युद्ध शृंखला र कानुनहीन संसार

राज्यहरूको सम्बन्ध र आचरणलाई नियन्त्रण गर्ने नियमको विकल्प धम्की र युद्ध हुनै सक्दैन । धम्कीका आधारमा सञ्चालन गरिने अन्तर्राष्ट्रिय व्यापार डकैती हो

असार ८, २०८२

कटक मल्ल

A series of wars and a lawless world

वर्तमान संसारमा कानुनहीनता बढ्दै छ । अवैध र खतरनाक युद्ध शृंखला पनि बढ्दै छन् । गाजामा इजरायली आक्रमण अक्टोबर २०२३ देखि जारी छ । यसैबीच आणविक शक्तिसम्पन्न देश इजरायलले १३ जुन २०२५ देखि इरानविरुद्ध आक्रमण सुरु गरेको छ । फेब्रुअरी २०२२ देखि रुस र युक्रेन युद्ध जारी छ । उत्तर एट्लान्टिक सन्धि संगठनका सदस्य राष्ट्रहरू र रुस आणविक युद्धको जोखिम उठाइरहेका छन् ।

युद्धको पछिल्लो शृंखलामा आणविक शक्तिसम्पन्न भारत र पाकिस्तानबीच २०२५ को मे महिनामा चार दिन युद्ध भयो । जापानमा दोस्रो विश्वयुद्धको अन्त्यमा आणविक हतियार प्रयोग गरिसकेको देश अमेरिकामा चीनप्रति आक्रामकताको वकालत बढ्दै गएको छ । आणविक शक्तिसम्पन्न चीनले पनि कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको विकासका साथै आफ्नो सैन्य शक्ति बढाइरहेको छ । 

हर्स लाउटरपाच्टले भनेझैँ, युद्ध अन्तर्राष्ट्रिय कानुनको लोप हुने बिन्दु हो । पूर्वसूचक युद्ध, आणविक युद्ध, आत्मरक्षा, आतंक र नरसंहारजस्ता गम्भीर विषय केन्द्रित गर्दै विद्यमान कानुनहीनता, कूटनीति र अन्तर्राष्ट्रिय कानुनका चुनौतीबारे छलफल गर्नु सान्दर्भिक छ ।

पाँच वर्षमा सात सत्ता पल्टाउने

अवकाशप्राप्त अमेरिकी जनरल वेस्ली क्लार्कले एक अन्तर्वार्तामा अमेरिकाले पाँच वर्षमा सात देशमा सत्ता पल्टाउने योजना खुलासा गरेको भिडियो अनलाइनमा उपलब्ध छ । सत्ता पल्टाउने सुरुवात इराकबाट हुने र त्यसपछि सिरिया, लेबनान, लिबिया, सोमालिया, सुडान र अन्त्यमा इरान भन्ने थियो । उल्लेखित ६ देशमा परिवर्तन भइसकेको छ । हाल इजरायलले इरानउपर सुरु गरेको युद्ध अमेरिकाका तर्फबाट गरेको हो वा होइन ? जान्न पर्खनुपर्छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा शासन परिवर्तन चाहेको बताएका छन् । यदि इरानले आणविक बम बनायो भने उसले इजरायलविरुद्ध प्रयोग गर्न सक्छ भन्ने शंकाका आधारमा इजरायलले इरानमाथि पूर्वसूचक आक्रमण सुरु गरेको दाबी गर्दै छ । 

कानुनहीन संसार

फिलिप स्यान्ड्सको पुस्तक ‘ललेस वर्ल्डः अमेरिका एन्ड द मेकिङ एन्ड ब्रेकिङ अफ ग्लोबल रुल्स’ प्रकाशित भएको लगभग दुई दशक बितिसकेको छ । पुस्तकले बहस चर्काएको थियो । यो पुस्तक शीतयुद्धपछिको संसारमा अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीय संस्थाहरूलाई विशेष गरी संयुक्त राज्य अमेरिका र बेलायतजस्ता शक्तिशाली पश्चिमी देशहरूले कसरी कमजोर पारेका छन् भन्ने कुराको आलोचनात्मक परीक्षण हो । यस पुस्तकमा विशेष गरी विश्वव्यापी व्यवस्थाको प्रभावशाली आलोचना र नियम–आधारित अन्तर्राष्ट्रिय प्रणालीको रक्षा गर्न आह्वान गरिएको थियो । उक्त पुस्तक प्रकाशनको दुई दशकपछि संसार बढ्दो रूपमा कानुनहीन हुँदै गइरहेको छ । 

यस पुस्तकको विषयवस्तु र तर्क आजको सन्दर्भमा पनि मान्य छन् । स्यान्ड्सको पुस्तकको केन्द्रीय मुद्दा अमेरिकाको इराकविरुद्धको आक्रमण हो । स्यान्ड्सले अन्तर्राष्ट्रिय कानुन, विशेष गरी संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघनमा विस्तृत प्रमाण प्रस्तुत गरेका छन् । स्यान्ड्सले इराकविरुद्धको अमेरिकी आक्रमणलाई कानुनी औचित्य नभएको प्रमाणित नै गरेका छन् । 

संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बहुपक्षीय प्रणालीबाट एकपक्षीयतर्फ परिवर्तन भएकामा स्यान्ड्स आलोचना गर्छन् । अन्तर्राष्ट्रिय सन्धिहरू कमजोर पारिएको बारेमा चिन्ता व्यक्त गर्छन्, जस्तै : जलवायु परिवर्तनसम्बन्धी क्योटो प्रोटोकल, अन्तर्राष्ट्रिय फौजदारी अदालत  स्थापना गर्ने रोम विधान, आणविक हतियार र यातनासम्बन्धी सन्धिहरू । 

दुई दशक पहिले स्यान्ड्सले चेतावनी दिएका थिए– अन्तर्राष्ट्रिय कानुनी मान्यतालाई कमजोर पार्नाले विश्वव्यापी व्यवस्थामा दीर्घकालीन खतरा निम्त्याउँछ, अस्थिरता बढाउँछ र जलवायु परिवर्तन, नरसंहार र आतंकवादजस्ता विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्ने प्रयासलाई कमजोर बनाउँछ । उनको चेतावनी सत्य साबित भएको छ ।

पूर्वसूचक युद्ध

अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाविरुद्ध सबैभन्दा खतरा भनेको पूर्वसूचक आक्रमणको एकपछि अर्को प्रयोग हुनु हो । विपक्षीबाट हुन सक्ने अनुमानित आक्रमण रोक्नका लागि शक्तिशाली देशहरूले पूर्वसूचक आक्रमण गर्ने शृंखला बढ्दै छ । तथ्यगत प्रमाणका आधारबिना यस्ता पूर्वसूचक आक्रमण गलत अनुमानमा भइरहेका छन् । यस्ता तथाकथित ‘आक्रमण निवारक आक्रमण’ (युद्धहरू) गर्नु आत्मरक्षा अधिकार हो भन्ने दाबी गरिरहेका छन् । कानुनहीनता यति गम्भीर भएको छ कि आतंकवादविरुद्धको युद्धले नरसंहार निम्त्याइरहेको छ । 

अमेरिका र इजरायलसँग कृत्रिम बुद्धि आधारित उच्च स्तरको सैन्य प्रविधि छ । त्यसैले, आफ्नो वायुसेनामार्फत जहाँ मन लाग्यो, त्यहाँ आक्रमण गर्न सक्ने क्षमता छ । अन्य देश यस्तो स्तरको प्रविधि प्रयोग गर्ने स्थितिमा छैनन् । यदि भविष्यमा चीनले अमेरिका र इजरायलमा जस्तै आक्रमणहरू प्रयोग गर्‍यो भने के हुन्छ ? अमेरिका र इजरायलका लागि यो गम्भीर प्रश्न हो । शक्तिशाली राज्यहरूले गरेकै कारणले गैरकानुनी कार्य कानुनी बन्दैनन् । बरु यस्ता कार्यले कानुनहीन संसार सिर्जना गर्दछन् । लगातार युद्धहरूका साथै वातावरणीय विनाश (इकोसाइड) सामान्य भइसकेका छन् । 

विपक्षी राज्यले सम्भावित युद्ध गर्न सक्ने भन्ने बहानामा तथाकथित पूर्वसूचक युद्ध गर्नु गलत र गैरकानुनी हो । आत्मरक्षाको अधिकारका नाममा पूर्वसूचक आक्रमण (वा निवारक युद्ध) सामान्य बनाउने प्रयास गर्नु गलत र अवैध पनि हो । त्यसैले कानुनहीनता चरम सीमामा पुगेको छ । अर्थात्, विश्वयुद्धपछि स्थापित गरिएको अन्तर्राष्ट्रिय कानुनी प्रणाली र मूल्य–मान्यताहरूको प्रत्यक्ष उल्लंघन र क्षय भइरहेको छ । 

संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख गरिएका सिद्धान्त, जस्तै राज्यले एकअर्काविरुद्ध आक्रमण नगर्ने, शान्ति, मानवअधिकार र जवाफदेहितालाई प्रवर्द्धन गर्न स्थापित संयन्त्रको बेवास्ता गरिएको छ । अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान प्रभावहीन भइरहेको छ । जस्तो कि, रुस र युक्रेन, इजरायल र प्यालेस्टाइन, इजरायल र इरानबीचका विवाद यसका उदाहरण हुन् । 

आक्रमण र पूर्वसूचक आक्रमण दुवै अन्तर्राष्ट्रिय कानुनमा गैरकानुनी छन् । यी दुवै कार्यबीच भिन्नता पनि छ । जस्तै, युक्रेनविरुद्ध रुसी आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार विशुद्ध अवैध आक्रमणको उदाहरण हो । त्यस्तै गरी इराकविरुद्धको अमेरिकी युद्ध (२००३) अवैध आक्रमण थियो । सद्दाम हुसेनलाई अपदस्थ गराउने उद्देश्यले इराकको कथित ‘आम विनाशकारी हतियारहरू’ नष्ट गर्ने भन्ने बहानामा अमेरिकाले इराकउपर आक्रमण गरेको थियो । अन्ततः इराकमा कुनै त्यस्ता विनाशकारी हतियार भेटिएनन् । केही अध्ययनहरूले १० लाखजतिको हत्या भएको दाबी गर्छन् । कति इराकी मरे भन्ने अमेरिकालाई वास्ता छैन । इराकविरुद्धको अवैध युद्धका लागि कसैलाई पनि जवाफदेही बनाइएन । यो विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाले सुरु गरेको पहिलो कानुनविहीन पूर्वसूचक आक्रमण थियो ।

आणविक हतियारको खतरा 

इरानविरुद्ध इजरायलको पूर्वसूचक आक्रमण इरानलाई आणविक बम बनाउनबाट रोक्नका लागि गरिएको भनिएको छ । इजरायलसँग आणविक हतियार छन् भन्ने मौन स्वीकृति देखिन्छ । इजरायलले ‘न्युक्लियर नन प्रोलिफेरेसन ट्रिटी’ (एनपीटी) मा हस्ताक्षर गरेको छैन । यस्तो अवस्थामा इजरायलले इरानमाथि पूर्वसूचक आक्रमण गर्‍यो । 

अर्कोतर्फ इरानले एनपीटीमा हस्ताक्षर गरेको छ । इरानले आणविक ऊर्जा मात्र उत्पादन गर्ने, तर आणविक हतियारमा कुनै महत्त्वाकांक्षा नभएको दाबी गरेको छ । इरान अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा निरन्तर निरीक्षणमा रहेको थियो (इजरायल त्यस्तो निरीक्षणमा छैन) । ऊर्जा एजेन्सीले आणविक प्रविधिको सुरक्षित र शान्तिपूर्ण प्रयोगलाई प्रवर्द्धन गर्न खोज्छ । सन् २०१५ मा इरानसँग चीन, फ्रान्स, जर्मनी, रुस, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र युरोपेली संघबीच आणविक सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सम्झौता एकतर्फी रूपमा रद्द गरे । हाल एकातिर अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई नयाँ सम्झौतामा हस्ताक्षर गर्न धम्की दिइरहेका छन् र अर्कोतिर इजरायलले इरानविरुद्ध युद्ध गर्दै छ ।

आत्मरक्षाको अधिकार र नरसंहार

इरानले इजरायलविरुद्ध प्रतिआक्रमण गर्दा अमेरिकासहित धेरैजसो पश्चिमी शक्तिहरूले इजरायलको आत्मरक्षाको अधिकारमा जोड दिइरहेका छन् । चीन र रुसले इजरायलविरुद्ध इरानको आत्मरक्षाको अधिकारलाई स्वीकार गरेका छन् । अमेरिका र पश्चिमी युरोपेली देशले इरानविरुद्ध इजरायलको आक्रमणलाई आत्मरक्षाको रूपमा लिन्छन्, इरानको आत्मरक्षा समान अधिकारलाई अनदेखा गर्छन् । यो अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाउने सबैभन्दा बेतुक उदाहरण हो । वास्तविक आत्मरक्षा भनेको गैरकानुनी हिंसा वा हानिको खतराबाट तत्काल आफूलाई बचाउन उचित बल प्रयोग गर्नु हो । आत्मरक्षा संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ अन्तर्गत वैध छ ।

आतंकवाद एक गम्भीर विश्वव्यापी समस्या हो, जसलाई कानुनी माध्यमबाट लड्नुपर्ने हुन्छ भन्ने अन्तर्राष्ट्रिय कानुनी मान्यता छ । अन्तर्राष्ट्रिय कानुनमा आतंकवादविरुद्ध नरसंहारलाई जायज मानिँदैन । युद्धका नियमहरू छन् । युद्धको समयमा अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत अस्पताल, धार्मिक भवन, विद्यालय, नागरिक घर र गैरसैन्य स्थल आक्रमण गर्न निषेध गरिएको छ । यसका साथै खाद्य आपूर्ति, पानीको स्रोत र कृषि क्षेत्रजस्ता नागरिकको बाँच्नका लागि अपरिहार्य वस्तुमा आक्रमण गर्न निषेध गरिएको छ । 

राज्यद्वारा बल प्रयोग समानुपातिक हुने अपेक्षा गरिन्छ । अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आतंकवादविरुद्ध लड्न राज्यलाई कानुनी अधिकार छ, तर नरसंहार गर्ने अधिकार छैन । इजरायल र हमासविरुद्ध अन्तर्राष्ट्रिय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा युद्ध अपराध र नरसंहारका मुद्दाहरू दायर भइरहेका छन् । अन्तर्राष्ट्रिय अदालतले हमासले पनि युद्ध अपराध गरेको र इजरायलले गाजामा ‘सम्भवतः’ नरसंहार गरेको निष्कर्ष निकालेको छ । इजरायलले यी अदालत र अदालतका न्यायाधीशलाई यहुदीविरोधी (एन्टी सेमेटिक) मान्दछ । अमेरिकाले अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशविरुद्ध ‘प्रतिबन्ध’ लगाएको छ । 

कूटनीतिले किन काम गर्दैन ?

जब एक समूहका मानिसको अर्को समूहविरुद्धको अतिवाद तीव्र हुन्छ, त्यस्तो अवस्थामा मानिसहरू एकापसमा घृणा गर्छन् र राज्य प्रमुख वा सरकार प्रमुखले भूगोलका लागि एकअर्कालाई धम्की दिन्छन् वा युद्ध गर्छन् । युद्धको अवस्थामा शान्तिका लागि कुरा गर्नेहरूलाई देशद्रोही भनेर निन्दा गरिन्छ । कूटनीतिले काम नगर्नुको एउटा मुख्य कारण विश्वव्यापी रूपमा समझदार राजनीतिक नेतृत्व र कुशल कूटनीतिज्ञहरूको अभाव हो भन्नु उचित हुन्छ । 

विश्वव्यापी बढ्दो अविश्वास, बढ्दो उग्र राष्ट्रवाद र बहुपक्षीय संस्थाहरूको विघटनका कारण कूटनीति कम प्रभावकारी भएको छ । शक्तिशाली राष्ट्रले प्रायः सहयोगभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिन्छन् । उदीयमान शक्तिहरूले अवस्थित विश्वव्यापी व्यवस्थालाई चुनौती दिन्छन् । द्वन्द्व, गलत सूचना र अधिनायकवादी शासनको उदयले संवाद र शान्तिपूर्ण वार्तालाई कमजोर बनाएको छ । जलवायु परिवर्तन, महामारी र युद्धजस्ता विश्वव्यापी संकटको द्रुत गतिले प्रायः कूटनीतिक समाधानलाई उछिन्छ, जसले गर्दा वार्ता अवरुद्ध हुन्छ र अडानहरू कडा हुन्छन् । 

प्रभावकारी कूटनीति बलियो सम्बन्ध निर्माण, खुला सञ्चार र साझा लक्ष्यहरू अगाडि बढाउन साझा आधार खोज्नमा निर्भर गर्दछ । यसका लागि सहकार्य र सम्झौता गर्ने इच्छासँगै अर्को पक्षको मूल्य–मान्यता, संस्कृति र चासोहरूको गहिरो बुझाइ आवश्यक पर्दछ । कूटनीतिज्ञहरूले विश्वास बढाउन, बलियो सम्बन्ध निर्माण गर्न र सकारात्मक परिणामहरू प्राप्त गर्न जटिल अन्तर्राष्ट्रिय मुद्दाहरूमा उद्धार गर्न सक्छन् ।

अन्तर्राष्ट्रिय कानुनको छैन विकल्प

अन्तर्राष्ट्रिय कानुनले न्याय, अधिकार, मर्यादा, सहअस्तित्व र मानवीय मूल्यलाई केन्द्रमा राख्छ । मानिसलाई जोड दिन्छ, केवल भूगोलको नक्सा मात्र होइन । यसले भूराजनीतिक लाभ मात्र होइन, मानव पीडा र मानवअधिकारको सन्दर्भलाई अगाडि ल्याउँछ । यसले युद्धपछिको शान्ति निर्माणलाई मार्गदर्शन गर्न सक्छ, जब युद्धहरू समाप्त हुन्छन् । जब सीमाहरू कोरिन्छन्, पुनः कोरिन्छन्, जनसंख्या सारिन्छ र गुनासोहरू कडा हुन्छन् । अन्तर्राष्ट्रिय कानुनले विवादहरू समाधान गर्न, न्याय पुनःस्थापित गर्न र बदलाको अनन्त चक्रको सट्टा सहअस्तित्वको रूपरेखा प्रदान गर्न सक्छ । 

शान्ति, सुरक्षा र सहयोग कायम राख्न अन्तर्राष्ट्रिय कानुनको महत्त्व हुन्छ । देशहरूबीचको अन्तरक्रिया, शान्तिपूर्ण विवाद समाधान, मानवअधिकारको संरक्षण, व्यापार र वातावरणजस्ता मुद्दालाई नियमन र प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय कानुनको अहम् भूमिका हुन्छ । राज्यहरूको सम्बन्ध र आचरणलाई नियन्त्रण गर्ने नियमको विकल्प धम्की र युद्ध हुनै सक्दैन । धम्कीका आधारमा सञ्चालन गरिने अन्तर्राष्ट्रिय व्यापार डकैती हो । 

पूर्वसूचक युद्धले सभ्य राज्यलाई क्रूर र बर्बर बनाउँछ । हिंसा र युद्धले निष्कर्षमा पुर्‍याउँछ र न्याय दिलाउँछ भन्नु पाशविक चरित्र हो । परिभाषाअनुसार अन्तर्राष्ट्रिय कानुन सभ्य राज्यहरूको आचरणको कानुन हो । यस्तो कानुनलाई प्रभावकारी बनाउन सभ्य राज्य नेतृत्व अपेक्षा गरिन्छ ।

कटक मल्ल कटक मल्ल आफूलाई 'सार्वजनिक बौद्धिक' भनेर चिनाउन मन पराउँछन् ।

Link copied successfully