर्ने भूल गरेमा अहिलेसम्म नदेखेको त्रासदी भोग्नुपर्ने’ चेतावनी ट्रम्पले दिएका छन् । झन्डै दुई वर्षअघि इजरायल र प्यालेस्टाइनको लडाकु समूह हमासबीच सुरु भएको युद्ध लेबनानको लडाकु समूह हेजबुल्लाह र यमनको विद्रोही हुथी हुँदै इरानसम्म विस्तार भएको हो । अब शक्तिशाली अमेरिका नै होमिएपछि मध्यपूर्वको तनाव बहुआयामिक भएको छ । एउटा समयमा युद्धले विश्राम लिनेछ तर त्यतिन्जेल कति मानव जीवनको क्षति हुने हो भन्ने विषय अन्योलमा छ ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलका निहत्था सर्वसाधारणमाथि आक्रमण गरेपछि प्रत्याक्रमणस्वरूप इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा हमला सुरु गरेको हो । हमासको ‘सर्वनाश’ भनेर सुरु गरिएको यो हमलामा अहिलेसम्म करिब ६० हजारको ज्यान गएको छ, त्यसमा १७ हजारभन्दा बढी बालबालिका छन् । हमासको समूल विनाश भयो कि भएन भन्ने आकलन भविष्यमा मात्र गर्न सकिनेछ तर गाजामा मानव जातिकै विनाश भएको विषय भने अहिले नै प्रस्ट छ । सीमित समूहको सफाया गर्ने भन्दै इजरायलले गरेको हमलामा असीमित निहत्था सर्वसाधारणको ज्यान गएको छ । त्यस्तै आत्मरक्षाकै लागि भने इजरायलले हेजबुल्लाह र हुथीलाई लक्षित गर्दै लेबनान, यमनतर्फ आक्रमण गर्दै आएको छ । इजरायलले क्षेप्यास्त्र मात्र होइन, पेजर र वाकीटकी विस्फोट गराएर पनि क्षति बढाउँदै लगेको छ । यसरी युद्धको दायरा मात्र होइन, मानवीय र भौतिक क्षतिको आँकडा पनि फैलँदो छ ।
इजरायलले इरानमा तख्तापलटलाई आफ्नो अभीष्ट भनेको छ । हो, इरानमा धर्मगुरुको तजबिजमा चल्ने अधिनायकवादी सत्ता छ । खासगरी इस्लामिक क्रान्तिसँगै सत्तामा आएका आयतोल्लाह खोमेनीले यस्तो ‘थियोक्रेटिक’ तानाशाही सत्ता चलाएका छन् जसमा लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार, धार्मिक स्वतन्त्रता र राजनीतिक बहसका लागि किञ्चित् पनि ठाउँ छैन । अझ महिलाका सारा आकांक्षा र अधिकारलाई संकुचित गरिएको छ । अधिकार खोज्ने महिलालाई कसरी दण्डित गरिन्छ भन्ने त हिजाब लगाउन अस्वीकार गरेको आरोपमा अमिनीमाथि गरिएको अत्याचार र हत्याको उदाहरणले नै प्रस्ट पार्छ । इरानी जनता निसासिएका छन् भन्ने बेला–बेलामा प्रकट भएका घटनाक्रमले नै पुष्टि गरेको छ । कुनै पनि दमनकारी सत्ताको पतन जनताकै जागरणबाट सम्भव हुने हो । तर, इरानी जनताको वैधानिक र सार्वभौम अधिकारभन्दा अघि बढेर अर्को कुनै देशले सैन्य हस्तक्षेपबाट तख्तापलट गर्ने अभ्यास विगतमा पनि अस्वीकार्य थियो, इरानमा त्यही दिन दोहोर्याउने इजरायलको योजना पनि अन्तर्राष्ट्रिय स्थापित मान्यताविपरीत छ । त्यस्तो प्रयास सफल हुन्छ कि हुँदैन, दोस्रो प्रश्न हो । तर, त्यस्ता अभ्यासले तत्कालका लागि सफलता दिए पनि दीर्घकालका लागि घातक भएका छन् भन्ने उदाहरण फेरि इराक र अफगानिस्तान हुन् ।
अमेरिकाले उपलब्ध गराएका प्रविधि र सामग्रीले इजरायलको लडाइँ थप सहज हुँदै आएको पनि थियो । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लगातार दुई वर्षदेखि तान्दा, फकाउँदा पनि अमेरिकाले आफ्नो भूमिका पृष्ठपोषणमा सीमित राखेको थियो । किनकि शक्तिशाली देश अमेरिका व्यापार र भूराजनीतिका अनेकौं मोर्चामा छ । फेरि युद्धमा प्रवेश गर्न जति सहज हुने गरेको छ, बाहिरिने प्रक्रिया भने उति नै जटिल भन्ने शक्तिशाली देशहरूलाई थाहा छ । अफगानिस्तानबाट सोभियत संघको र भियतनामबाट अमेरिकाको फिर्ती जटिल बनेको विषय इतिहासको कठोर सत्य हो । अझ एक सातामै समेटिने विश्लेषण गरिएको युक्रेनले तीन वर्षभन्दा बढी समयदेखि रुसलाई थकाइरहेको छ । त्यस्तै, २००१ मा अफगानिस्तान र २००३ मा इराक पसेको अमेरिकाले त्यहाँ के उपलब्धि प्राप्त गर्यो भन्ने प्रश्नको सन्तोषजनक उत्तर छैन । इराकले आम विनाशका हतियार बनाइरहेको दाबी गर्दै अमेरिकी नेतृत्वमा आक्रमण भयो । इराक कब्जा भयो । हुसेन पक्राउ परे र उनलाई फाँसी दिइयो । तर, अमेरिकाले दाबी गरेजस्तो आम विनाशका हतियार इराकमा भेटिएनन्, बरु २२ वर्षपछि पनि इराक अस्तव्यस्त छ । त्यस्तै अफगानिस्तान पसेको २० वर्षपछि फेरि तालिवानलाई सत्ता सुम्पिएर अमेरिका बाहिरिएको हो । यी सबैजसो युद्धमा अमेरिकाको ठूलो सैन्य र आर्थिक क्षति भएको छ ।
अमेरिकाले रक्षा बजेटमा जति खर्च गर्नुपरेको छ, त्यो असाधारण छ । आज पनि विश्वका कैयौं देशका सयौं स्थानमा अमेरिकाको सैनिक अड्डा छन् । पश्चिम एसियाका जोर्डन, टर्की, इराक, कुवेत, इजिप्ट, लेबनान, सिरिया र इजरायल, युरोपका इटाली, जर्मनी, पोल्यान्ड र बेल्जियम, पूर्वी युरोपका बोस्निया हर्जगोभिना, कोसोभो, बुल्गेरिया, लिथुआनिया, रोमानिया, पूर्वी एसियाका जापान, दक्षिण कोरिया तथा अफ्रिकाको क्यामरुनलगायतका देशमा अमेरिकी सैनिक शिविर छन् । यस्तो उपस्थितिले उसको विश्वव्यापी प्रभाव, पकड, पहुँच, निगरानी र शक्ति अभ्यासकालाई निःसन्देह बलियो बनाएको छ । जुनसुकै देशका जुनसुकै स्थानमा जतिसुकै बेला प्रहार गर्न सक्ने क्षमता हुनु एउटा पक्ष हो तर त्यही कारण विश्वका कमजोर देशहरू त्रासमा बसिरहे भने त्यसबाट सिर्जित शान्ति भने दमनमा आधारित हुन्छ । हामीले खोजेको शान्ति पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्छ । अमेरिका, रुस, चीन, भारत वा अन्य कुनै पनि शक्ति राष्ट्रले महसुस गर्नुपर्ने विषय यही हो ।
