मल अभावको नियमित नियति

मल ल्याउने प्रक्रियालाई छोट्याउने, सम्झौताअनुसार मल नल्याउने कम्पनीलाई कारबाही गर्ने प्रबन्ध गर्न सकियो भने मात्र मल अभावको नियमित नियतिबाट मुक्ति पाउन सकिनेछ ।

असार २, २०८२

सम्पादकीय

Regular fate of fertilizer shortage

रोपाइँको तयारीमा रहेका किसानलाई यस वर्ष मौसमले साथ दिने जस्तो देखिए पनि रासायनिक मलको पर्याप्तता सुनिश्चित गर्न नसकेर सरकारले भने अप्ठ्यारोमा पार्ने संकेत देखिएको छ । यति बेला रोपाइँमा होमिएका मध्यपहाडी क्षेत्रका किसानले नै रासायनिक मलको अभाव खेप्नुपरेको छ ।

राजधानी वरपरका भक्तपुर, काभ्रे, सिन्धुपाल्चोकमा समेत मल अभाव छ । धान बालीको राजधानी मानिने तराईमा पनि रोपाइँ सुरु भएपछि गुनासो बढ्ने सम्भावना छ । सामान्यतया असार १५ सम्म मध्यपहाडमा र त्यसपछि तराईमा रोपाइँ तीव्र्र हुन्छ ।

तराईमा रोपाइँ सुरु हुन पनि समय थोरै छ । त्यसैले सरकारले समय छँदै मलको आपूर्ति र वितरणलाई चुस्त बनाउन सक्रियता देखाउनुपर्छ । राष्ट्रिय खाद्य सुरक्षालाई बलियो बनाउन सरकारी सक्रियता अनिवार्य छ । ६० प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको मुलुकमा यो आधारभूत अपेक्षा हो । 

कृषि मन्त्रालयका अनुसार, वर्षमा तीन बाली लगाउँदा करिब १२ लाख टन मल आवश्यक पर्छ । त्यसमध्ये धान बालीका लागि ४ लाख ४८ हजार टन मल आवश्यक पर्छ । तर जेठ २८ सम्मको अभिलेखअनुसार ७० हजार ५ सय टन मात्र रासायनिक मल मौज्दात छ ।

जसमध्ये ३१ हजार ८ सय टन युरिया, २९ हजार टन डीएपी र ९ हजार ५ सय टन पोटास छ । यसबाटै प्रस्ट छ, देशमा यसपालि पनि मलको अभाव छ । खेतीका बेला सधैंजसो मल अभाव हुँदा किसानको ऊर्जा त्यसैमा खर्च हुन्छ । रोपाइँको समय धकेलिन्छ र उत्पादन घटाउँछ । कृषि उत्पादनसँग जोडेर बनाइएका आर्थिक योजना बिथोलिन्छन् । कथाव्यथा सधैं उस्तै छ ।

तीन दशकभन्दा अघि २०४९ सालमै रासायनिक मलको आपूर्तिको विवादमा परेर तत्कालीन कृषिमन्त्री शैलजा आचार्यले राजीनामा नै दिनुपरेको थियो । त्यसपछि पनि मल अभावका गुनासो र समाचारको कहिल्यै अभाव भएन । कुनै–कुनै वर्ष त्यस्तो अभाव केही कम हुने गरे पनि समग्रमा मल अभाव नेपाली किसानको बलियो नियति बनेको छ । मलको माग पूर्ति गर्न भने कहिल्यै दिगो समाधान सूत्र खोजिएको छैन, विडम्बना यही छ ।

मलको पर्याप्त आपूर्ति नहुँदा किसानले बजारबाट महँगोमा खरिद गर्नुपर्छ । अर्कोतर्फ, त्यसरी खरिद गरिने मलको गुणस्तर पनि सुनिश्चित हुँदैन । जसले गर्दा किसानले आफ्नो जमिनको क्षेत्रफल तथा बालीअनुसार मल प्रयोगको तालमेल मिलाउन सक्दैनन् । त्यसले उत्पादनमै नकारात्मक असर पर्न सक्छ ।

भारतसँग सीमा जोडिएका क्षेत्रका कतिपय किसान गैरकानुनी मार्गबाट मल ल्याउन अग्रसर हुन्छन् । तस्करी गरेर मल ल्याउने क्रम तराईमा मात्र सीमित छैन । जस्तो कि, २०७९ असारमा अवैध रासायनिक मल बोकेको ट्रकलाई राजस्व अनुसन्धान विभागले धादिङमा नियन्त्रणमा लिएको थियो । अझ, उक्त मल काठमाडौं ल्याउँदै गर्दा स्थानीय किसानले खोसिदिएका थिए । यस्ता घटनाले सामाजिक मनोविज्ञान नै नकारात्मक बनाउने हो । 

चालु आर्थिक वर्षमा कृषि मन्त्रालयले मल किन्न २७ अर्ब ९५ करोड बजेट छुट्याएको छ, यसबाट ५ लाख ५० हजार टन मल खरिद गर्ने लक्ष्य छ । त्यसका लागि टेन्डर गरिए पनि आपूर्तिको अवस्थामा सुधार छैन । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत मल खरिद गर्दै आएका छन् । यही प्रक्रियामा ३ देखि ६ महिना बित्छ ।

कतिपय वर्ष अन्तर्राष्ट्रिय मूल्यमा आउने उतारचढाव तथा सम्झौता गरेका कम्पनीका लापरबाहीले समयमा मल आउँदैन । मल ल्याउने प्रक्रियालाई छोट्याउने, सम्झौताअनुसार मल नल्याउने कम्पनीलाई कारबाही गर्ने प्रबन्ध गर्न सकियो भने मात्र मल अभावको नियमित नियतिबाट मुक्ति पाउन सकिनेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully