बंगलादेशमा बिजुली निर्यातको संशय हटाऊ

जेष्ठ २७, २०८२

सम्पादकीय

Remove doubts about electricity export in Bangladesh

गत वर्ष पहिलो पटक तेस्रो मुलुकका रूपमा बंगलादेशलाई बिजुली बेचेर उत्साहित भएको नेपाली पक्ष यस वर्ष भने अन्योलमा देखिएको छ । सम्झौताअनुसार, जुन १५ (असार १) देखि ४० मेगावाट बिजुली बेच्नुपर्ने भए पनि बंगलादेशले प्रतीतपत्र (एलसी) नै खोलेको छैन । एलसी खोल्दा नेपाललाई तिर्ने तीन महिनाको पैसा राख्नुपर्ने हुन्छ । पारदर्शी तथा सुरक्षित व्यापारका लागि सहयोगी हुने र भुक्तानीको समेत सुनिश्चितता हुने एलसी नखोलिनु संशयको विषय छ ।

अघिल्लो वर्ष नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत उसले नतिरेकाले संशयलाई झनै बढाएको छ । यसलाई चिर्नका लागि बंगलादेशसँग सघन संवाद नै विकल्प हो । तेस्रो देशसम्म फैलिएको बिजुली व्यापारलाई भरपर्दो बनाउन र अन्य देशसम्म फैलाउनसमेत बंगलादेशसँग गरिने संवाद र निष्कर्षबाट प्राप्त अनुभव उपयोगी हुन सक्छ । त्यसैले अहिलेलाई सम्झौताअनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशतर्फ गर्नुपर्ने बिजुली निर्यात र त्यसको भुक्तानीलाई सहज तथा नियमित बनाउन नेपालले आफ्नो कूटनीतिक क्षमता प्रस्तुत गर्नुपर्छ ।

नेपालबाट बंगलादेश विद्युत् निर्यातका लागि झन्डै ६ वर्षदेखि चलेको गृहकार्य गत वर्ष निष्कर्षमा पुगेको थियो । दुई देशले २०७५ साउन २५ मा ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । २०८१ असोजमा १७ मा नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच त्रिपक्षीय सम्झौता भएपछि भने विद्युत् निर्यातको सम्भावना नजिकिएको थियो । सन् २०२९ सम्म नेपालले बंगलादेशलाई हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात गर्ने सम्झौता छ । अन्तिम समयमा प्रक्रिया पूरा भएका कारण गत वर्ष भने अन्तिम दिन (नोभेम्बर १५) मा मात्रै बिजुली निर्यात हुन सकेको थियो । त्यस दिन भारतको प्रसारण लाइन हुँदै ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो । यसबाट ३० हजार ८० डलर आम्दानी भएको थियो । सम्झौताअनुसार अब जुन १५ (असार १) देखि पुनः निर्यात सुरु हुनुपर्नेमा अन्योल देखिएको हो । 

बिजुली बिक्रीको सम्झौता र कार्यान्वयन नेपालका लागि सामान्य विषय थिएन । पहिलो त, नेपालमा उत्पादित बिजुली भारतमा मात्रै बिक्री हुँदै आएकामा तेस्रो देशसम्म पुगेको थियो । बिजुली उत्पादनको प्रशस्त सम्भावना रहेको नेपालका लागि यो बजारको प्राप्ति र विस्तारको बलियो आधार थियो । आयातमुखी अर्थतन्त्रले गाँजिएको बेलामा निर्यातको आत्मविश्वाससँग जोडिएको विषय थियो । पाँच महिना बिजुली निर्यात गर्दा नेपालले वार्षिक करिब एक अर्ब आम्दानी गर्थ्यो । थोरै मात्रामा भए पनि यसले व्यापार घाटाको अनुपातलाई कम गराउन सहयोग पुग्थ्यो । बिजुली बिक्रीबाट नेपालले अमेरिकी डलरमा भुक्तानी पाउने सम्झौता थियो । डलर सञ्चिति वा उपयोगका दृष्टिकोणले यो अर्को उल्लेखनीय पक्ष थियो । त्यस्तै, नेपाल, भारत र बंगलादेशबीच व्यापारिक सहकार्य बढाउने आधार पनि निर्माण गर्थ्यो । यसले क्षेत्रीय लाभ, समृद्धि र सहयात्राको सम्बन्धलाई पनि बलियो बनाउँथ्यो । समग्रमा बंगलादेशलाई बिक्री गरिने बिजुली अन्य नियमित वस्तुको बिक्री र त्यसबाट प्राप्त हुने आम्दानी जस्तो सरल विषय मात्रै थिएन । बहुआयामिक लाभको विषय भएकैले यसबारे अतिरिक्त चर्चा भएको थियो । तर बिजुली बिक्री प्रक्रिया नियमित हुन सकेन भने उल्लेखित सकारात्मक सम्भावना शिथिल बन्नेछन् ।

बंगलादेशलाई गरिने बिक्री मात्रै होइन, नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भइसकेको छ । बिजुली बिक्रीका सम्बन्धमा पहिलो त हाम्रै उत्पादन बढाउन आवश्यक छ । अर्कोतर्फ, बिजुली निर्यातका लागि वैकल्पिक बजारको पहिचान आवश्यक छ । भारततर्फ गरिँदै आएको र बंगलादेशतर्फ पनि थालिएको बिक्रीले सकारात्मक संकेत दिएका हुन् । तर जुन अन्योल यतिबेला बंगलादेशको हकमा देखिएको छ, त्यसले भविष्यमा हामीले प्राथमिकताका साथ उत्पादन गरेका जलविद्युत् बिक्रीमा अवरोध आउन सक्ने मधुरो त्रास पनि देखिन्छ । त्यसैले पनि हाम्रा पहलकदमी दिगो र दीर्घकालीन सोचका साथ निर्वाह हुनुपर्छ । सम्झौतामा आधारित दुई देशबीचको व्यापार भएकाले पनि बंगलादेशतर्फ निर्यात हुने बिजुलीको विषय अन्तर्राष्ट्रिय विश्वसनीयतासँग जोडिन्छ । त्यसैले पनि बंगलादेश आफूले गरेको सम्झौतामा अडिनेछ र दुवै पक्षले अधिकतम सकारात्मक लाभ लिनेछन् भन्ने विश्वास गर्न सकिन्छ । यस प्रसंगमा हामीले स्वीकार गर्नुपर्ने र सुधार गर्नुपर्ने पक्ष भनेको हाम्रो कूटनीतिक पहलकदमीको कमजोर प्रदर्शनबारे हो । कुनै विषयमा सम्झौता हुने तर निरन्तर संवाद नगर्ने, आफ्ना हितलाई सुनिश्चित हुने गरी ‘फलोअप’ नगर्ने पुरानो शैलीमा सुधार नआएको देखिन्छ । यसतर्फ भने हामीले यथाशक्य सुधार गर्न आवश्यक छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully