राजनीतिको मूलमा छुटेका मान्छेहरू

सहरमा बसेर गाउँमा राजनीति गर्न जानेहरूले जनताका समस्याको उचित पहिचान गर्न सक्दैनन्, समस्या समाधानका लागि उच्च तहको प्रयास पनि गर्दैनन्, त्यसैले बसाइँसरुवाको हातबाट स्थानीय राजनीति झिक्नुपर्छ

जेष्ठ २८, २०८२

चेतन अधिकारी

People who have missed the core of politics

रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का अध्यक्ष शिवप्रसाद नेउपानेले गत जेठ ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै गाउँ रित्तो भएको पीडा पोखे ।

उनले लेखे, ‘सबै जनसंख्या गाउँ बाहिर छ । यसलाई गाउँमै बस्ने व्यवस्था सरकारले गरिदिनुपर्छ । गाउँमा सामुदायिक विद्यालय बनेका छन् । विद्यार्थी छैनन् । मेरो वडामा ६ हजार ३ सय ४४ जनसंख्या छ । तर बजेट जम्मा ४० लाख रुपैयाँ छ । गाउँपालिकाले जनसंख्या, भूगोल र राजस्व नहेरी गोलमटोल बजेट छुट्याउँछ । सरकारले जनतालाई गाउँमै बस्ने वातावरण बनाइदिनुपर्‍यो ।’

भुइँतहका जनतासँग प्रत्यक्ष जोडिने एक जना वडाअध्यक्षले गाउँ रित्तिएको समस्या हल गरिदिन र रित्ता भएका गाउँलाई थप रित्तिन नदिन, बाहिर गएका मान्छेलाई गाउँमै फर्काइदिन प्रधानमन्त्रीलाई नै हारगुहार गरे । नेपालले संघीय लोकतान्त्रिक व्यवस्था अवलम्बन गरेपछि देशमा तीन तहका गरी ७ सय ६१ वटा सरकार छन् ।

तीमध्ये संघीय र प्रदेश सरकारसम्म भुइँतहका नागरिकको पहुँच कम छ । ती सरकार मूलतः नीतिगत तहको काम गर्ने भएकाले नागरिकका दैनिक आवश्यकता सिफारिस, गुनासा, झैझगडा मिलाउने उपल्ला दुई तहका सरकारप्रतिको आक्रोश र निराशा पोख्ने ठाउँ पनि स्थानीय सरकार हुन् । यस्ता सरकार ७ सय ५३ वटा छन् । तर यसभन्दामुनि अर्को एउटा निर्वाचित संरचना ‘वडा’ छ । जसले पनि आफूलाई ‘सरकार’ कै नाममा चिनाउन चाहन्छन् । नागरिकलाई ३८ प्रकारका कानुनी कागजात उपलब्ध गराउने हैसियत राखेका पहाडी भेगका वडाहरू ‘गाउँ रित्तिएर’ र तराई तथा सहरी क्षेत्रका वडाहरू ‘गाउँ भरिएर’ समस्यामा छन् ।

बढ्दो बसाँइसराइ, चुलिँदो निराशा

आम मानिसहरूमा निराशा भरिएको भाष्य समाजमा व्याप्त छ । धेरै मानिस आफैंसँग बेखुसी भएको देखिन्छ । यसको ज्वलन्त प्रमाणका रूपमा पछिल्ला वर्षहरूमा बढ्दो आत्महत्याको ग्राफले पनि पुष्टि गरेको छ । विभिन्न अध्ययनहरूले मानिसको अत्याधिक बसाइँसराइ पनि निराशाको एउटा कारण मानेको छ । बसाइँसरुवाहरू यसै पनि उच्च महत्त्वाकांक्षी स्वभावका हुन्छन् । उनीहरू आफूले छोडेर आएको ठाउँमा भन्दा उन्नत जीवनशैली र रबाफिलो देखिन/देखाउन चाहन्छन् ।

जति मानिसहरूले ठेगाना बदल्दै जान्छन् उत्ति उनीहरूको जीवनशैली नयाँ स्वरूपमा परिणत हुँदै जान्छ । बदलिँदो जीवनशैली र वास्तविकतासँग जब मानिसहरूको भेट हुँदैन तब निराशाको झिल्को त्यही बिन्दुबाट सुरु हुन्छ । जेठको दोस्रो हप्ता ललितपुरको गोदावरीमा नेकपा एमालेले आयोजना गरेको वडा अध्यक्षहरूको भेलामा सहभागी चितवनको रत्ननगर नगरपालिका–१६ का वडा अध्यक्ष हेमराज थापाले आफ्नो वडामा अत्याधिक बसाइँ सरेर मानिस आउने गरेको र उनीहरू नै धेरै निराशाको चंगुलमा पर्ने गरेको बताए ।

यस पंक्तिकारसँगको संवादमा थापाले बसाइँ सरेर आउने मानिसका सबै आकांक्षा पूरा गर्ने हैसियत वडाको नभएका कारण उनीहरूले ‘वडा सरकार’ प्रति नै नकारात्मक धारणा फैलाउने गरेको बताए । स्थिर बस्ती र त्यहाँका बासिन्दाहरूको महत्त्वाकांक्षा अस्वाभाविक हुँदैन । यस्ता ठाउँमा बसेका मानिसहरूले स–साना परिवर्तनलाई पनि उपलब्धि ठान्छन् । 

देशकै सबैभन्दा बढी बसाँइ सरुवाहरू बस्ने ठाउँमा काठमाडौं आशा र निराशा दुवैको केन्द्रबिन्दु हो । हरेक दिन आउने नयाँ मान्छेलाई चित्त बुझाउनु यहाँका जनप्रतिनिधिलाई फलामको चिउरासरह हुन्छ । काठमाडौं महानगरपालिका–३ का वडाअध्यक्ष प्रेम थापाको अनुभवमा काठमाडौंमा रैथानेभन्दा बसाइँ सरेर आएकाहरूको बाहुल्य छ । यिनैले हरेक चुनावमा फरक नतिजा दिलाउँछन् ।

वडाअध्यक्षहरूको कुरा सुन्दा काठमाडौं वा सहरका होटलमा बसेर बसाँइसराइ ‘बुद्धि बिलास’ को विषयवस्तुका रूपमा प्रस्तुत भएको छ । तर गाउँ र भित्री समाजमा यसले अकल्पनीय सामाजिक र कानुनी जटिलता सिर्जना गरेको छ । दूरदराजका गाउँ रित्तिनबाट जोगाउन वडाअध्यक्षहरूले आफ्नो बुताले भ्याउनेसम्मका प्रयत्न गरिरहेका छन् ।

अर्कातिर मानिस थुप्रिएका सहरी र तराईका वडाअध्यक्षहरूले तिनीहरूको आकांक्षाको सम्बोधन गर्न नसक्दा निराशाको बीजारोपण यही जमातले गरिरहेको छ । मानिस एउटा मात्र भूगोलमा केन्द्रित भइदिँदा उत्पन्न हुने सामाजिक, राजनीतिक तथा कानुनी अप्ठ्याराका बारेमा उपल्लो राजनीतिक वा प्रशासनिक असहजता पनि समाजले व्यहोरिरहेको छ । 

उपभोक्ता समिति गठनमै कठिनाइ

बाह्य बसाइँसराइको चपेटामा परेको धादिङको ज्वालामुखी गाउँपालिका–१ मा घरधुरी र जनसंख्या घटेर उपभोक्ता समितिमार्फत काम गर्न कानुनी जटिलता भएको छ । वडामा २०/३० वटासम्म उपभोक्ता समिति एकै पटक गठन गर्नुपर्छ । एउटा समितिमा बसेको सदस्यलाई अर्को समितिमा दोहोर्‍याएर राख्न कानुनले दिँदैन ।

त्यसमा पनि बैंकमा खाता सञ्चालन गर्ने पदाधिकारीले त अर्को समितिमा बस्न मिल्दैन । ६० वर्षभन्दा माथिका नागरिकलाई पनि उपभोक्ता समितिमा राख्न मिल्दैन । जे गर्न मिल्दैन भनिएको छ, बसाइँसराइले त्यही गर्नुपर्ने बाध्यता टोलटोलमा खडा गरिदिएको छ । एउटै व्यक्ति दोहोर्‍याएर उपभोक्ता समितिमा बस्न मिल्दैन भने पनि संख्या पुर्‍याउनका लागि समितिमा राख्नै पर्ने बाध्यता छ ।

वैदेशिक रोजगारी र सहरमा बसाइँ सर्दा गाउँमा ६० वर्षभन्दा माथिको जनसंख्याको बाहुल्य छ । गाउँमा उपलब्धजस्ता उपभोक्ता छन्, जति उपभोक्ता छन् उनीहरूलाई नै समितिमा राखेर गाउँका सरकार र वडा सरकारहरू चलिरहेका छन् । 

बसाइँसराइले जनसंख्या मात्र घटाएको छैन, मतदाता र गाउँमा जाने रकम पनि घटाएको छ । गाउँमा बाँदरलगायत जंगली जनवारको आतंक बढेको छ । यसको निराकरण कसरी गर्ने वडा अध्यक्षहरूलाई थाहा छ, तर सामर्थ्य छैन । त्यसैले उनीहरू बसाइँसराइलाई वडाको मात्र समस्या होइन, सबैको मूल समस्या हो भन्ने पालिका प्रदेश र संघीय सरकारले पनि पहिचान गरिदेओस् भन्न चाहन्छन् । 

बनेन राजनीतिक मूल मुद्दा 

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–३ का वडाअध्यक्ष शिवकुमार कार्की बसाइँसराइलाई राजनीतिको मूल मुद्दा मान्छन् । गाउँको राजनीति टिकाउन गाउमै बस्ने मानिसलाई नेता बनाउनुपर्छ भन्ने उनको मान्यता छ । सहरमा बसेर गाउँमा पार्टी कमिटी चलाउने नेताका कारण जनता र पार्टीका तन्तु खुकुलिएका छन् ।

टाठाबाठा सहर पस्ने र गाउँका पद लिने भइरेको छ । गाउँमा हुनेहरूको कतिपय अवस्थामा समकालीन राजनीतिक सुझबुझ न्यून हुन सक्ने कारणले त्यहाँको राजनीति नै कमजोर भएको छ । सहरमा घर बनाएर गाउँमा राजनीति गर्न जानेहरू पाहुनाजस्ता भएका छन् । तिनले जनताका समस्याको उचित पहिचान गर्न नसक्ने र समाधानका लागि पनि उच्च तहको प्रयास नगर्ने भएकाले बसाइँ सरुवाको हातबाट स्थानीय राजनीति झिक्नुपर्छ ।

गाउँबाट सहर पसेका नेताको मतदाता नामावली त गाउँमै छ तर जनगणनामा उनीहरूको गन्ती सहरमा भएको छ । संविधानमा जनसंख्याअनुसार निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था छ । वित्त आयोगले जनसंख्याका आधारमा संघीय सरकारको अनुदान सहायता पठाउँछ ।

यता जनगणनाले ६ महिनाभन्दा बढी समयदेखि व्यक्तिको बसोबास जहाँ छ, त्यसलाई त्यही ठाउँबाट गणना गर्दछ । यिनै कारणले कतिपय ठाउँमा मतदाताभन्दा जनसंख्या थोरै भएका अनौठो लाग्ने तथ्यहरू देखिएका छन् । के घट्दो जनसंख्या र बसाइँसराइ राजनीतिको मूल विषय बन्ला त ? जुन दिन बसाइँसराइ र यसका सामाजिक राजनीतिक प्रभावको महसुस राजनीतिज्ञले गर्दछन्, त्यही दिन यो राजनीतिको मूल विषय बन्नेछ । 

राजनीति गर्नेले उत्पादनमा जोडिने हो भने उनका कार्यकर्तालाई पनि यस्ता काममा उत्प्रेरणा हुन्छ । पाँच जना नेताले लघु उद्यम नै सुरुवात गरे भने पनि त्यहाँ कम्तीमा २५ जनाले रोजगारी पाउँछन् । जसले वैदेशिक रोजगारीलाई एक हदसम्म न्यून गर्दछ । श्रम गर्ने बानी हुन्छ । स्थानीय पालिकाले प्रवर्द्धन र बजारीकरणको व्यवस्था गरिदिए किसानले ढुक्कले उत्पादन गर्न सक्छन् । किसानलाई कृषि प्रणालीसँग सम्बन्धविच्छेद गराउन २०७२ सालको भूकम्प र कोभिड–१९ ले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

भूकम्पले घर भत्काएपछि राहतको बाढी आयो । जसले मानिसलाई श्रम नगर्न प्रेरित गर्‍यो । त्यसको केही वर्षमै लगत्तै कोभिडको महमारी फैलियो । यसबेला पनि गाउँगाउँमा विभिन्न नामका दाताहरूले राहात पुर्‍याए । यसले पनि किसानलाई खेतबारी बाँझो राखेर आश्रित हुनै प्रेरित गर्‍यो । यो मनोवृत्तिलाई बदल्न कृषि प्रणालीसँग किसानलाई जोड्नु गाउँको जनसंख्यालाई स्थिरतातर्फ लैजाने पहिलो उपाय हुन सक्छ । अन्यथा गाउँ छोडेर सहर पसिसकेपछि गाउँको चिन्ता जाग्ने र गाउँलेलाई नै खेती किसानी गर्न सिकाउनेको कमी हुने छैन । 

जनसंख्या र बसाइँसराइ राज्यको मूल सरोकारको विषय नभएसम्म गाउँलाई पुनर्जीवन चिन्ताको सम्बोधन हुँदैन । जनसांख्यिक चक्रमा जन्मले जनसंख्या बढाउँछ, मृत्युले घटाउँछ । तर बसाइँसराइले एकै पटक जनसंख्या घटाउँछ र बढाउँछ । राजनीतिज्ञ थाहा पाउनुपर्छ । मानिस घट्दा मतदाता पनि घटे, कार्यकर्ता घटे, आमसभाको आकार पनि घट्यो । यही कारण विस्तारै निर्वाचन क्षेत्र घट्छन् । पालिकाहरू गाभिन्छन् । त्यसपछि राजनीति गर्ने क्षेत्र पनि घट्नेछ । 

युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने हो भने गाउँमै उद्यमशीलताको विकास हुन्छ । युवाहरू सानोतिनो रोजगारीको खोजीमा सहर र विदेश धाउनु पर्दैन । उत्पादनसँग जोडिएका सामग्रीको बजारीकरणको जिम्मा वडा, पालिका र संघीय सरकारले लिने हो भने उजाड भएका गाउँहरू फेरि भरिनेछन् । सहर पसेका नागरिक पनि बाँझा खेतबारी स्याहार्न गाउँमै फर्किनेछन् । यसलाई मूल मुद्दा नमान्ने हो भने अब छोटो समयमा नै गाउँहरू जंगलमा परिणत हुनेछन् । जनसंख्याको सबै भार तराई र सीमित सहरी क्षेत्रले धानिदिनुपर्नेछ । 

चेतन अधिकारी जनसंख्या र बसाइँसराइमा विद्यावारिधि गर्दै छन्

Link copied successfully