मृत्युलाई हत्केलामा राखेर लडेकै कारण अहिलेको लोकतान्त्रिक गणतन्त्र सम्भव बनाएका सुर्जाहरूले एक थान नागरिकताका लागि लडेको युद्ध बन्दुक बोकेर हिँड्दाको भन्दा भयंकर छ
आफ्नै देशभित्र अनागरिक भएकाहरूको दुःखको फेहरिस्त केलाउने हो भने धेरै दर्दनाक कथाहरू भेटिन्छन् । तिनै कथामध्येकी एक ‘केस स्टडी’ हुन्– सुर्जा देउवा । बाजुरामा जन्मिएकी उनी १२ वर्षको उमेरमा जनयुद्धमा होमिएकी थिइन् । गाउँका १० जनासँगै युद्धमा होमिएकामा ५ जना त सहिद नै भए । भाग्यले उनी बाँचिन् ।
समय क्रममा सुर्जा गिरीले कृष्ण देउवासँग ‘पार्टी विवाह’ गरिन् । तर, जात व्यवस्थामा जकडिएको माइती पक्षले उनको विवाहलाई स्विकारेन । १६–१७ वर्षदेखि उनले माइती घरमा पाइला टेक्न पाएकी छैनन् । कलिलै उमेरमा दुई सन्तानकी आमा बनेकी सुर्जाका श्रीमान् मलेसिया गएको ११ वर्ष भयो । अहिले उनी न सम्पर्कमा आएका छन्, न त जिउँदो–मर्दो नै थाहा छ ।
१६ वर्षको उमेरमा विवाह गरेकी सुर्जाले विवाह दर्ता र सामाजिक स्वीकृति नपाउँदा ३३ वर्षको उमेरसम्म नेपाली नागरिक भएको परिचय पाउनका लागि गरेको संघर्ष ज्यादै दर्दनाक छ । एक थान त्यही नागरिकता पाउनु नै अहिले उनका लागि लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि भएको छ ।
के यत्तिका लागि सुर्जाले ज्यानको बाजी थापेर जनयुद्ध लडेकी थिइन् त ? सुर्जाजस्ता परिवर्तनको शंखघोष गरेर हिँडेका अन्य हजारौं लडाकुको नियति अहिले कस्तो होला ? ती योद्धाकै काँधमा बन्दुक राखेर यो परिवर्तन सम्भव बनाएको नेतृत्वले यसबारेमा कहिले सोच्ने होला ? अहिलेको यक्ष प्रश्न हो यो ।
वास्तवमा सुर्जाहरूले ज्यानको बाजी थापेर लडेको लडाइँ सानोतिनो थिएन । मृत्युलाई हत्केलामा राखेर लडेकै कारण अहिलेको लोकतान्त्रिक गणतन्त्र सम्भव बनाएका सुर्जाहरूले एक थान नागरिकताका लागि लडेको युद्ध बन्दुक बोकेर हिँड्दाभन्दा भयंकर छ ।
सुर्जाहरूले किशोर उमेरमै काँधमा थ्री नट थ्री राइफल, कम्मरमा माइन र हातमा ग्रिनेट बोकेर अहिले हामीले वैशाख ११ मा मनाइरहेको वैभवशाली लोकतन्त्र दिवसको जग बसाल्न हरसम्भव कोसिस गरेका थिए । पलपल मृत्युको सन्त्रास बोकेर अहिले हामीले मनाइरहेको जेठ १५ को गणतन्त्र दिवसको पहेली तय गरेका थिए । तर यी सुर्जाहरूको योगदानको बही खाता तयार गर्न लोकतन्त्र र गणतन्त्रको ठेक्का लिनेहरू तयार छन् त ? अहिलेको अर्को प्रश्न यो पनि छ ।
जनयुद्धका क्रममा सुर्जाजस्ता हजारौंको जीवनमा प्राप्ति गर्नुपर्ने केही चीज थिएन । सिर्फ थियो त लोकतान्त्रिक गणतन्त्र । त्यही सपना प्राप्तिका लागि युद्ध मैदानमा होमिएका हजारौं योद्धाबीच सुर्जाको भेट भएको थियो, सहयात्री कृष्ण देउवासँग । युद्धका क्रममा सहयात्री बनेका सुर्जा र कृष्णबीच पार्टी नेतृत्वले ‘जनवादी विवाह’ गरिदियो । तर जनवादी विवाह गराइदिएको नेतृत्व अहिले कहाँ छ ? मलेसियामा बेपत्ता कृष्ण र कुखुरा फार्ममा काम गरिरहेकी सुर्जाले सोधिरहेको प्रश्न अहिले यही हो ।
जनयुद्ध सकिएपछि देश नयाँ शासकीय व्यवस्थामा गयो । देशमा भएको बेथिति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध बोल्नुपर्छ भन्ने सोच जनतामा हाबी भयो । सुर्जा र कृष्णले अढाई–अढाई लाख पाए । राज्यले दिएको अढाई लाख अनुदानले सुर्जा र कृष्णको बलिदानको मूल्य तिर्न सक्थ्यो त ! अढाई लाख अनुदानले भविष्य नै गुमराहमा पारिसकेका उनीहरूको जीवन कहाँ सुलभ हुन्थ्यो र ! फलस्वरूप राज्यले दिएको अनुदान सकियो । बालबच्चा पाल्नुपर्ने विवशता र कर्तव्य निर्वाह गर्नुपर्ने बाध्यतामा कृष्ण विदेश पलायन भए । तर, विदेश गएका कृष्ण सम्पर्कविहीन भए ।
कुनै समय काँधमा बन्दुक र हातमा ग्रिनेट बोकेर हिँडेकी सुर्जा अहिले कोखिलामा घाँस र दाउरा च्यापेर हिँडिरहेकी छन् । यो उनको जीवनको तीतो सत्य हो । एउटा नागरिक भएको परिचय पाउनकै लागि उनले लडेको अर्को जनयुद्धको कारक को हो ? सायद उनकै नेतृत्व हो । तर, सँगै अर्को प्रश्न उब्जिन्छ, यो देशको नागरिक हुन सक्षम व्यक्ति को हो त ? त्यसको हिसाब यो व्यवस्थाले गर्छ कि आममानिसको चेतनाले ?
२०७४ सालको स्थानीय निर्वाचनमा उनको पालिका पुनर्वास नगरपालिका–९ मा माओवादी केन्द्र विजयी भएको थियो । आफ्नो पार्टी विजयी हुँदा पनि सुर्जाले नागरिकता पाउन सकिनन् । यसको एकै कारण थियो, उनलाई गाउँलेले स्विकारेका थिएनन् ।
कृष्णका दाजु–भाउजूले पनि साथ दिएका थिएनन् । सन्तानहरू हुर्कंदै थिए । सयौं पटक वडा कार्यालय धाइन् तर कहिले विवाह दर्ता भएन, कहिले के भएन भनेर उनलाई नागरिकता नदिएर प्रशासनले हेलाहोचो गरिरह्यो । जबकि एउटा नागरिकको हिसाबले नागरिकता पाउनका लागि उनका दुई सन्तान नै काफी थिएनन् र !
उक्त वडामा २०७९ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्र नै विजयी भयो । स्थानीय सरकारमा मात्रै होइन, यो देशको प्रधानमन्त्री नै ‘सुर्जाका सुप्रिमो’ अर्थात् पुष्पकमल दाहाल बने । सुर्जाको अनवरत लडाइँ देखेपछि गाउँलेले पनि सुर्जासँग हार खाए । नागरिकता बनाइदिन पर्यो भनेर वडालाई दबाब दिए ।
यत्तिकैमा गाउँलेले सुर्जालाई माओवादी केन्द्रको नगरस्तरीय बैठकमा आएर आफ्ना कुरा राख्न भन्यो । उनले रोस्ट्रममा उभिएर आँखाभरि आँसु झार्दै आफ्नो कथा सुनाइन् । बैठकमा सुर्जाका जेठाजु पनि उपस्थित थिए । सुर्जाको परिचय खुल्दै जाँदा पार्टीले उनका जेठाजु र वडाध्यक्षलाई स्पष्टीकरण सोध्यो । त्यसपछि उनीहरू नागरिकता बनाइदिन तयार भए । छरछिमेकको रोहवरमा कृष्णसँग सुर्जाको विवाह भएको पुष्टि गरिदिएसँगै उनले नेपाली नागरिकता पाइन् ।
इतिहास भन्छ– क्रान्ति सजिलो छैन । सुर्जा र कृष्णको संघर्षले भन्छ– जति नै ठूलो क्रान्ति गरे पनि भुइँमान्छेको जीवनमा केही बदलाव आउँदैन । वास्तवमा एउटा नागरिकताका लागि सुर्जाले गरेको संघर्ष कम पीडादायी र दर्दनाक छैन । यस्ता कति सुर्जाहरू होलान्, जसले अहिले पनि अनागरिक भएर जीवन बिताइरहेका छन् र नेतृत्वप्रति सोधिरहेका छन्, ‘नेपाली नागरिक भएको परिचय पाउनकै लागि अझै कति संघर्ष गर्नुपर्ने हो ?’
