कुनै पनि विमान दुर्घटनाले त्रासदी मात्रै निम्त्याउँदैन, सुधारका लागि जर्बजस्त दबाब पनि सिर्जना गर्दछ । हामीले बेवास्ता गरेका प्राविधिक तथा नीतिगत सुधारमा गम्भीर बन्न फेरि झकझकाएको छ
भारतको अहमदाबादबाट बेलायतको लन्डनतर्फ उड्दै गरेको एयर इन्डियाको जहाज दुर्घटनाको खबरले विश्व समुदायमा असाधारण झड्का दिएको छ । जहाजमा रहेका २ सय ४२ जनामध्ये एक जनाको मात्र उद्धार सम्भव भएको छ । अझ जहाज मेडिकल विद्यार्थीहरूको होस्टलमा ठोकिएकाले थप धेरैको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
यो घटनापछि परिवार शोकमा छन्, अनुसन्धानकर्ता दुर्घटनाका सम्भावित कारणको कडी जोड्ने प्रयासमा छन् । बोइङ ७८७ जहाज यसरी दुर्घटनाग्रस्त भएको यो नै पहिलो घटना भनेर दाबी गरिएको छ । एयर इन्डिया दुर्घटना भारतको मात्र नभई विश्व उड्डयन सुरक्षाको सामूहिक सरोकारको विषय हो । ठूलो संख्यामा जीवनको क्षति, परिवारलाई परेको अपूरणीय आघात, हवाई यात्रुको मनस्थितिमा परेको प्रभावलाई सम्बोधन गर्न भारतको उड्डयन प्राधिकरण, अन्तर्रार्ष्ट्रिय उड्डयन प्राधिकरण, एयरलाइन्स सञ्चालक टाटा समूह र जहाज निर्माता बोइङले संवेदनशील र जिम्मेवार अनुसन्धान गर्नुपर्छ ।
त्यसो त उड्डयन यात्रा संसारमै सुरक्षित माध्यम मानिन्छ, तर यसमा एउटै प्राविधिक वा मानवीय कमजोरी भएमा शतप्रतिशत विनाश निश्चितजस्तै हुन्छ । त्यसैले थोरै दुर्घटनाले पनि समाजलाई बिर्सनै नसक्ने चोट दिन्छ । प्रविधिका अन्य क्षेत्रजस्तै जहाज उडानमा पनि पछिल्ला दशकहरूमा क्रान्तिकारी विकास भएका छन् ।
उन्नत नेभिगेसन, आर्टिफिसियल इन्टेलिजेन्स, इन्धन किफायती इन्जिनले जहाजको उडानमा प्राविधिक भूमिका बढाउँदै लगेको छ । तर, उड्डयन विज्ञहरूकै भनाइमा सुरक्षा उपक्रम भने परम्परागत कानुन, संयन्त्र र अनुगमनमा आधारित छन् । जहाजभित्रको प्राविधिक क्षमता अपडेट गराउन प्रतिस्पर्धा भए पनि त्यहीअनुसारका नीति बनाउन भने संस्थाहरू अग्रसर छैनन् । विज्ञहरूका अनुसार विमानहरूको जटिल प्रणाली र परम्परागत मर्मत तथा अनुगमन प्रणालीबीच तालमेल मिलाउन विश्वभरका नियामक निकायले धेरै काम गर्न बाँकी छ ।
एआईको सहायताले उडान, अवतरण सहज भए पनि प्राविधिक असफलताका संकेतको पहिचान र हस्तक्षेपमा काम गर्न अझै सकेको छैन । विमानमाथिको सतर्कता, इन्जिनको स्वास्थ्य विश्लेषणसहित पूर्वचेतावनी दिन सक्ने गरी एआईलाई क्षमतावान् बनाउन सकिएको भए अहमदाबादको क्षति टार्न सकिन्थ्यो । त्यसैले सुरक्षा प्रणालीलाई अझ मजबुत बनाउनु अबको विज्ञानको चुनौती र जिम्मेवारी हो ।
दुर्घटनापछिका विश्लेषण पनि व्यापारिक प्रतिस्पर्धाबाट निर्देशित हुने गरेका छन् जस्तो कि एयर इन्डियाको दुर्घटनापछि जहाज निर्माता अमेरिकी कम्पनी बोइङमाथि प्रश्न उठेको छ । यिनै प्रश्नले बोइङको सेयर एकै दिन पाँच प्रतिशतसम्म खस्किएको छ । सुरक्षामाथि उठेका बहसले जहाज निर्माता कम्पनी, एयरलाइन्स सञ्चालक र नियामक निकायलाई जवाफदेही बनाउनुको सट्टा बोइङ वा एयरबसको सेयर मूल्यमा मात्र उतारचढाव ल्याउने हो भने मानव मूल्य फेरि पनि ओझेल पर्नेछ । त्यसैले यस्ता दुर्घटनाको अनुसन्धानको उद्देश्य समग्र प्रणालीलाई पुनरावलोकन सुधारको उद्देश्यबाट प्रेरित हुनुपर्छ ।
संसारको कुनै पनि भूगोलमा हुने दुर्घटनाले नेपाली समुदायलाई थप तरंगित बनाउँछ किनकि नेपाल विश्वका कठिनतम हवाई क्षेत्रमा पर्छ । पर्वतीय भूगोल, अप्रत्याशित मौसम र साना विमानस्थलहरूले नेपालको उड्डयन सुरक्षालाई अझ जटिल बनाउँछ । त्यसैले त नेपालमा अहिलेसम्म १ सय ८ विमान दुर्घटना भएका छन् जसमा ९ सय ५९ जनाको ज्यान गएको छ । विमान दुर्घटनापछिका अनुसन्धानमा पनि पर्याप्त गाम्भीर्यताको अभाव छ ।
हवाई दुर्घटनामा पाइलटको पनि ज्यान गएको अवस्थामा मानवीय कारण भनेर प्रतिवेदन आउने गरेकाले सुधारका मूल प्रश्न छायामा पर्दै आएका छन् । पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको एक वर्ष पुग्न लागेको छ । तर, विस्तृत जाँचबुझ प्रतिवेदन अहिलेसम्म आएको छैन ।
प्रतिवेदनले त्रुटि केलाउने मात्र होइन, सुधारका दिशानिर्देश पनि गर्ने हो । तर प्रतिवेदन आउन पनि एक वर्ष लाग्छ भने सुधार्नुपर्ने आधारभूत विषयमा हामीले सम्झौता गरिरहेका छौं भन्ने प्रस्ट हुन्छ । हाम्रा प्राविधिक, नीतिगत तथा भूराजनीतिक कमजोरीकै कारण हो, युरोपेली युनियनले सन् २०१३ देखि नेपाली एयरलाइन्सहरूलाई युरोप गन्तव्यमा प्रतिबन्ध लगाएको छ । यसले नेपालको उड्डयन प्रतिष्ठालाई गहिरो असर पुर्याएको छ । तर लाग्छ, यो सबले हाम्रो सरकारलाई चिन्तित बनाउँदैन ।
दुर्घटनापछि आउने प्रतिवेदनहरूले सधैंजसो उठाउने अर्को विषय हो, नेपालमा पाइलट, इन्जिनियर, एटीसी अफिसरहरूलाई पर्याप्त र गुणस्तरीय तालिम दिने संयन्त्रको अभाव छ । अहिले पनि पाइलटहरू विदेशी तालिम केन्द्रमा भर पर्न बाध्य छन् । देशभित्र सिमुलेटर अभ्यास, मनोवैज्ञानिक मूल्यांकन र संरचनागत प्रोत्साहनको अभावले पनि हवाई सुरक्षामा चुनौती बढाउने गरेको छ ।
कुनै पनि विमान दुर्घटनाले त्रासदी मात्रै निम्त्याउँदैन, सुधारका लागि जर्बजस्त दबाब पनि सिर्जना गर्दछ । हामीले बेवास्ता गरेका प्राविधिक तथा नीतिगत सुधारमा गम्भीर बन्न फेरि झकझकाएको छ । छिमेकमा भएको दुर्घटनाप्रति नेपाली समाज र नेपाल राज्यले गहिरो समवेदना व्यक्त गरेको छ । तर, त्यो आफ्नो उड्डयन सुरक्षालाई समृद्ध बनाउन पहल नगर्ने हो भने यस्तो सद्भाव कर्मकाण्डी मात्र हुनेछ ।
