जनताबाट कर, भ्रातृ संस्थालाई घर

जेष्ठ २६, २०८२

सम्पादकीय

Taxes from the public, houses to fraternal institutions

सरकारी ढुकुटीको दुरुपयोगको एउटा सन्दर्भ हो– नेपाल तरुण दलको भवन निर्माणका लागि गरिएको तीन करोड बजेट विनियोजन । सत्तारूढ कांग्रेसको भ्रातृ संस्थाको कार्यालय निर्माणमा सरकारले बजेट विनियोजन गर्नु सत्ता र शक्तिको दुरुपयोग मात्र हो ।

पार्टीगत स्वार्थका लागि राष्ट्रिय ढुकुटी दोहनको यो पहिलो उदाहरण होइन, तर राजनीतिक नेतृत्वमाथि चौतर्फी आक्रोश बढेको बेलासमेत यतिसम्म चेतना नहुनु विडम्बनापूर्ण हो । राज्यशक्ति र स्रोतको यस्तो दुरुपयोगले सार्वजनिक संस्थामाथिको जनविश्वास खिइँदै गएको हो । जब नागरिकले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारका लागि पनि राज्यबाट उपेक्षा सामना गर्नुपर्छ, त्यही सरकारले दल र गुटविशेषका योजनालाई प्राथमिकता दिनु गम्भीर बेइमानी हो । यसले केवल करदाताको विश्वास तोड्दैन, लोकतन्त्रप्रतिको आस्था पनि कमजोर बनाउँछ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट काठमाडौं महानगरपालिका–१३ स्थित रवि भवनमा ‘गणेशमान सिंह स्मृति भवन’ बनाउने घोषणा गरेको छ । तर उक्त भवन खासमा कांग्रेसको भ्रातृ संस्था तरुण दलको कार्यालयका लागि हो भन्दै संगठनका अध्यक्ष विद्वान गुरुङले विज्ञप्तिमार्फत पुष्टि मात्र गरेका छैनन्, यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति विशेष आभार प्रकट गरेका छन् । गणेशमान सिंह, जसले निष्ठा र नागरिक–हितको राजनीतिलाई अभीष्ट बनाएका थिए, उनको नाम राखेर भवन बनाउने र झुक्याएर दलीय संगठनको कार्यालय सञ्चालन गर्नु उनीमाथि पनि अन्याय हो । 

राजनीतिक दलका नेताको गरिमा र विरासतलाई जीवन्त राख्न विकास पूर्वाधार, प्रतिष्ठान, अध्ययन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने अभ्यास विश्वभरि नै छ । त्यसको अनुसरण नेपालमा हुनु स्वाभाविक हो । तर जुन पार्टीको सरकार छ, त्यही पार्टी निकटका नेताका नाममा स्थापना भएका संस्थाका लागि मात्र बजेट विनियोजन गर्ने बेथिति नेपालमा बढी छ । अझ त्यसरी सञ्चालन भएका संस्थाहरूलाई समाजको बृहत्तर हितका लागि होइन, पार्टी र नेता विशेषको स्वार्थका लागि प्रयोग गर्ने गरिएको छ । नेपालमा पनि बीपी, गणेशमान, मदन भण्डारी, मनमोहन अधिकारी, तुलसीलाल अमात्यजस्ता नेताका नाममा प्रतिष्ठान खोलिएका संस्थाको औचित्यलाई सम्बन्धित पार्टीहरूले नै खुम्च्याएका छन् । 

देशका लागि योगदान गरेका नेताका नाममा फाउन्डेसन खोल्नु जति स्वाभाविक छ, संस्थाको दायरालाई पार्टी र गुटभित्र संकुचित गर्नु उत्तिकै अस्वाभाविक छ । त्यसैले यस्ता संस्थालाई राज्यले दिने अनुदानमा पनि विवाद हुन्छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा बागमती सरकारले मदन भण्डारी फाउन्डेसनलाई ५० लाख अनुदान दिने घोषणा गरेको थियो, विरोधपछि उक्त निर्णय फिर्ता गर्नुपरेको थियो । तर बागमती प्रदेशको उदाहरणबाट संघीय सरकारले कुनै पाठ सिकेको देखिएन, त्यसैले अहिले गणेशमान सिंहका नाममा छुट्याइएको बजेट पनि विवादित भएको छ । 

राजनीतिक र सामाजिक विकासका लागि योगदान गरेका व्यक्तित्वका नाममा खोलिएका संस्थाको आधारभूत काम नै जनहितका लागि ज्ञान उत्पादन गर्ने र चेतना अभिवृद्धि गर्ने हुनुपर्छ । तर अहिले भइरहेको अभ्यास भने ठीकविपरीत छ । तुलसीलाल अमात्यको स्मृतिमा स्थापित प्रतिष्ठानको भवनमा सत्तारूढ एमालेको पार्टी कार्यालय सञ्चालन भइरहेको दृष्टान्त नै पर्याप्त छ । १० चैत २०५८ को मन्त्रिपरिषद्ले ललितपुरको च्यासलमा रहेको १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गाको भोगाधिकार प्रतिष्ठानलाई दिएको थियो । सर्त र सम्झौताविपरीत प्रतिष्ठानको संरचनामा ९ वैशाख २०७९ देखि एमालेको केन्द्रीय कार्यालय सञ्चालन भइरहेको छ । २०७२ वैशाखको भूकम्पपछि एमालेले धुम्बाराहीस्थित पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय सञ्चालन गरेको थियो । हुन त पर्वतारोहण प्रतिष्ठानले एमालेबाट भाडा लिएको भनिएको थियो, तर सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन नपाउने स्पष्ट कानुनी प्रबन्ध छ । तर त्यतिबेला पनि सत्तामा रहेको एमालेले देशको कानुनविपरीत प्रतिष्ठानको संरचनामा पार्टी कार्यालय चलाएको थियो । शक्तिमा भएका दलले गर्ने यस्तो बलमिच्याइँले समाजमा निराशा मात्र फैलाउने गरेका छन् ।

फेरि पनि अध्ययन अनुसन्धानका लागि सक्रिय संस्थालाई राज्यले हरतरहले सहयोग गर्नुपर्छ, आर्थिक–भौतिक प्रबन्ध मिलाइदिनुपर्छ । तर पार्टीका भ्रातृ संस्थाको भवन निर्माण गर्ने, अझ पार्टीका गुटको केन्द्रका रूपमा सञ्चालन हुने गतिविधिको समाजले कठोर आलोचना गर्नुपर्छ । नागरिकको आलोचनालाई राज्यले सुन्नुपर्छ । नागरिकको करबाट बन्ने बजेटलाई बढीभन्दा बढी पारदर्शी बनाइनुपर्छ । तबमात्र सुधार र जवाफदेहिता बलियो बन्न सम्भव छ । त्यसैले अब अनुदान र राज्यस्रोत प्राप्त गर्ने सबै संस्थामाथि मूल्यांकन प्रणाली र सार्वजनिक अनुगमनको व्यवस्था अनिवार्य गरिनुपर्छ । जनहितको नाममा हुने खर्च नागरिकले देख्न र प्रश्न गर्न पाउनुपर्छ—पारदर्शिता, सुशासन र लोकतन्त्रको उपक्रम यही हो ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully