दलितमाथि थोपरिएको जातीय छुवाछूत, भेदभाव, बहिष्करण र विभेद अन्त्य नगरीकन समतामूलक, स्वाभिमानयुक्त र समृद्ध देश बन्नै सक्दैन, दलितलाई सबै ठाउँमा समानुपातिक प्रतिनिधित्व र आनुपातिक आरक्षण चाहिन्छ, अनि मात्र ‘अन्त्योदय’ हुन्छ, अन्यथा, चिप्ला कुराले समाज फेरिँदैन
जेठ पहिलो हप्ता हामी केही साथीहरू जनकपुरनजिकैको लोहारपट्टी गाउँमा थियौं । त्यहाँ जानुको प्रयोजन थियो, मधेशी दलित महिलाहरूसँग दुई दिन सँगै बस्ने र कुरा सुन्ने । हामी उनीहरूले देख्ने जीवनका सपनाहरूलाई उनीहरूकै आँखामा हेर्न र अनुभूत गर्न चाहन्थ्यौं ।
हामी उनीहरूको अनुहारमा हाम्रो राज्य, राजनीति र पार्टीहरूको छायाछवि खोज्न चाहन्थ्यौं । र हामी चाहन्थ्यौं, उनीहरूका सुस्केरा, आक्रोश र विद्रोहका कुरा सुन्न । त्यो कुनै विकासे प्रायोजित कार्यक्रम थिएन । हामी आफ्नै जोहोमा त्यहाँ पुगेका थियौं र हाम्रो भेटघाटलाई नाम दिएका थियौं– ‘चिन्तन शिविर ।’ जसको तारतम्य मिलाएका थिए राजनीतिक/सामाजिक अगुवा कैलाश महतोले ।
कार्यक्रम थियो स्थानीय मन्दिरको प्रांगणमा । सानो हल थियो । भुइँमा दरी ओछ्याइएको थियो । त्यहीं खानाको प्रबन्ध थियो । त्यहीं चिया, नास्ता पाक्थ्यो । दुई दिनसम्म चल्ने त्यो कार्यक्रममा बहुसंख्यक सहभागी थिए, दलित महिलाहरू । जहाँ बिहानदेखि साँझसम्म हुन्थे, जीवनका कुरा । चोटका कुरा । गरिबी र भोकका कुरा । राजनीतिका कुरा । र हुन्थे, गरिबी र अपमानको पत्थरले थिचिएर चिचिलैमा मरेका सपनाका कुरा ।
पहिलो दिनको कार्यक्रम परिचय आदानप्रदानबाट सुरु भयो । नाम, ठेगाना मात्र भनेर नपुग्ने परिचय । जीवनमा भोगेका सुख र दुःख पनि भन्नुपर्ने परिचय । अनुभव र अनुभूतिसहितको परिचय । त्यो सत्रमा हामी सबैले आ–आफ्नै सुख, दुःखका कथाहरू सुनायौं । संघर्षका कथा र भन्यौं सपनाहरू । तर त्यहाँ एक जना महिलाले जे सुनाइन्, त्यो सबैभन्दा अलग थियो । उनले भनिन्, ‘मसँग सुनाउनलाई सुखका कथाहरू छैनन् हजुर । मैले आजसम्म न त सुख देखें, न त भोगें । जीवन दुःखैदुःखले भरिएको छ त सुनाउनलाई सुख कहाँबाट सापटी ल्याऊँ ?’ बलौटाकी ती महिलाको नाम थियो, वाचोदेवी राम । उनले आफ्ना अनेकौं दुःखहरूको सन्दुकबाट एउटा दुःख निकालिन् र सुनाइन्, मिटरब्याजीबाट पाएका सास्ती, अपमान र हन्डरका कथा । दस वर्षअगाडि उनले लिएको तीन लाख ऋण अठार लाख तिर्दा पनि सकिएन । र, त्यहींबाट सुरु भयो उनको अर्को दुःख ।
श्रीमान्लाई विदेश पठाउन र घर खर्च टार्न लिएको तीन लाखले अहिलेसम्म कमाएको सबै पैसा सक्यो, घर सक्यो, सपना सक्यो र सक्यो रातको निन्द्रा पनि । तर, अझै ऋण सकिएन । अहिले उनी आफ्नै घरमा भाडामा (?) बस्छिन् । जहाँ महिनैपिच्छे साहु आउँछ र भाडा तिर्न धम्क्याउँछ । उनी सीडीयो कार्यालयमा धाइन् । दलका आँगन, नेताका चौखट घाइन् । तर न त मिठो बोली पाइन्, न त न्याय नै । उनी सोध्छिन्, ‘सर के यो देशमा न्याय मरिसक्यो ?’
कुराकानी गरिरहँदा, पहिलो दिनदेखि नै मेरो ध्यान एक जना किशोरीमा थियो । त्यो यसकारण कि, उनी लगभग कार्यक्रमभर चुपचाप थिइन् । उनका आँखा मधुरा थिए । र, उदास थियो अनुहार । यस्तो लाग्थ्यो कि दुब्लो ज्यानकी ती किशोरीको जीवनमा कुनै उमंग छैन । जब खाना खाने समय भयो, म उनको छेउमा पुगें र कुरा गर्न थालें । मैले सोधें, तिमी किन हाँस्दिनौ ? मैले नसोध्नुपर्ने प्रश्न सोधें । मेरो प्रश्नमा उनी थोरै लजाइन् र भनिन्, ‘हाँस्नलाई सपना चाहिन्छ सर, मेरो त सपनै छैन, कसरी हाँस्नु ?’ उनको जवाफले मेरो प्रश्नलाई झापड हानेझैं भयो ।
उनको नाम थियो, पविता सदा । घर बलवा–९ अद्यायनपुर । मैले सोधें, ‘कतिमा पढ्दै छौ ?’ उनले थोरै संकोचका साथ भनिन्, ‘म पढ्दिनँ सर ।’ मलाई लागेको थियो, उनी त्यस्तै ९/१० कक्षामा पढ्ने हुनुपर्छ । ‘अनि के गर्छ्यौ ?’ मेरो प्रश्नको कसरी उत्तर दिने भनेर उनले एकैछिन सोचिन् र शान्त स्वरमा भनिन्, ‘बच्चाहरू हेर्छु ।’ ‘के स्कुलमा काम गर्छ्यौ ?’ मेरा बेकारका प्रश्नहरूले उनलाई सायदै झर्को लागेको हुनुपर्छ, यद्यपि धैर्यताका साथ थोरै लजाउँदै उनले भनिन्, ‘हैन सर म आफ्नै बच्चा हेर्छु ।’ म आश्चर्यमा परें । आफूले सानै देखेकी उनी त विवाहित पो रहिछन् र उमेर रहेछ २३ वर्ष । उनका तीन जना बच्चा रहेछन् । छोरा ८, छोरी ७ र ५ वर्षका । आश्चर्यका साथ उनलाई फेरि सोधें, ‘अनि श्रीमान् ?’ उनले मनको पीडालाई आँखामा ल्याउँदै शुष्क स्वरमा भनिन्, ‘श्रीमान् मर्यो ।’ म अवाक् भएँ । मेरो मन एक्कासि पीडाले भरियो । मलाई के गर्ने, कसो गर्ने भयो । त्यसपछि मैले बोल्ने शब्द नै पाइनँ र चुप लागें ।
त्यो कोभिड कालको कुरा हो, जतिबेला पविता सासू बिरामी परेर हस्पिटलमा थिइन्, यता श्रीमान् बिते । अकस्मात् यस्तो भयो कि, के भएको हो भन्ने थाहा नपाउँदै उनको संसार रित्तो भयो । त्यसपछि, उनमाथि दुःखको पर्वत झर्यो र उनका रहर, सपना, जाँगर सबै मरे । १२ वर्षको उमेरमा विवाह भएकी पविता, २० वर्ष नहुँदै विधवा भइन् । र, उनले जीवनका खुसीहरू यो जुनीका लागि बिर्सिइदिइन् । मैले भेट्दा उनी खाली थिइन् । खाली अर्थात्, उनीसँग नागरिकता, घर, जमिन, रोजगारी, सपना, नाम, परिचय केही पनि छैन । उनका दुःख देख्ने न त कुनै पार्टी छ, न त सरकार । मात्र उनका साथमा बाँकी छन् उनले बोकी नसक्ने दुःखहरू र समयले थप्पड हानेर मनभरि लागेका चोटैचोट ।
कार्यक्रमको अन्तिम दिन हामीलाई भेटघाटका लागि तीनवटा दलित बस्तीबाट निम्ता आयो । मैले सोधें, ‘हेर्नलाई के छ बस्तीमा ?’ मेरो प्रश्नमा मित्र कैलाश महतोले भने, ‘सबैथोक छ त्यहाँ । बेरोजगारी छ । गरिबी छ । रोग छ । भोक छ । छुवाछूत छ । अपमान छ । विकासका रित्ता रहर छन् । मात्र एकथोक छैन ।’ मैले जिज्ञासा राखें, ‘के छैन ?’ उनले व्यंग्यका साथ भने, ‘सरकार छैन । मधेशका दलित महिलाहरूका लागि देश, पार्टी, सरकार र सत्ता सबै भ्रम हो सर ।’ हाम्रो छेउमै बसेर कुरा सुनिरहेका एक जना युवाले आफ्नो अनुभव सुनाउँदै भने, ‘कुनै काम लिएर, वडामा गयो वडाले पालिका जाऊ भन्छ, पालिका गयो प्रदेश जाऊ भन्छ, प्रदेशमा गयो, सिंहदरबार जाऊ भन्छ । सिंहदरबार कहाँ पर्छ र त्यहाँ को बस्छ थाहा छैन ?’ उनको आक्रोश सुनेपछि मलाई लाग्यो, उनीहरूकै भोटले कोही दरबार छिरे, तर उनीहरू धूलोमै छुटिगए । किन यस्तो भयो ? खेलको नियम किन यति धेरै पक्षपाती भयो ? उनीहरूलाई धेरै कुरा थाहा छैन । तर यति कुरा थाहा छ, केही त अवश्य नै गडबड भएको छ । र, त्यो खेलको नियम नफेरेसम्म उनीहरूको जीवनमा कुनै परिवर्तन आउने छैन ।
अन्तिम दिन बिहानै हामी दलित बस्तीतिर लाग्यौं । अघिल्लो दिन पानी परेकाले बाटो हिलाम्य थियो । घरहरू ओसिला थिए । यत्रतत्र चिसो र हिलोमैलो । बाटो जस्तै हिलोमैलो थिए त्यहाँका बालबालिकाहरू । जो प्रायशः सबै अर्धनग्न । गाउँमा नयाँ मान्छे आउने हल्लाले हुनुपर्छ भीड थियो र भीडमा थिए बेरोजगार युवाहरू, जो छोटो कुरा गर्थे र बातबातमा असन्तुष्ट देखिन्थे । मान्छेहरूको भीडमा सबैभन्दा धेरै थिए महिलाहरू, जो कामको बोझ, भोक र अपमानले उमेरभन्दा लगभग २० वर्ष जेठा देखिन्थे । उनीहरू चर्को चर्को बोल्थे र बातबातमै सरकारलाई गाली गर्थे । तर पुरुषहरू भने काम र ऋणको बोझले थिचिएर थकित र सुक्खा देखिन्थे । वातावरण यस्तो थियो, मानौं त्यहाँ आशाको उज्यालो कतै छैन । जे छ, गरिबी छ र छ पुस्तौंपुस्तादेखि थोपरिएको अपमानको शब्दहीन पीडा ।
हामी पुगेको त्यही बस्तीमा भेटिइन्, जानकीदेवी सदा । उमेर थियो ३५ वर्ष । उनी भीडबाट अलिक अलग्गै बसेकी थिइन् । उनका आँखा हेर्दा लाग्थ्यो, ती आँसुका पोखरी हुन् । फुंग उडेको अनुहार र हाँस्न बिर्सिएको उनको मुखमुद्रा देखेर मैले सोधें, ‘किन उदास छ्यौ ?’ उनले एकछिन रोकिएर जवाफ दिइन्, ‘हिजो मात्र मेरो श्रीमान् मरेको छ सर ।’ उनको जवाफ सुनेर मेरो बोली रोकियो र भक्कानो फुट्लाजस्तो भयो । किन यति ठूलो सकसको समुद्रमा छन् हाम्रा मान्छेहरू ? आफैंभित्र उब्जिएको यो प्रश्नले मलाई भाउन्न होला जस्तो भयो । ‘श्रीमान्लाई के भएको थियो ?’ मैले सानो स्वरमा समवेदनासाथ सोधें । राति जीउ ठन्डा हुँदै गयो र ऊ बित्यो । उनले त्यो कुरा यसरी भनिन्, मानौं ठन्डीले मान्छे मर्नु स्वाभाविक कुरा हो । अथवा उनको कुरा सुन्दा लाग्थ्यो, त्यो सबै हुनु नै गरिबको नियति हो । जब पति मर्यो, उनीसँग बाँकी रह्यो पाँच सन्तानको विशाल पर्वत । उनका २ छोरा र ३ छोरी रहेछन् । विवाह भएको थियो उही १३ वर्षको उमेरमा । उनको कुरा सुन्दा लाग्थ्यो, उनका पति त उनलाई छोडेर गए नै, साथमा छोडिए उही भोक, रोग, बेरोजगारी, अभाव र अपमान । उनले नरम स्वरमा भनिन्, ‘मैले त पतिको शोक पनि मनाउन पाइनँ सर । आखिर गरिबलाई रुने पनि समय छैन ।’ उनका साथैमा उभिएकी एक महिलाले भनिन्, ‘रुनलाई त धन हुनुपर्यो नि, गरिबलाई के शोक, के रुवाइ ।’
सपना
जब हामी जुन बस्तीमा पुग्थ्यौं, त्यहाँ हामीलाई पर्खिएर मान्छेहरू बसिरहेका भेटिन्थे । सबै दलितहरू । यस्तो लाग्थ्यो, खासमा उनीहरू त्यहाँ हाम्रो कुरा सुन्न हैन, झगडा गर्न जम्मा भएका हुन् । जब मनमा आक्रोश हुन्छ, सायद बातबातमा झगडा गर्न मन लाग्छ । त्यसै मेसोमा एउटा घरको आँगनमा बसेका मान्छेहरूलाई मैले प्रश्न गरें, ‘तपाईंहरू के चाहनुहुन्छ ?’ सायद मेरो प्रश्न उनीहरूका लागि अर्थहीन थियो । सायद, त्यो प्रश्न सोधेर म आफ्नो अहंकार र उच्चताबोध प्रदर्शन गरिरहेको थिएँ । किनभने जसलाई सबै कुरा चाहिएको छ, उनीहरूलाई के चाहिएको छ भनेर सोध्नु कसरी जायज हुन्छ ? फेरि मसँग दिने नै के थियो र ? मैले स्पष्टीकरण दिँदै भनें, ‘म मात्र तपाईंहरूको आन्दोलन र मागमा ऐक्यबद्धता जनाउन सक्छु । र, तपार्इंहरूको आवाजमाथि आवाज थप्न सक्छु ।’ मेरो कुरा सुनिरहेका एक जना युवाले भने, ‘हामीलाई दया चाहिएको हैन सर । हामीलाई चाहिएको हो अधिकार । हामी चाहन्छौं सरकारले हामीलाई देखोस् । र, लोकतन्त्रमा हाम्रो पनि स्वामित्व होस् ।’
मैले उनको कुरामा प्रतिक्रिया दिँदै फेरि सोधें, ‘यो त अमूर्त कुरा भयो ।’ छेउमै बसेको अर्का युवाले थपे, ‘नेपालमा हामी ४५ लाख दलित छौं । तर हामी कहाँ छौं, कहाँ बस्छौं र के खान्छौं ? राज्यलाई थाहा हुनु पर्दैन ? हामी सयौं वर्षदेखि विभेद, छुवाछूत, अपमान र भोक सहेर बसेका छौं, यो सरकारलाई त्यसको हेक्का हुनु पर्दैन ? हामी रहरले गरिब भएका होइनौं, न त रहरले दलित भएका हौं । कि त हामीलाई मान्छे होइनौं भनेर भन्नुपर्यो, अन्यथा हामी यही देशका नागरिक हौं भने, हामीलाई नागरिकको सम्मान चाहियो । गाँस, बास, कपास, रोजगारी, शिक्षा, स्वास्थ्य, सम्मान र परिचय हाम्रो माग यही हो । यी जे जति अहिले हामी मागिरहेका छौं, यी हामीबाटै वर्षौंवर्ष अगाडि खोसिएका कुरा हुन् । हामीलाई अब त्यो फिर्ता चाहियो ।’ उनी बोल्नलाई निकै सिपालु थिए । उनले मलाई नै चुनौती दिएझैं गरेर भने, ‘हामीलाई कसैको ओठे माया चाहिएको हैन । खासमा, हामी अन्त्योदय चाहन्छौं । अनि मात्र सर्वोदय सम्भव छ । अन्यथा, हाम्रा लागि काठमाडौं मिथ्या हो । जनकपुर मिथ्या हो । संघीयता मिथ्या हो । र, लोकतन्त्र मिथ्या हो ।’
त्यहाँ मैले देखें, वर्षौंवर्षदेखि हेपिएका मान्छेसँग भित्रभित्रै दबिएर बसेको रिसको आगो थियो । जब हामीले दुई दिन बसेर उनीहरूसँग कुरा गर्यौं, त्यो आगो हलक्क बढ्यो । त्यही आगोको ज्वाला दन्किएजस्तो स्वरमा एक जना महिला सहभागी फूलकुमारी रामले भनिन्, ‘दलितमाथि थोपरिएको जातीय छुवाछूत, भेदभाव, बहिष्करण र विभेद अन्त्य नगरीकन समतामूलक, स्वाभिमानयुक्त र समृद्ध देश बन्नै सक्दैन । अतः यो सकै कुरालाई संवैधानिक र कानुनी रूपमा हल गर्न पहिले त हामीलाई सबै ठाउँमा समानुपातिक प्रतिनिधित्व र आनुपातिक आरक्षण चाहिन्छ । अनिमात्र ‘अन्त्योदय’ हुन्छ । अन्यथा, चिप्ला कुराले समाज फेरिँदैन ।’
के हो अन्त्योदय भनेको ? हामीले यो प्रश्नमाथि केहीबेर विमर्श गर्यौं । अन्त्योदयको आशय सुनाउँदै राजनीतिक/सामाजिक अगुवा कैलाश महतोले भने, ‘दलितहरू जो सबैभन्दा अन्त्यमा छन् उनीहरूको उदय नै अन्त्योदय हो । जो मान्छे गरिब छन्, त्यसमा पनि दलित छन् र महिला छन् । उनीहरू शोषण, अपमान र विभेदका तीनवटा भारी बोकेर समाजको सबैभन्दा पिँधबाट चिच्याइरहेका छन् । उनीहरू त्यो वेदना र पीडाबाट मुक्ति चाहन्छन् । त्यही नै अन्त्योदय हो । पहिले नेपालमा अन्त्योदय आवश्यक छ । जब अन्त्योदय हुन्छ, तबमात्र लोकतन्त्रको सार्थकता प्रमाणित हुन्छ । अनि मात्र राज्य न्यायपूर्ण र समावेशी बन्छ । अनि मात्र साँचो अर्थमा सर्वोदय हुन्छ । यही नै हाम्रो र लोहारपट्टीको सपना हो ।’ लोहारपट्टीबाट हिँड्दै गर्दा हामीलाई लाग्यो, ‘जे गर्नुपर्ने हो, आँधी आउनुअगाडि नै सबै कुरा गरौं । अर्थात्, पहिले अन्त्योदय गरौं, त्यसपछि स्वभावतः सर्वोदय हुनेछ ।’
