हरेकजसो मध्यबर्खामा सडक भासिने, सडकमै पहिरो खस्ने, पुल भत्किने जस्ता कारणले यात्रा असहज हुने र दुर्घटना निम्तिने गरेको छ । यस पटक भने मनसुन भित्रिएको प्रारम्भिक हप्तामै दुर्घटना भइरहेका छन्, सडक अवरुद्ध हुन थालेका छन् । खासगरी स्तरोन्नति भइरहेका सडक खण्डमा यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।
६ वर्षयता स्तरोन्नतिको काम भइरहेको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा मंगलबारदेखि नै सवारी आवागमन आंशिक रूपमा मात्रै सञ्चालन भइरहेको छ, अझ बिहीबार राति दुम्किबासमा रहेको विनयी खोलाको डाइभर्सन बाढीले बगाएको छ । यसबाट सवारी आवागमन तत्काललाई ठप्प हुन पुग्यो । मालवाहक र ठूला यात्रुवाहक सवारीसाधन खोला वारि–पारि अड्किए, साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्नुपर्यो ।
मुख्यतः हजारौं यात्रु त्रासपूर्ण परिस्थितिमा जाममा परे । बर्खाको दर बढ्दै जाँदा अन्यत्रका सडकमा पनि यस्तै अवस्था दोहोरिने जोखिम छ । त्यसैले सडकको बिग्रिँदो अवस्थाका कारण नागरिकले हैरानी भोग्नु नपरोस् वा दुर्घटनामा पर्नु नपरोस् भन्ने उद्देश्यसहित सरकारले पूर्वतयारीका साथ काम गर्न आवश्यक छ । विनयी खोलाले दिएको चेतावनी र मागको सतर्कतालाई महसुस गर्नुपर्छ ।
नारायणगढ–बुटवल सडक खण्ड स्तरोन्नतिको काम सुरु भएयताका ६ वर्ष यो रूटको यात्रा कष्टकर हुँदै आएको छ । मुख्यतः दाउन्ने क्षेत्रमा हिउँदयामको धूलो र बर्खायामको हिलोका कारण जाम हुने र यात्रु घण्टौंसम्म बन्धक जस्तो बन्ने गरेका छन् । कहिले गाडी फसेका कारण, कहिले निर्माणका काम भएका कारण ३०/४० घण्टासम्म जाम हुने गरेको छ, यात्रुको जीवन दाउमा लाग्ने गरेको छ । बिहीबार राति विनयी खोलाको डाइभर्सन बगाएपछि खोलाबाट पार हुन खोज्दा भे१ख ४०८५ नम्बरको बस नै भेलमा फसेको थियो ।
करिब आधा घण्टापछि एक्स्काभेटरसहित आएका सुरक्षाकर्मी र स्थानीयले यात्रुको उद्धार गरेका थिए । यहाँको डाइभर्सन आठ पटक बनाइसकिएको छ । बारम्बार डाइभर्सनसँगै सार्वजनिक लगानी बगिरहेको छ । असार २२ देखि त्यहाँ निर्माण गरिएको पक्की पुल सञ्चालनमा आउने बताइएको छ । तर दाउन्ने सडक खण्डका कैयौं स्थानमा एकतर्फी गाडी चल्ने भएकाले जाम र अन्य दुर्घटनाको जोखिम भने तत्काल कम हुने छैन ।
जाम वा जोखिम दाउन्ने सडक खण्डमा मात्रै सीमित छैन । बर्खायाममा चुरे, महाभारत वा पहाडी क्षेत्रका सडकमा समस्या आउने गरेको छ । हामीकहाँ देशभर नै कमजोर भूगोलमा पर्याप्त सुरक्षा मापदण्डबिना नै बनाइएका सडक छन् । कतिपय ठाउँमा त वातावरणीय प्रभाव मूल्यांकन तथा इन्जिनियरिङ सर्भेसमेत नगरी सडक खनिएको पाइन्छ । त्यसैले पनि जोखिम सधैं हुने गर्छ । झन् गत वर्ष असोजमा आएको बर्खा र त्यसले निम्त्याएको बाढी र पहिरोले धेरै सडकको अवस्था खलबलिएको छ । यस वर्षको मनसुनमा साबिकभन्दा बढी पानी पर्ने प्रक्षेपण भइरहेका छन् ।
तर तुलनात्मक रूपमा सवारीसाधनको बढी चाप रहने राजधानी जोड्ने मुख्य सडककै समेत पुनर्निर्माण सन्तोषजनक छैन । पूर्वी नेपाल जोड्ने बीपी राजमार्गमा अहिले पनि खोलामा बनाइएको अस्थायी बाटोबाट सवारीसाधन वारपार गरिरहेका छन् । त्यसैले सरकारले पुनर्निर्माण र मर्मतसम्भारलाई प्राथमिकतामा राख्नुपर्छ । यसलाई नियमित प्रक्रिया बनाउनुपर्छ । यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय बढाउनुपर्छ । आवश्यकताअनुसार उद्धारका काममा जुट्न आवश्यक संरचना र संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्छ । विपद् कोषमा जम्मा भएको बजेट खर्च गरिनुपर्छ । समय पूरा भइसकेका आयोजनाको यथाशीघ्र गुणस्तरीय ढंगले सम्पन्न गराउन पहल गर्नुपर्छ ।
सडक जुनसुकै बेला अवरुद्ध हुन सक्छ, जोखिम जहाँसुकै आइपर्न सक्छ । त्यसैले सबै पक्षको होसियारी आवश्यक छ । सरकार आबद्ध संस्था र संयन्त्रले सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्छ । जोखिमको पूर्वजानकारी दिने, सम्भावित क्षेत्रमा सवारीसाधन आवतजावतका लागि निरुत्साहित गर्ने, सुरक्षित होल्डिङ सेन्टर बनाउने जस्ता तयारी गर्नुपर्छ । यात्रुले पनि मौसम र सडकको अवस्थाको पूर्ण जानकारी लिएर मात्रै यात्रा गर्ने बानी बसाल्नुपर्छ ।
साथसाथै, सवारी चालकले पनि अनावश्यक जोखिम मोल्न अग्रसर हुनु हुँदैन । चालकलाई जोखिमरहित ढंगले सवारी गुडाउन सरकारदेखि यातायात सम्बद्ध संस्थाले निरुत्साहित गर्नुपर्छ । संयम अपनाउने सवालमा प्रशिक्षित गर्नुपर्छ । यातायात क्षेत्रमा प्रतिस्पर्धा सुरक्षित र सुविधाजनक यात्राका लागि हुन आवश्यक छ । तुलनात्मक रूपमा संसारभर नै हवाई यात्रा सुरक्षित हुनुको मुख्य कारण मापदण्डको प्रस्ट व्याख्या र कडाइपूर्वक पालना नै हो । सडक यात्रामा पनि व्यावहारिक मापदण्डको निर्माण र अवलम्बन हुन आवश्यक छ ।
