समय छँदै सडक पुनर्निर्माणलाई प्राथमिकता नदिएको सरकारले आगामी दिनमा सडकको अवरोध हटाउन र यात्रुको उद्धार गर्नसमेत चुक्यो भने क्षम्य हुने छैन ।
गत असोजको बर्खाले निम्त्याएको बाढीपहिरोले बगाएका बीपी राजमार्गअन्तर्गतका सडक खण्डको पुनर्निर्माण हुन नसक्दा आगामी बर्खामा यात्रुले जोखिम बेहोरेरै यात्रा गर्नुपर्ने भएको छ । सडक भत्किएका कारण आठ महिनायता खोला तथा अस्थायी सडकबाट सवारीसाधन वारपार हुनुपर्ने बाध्यता छ ।
यस्तो अवस्था आफैंमा जोखिमपूर्ण हुन्छ । ठूलो बर्षा भएमा अस्थायी संरचना भत्किने, बगाउने, पहिरो खस्ने, बाढी आउने, गाडी चिप्लिने जस्ता कारणले दुर्घटनाको सम्भावना बढ्छ । सडक सम्पर्क टुटेको अवस्थामा यात्रुको बिचल्ली हुन सक्छ । यात्रा अवधि लम्बिन्छ । बर्खायाममा हरेकजसो सडक खण्डमा उस्तै समस्या हुने गरेको भए पनि असोजको बर्खाले राजधानी भित्रिने सबैजसो सडक, त्यसमा पनि बीपी राजमार्गमा बढी नै क्षति पुगेकाले सुरक्षित यात्राप्रति ढुक्क हुने स्थिति छैन ।
सरकारले पनि समयमै पुनर्निर्माणमा ध्यान नदिएकाले जोखिम झनै बढेको छ । तसर्थ यात्रा गर्नुअघि यात्रु स्वयं अतिरिक्त सचेत हुनुपर्छ । सरकारले पनि सम्भावित जोखिम आकलन गरेर सडकको मर्मतदेखि यात्रुको सुरक्षासमेत सुनिश्चित हुने गरी पूर्वतयारीका कामलाई तीव्रता दिनुपर्छ ।
असोजको बाढीपहिरोले चौकीडाँडा–बर्खेखोला खण्डको करिब १२ किमि सडकमा क्षति पुर्याएको थियो । सडक सम्पर्क टुटेका कारण यात्रु कैयौं दिनसम्म सडकमै अलपत्र परेका थिए । भोक–प्यासमै हिँडेर सुरक्षित ठाउँसम्म पुगेका थिए । बाढीपहिरोको दुई सातापछि मात्रै बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आउन सक्यो । थप मर्मतपछि धुलाम्य/हिलाम्य सडकमा जसोतसो यातायात सञ्चालन हुँदै आएको छ । तर सुरुवातदेखि नै पहिरो खसेर सडक अवरुद्ध हुने, गाडीमा क्षति पुग्ने, यात्रु घाइते हुने, गाडी चिप्लिने, पल्टिने जस्ता समस्या निरन्तर छन् ।
जस्तो कि, बढी समस्या रहेको काभ्रेको चौकीडाँडामा बाढी र पहिरोले सडक भत्किएपछि त्यसैको मुन्तिर अस्थायी सडक बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । पूर्वबाट काठमाडौं आउने सवारी यस खण्डमा उकालो चढ्दा चिप्लिने गरेका छन् । मंगलबार मात्र काँकडभिट्टाबाट भुइँकटहर लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको पिकअप भ्यान पल्टिएको थियो ।
असोजको बाढीपहिरोअघि बीपी राजमार्ग भएर दिनमा सात हजार हाराहारी साना–ठूला सवारीसाधन ओहोरदोहोर गर्थे । अहिले यो संख्या चार हजारमा झरेको छ । साउन–भदौमा दैनिक १५० वटा विद्युतीय सवारीसाधन गुड्ने भए पनि अहिले ९० हाराहारीमा गुड्छन् । खराब सडकमा गुडाउन कठिन हुने भएकाले कुनै बेला उत्साहित विद्युतीय सवारीसाधन यतिबेला शिथिल बनेको छ । काठमाडौंलाई मधेशसँग जोड्ने छोटो बाटो भएकाले पूर्व जाने सवारीसाधनका लागि बलियो विकल्पका रूपमा स्थापित भइसकेको बीपी राजमार्गले यात्रा अवधि पनि छोट्याएको थियो ।
खुर्कोट जस्ता सहर बनेका थिए । यही राजमार्गलाई नै लक्षित गरेर होटल, रेस्टुरेन्टदेखि विद्युतीय चार्जिङ स्टेसनसम्ममा प्रशस्तै निजी लगानीसमेत भइसकेको छ । तर सडकको खराब अवस्थाले गर्दा उनीहरूको व्यापार व्यवसायदेखि रोजगारीसम्म प्रतिकूल असर परेको छ । यी सबै दृष्टान्तलाई ख्याल गरेर सरकारले सडकलाई पूर्वावस्थामै ल्याउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको थियो ।
तर बीपी राजमार्ग बनाउँदा सहयोग गर्ने जापान सरकारले पुनर्निर्माणमा पनि सहयोग गर्ने अपेक्षा गर्दागर्दै महिनौं बित्यो । अन्ततः जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ३.२ किलोमिटरको डालाबेंसी–बर्खेखोला खण्डमा मात्रै काम गर्ने सहमति भएको छ । जबकि, बाढीपहिरोले ठाउँ–ठाउँमा गरी करिब १२ किलोमिटर भत्काएको र २८ किलोमिटर पुनर्निर्माण गर्नुपर्नेछ ।
यसबीचमा आफैं सडक बनाउने तयारीका लागि सडक विभागले बजेटका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र अर्थ मन्त्रालयमा पत्र पठाउँदा पठाउँदै केही महिना बितेको थियो । गत फागुनमा मात्रै बीपी राजमार्ग पुनर्निर्माणका लागि बजेट टुंगो लागेको थियो । जसमध्ये सिन्धुली खण्डका लागि १ अर्ब र काभ्रे खण्डका लागि साढे ७ अर्ब रुपैयाँ बजेट विनियोजन भएपछि ठेक्का प्रक्रिया अघि बढाइएको छ । तर तत्काल ठेक्का सम्झौता भइहाले पनि यसपालिको बर्खायाममा पुनर्निर्माण कार्य नहुने सडक डिभिजनले जनाएको छ ।
यसको सार हो, यात्रुको सुरक्षित यात्राको विषय सरकारको प्राथमिकतामा पर्नै सकेन, जसले गर्दा पक्की सडक पुनर्निर्माणको काममा अग्रसर भएन । परिणामतः यात्रुले यसपालि बर्खायामभर डरैडरमा यात्रा गर्नुपर्ने भएको छ । यसबाट सरकार सडकको अवस्था चुस्त दुरुस्त राख्नुपर्ने दायित्वप्रति हेलचेक््रयाइँ र नागरिकको सुरक्षाप्रति असंवेदनशील रहेको ठहर्छ ।
सडक तथा पुलजस्ता संरचना निर्माण गर्दा प्राकृतिक प्रकोपको पूर्वआकलन गरेर गुणस्तर सुनिश्चित गरिएको पाइँदैन । जसले गर्दा ठूलो बर्खामा नेपालका प्रायः सडकमा पहिरो खस्ने, भत्किने, पुल भासिने जस्ता समस्या निम्तिन्छन् । त्यसैले मनसुन सुरु भएपछि सडकमार्गबाट यात्रा गर्नु सधैं जोखिमपूर्ण छ । असोजको बाढीपछि भने पहाडी भेगका प्रायः सडकको गुणस्तर थप खस्किएको विश्लेषण हुने गरेको छ । यस वर्षको मनसुनमा सरदरभन्दा बढी नै पानी पर्ने आकलन भएकाले पनि त्यतिबेला क्षति पुगेका वा गुणस्तर खस्किएका सडकको अवस्था झनै बिग्रिने चिन्ता छ ।
यस्तो अवस्थामा यात्रुले थप दुःख पाउनुपर्ने हुन सक्छ । त्यसैले प्रथमतः यात्रुले नै मौसम तथा सडकको अवस्थाबारे पूर्वजानकारी लिएर मात्रै यात्रा गर्नु वाञ्छनीय हुन्छ । सरकारले पनि उचित सूचना तथा ‘अपडेट’ यात्रुसमक्ष पुर्याउन आफ्ना संयन्त्रलाई सक्रिय बनाउनुपर्छ ।
साथसाथै, सडक अवरुद्ध भएमा तत्काल खुलाउन, मर्मत गर्न, अलपत्र यात्रुको उद्धार गर्न, सवारीसाधनलाई सुरक्षित स्थानमा लैजान सरकारले समन्वयकारी संरचना बनाइराख्नुपर्छ । आवश्यक जनशक्ति र उपकरण सुनिश्चित गर्नुपर्छ । समय छँदै सडक पुनर्निर्माणलाई प्राथमिकता नदिएको सरकारले आगामी दिनमा सडकको अवरोध हटाउन र यात्रुको उद्धार गर्नसमेत चुक्यो भने क्षम्य हुने छैन ।
