नेपाली चलचित्र : विश्व प्राज्ञिक दुनियाँमा बेखबर

नेपालमा हालसम्म सिनेमासम्बन्धी कुनै जर्नल नै प्रकाशन नहुनु, नेपाली सिनेमाका बारेमा लेखिएका लेखहरू नेपाली भाषामा मात्र सीमित हुनु जस्ता पाटोहरूले पनि नेपालभित्र भइरहेको सिनेमासम्बन्धी कर्महरूमा विश्व प्राज्ञिक दुनियाँ बेखबर जस्तै छ 

असार २, २०८२

सचिन घिमिरे

Nepali Movie: Unconscious in the World Academic World

कोभिडका कारण लामो समयसम्म रोकिएको एसिया सिने सोसाइटीले आयोजना गर्ने एसियन चलचित्र सम्मेलन केही हप्ताअघि मात्र हङकङ विश्वविद्यालयमा सम्पन्न भयो ।

संसारभरका दुई सयभन्दा बढी सहभागीहरूले भाग लिएको यस सम्मेलनको चौधौं संस्करणमा एसिया महादेशमा निर्माण भएका चलचित्रहरूको दार्शनिक विवेचना, सौन्दर्यशास्त्रीय चिन्तन र अन्तरवस्तुको विविधतामाथि विश्वभरिका थुप्रै प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययन अध्यापन कर्मसँग जोडिएका विज्ञहरूले आ–आफ्नो अवधारणा प्रस्तुत गरेका थिए ।

विश्व चलचित्र क्षेत्रको प्राज्ञिक गतिविधिहरूमा केकस्तो ‘डिस्कोर्स’ अर्थात् छलफलहरू भइरहेछ, यसबारे अवगत राख्नु पनि नेपाली चलचित्र क्षेत्रको विकासमा रुचि राख्ने सरोकारवालाहरूका लागि महत्त्वपूर्ण पाटो हो । 

नेपाली चलचित्र र पहिचानको संघर्ष 

‘साम्बला’, ‘गाउँ आएको बाटो’, ‘राधा’ र ‘पूजा सर’ जस्ता नेपाली नयाँ छाललाई प्रतिनिधित्व गर्ने चलचित्रहरू विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा अवलोकन गरेका विदेशी दर्शकहरूले अनौपचारिक छलफलहरूमा भए पनि नेपाली चलचित्रहरूको चर्चा गर्नु आफैंमा सुखद पक्ष थियो । यद्यपि, एसियन सिनेमाका बारेमा सम्मेलनमा चलेका औपचारिक छलफलहरूमा भने नेपाली चलचित्रहरूका बारेमा कुनै पनि सन्दर्भमा झिनो चर्चा पनि नहुनु आफैंमा टीठलाग्दो भयो ।

सम्मेलनमा एसियन सिनेमाको बृहत्तर खाकाभित्र मुख्य गरेर चाइनिज र जापानिज चलचित्रहरूले प्रभाव जमाइरहँदा दक्षिण एसियाकै सिनेमाको चर्चा पनि भारतको मुम्बई र अन्य क्षेत्रीय चलचित्र उद्योगहरूबाट उत्पादित चलचित्रहरूको चर्चामा बढी सीमित भएको थियो ।

चलचित्र जस्तो कलात्मक विधाको विकास र उतारचढावको सवालका हाम्रा भोगाइ र अभ्यासहरू अन्य देशहरूका लागि उपयुक्त देखिए पनि अन्य देशका चलचित्र विज्ञहरूले नेपाली चलचित्रहरूको विकासक्रमका बारेमा अवगत नराख्नुले पनि सम्मेलनमा प्रस्तुत कार्यपत्रहरूमा नेपाली चलचित्रहरू दृष्टान्तकै रूपमा पनि प्रवेश गर्न सकेका थिएनन् ।

नेपालमा चलचित्र क्षेत्रमा हुने प्राज्ञिक कर्मप्रति राज्यको उदासीनता नै उक्त सम्मेलनमा भएको नेपाली चलचित्रसम्बन्धी न्यून बहसका रूपमा झल्किएको स्पष्ट रूपमा देखिन्थ्यो । नेपालमा चलचित्र विषयमा स्नातकोत्तर वा त्योभन्दा उच्च तह अध्ययन गर्ने विषय नै नहुनु, स्नातकमा भएको सिनेमा अनुसन्धानको अध्ययन अध्यापन त्रिविको अवधारणागत संकुचनको कारण खुम्चिनु र विकास बोर्ड आफैंले पनि चलचित्रमा अध्ययन अनुसन्धानको संस्कृतिलाई मलजल गर्ने स्रोतहरूको व्यवस्थापनको सवालहरूमा तदारुकता नदेखाउनुले पनि वर्तमान अवस्थामा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राज्ञिक उपस्थिति निम्छरो देखिन पुगेको यथार्थ छर्लङ्ग छ । 

अन्तरविधागत ज्ञान र सिनेमा 

अन्तर्राष्ट्रिय सम्मेलनमा बौद्घ दर्शनका विविध अवधारणात्मक पाटोहरूलाई चलचित्रका थुप्रै आयामहरूसँग जोडेर चर्चा हुनु आफैंमा नवीन प्राज्ञिक अभ्यास हुन् । एसिया सिने सम्मेलनको यस संस्करणमा थुप्रै चिनियाँ अनुसन्धानकर्ताहरूले बुद्घका दर्शनहरूलाई सिनेमाको अन्तरवस्तु विश्लेषण गर्न अवधारणात्मक रूपमा जोडेर अनुसन्धान गरिरहेको यथार्थको अवगत भयो ।

औपनिवेशिकी चिन्तन र ज्ञानको क्षेत्रीय दबदबालाई विनिर्माण गर्ने सोचले तयार भएका थुप्रै कार्यपत्रहरूमा मुख्य गरेर बौद्घ दर्शन, जेन बुद्घिज्म, कन्फुसियस र ताओका दर्शनहरूबाट चाइनिज तथा जापानिज सिनेमाका थुप्रै पाटोहरूमा अध्ययन अनुसन्धान भइरहेको प्रमाण प्रत्यक्ष रूपमा देखिए ।

यस अतिरिक्त, विश्व मानवताको संस्कृतिलाई मलजल गर्न कसरी एसियन चलचित्रहरूले श्रव्यदृश्य मूल्यमान्यताहरूको निर्माण गरिरहेछन् भन्ने अहम् सवालहरूमा भएको चर्चा पनि आफैंमा चाखलाग्दो थियो । सम्मेलनमा राष्ट्रवादको द्वन्द्वात्मकतादेखि स्थानीय विषयवस्तुलाई सिनेमामा अन्तर्राष्ट्रियकरण गर्दा आइपर्ने सिर्जनात्मक चुनौतीहरूका बारेमा समेत यथेष्ट बहस भएको थियो ।

नेपालको प्राज्ञिक क्षेत्रमा विषयगत शुद्घता अर्थात् ‘डिसिपिलिनरी युजेनिक्समा’ विश्वास गर्ने जमातहरूको नै दबदबा भएकाले ज्ञान निर्माणका संकुचित पर्खालहरू अझै भत्किन सकेका छैनन् । फलस्वरूप, चलचित्रमा आएको विषयवस्तुमाथि अन्य विषयका प्राज्ञहरूले कमै मात्र चिन्तन–मनन गरेको कारण नै आजको दिनमा नेपाली चलचित्रहरूमाथि अत्यन्त न्यून प्राज्ञिक सामग्रीहरू मात्र उपलब्ध छन् ।

इको सिनेमा र कृत्रिम बौद्धिकता 

जलवायु परिवर्तनको प्रभावले विश्व मानव समुदायलाई चिन्तित बनाउँदै लैजाँदा चलचित्र सम्मेलनमा समेत पर्यावरणका मुद्दाहरूका बारेमा चर्चा हुनु आफैंमा सुखद् पक्ष हो । सिनेमा, प्राकृतिक संसार र मानवको जीवजन्तुहरूसँगको अन्तरसम्बन्धमा कथा बुनिएका इको सिनेमाका पाटोहरूमा पनि एसियन सिने सम्मेलनमा गम्भीर बहसहरू भयो ।

यस विषयमा कार्यपत्र प्रस्तुतकर्ताहरूको विचारमा इको सिनेमाको अवधारणाले चलचित्रले पर्यावरणको मुद्दामा पस्किएको विषयवस्तुको आलोचनात्मक अध्ययन गर्ने, मुद्दालाई प्रस्तुत गर्ने सवालमा आचारसंहिताको पाटो उठाउने र कुन चलचित्रकर्मीले के उद्देश्यका लागि चलचित्र बनाइरहेका हुन्छन्, त्यसबारे आलोचनात्मक चेत प्रस्तुत गर्ने जमर्को गर्नुपर्दछ ।

नेपालमा पनि पर्यावरणीय मुद्दामा निर्माण भएका थुप्रै वृत्तचित्रहरूमा इको सिनेमाका अवधारणा प्रत्यक्ष अप्रत्यक्ष रूपमा आइरहेका हुन्छन् । यद्यपि, यसबारे चिन्तन–मनन गर्ने बौद्घिक तप्काको कमी भइदिँदा हाम्रा आख्यान तथा गैरआख्यान चलचित्रहरूले उठान गरिरहेको वातावरण र पर्यावरणीय विषयवस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा कम चर्चा हुने गरेको छ ।

नेपालमा हालसम्म सिनेमासम्बन्धी कुनै जर्नल नै प्रकाशन नहुनु, नेपाली सिनेमाका बारेमा लेखिएका लेखहरू नेपाली भाषामा मात्र सीमित हुनु जस्ता पाटोहरूले पनि नेपालभित्र भइरहेको सिनेमासम्बन्धी कर्महरूमा विश्व प्राज्ञिक दुनियाँ बेखबर जस्तै हुन पुगेको छ । 

एसियन सिनेमा र सीमान्तकृत आवाज 

मूलधारका चलचित्रहरूको अतिरिक्त सीमान्तकृत वर्गको आवाज उठाइएका थुप्रै चाइनिज र तिब्बतीयन चलचित्रहरूको समेत यस सम्मेलनमा चर्चा भयो । यस अतिरिक्त प्रयोगवादी चलचित्रहरूको छायांकन र ध्वनि सौन्दर्यशास्त्रमा समेत घनिभूत छलफल हुँदै एसियन चलचित्रहरूमा आइरहेको लैंगिकताको सवालमा महिला तथा तेस्रो 

लिङ्गीहरूको चरित्र चित्रणको सवालमा पनि चर्चा हुनुले सम्मेलनको गरिमा बढाएको थियो । भारतमा भएको भाषाको लडाइँ र सांस्कृतिक पहिचानको सवालहरूमा भारतीय चलचित्रहरूले प्रस्तुत गरिरहेको प्रतिनिधित्व र प्रमाणिकताको सवालहरूमा भारतीय विश्वविद्यालयका अध्यापकहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा लामो समय एकै जात, वर्ग र क्षेत्रको अधिपत्यता रहेको अवस्थामा कसरी मुकुण्डो, नुमाफुङ्ग, कागबेनी जस्ता वैकल्पिक धारमा निर्माण भएका चलचित्रहरूले दुई दशकअघि नै नेपाली चलचित्रका लागि फरक बाटो कोरेका थिए भन्ने दृष्टान्तहरू यस आलेखका पंक्तिकारले नेपाली सिनेमाको ऐतिहासिक विकासक्रमबारे प्रस्तुत गर्दा उल्लेख गरेका थिए । 

अन्त्यमा, चलचित्र निर्माण र चलचित्रको प्राज्ञिक विवेचना एकअर्कामा अन्तरसम्बन्धित कर्महरू हुन् । चलचित्रको प्राज्ञिक उपलब्धिले चलचित्र क्षेत्रलाई स्पष्ट रूपमा नै मार्गनिर्देशन गर्दछ । यस परिप्रेक्ष्यमा नेपालमा भर्खरै मात्र चलचित्र अनुसन्धानको संस्कृति बामे सर्न मात्र लागेको अवस्थामा काठमाडौं महानगरले समेत आफूलाई युनेस्को चलचित्रमैत्री सहर घोषणा गरिरहँदा चलचित्रको अनुसन्धान क्षेत्रमा समेत बजेट खर्च गर्न सक्ने सम्भावनाको खोजी गर्नु अर्थपूर्ण हुनेछ ।

साथै, चलचित्र विकास बोर्डको नेपाली चलचित्रकर्मीहरूले रूपान्तरणकारी भूमिका अपेक्षा गरिरहेको सवालमा यस संस्थाले गर्नुपर्ने थुप्रै कामहरूमध्ये नेपाली चलचित्रहरूको प्राज्ञिक श्रीवृद्घिमा समेत गुणात्मक नतिजा प्राप्त गर्ने हेतुले काम गर्नुपर्ने देखिन्छ ।

राष्ट्रिय सिने संस्कृतिको विकासले मात्र नेपाली चलचित्रहरूले नेपालको ‘कल्चरल सफ्ट पावर’का रूपमा विश्वमञ्चमा दरिलोसँग आफ्नो हैसियत बनाउन सक्नेछ । नेपाली चलचित्रहरूले विश्व रंगमञ्चमा हैसियत बनाउने कार्यमा चलचित्र क्षेत्रसँग जोडिएको प्राज्ञिक कर्महरूको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुनेछ । 

सचिन जवाहरलाल नेहेरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका सचिन मेडिकल एन्थ्रोपोलोजिस्ट र फिल्ममेकर हुन् ।

Link copied successfully