बर्खामा व्यथा नबनोस् बीपी राजमार्ग

समय छँदै सडक पुनर्निर्माणलाई प्राथमिकता नदिएको सरकारले आगामी दिनमा सडकको अवरोध हटाउन र यात्रुको उद्धार गर्नसमेत चुक्यो भने क्षम्य हुने छैन ।

जेष्ठ २५, २०८२

सम्पादकीय

BP highway should not suffer in drought

गत असोजको बर्खाले निम्त्याएको बाढीपहिरोले बगाएका बीपी राजमार्गअन्तर्गतका सडक खण्डको पुनर्निर्माण हुन नसक्दा आगामी बर्खामा यात्रुले जोखिम बेहोरेरै यात्रा गर्नुपर्ने भएको छ । सडक भत्किएका कारण आठ महिनायता खोला तथा अस्थायी सडकबाट सवारीसाधन वारपार हुनुपर्ने बाध्यता छ ।

यस्तो अवस्था आफैंमा जोखिमपूर्ण हुन्छ । ठूलो बर्षा भएमा अस्थायी संरचना भत्किने, बगाउने, पहिरो खस्ने, बाढी आउने, गाडी चिप्लिने जस्ता कारणले दुर्घटनाको सम्भावना बढ्छ । सडक सम्पर्क टुटेको अवस्थामा यात्रुको बिचल्ली हुन सक्छ । यात्रा अवधि लम्बिन्छ । बर्खायाममा हरेकजसो सडक खण्डमा उस्तै समस्या हुने गरेको भए पनि असोजको बर्खाले राजधानी भित्रिने सबैजसो सडक, त्यसमा पनि बीपी राजमार्गमा बढी नै क्षति पुगेकाले सुरक्षित यात्राप्रति ढुक्क हुने स्थिति छैन ।

सरकारले पनि समयमै पुनर्निर्माणमा ध्यान नदिएकाले जोखिम झनै बढेको छ । तसर्थ यात्रा गर्नुअघि यात्रु स्वयं अतिरिक्त सचेत हुनुपर्छ । सरकारले पनि सम्भावित जोखिम आकलन गरेर सडकको मर्मतदेखि यात्रुको सुरक्षासमेत सुनिश्चित हुने गरी पूर्वतयारीका कामलाई तीव्रता दिनुपर्छ ।

असोजको बाढीपहिरोले चौकीडाँडा–बर्खेखोला खण्डको करिब १२ किमि सडकमा क्षति पुर्‍याएको थियो । सडक सम्पर्क टुटेका कारण यात्रु कैयौं दिनसम्म सडकमै अलपत्र परेका थिए । भोक–प्यासमै हिँडेर सुरक्षित ठाउँसम्म पुगेका थिए । बाढीपहिरोको दुई सातापछि मात्रै बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आउन सक्यो । थप मर्मतपछि धुलाम्य/हिलाम्य सडकमा जसोतसो यातायात सञ्चालन हुँदै आएको छ । तर सुरुवातदेखि नै पहिरो खसेर सडक अवरुद्ध हुने, गाडीमा क्षति पुग्ने, यात्रु घाइते हुने, गाडी चिप्लिने, पल्टिने जस्ता समस्या निरन्तर छन् ।

जस्तो कि, बढी समस्या रहेको काभ्रेको चौकीडाँडामा बाढी र पहिरोले सडक भत्किएपछि त्यसैको मुन्तिर अस्थायी सडक बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । पूर्वबाट काठमाडौं आउने सवारी यस खण्डमा उकालो चढ्दा चिप्लिने गरेका छन् । मंगलबार मात्र काँकडभिट्टाबाट भुइँकटहर लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको पिकअप भ्यान पल्टिएको थियो ।

असोजको बाढीपहिरोअघि बीपी राजमार्ग भएर दिनमा सात हजार हाराहारी साना–ठूला सवारीसाधन ओहोरदोहोर गर्थे । अहिले यो संख्या चार हजारमा झरेको छ । साउन–भदौमा दैनिक १५० वटा विद्युतीय सवारीसाधन गुड्ने भए पनि अहिले ९० हाराहारीमा गुड्छन् । खराब सडकमा गुडाउन कठिन हुने भएकाले कुनै बेला उत्साहित विद्युतीय सवारीसाधन यतिबेला शिथिल बनेको छ । काठमाडौंलाई मधेशसँग जोड्ने छोटो बाटो भएकाले पूर्व जाने सवारीसाधनका लागि बलियो विकल्पका रूपमा स्थापित भइसकेको बीपी राजमार्गले यात्रा अवधि पनि छोट्याएको थियो ।

खुर्कोट जस्ता सहर बनेका थिए । यही राजमार्गलाई नै लक्षित गरेर होटल, रेस्टुरेन्टदेखि विद्युतीय चार्जिङ स्टेसनसम्ममा प्रशस्तै निजी लगानीसमेत भइसकेको छ । तर सडकको खराब अवस्थाले गर्दा उनीहरूको व्यापार व्यवसायदेखि रोजगारीसम्म प्रतिकूल असर परेको छ । यी सबै दृष्टान्तलाई ख्याल गरेर सरकारले सडकलाई पूर्वावस्थामै ल्याउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको थियो ।

तर बीपी राजमार्ग बनाउँदा सहयोग गर्ने जापान सरकारले पुनर्निर्माणमा पनि सहयोग गर्ने अपेक्षा गर्दागर्दै महिनौं बित्यो । अन्ततः जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ३.२ किलोमिटरको डालाबेंसी–बर्खेखोला खण्डमा मात्रै काम गर्ने सहमति भएको छ । जबकि, बाढीपहिरोले ठाउँ–ठाउँमा गरी करिब १२ किलोमिटर भत्काएको र २८ किलोमिटर पुनर्निर्माण गर्नुपर्नेछ ।

यसबीचमा आफैं सडक बनाउने तयारीका लागि सडक विभागले बजेटका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र अर्थ मन्त्रालयमा पत्र पठाउँदा पठाउँदै केही महिना बितेको थियो । गत फागुनमा मात्रै बीपी राजमार्ग पुनर्निर्माणका लागि बजेट टुंगो लागेको थियो । जसमध्ये सिन्धुली खण्डका लागि १ अर्ब र काभ्रे खण्डका लागि साढे ७ अर्ब रुपैयाँ बजेट विनियोजन भएपछि ठेक्का प्रक्रिया अघि बढाइएको छ । तर तत्काल ठेक्का सम्झौता भइहाले पनि यसपालिको बर्खायाममा पुनर्निर्माण कार्य नहुने सडक डिभिजनले जनाएको छ ।

यसको सार हो, यात्रुको सुरक्षित यात्राको विषय सरकारको प्राथमिकतामा पर्नै सकेन, जसले गर्दा पक्की सडक पुनर्निर्माणको काममा अग्रसर भएन । परिणामतः यात्रुले यसपालि बर्खायामभर डरैडरमा यात्रा गर्नुपर्ने भएको छ । यसबाट सरकार सडकको अवस्था चुस्त दुरुस्त राख्नुपर्ने दायित्वप्रति हेलचेक््रयाइँ र नागरिकको सुरक्षाप्रति असंवेदनशील रहेको ठहर्छ ।

सडक तथा पुलजस्ता संरचना निर्माण गर्दा प्राकृतिक प्रकोपको पूर्वआकलन गरेर गुणस्तर सुनिश्चित गरिएको पाइँदैन । जसले गर्दा ठूलो बर्खामा नेपालका प्रायः सडकमा पहिरो खस्ने, भत्किने, पुल भासिने जस्ता समस्या निम्तिन्छन् । त्यसैले मनसुन सुरु भएपछि सडकमार्गबाट यात्रा गर्नु सधैं जोखिमपूर्ण छ । असोजको बाढीपछि भने पहाडी भेगका प्रायः सडकको गुणस्तर थप खस्किएको विश्लेषण हुने गरेको छ । यस वर्षको मनसुनमा सरदरभन्दा बढी नै पानी पर्ने आकलन भएकाले पनि त्यतिबेला क्षति पुगेका वा गुणस्तर खस्किएका सडकको अवस्था झनै बिग्रिने चिन्ता छ ।

यस्तो अवस्थामा यात्रुले थप दुःख पाउनुपर्ने हुन सक्छ । त्यसैले प्रथमतः यात्रुले नै मौसम तथा सडकको अवस्थाबारे पूर्वजानकारी लिएर मात्रै यात्रा गर्नु वाञ्छनीय हुन्छ । सरकारले पनि उचित सूचना तथा ‘अपडेट’ यात्रुसमक्ष पुर्‍याउन आफ्ना संयन्त्रलाई सक्रिय बनाउनुपर्छ ।

साथसाथै, सडक अवरुद्ध भएमा तत्काल खुलाउन, मर्मत गर्न, अलपत्र यात्रुको उद्धार गर्न, सवारीसाधनलाई सुरक्षित स्थानमा लैजान सरकारले समन्वयकारी संरचना बनाइराख्नुपर्छ । आवश्यक जनशक्ति र उपकरण सुनिश्चित गर्नुपर्छ । समय छँदै सडक पुनर्निर्माणलाई प्राथमिकता नदिएको सरकारले आगामी दिनमा सडकको अवरोध हटाउन र यात्रुको उद्धार गर्नसमेत चुक्यो भने क्षम्य हुने छैन ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully