सरोकारवालाको बीचमा समन्वयात्मक संगठन कार्ययोजना बनाउने, नेपाल सरकार र नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्मेवारी पूरा गर्ने एवं रक्तदानलाई जनचेतना तथा उत्प्रेरणामूलक गतिविधिका रूपमा सञ्चालन गर्ने हो भने देशमा रगतको कहिल्यै अभाव हुँदैन
विज्ञानको योगदानलाई सही कार्यान्वयन र जीवन बचाउ अभियानलाई पूर्ण सफल बनाउन रक्तदाताको भूमिका निकै अतुलनीय रहेको छ । सेवाभावले ओतप्रोत स्वयंसेवीबीच आजको समयसम्म आइपुग्दा विश्वमै सबैभन्दा बढी पटक रक्तदान गर्ने को भनेर एक प्रकारको प्रतिस्पर्धा नै देखिन थालेको छ ।
वास्तवमै विश्वकै स्वयंसेवी रक्तदाताहरू धन्यवादका पात्र मात्र होइन, मानवरूपी भगवान्कै रूपमा परिचित हुँदै आएका छन् ।
संसारमा रक्तसञ्चार सेवाको इतिहास झन्डै ४ सय वर्ष पुरानो छ । सन् १६२८ मा डा. जेम्स ब्लन्डेल (बेलायत) ले मृत्युन्मुख एक रोगीलाई मानिसको रगत सञ्चार गराउने प्रथम प्रयास गरेका थिए । सन् १९०० मा डा. कार्ल लेन्डस्टेनर (अस्ट्रिया) ले ए, बी र ओ रक्त समूह हुन्छ भन्ने कुरा पत्ता लगाए । सन् १९१४ मा डा. हस्टिनले रगतलाई शरीर बाहिर बोतलमा सोडियम साइट्रेड रसायनको सहायताले नजम्ने गरी राख्न सकिने तरिका पत्ता लगाए । सन् १९३२ मा पहिलो रक्तसञ्चार केन्द्र लेनिनगार्ड अस्पतालमा सञ्चालन भएको थियो ।
नेपालको रक्तसञ्चारको इतिहासलाई फर्केर हेर्ने हो भने विसं २००० मा स्वयंसेवी रूपमा परोपकार संस्थाको संस्थापक अध्यक्ष एवं सेवाका प्रतिमूर्ति स्व. दयावीर कंसाकारले मृत्यु शय्यामा छटपटाइरहेका रत्नकाजी तुलाधरलाई सर्वप्रथम रक्तदान गरी जीवनदान दिए । यो नेपालको इतिहासमै पहिलो स्वर्ण अंकित रक्तदान कार्य हो । त्यस्तै गरेर नेपालकी प्रथम महिला रक्तदाता सिस्टर तारादेवी तुलाधरले २०१८ मा एक मिर्गौलापीडित बिरामीलाई पहिलो पटक रक्तदान गरेकी थिइन् ।
नेपालमा विसं २०२३ साउन १२ बाट लक्ष्मी ब्लड बैंकका नाममा वीर अस्पताल नजिकैको सानो घरमा रक्तसञ्चार सेवा नेपाल रेडक्रस सोसाइटीले स्थापना गरी सेवा सञ्चालन गरेको थियो । प्रारम्भिक अवस्थामा काठमाडौंमा केवल १५७ युनिट रगत संकलन गरी सेवा प्रदान गरिएको थियो ।
सन् २००४ देखि विश्वव्यापी रूपमै विश्वकै रक्तदाता एवं सो अभियानमा साथ दिने सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै ए, बी र ओ रक्त समूह पत्ता लगाउने डा. कार्ल लेन्डस्टिनरको जन्मोत्सवको पावन अवसरमा जुन १४ का दिन विश्व रक्तदाता दिवस मनाउँदै आइरहेको छ । सन् २०२५ मा विश्व स्वास्थ्य संगठनले आफ्नो आवेदनपत्रमा ‘रक्तदान गरौं, आशा जगाऔं, हामी मिली जीव बचाऔं’ भन्ने नारालाई अगाडि सारेको छ ।
यस पटक यो नारालाई अझ प्रभावकारी बनाउन आवश्यक परेकाले सरल तरिकाले समयमै सुरक्षित रगत उपलब्ध गराउन सकिएमा ज्यान बचाउन सकिन्छ भन्ने मान्यताका साथ विश्वभर रगतको अपरिहार्यता एवं महत्त्वलाई व्यापक बनाउँदै रक्तदानका लागि प्रोत्साहित गर्न विश्वभर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउने घोषणा गरिएको हो ।
नेपालमा रक्तसञ्चार सेवा स्थापनाकालदेखि हालसम्म नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्दै आइरहेको छ । हाल नेपालमा राष्ट्रिय रक्तनीति २०७० ले रक्तसञ्चार सेवालाई व्यवस्थित गर्न राष्ट्रिय रक्तसञ्चार कार्यक्रमअन्तर्गत नेपाल सरकारले नियमन निकायका रूपमा स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई केन्द्र बनाई राष्ट्रिय रक्तसञ्चार ब्युरोको गठन भएको छ । जुन स्वागतयोग्य छ ।
किनभने यस ब्युरोमार्फत राष्ट्रिय रक्त कार्यक्रममा यो ब्युरोले प्रभावकारी रूपमा देख्छ र राज्यको सहभागिता देखिन्छ । तर हालसम्म यो ब्युरो त्यति प्रभावकारी रूपमा देखिएको छैन । यो जुन उद्देश्यले स्थापना गरिएको छ, त्यसले पूर्णता पाउनुपर्छ, न कि अन्य सरकारी निकायजस्तो ब्युरो पनि सरकारी कार्यालयझैं केही कर्मचारीलाई जागिर खाने ठाउँ नबनोस् ।
देशमा रगतको अभाव ठूलो समस्याका रूपमा देखिएको छ । तर, यो समस्या समाधान गर्न धेरै सजिलो छ । सम्बन्धित सरोकारवालाहरूको बीचमा समन्वय नहुनु, राष्ट्रिय रक्त कार्ययोजना नहुनु यसका खास समस्या हुन् । सरोकारवालाले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने यसको स्थायी समाधान गर्न सकिन्छ । उदाहरणका लागि सरोकारवालाको बीचमा समन्वयात्मक संगठन कार्ययोजना बनाउने, नेपाल सरकार र नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्मेवारी पूरा गर्ने एवं रक्तदानलाई जनचेतना तथा उत्प्रेरणामूलक गतिविधिका रूपमा सञ्चालन गर्ने हो भने देशमा रगतको कहिल्यै अभाव हुँदैन ।
नेपालमा संस्थागत रूपमा रक्तसञ्चार सेवा सुरु भएको ५९ वर्ष पूरा भएको छ । हाल रक्तसञ्चार सेवा स्वर्ण महोत्सव मनाउन गइरहेको छ । रक्तदानसहित राष्ट्रिय रक्त कार्यक्रमको प्रमुख सरोकारवालाका रूपमा रहेको स्वयंसेवी रक्तदाताको महत्त्वपूर्ण योगदानलाई स्मरण गर्दै रक्तदाता तथा रक्तदान गर्ने संस्थाहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा कार्यरत एसोसिएसन ब्लोदानले नेपालमा रक्तदानको क्षेत्रमा विशेष योगदान पुर्याउने रक्तदाता तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष प्रथम रक्तदाता स्व. दयावीर सिंह कंसाकारप्रति समर्पित गरी ब्लोदानको स्थापनाको दिन पारी फागुन २२ मा प्रथम राष्ट्रिय रक्तदाता दिवस मनाइएको छ ।
सबै लक्ष्य सफल हुन्छन् भन्ने छैन तर लक्ष्यप्रति सारिने हरेक पाइला सही हुनुपर्छ । त्यसका लागि सकारात्मक सोच, रचनात्मक विचार र दृष्टिमा उदारता हुनु जरुरी छ ।
– श्रेष्ठ ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) का अध्यक्ष हुन् ।
