प्लास्टिक प्रदूषणविरुद्ध विश्व आवाज

प्लास्टिकजन्य प्रदूषणले आक्रान्त बनाइरहेकाले विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषणविरुद्ध एकजुट हुन आग्रह गरिएको छ

जेष्ठ २२, २०८२

नवीन विकास महर्जन

A global voice against plastic pollution

अन्य वस्तुको तुलनामा प्लास्टिकजन्य सामान बहुउपयोगी, सस्तो, सजिलो र हलुंगो मानिन्छन् । यसबाट बनेका झोलालगायत वस्तु सानो आकारमा पट्याएर राख्न मिल्ने, उत्पादन, भण्डारण तथा ओसारपसार गर्न पनि निकै सजिलो हुनाले त्यसको माग पनि अत्यधिक छ । अहिले प्लास्टिकका सामानबिना जीवन नै चल्दैन कि भनेजस्तो पनि भइरहेको छ ।

सन् २०२२ मा गरिएको एक अध्ययनअनुसार विश्वमा वार्षिक ४० करोड टन प्लास्टिक र झन्डै २७ करोड टन प्लास्टिकजन्य फोहर उत्पादन हुन्छ । सबैभन्दा बढी प्लास्टिक र प्लास्टिकजन्य फोहर उत्पादन गर्ने देशमा चीनपछि दक्षिण एसियाका मुलुक, त्यसपछि अमेरिका र युरोपियन मुलुक रहेका छन् ।

विश्वभरि नै यसको व्यवस्थापन अहिले ठूलो चुनौतीको विषय बनेको छ । प्लास्टिकजन्य फोहरको ठूलो हिस्सा सार्वजनिक स्थल, खोलानाला हुँदै समुद्र, ल्यान्डफिल साइट र खुला वातावरणमा यत्रतत्र रूपमा मिल्काइरहेको अवस्था छ, जसले मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पारिरहेको छ । 

नेपाल आफैंले प्लास्टिक उत्पादनार्थ कच्चा पदार्थ उत्पादन नगरे पनि अन्य मुलुकबाट आयात गर्ने गरेको छ । सन् २०२१–२०२२ को तथ्यांक हेर्ने हो भने नेपालले अन्य मुलुकबाट ३ लाख ८० हजार टन प्लास्टिकका कच्चा पदार्थ र प्लास्टिकलगायत सामान आयात गरेको देखिन्छ । यही वर्ष २०.७ किलो टन प्लास्टिकजन्य फोहर उत्पादन गरेको छ ।

त्यसैगरी करिब १ सय ६५ हजार टन जति पुनः प्रयोग गरी आफैंले प्लास्टिकका नयाँ सामग्री पनि निर्माण गरेको छ । एक तथ्यांकअनुसार नेपालले अक्टोबर २०२३ देखि सेप्टेम्बर २०२४ सालसम्म प्लास्टिकजन्य सामान खरिद बढाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष झन्डै २१ प्रतिशतले यसको वृद्धि भएको देखिन्छ । आगामी वर्षमा यसको मात्रा अझै बढ्ने संकेतहरू देखिँदै छन् । 

यसरी प्लास्टिकको व्यापार व्यवसाय बढ्दै जाँदा यसले केही रोजगारी पनि सिर्जना गरेको छ तर समग्रमा हामीले आयात गरेको प्लास्टिक एक पटक प्रयोग गरी मिल्काउनुपर्ने खाले छन् । यसले गर्दा प्लास्टिकजन्य फोहर अत्यधिक मात्रामा उत्पादन भइरहेको छ ।

त्यसको प्रशोधन गर्ने उचित पूर्वाधारको कमी, लगानीमैत्री वातावरण नहुनु र मानिसमा पनि जनचेतनाको कमीले गर्दा धेरै मात्रामा फोहरजन्य प्लास्टिक जथाभावी जलाउने, गाड्ने, ढल, नदी, खोला, ताल आदि पानीको मुहानमा फाल्ने र त्यहाँ जम्मा हुने हुँदा समय–समयमा ढल जाम हुने र सहरमा बाढीका साथै त्यसले अत्यधिक मात्रामा प्रदूषण बढाइरहेको छ ।

यस वर्षको विश्व वातावरण दिवस ५ जुन २०२५ अर्थात् आजकै दिन ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौं’ भन्ने नाराका साथ मनाइँदै छ । प्लास्टिक प्रदूषणले विश्वलाई नै आक्रान्त बनाइरहेकाले विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषणविरुद्ध एकजुट हुन आग्रह गरिएको हो । 

१६ जुन १९७२ देखि संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गर्दै आइरहेको छ । वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धताअनुसार यो दिवसलाई संस्थागत गर्न ५ जुन १९७३ बाट विश्वमा एकसाथ मनाउन लागिएको हो । नेपालले पनि यसै दिन यो दिवस मनाउँदै आइरहेको छ ।

नेपालमा प्लास्टिकजन्य फोहर उत्पादन र यसको प्रभावका बारेमा विस्तृत तथ्यांक र अनुसन्धानको अभाव छ । साथै एक पटक प्रयोग हुने प्लास्टिकको झोला र अन्य वस्तुको व्यापक प्रयोगले एक त फोहर उत्पादन वृद्धि भइरहेको छ भने त्यसको व्यवस्थापनको कठिनाइ, व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको कमी, ज्ञानको अपुगले सहरी क्षेत्रमा यत्रतत्र फालेको, उडाएर ल्याएको, माटो वा जमिनमा गाडेको वा नाली, खोलाहरूले बगाइलाने र अन्तिममा गएर समुद्रमा गई पानीमा बस्ने जीवहरूले खाएर कत्ति त त्यही प्लास्टिक घाँटीमा अड्केर मृत्युसमेत हुने गरेका छन् । यी र यस्ता क्षति कम गर्नका लागि नेपालले पनि गर्न सकिने प्रयास अहिले तुरुन्तै थालनी गर्नुको विकल्प छैन । 

यसका लागि सर्वप्रथम नेपाल सरकार, प्रदेश तथा स्थानीय तहहरूले एक पटक मात्रै प्रयोग हुने प्लास्टिकका सामग्रीको उत्पादन, बिक्रीवितरण, भण्डारण तथा ओसारपसारमा रोक लगाउनुपर्छ । यसका साथै रि–साइक्लिङमा जाने प्लास्टिकको मात्रै प्रयोग गर्ने र उत्पादन गर्ने नियम नै लागू गर्ने ताकि हानिकारक खालको प्लास्टिक प्रयोगमा बन्देज लगाउन सजिलो होस् भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ ।

पुनः प्रयोग गर्न नमिल्ने र नसकिने वस्तुहरू तथा कच्चा पदार्थको आयात नै बन्द गर्नुपर्ने हुन्छ । यदि आयात गरेको खण्डमा आयात गरेको कम्पनीले नै त्यसको तथ्यांक राखी व्यवस्थापन गरेको सुपरिवेक्षण गरी नियन्त्रित गर्नुपर्नेछ । प्लास्टिकजन्य फोहरलाई सफा र सुरक्षित तरिकाले संकलन गर्ने, त्यसरी संकलित भएको फोहरबाट प्रदूषण र चुहावट नहुने गरी सुरक्षितसाथ प्रशोधन केन्द्रसम्म ढुवानी गर्ने व्यवस्था गर्नुपर्छ । 

विभिन्न खालको प्लास्टिकको वर्गीकरण, भण्डारण र प्रशोधन गर्ने कामलाई प्रोत्साहन गर्ने, पूर्वाधार विकास र व्यवस्थापनका लागि आवश्यक लगानीमैत्री सहयोग गर्ने वातावरण बनाउन पनि अब ढिला गर्नु हुँदैन । प्लास्टिक संकलन तथा प्रशोधनका लागि कार्यरत व्यवसाय, कम्पनी तथा कामदारहरूको सीप र ज्ञानका लागि आवश्यक तालिम प्रदान गर्नुका साथै हौसला प्रदान गर्ने, करमा सहुलियत दिने काम सरकारका तर्फबाट गर्नु जरुरी छ ।

प्लास्टिक कम्पनी तथा यससँग सम्बन्धित व्यवसाय गर्दा वातावरणमा प्रभाव कम गर्ने प्रयास, सामाजिक उत्तरदायित्व वहन गरेको, सुशासन कायम गरेको मूल्यांकन गरी सहुलियत तथा प्रोत्साहन गर्नुपर्छ । प्लास्टिक फोहर व्यवस्थापन निर्देशिका तयार गरी लागू गर्न पनि अब जरुरी भइसकेको छ ।

 –महर्जन एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक हुन् ।

नवीन महर्जन एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक हुन्।

Link copied successfully