न्याय प्रणालीलाई न्याय गर्न न्याय परिषद्को सक्रियता अपरिहार्य

असार ४, २०८२

सम्पादकीय

Activism of the Judicial Council is indispensable to judge the justice system

तल्लो तहका अदालतका फैसलालाई माथिल्ला अदालतले पुनरावलोकन गर्नु नियमित प्रक्रिया भए पनि कतिपय मुद्दाको उल्ट्याइ भने अस्वाभाविक भएको महसुस कानुनका जानकार र सर्वसाधारणले समेत गर्न सक्छन् । पूर्वमन्त्री मोहम्मद आफताब आलम जोडिएको मुद्दा त्यस्तै सन्दर्भ हो ।

बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपलाई जिल्ला अदालतले ठहर गर्दै जन्मकैदको फैसला सुनाएको भए पनि उच्च अदालतले दिएको सफाइले प्रश्न उठाएको छ । मानवीय संवेदना नै हल्लाउने घटनामा अदालतबाट आएको फैसला स्वाभाविक छैन भनेर आममानिसको प्रतिक्रियालाई बेवास्ता गरेर न्यायिक क्षेत्र मौन बस्न मिल्दैन । यसले अदालतप्रतिको भरोसा र सम्मान कमजोर बनाउँछ । तसर्थ उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनका सन्दर्भमा न्याय परिषद्ले छलफल गर्नु र उचित निष्कर्ष दिनु अपेक्षित हुन्छ । 

२०६४ चैत २८ गते हुँदै गरेको संविधानसभाको निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका आलमले विपक्षी पार्टीका मतदातालाई त्रसित बनाई बुथ कब्जा गरेर निर्वाचन जित्ने उद्देश्यसहित बम बनाउने योजना बनाएका थिए । सोहीअनुसार चैत २७ गते रौतहटको साबिक राजापुर फरदहवा–४ स्थित कांग्रेस नेता तथा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममै विस्फोट भएको थियो । त्यस क्रममा घाइते भएका यमुनामाई गाउँपालिकास्थित सरुअठा गाउँका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तर मियाँलाई जिउँदै राजा इँटा उद्योगको चिम्नीभट्टामा हालेर मारेको आरोप छ । बम बनाउन जोडिएकादेखि घाइतेलाई चिम्नीभट्टामा हाल्दै गरेको घटनासम्मका फरकफरक प्रत्यक्षदर्शीको बयान तथा परिस्थितजन्य प्रमाणले घटना भएको र त्यसमा आलमको संलग्नतालाई बलियो आधार दिन्छन् ।

आलमकै इँटाभट्टामै मजदुरी गर्ने र त्यस दिन ज्याला लिन पुगेका गौरीशंकर राम चमारले इद्रिसको गोठमा एक दर्जन जति मानिस बसिरहेको देखेको र त्यसै समयमा विस्फोट हुँदा आफू पनि घाइते भएको अदालतमा बयान दिएका छन् । विस्फोट भएपछि त्यहाँ पुगेका शिव साह कानुले घटनास्थलमा मानिसहरू यत्रतत्र भएको देखेको र त्यहीँ आलमलगायतलाई पनि देखेको तर आफूलाई त्यहाँबाट गालीगलौज गरी पठाएको बयान दिएका छन् ।

त्यस्तै, सराजुल मियाँले बम विस्फोटमा १/२ जनाको मृत्यु भएको, अन्य घाइते भएको र घाइते भएका पिन्टु र अख्तर मियाँसमेतलाई ट्र्याक्टरमा हाली इँटाभट्टातर्फ लगेकोमा मानिसहरू कराएको सुनेको र पछि ट्र्याक्टरबाट बोराहरू उठाई चिम्नीमा फालेको देखेको भनेका छन् । राजा इँटा उद्योगमै काम गर्ने राजेशप्रसाद सहनीले २०६४ चैत २७ गते राति विस्फोट, मानिसहरूको खेलाबैला, चिच्याहट भागदौड र ट्र्याक्टरको आवाजका कारण आफ्नो निद्रा खुलेको र उठेर हेर्दा नेता मोहम्मद आफताब आलम, उनका भाइ मोहम्मद महताब आलम, बद्री सहनीलाई देखेको र बोरामा ल्याएका मानिसहरूलाई पालैपालो निकालेर इँटा पकाउने भुंग्रोमा हालेको देखेको बताएका छन् ।

यस्ता फरकफरक बयानले पनि आलमको संलग्नताको बलियो आधार दिन्छन् । किनकि यो कोही व्यक्तिले लगाएको आधारहीन आरोप होइन । प्रत्यक्षदर्शीहरू प्रशस्तै रहेका, घाइते भएका, इँटाभट्टामा हालिएका भनिएकाको जिउँदै रहेको हुन सक्ने अन्य प्रमाण नरहेको जस्ता बलिया आधार छन् । यो विवरण स्थापित सत्य त हो नै, यसलाई जिल्ला अदालतले समेत प्रमाणका रूपमा लिइसकेको छ । साथसाथै, घटना सर्वोच्च अदालतको १६ जेठ २०६९ र ६ असार २०७६ को अनुसन्धान गर्ने आदेशको अन्तर्यमा पनि घटना भएकै देखिन्छ ।

बलियो तथ्य प्रमाणलाई एकातिर पन्छाएर उच्च अदालतले गरेको फैसलाले आलम रिहा भइसकेका छन् । उनले आफूले न्याय पाएको दाबी गर्नु स्वाभाविक छ । तर यस घटनामा स्वयं न्याय प्रणाली पनि न्याय खोजिरहेको अवस्था छ । त्यसको निरुपण आवश्यक छ । पहिलो, पदीय आचरणविपरीत गतिविधिमा संलग्न भएकादेखि सार्वजनिक रूपमै विवाद र आलोचना भएका फैसला दिने न्यायाधीशमाथि न्याय परिषद्ले छानबिन गर्ने अभ्यास छ । कतिपयलाई न्याय परिषद् सचिवालयमा काजमा पनि तानिन्छ । यद्यपि छानबिन सुरु भएपछि न्यायाधीशहरूले राजीनामा दिने गरेको पाइन्छ ।

गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश दिएका उच्च अदालत पोखराका तत्कालीन न्यायाधीशत्रय जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवलाई न्याय परिषद्मा झिकाई छानबिन गर्न सर्वोच्चले दिएको आदेशअनुसार परिषद्ले छानबिन गरेको थियो । तर अधिकारी र यादवले बीचमै राजीनामा दिएका थिए । शाहीको हकमा भने ‘खराब आचरण’ को निष्कर्ष निकाल्दै बर्खास्तको सिफारिस गरिएको थियो । 

दोस्रो, फैसला दिने न्यायाधीशद्वय थारू र महर्जनबाट न्यायिक विचलन भएको भन्दै उनीहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै मृतक त्रिलोकका पिता श्रीनारायण सिंहले न्याय परिषद्मा निवेदन दर्ता गराएका छन् । न्यायालयमाथिको विश्वास कायमै राख्नका लागि पनि विवादास्पद न्यायाधीशमाथिको छानबिन एउटा बलियो उपक्रम हो । त्यसका लागि न्याय परिषद् अध्यक्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बैठक बोलाउनु र छानबिनको प्रक्रिया अघि बढाउनु उचित हुन्छ । जुन फैसला सार्वजनिक रूपमै विवादमा परिरहेको छ, त्यसबाट न्याय परिषद् निरपेक्ष बस्नु स्वाभाविक होइन । 

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully