गण्डकीको सर्वेक्षण : आशावादी छन् उद्यमी

देशमा अवसर नभएरै युवा बाहिरिएका हुन् र उद्यमी बन्ने वातावरण छैन भन्ने पक्षमा सर्वेक्षणको ठूलो हिस्साले मत प्रकट गर्नुले नेपालको आर्थिक प्रगति सहज देखिँदैन 

जेष्ठ ३०, २०८२

तिलक पाठक, प्रेम सापकोटा, सृष्टि अधिकारी

Survey of Gandaki: Entrepreneurs are optimistic

नेपालमा अवसर नभएरै प्रतिभाशाली व्यक्ति बाहिरिएका छन् भन्ने चर्चा परिचर्चा हुने गर्छ । विगत १० वर्षमा (२०१५–२०२५) नेपालमा दुईवटा ठूला भूकम्प, भारतको आर्थिक नाकाबन्दी, कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरले अवसर र रोजगारीमा पनि प्रभाव पार्‍यो भने अर्कोतिर यही दशकमा नयाँ सविधान जारी, संघीयता लागू हुनेदेखि सामाजिक, भौतिक र संस्थागत पूर्वाधार र प्रविधिका क्षेत्रमा नेपालले फड्को मारेको पनि देखिन्छ ।

प्रविधिको विकासले कामको प्रकृतिमा ल्याएको परिवर्तन, जनसांख्यिक अवस्था र अर्थतन्त्रको स्वरूपमा आएको परिवर्तन हेर्दा अवसरका विषयमा विभिन्न हिसाबले चर्चा हुने गरेको देखिन्छ ।

यही सेरोफेरोमा सामाजिक तथा आर्थिक सूचकहरूमा अघि रहेको गण्डकी प्रदेशका नागरिकले अवसरको सवाललाई कसरी लिएका छन् भनी बुझ्ने हिसाबले गण्डकीका ९ जिल्ला (कास्की, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, म्याग्दी, पर्वत, बागलुङ र नवलपुर) का १ हजार ६७ जनाबीच गत पुस १२ देखि माघ ११ मा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणबाट जे परिणाम आएको छ, त्यसले केही हदसम्म राष्ट्रिय अवस्थालाई समेत प्रतिनिधित्व गर्ने अपेक्षासहित प्रस्तुत आलेखमा त्यसको निचोडलाई प्रस्तुत गरिएको छ । 

लगानीको निराशाजनक वातावरण 

सर्वेक्षणअनुसार आफ्नो पेसा/व्यवसायप्रति सन्तुष्ट हुने (७०.३ प्रतिशत) को तुलनामा असन्तुष्ट हुने (१८.४ प्रतिशत) अर्थात् झन्डै ४ गुणाले कम छन् । यसरी बहुसंख्यक नागरिक अहिले गरिरहेको पेसा/व्यवसायप्रति सन्तुष्ट भए पनि देशमा लगानीको अवसर, उद्यमशीलता र रोजगारीको अवस्थादेखि धेरै नै असहमत र असन्तुष्ट रहेको सर्वेक्षणले देखाएको छ ।

लगानीको नयाँ अवसर देख्ने (३०.७ प्रतिशत) को तुलनामा त्यसमा असहमत हुनेहरूको संख्या (६१ प्रतिशत) झन्डै दोब्बर हुनुले लगानीको वातावरण नभएको कुरा देखाउँछ । दिनानुदिनको अनुभवबाट आएको यो मूल्यांकनले नागरिकको आर्थिक अवस्था ‘न बिग्रेको न सप्रेको’ स्थितिमा पुगेको देखिन्छ । जसलाई स्थिरताको विरोधाभास (स्टयागनेसन प्याराडक्स) को उत्कृष्ट उदाहरणका रूपमा पनि लिन सकिन्छ । 

नागरिकले लगानीको वातावरण र आर्थिक अवसर गतिलो नदेख्नुको एउटा मुख्य कारण लगानी स्वतन्त्रतामा रहेको कमजोर पक्षलाई मान्न सकिन्छ । त्यसो त नेपालमा व्यवसायको सुरुवात र सञ्चालनमा धेरै नै झन्झटिला प्रक्रिया सामना गर्नुपर्छ ।

व्यवसायको दर्ता, नियमन र व्यवस्थापनमा राज्यका बहुनिकाय जोडिएका छन् जसका अलग–अलग किसिमका परिपाटी, कानुनी एवं नीतिगत अस्पष्टता छन् । त्यसैलाई आधार बनाएर कर्मचारी संयन्त्रबाट खडा गरिने बाधा, व्यवधान र मध्यम वर्गमाथि परेको करको भारका कारण पनि नेपालमा लगानी र आर्थिक अवसर कम छ भन्ने विचारसँग सर्वेक्षणबाट प्राप्त जनमत मिल्न गएको छ । 

बहुसंख्यक उत्तरदाताले व्यवसाय अघि बढाउन अवरोध देखेका छन् । जसले लगानी स्वतन्त्रतासँग सम्बन्धित अर्को पाटोलाई पनि उजागर गरेको छ । व्यवसाय अघि बढाउन कुनै अवरोध नदेख्ने (२५.९ प्रतिशत) को तुलनामा अवरोध देख्ने (६०.४ प्रतिशत) अर्थात् दोब्बरभन्दा बढी हुनुले सर्वसाधारण सिन्डिकेट/कार्टेल आदिबाट वाक्क भएको देखाउँछ । व्यापार/व्यवसाय फस्टाउने अवसर देख्ने (२१ प्रतिशत) को तुलनामा त्यस्तो अवसर नदेख्नेहरू (७०.२ प्रतिशत) झन्डै सााढे ३ गुणा बढी हुनुले व्यापारिक एवं व्यावसायिक वातावरणको निराशाजनक अवस्थालाई झल्काएको छ । 

सर्वेक्षणले देखाएको तथ्य के हो भने कुनै क्षेत्रमा पुराना लगानीकर्ताको हालीमुहालीले कार्टेलको रूप लिएको छ जसका कारण नयाँ व्यवसायीलाई आउन धेरै गाह्रो छ र आइहाले पनि टिक्न मुस्किल छ । 

त्यस्तो अवस्था देखे/भोगेकै कारण स–सानो पुँजी भएकाहरू नयाँ लगानी गर्न हिच्किचाउँछन् । सर्वेक्षणका क्रममा यस्तो लगानीको नयाँ अवसर नदेख्ने बहुसंख्यक उत्तरदाता (६१ प्रतिशत) को अभिमतले पनि यही कुरा पुष्टि गरेको छ । राज्यले लगानी गर्ने प्रक्रियालाई जटिल बनाएको र नयाँ लगानी गर्नेलाई सहज हुने परिस्थिति सिर्जना गर्न नसकेको अवस्थासँग आम नागरिकको ठूलो हिस्साको विचार मिल्न गएको छ । 

खुम्चिएको अवसर 

देशभित्र आफ्नो सीप, क्षमता र ज्ञानअनुसार जागिरको अवसर देख्ने (१८.४ प्रतिशत) को तुलनामा त्यस्तो अवसर नदेख्ने (७७.७ प्रतिशत) अर्थात ४ गुणाभन्दा बढी हुनुले जागिरको अवसर निकै नै खुम्चिएको देखिन्छ । उद्यमी बन्ने वातावरण राम्रो छ भन्ने (१८.६ प्रतिशत) को तुलनामा त्यसमा असहमत हुने (६९.८ प्रतिशत) अर्थात् झन्डै ४ गुणा बढी हुनुले उद्यमशीलता फस्टाउने अवस्था पनि देखिँदैन । 

शैक्षिक अवस्थाको हिसाबले देशभित्र आफ्नो सीप, क्षमता र ज्ञानअनुसारको जागिरको अवसर छ भन्ने सहमत हुनेमा चाखलाग्दो तथ्य देखिएको छ । जति धेरै शैक्षिक उपाधि, त्यति नै सीप, क्षमता र ज्ञानअनुसार जागिरको अवसर नदेख्नु विडम्बनापूर्ण अवस्था हो ।

शैक्षिक योग्यता वृद्धि भएपछि आर्थिक गतिविधिका अवसर प्राप्त गर्ने कुरामा मानिस असन्तुष्ट हुँदै गएका देखिन्छन् । प्रवीणता प्रमाणपत्र तह/कक्षा ११–१२ अध्ययन गरेका (७७ प्रतिशत) को तुलनामा स्नातक गरेका (८०.९ प्रतिशत) र उनीहरूभन्दा पनि स्नातकोत्तर वा त्यसभन्दा माथि अध्ययन गरेका (८६.४ प्रतिशत) मानिस अवसर प्राप्त गर्ने कुरामा बढी असन्तुष्ट देखिन्छन् । यसरी सर्वेक्षणले पढेलेखेका मानिस अवसर प्राप्त गर्ने कुरामा खुसी छैनन् भन्ने देखाएको छ । 

यस सँगसँगै सर्वेक्षणले संकेत गरेको अर्को तथ्य के हो भने व्यक्तिले आर्जन गरिरहेको शिक्षा र बजारको माग एवं आवश्यकताबीच तादात्म्य छैन । शैक्षिक योग्यता र बजारको मागबीच गहिरो खाडल मात्रै होइन, नेपालको सन्दर्भमा औपचारिक शिक्षा र रोजगारीबीच पनि तालमेल छैन भन्ने देखिन्छ । व्यावसायिक तालिम पर्याप्त मात्रामा हुन नसक्दा पनि युवा बेरोजगारी बढेको देखिन्छ । यस किसिमको संरचनात्मक चुनौतीका बाबजुद व्यक्तिले रोजगारी पाए पनि अवसर वृद्धि सीमित भएकाले असन्तुष्ट रहने अवस्था आउन सक्छ ।

अवसर नभएरै विदेश 

युवाहरू बिदेसिएकोप्रति समग्रमा १०.४ प्रतिशत सन्तुष्ट हुनु र ८७.९ प्रतिशत उत्तरदाता सन्तुष्ट नहुनुले युवाहरूको पलायनप्रति चरम असन्तुष्टि रहेको देखिन्छ । देशमा अवसर नभएरै युवा बिदेसिएका हुन् भन्नेहरूको संख्या (८६.८ प्रतिशत) को तुलनामा समग्रमा असहमत हुनेहरूको संख्या ११.१ प्रतिशत मात्रै छ अर्थात् झन्डै ८ गुणाले कमी देखिन्छ । ठूलो संख्यामा युवा बिदेसिएकामा त आम नागरिक सन्तुष्ट छैनन् नै, आफ्नै परिवारका सदस्य बाहिर जाने कुराले पनि उनीहरू खुसी छैनन् । 

आफ्नो घरको सदस्य विदेश जान पाएकोमा खुसी हुने (२१.९ प्रतिशत) को तुलनामा असहमत हुने (४१.३ प्रतिशत) अर्थात् झन्डै दोब्बर छन् । यसबाट केही हदसम्म परिवारको आम्दानी र खर्चमा सकारात्मक योगदान देखिए पनि आफ्ना परिवारका सदस्यले देशमै अवसर नपाएको र अवसरकै लागि बिदेसिनुपरेको हो भन्ने मनोवैज्ञानिक धारणा उनीहरूमा गहिरोसँग गडेको छ ।

नेपालमा अवसर कम देखेर युवा बाहिर जाँदै छन् भन्ने भाष्यसँग पनि सर्वेक्षणको निचोड मेल खान्छ । यति हुँदाहुँदै पनि २१.९ प्रतिशत उत्तरदाता आफ्नो परिवारको सदस्य विदेश गएकामा खुसी हुनुले केही हदसम्म विदेश मोहको अवस्था पनि देखाएको छ । 

देशमा अवसर नभएरै युवा बाहिरिएका हुन् र उद्यमी बन्ने वातावरण छैन भन्ने पक्षमा जनमतको ठूलो हिस्सा उभिनुले नेपालको आर्थिक प्रगति सहज देखिँदैन नै, यसबाट आर्थिक वृद्धि सीमित हुने र त्यसैका कारण निराशा अझ बढ्ने विचारसँग पनि मेल खाने देखिन्छ । नागरिकमा लगानी गर्ने इच्छा र केही हदसम्म बचत गर्ने क्षमता वृद्धि भए पनि उपयुक्त नीति, संरचना र समग्र वातावरणको प्रतिकूलताले ती लगानी उत्पादनशील क्षेत्रमा हुन सकेका छैनन् र त्यसैको उपज हो– आर्थिक स्थिरताको विरोधाभासजन्य अवस्था (स्टयागनेसन प्याराडक्स) । 

युवा आशा र आत्मविश्वास 

सर्वेक्षणअनुसार युवा त्यसमा पनि १८ देखि २५ उमेर समूहका धेरै नै आशावादी देखिएका छन् । यो समूहले अन्य उमेर समूहका तुलनामा व्यापार/व्यवसाय अघि बढाउन कमै मात्र अवरोध होइन, फस्टाउने अवस्था पनि उत्तिकै देखेको छ । आफ्ना सीप, क्षमता र ज्ञानअनुसार जागिरको अवसर देख्नेमा पनि यही समूह अगाडि छ । उद्यमी बन्ने वातावरण पनि यही समूहले सबैभन्दा बढी देखेको छ ।

सम्भवतः यो उमेर समूहका व्यक्ति कर्मचारी संयन्त्रसँग खासै धेरै ‘एक्सपोज’ भइसकेको हुँदैन अर्थात् उनीहरूले कर्मचारी संयन्त्रको झन्झटिलो व्यवहार पनि बेहोरेका हुँदैनन् भने लगानी र उद्यममैत्री नभएका अप्ठ्यारा र अस्पष्ट नीतिको पनि सामना गरिसकेका हुँदैनन् ।

त्यसैले पनि उनीहरू यस विषयमा आशावादी देखिएका हुन सक्छन् । त्यसो त लगानीको अवसरचाहिँ उनीहरूले अलि कमै मात्रामा देखेका छन् । उनीहरूसँग पुँजी (रकम) अभाव भएकाले त्यस्तो भएको हुन सक्छ । जे होस्, युवा पुस्तामा ‘केही गर्नुपर्छ’ भन्ने जुन आशा देखिएको छ, त्यो उनीहरूमा देखिएको एक किसिमको आत्मविश्वास पनि हो । 

एकातिर युवा समूहमा आशा र आत्मविश्वास बढी छ भने अर्कोतिर जनसंख्याको हिसाबले त्यही समूह बढी छ । अझ गण्डकी प्रदेशको सन्दर्भमा कुरा गर्दा, १८ देखि २५ वर्ष उमेर समूहको जनसंख्या झन्डै १५ प्रतिशत छ भने सर्वेक्षणले पनि त्यही समूह सबैभन्दा बढी आशावादी रहेको देखाएको छ । वर्तमानमा हामीलाई उपलब्ध जनसांख्यिक लाभांशको अवसरलाई उपयोग गर्न तीनै तहका सरकारले लगानी, उद्यमशीलता र रोजगारअनुकूल नीति बनाएर युवा पुस्तामा देखिएको यो आशालाई अझै प्रोत्साहित गर्न सक्छ ।

त्यसो त सरकारले उद्यमशीलता बढाउने भनेर बेलाबखत घोषणा गरे पनि व्यवहारमा त्यस्तो देखिएको छैन । सरकारले के गर्ने भन्ने मात्र होइन, के नगर्ने भन्ने कुरामा पनि उत्तिकै स्पष्ट हुन आवश्यक पर्छ जसले मुलुकमा लगानीअनुकूल वातावरण सिर्जना हुन सक्छ । यसो भन्नुको मतलब लगानीअनुकूल नीति एवं कानुन बनाउने सन्दर्भमा के/कस्ता विषय थप्ने भन्ने मात्रै पर्दर्नै, वर्तमानमा बाधक रहेका के/कस्ता कुरा हटाउने भन्ने पनि उत्तिकै महत्त्वपूर्ण हुन जान्छ ।

सहज रूपमा पुँजी प्राप्ति, लगानी सुरक्षाको ग्यारेन्टी, व्यवसाय गर्न अवरोधरहित वातावरणदेखि बजारको पहुँचजस्ता सूचकहरूका आधारमा उद्यमशीलता फस्टाउने हो । तर उद्यमी–व्यवसायीले त्यसका लागि धेरै नीतिगत तगारा रहेको बताउँदै आएका छन् । यस्ता तगारा हटाउन व्यापक नीतिगत सुधार त आवश्यक पर्छ नै, विश्वासको वातावरण पनि उत्तिकै जरुरी हुन्छ ।

मुख्य रूपमा नीति/नियम निर्माणको प्रतिबद्धतासँगै सरकार यसको कार्यान्वयन र अभ्यासमै अघि बढेको अवस्थामा आम नागरिक लगानी, उद्यमशीलता र अवसरप्रति आशावादी हुने मात्र होइन, निश्चिन्त हुन पनि सक्छन् ।

तिलक पाठक अनुसन्धानकर्ता हुन्।

प्रेम सापकोटा अनुसन्धानकर्ता हुन्।

सृष्टि अधिकारी अनुसन्धानकर्ता हुन्।

Link copied successfully