यस वर्षको मनसुनजन्य विपद्बाट मुलुकको झन्डै २० लाख जनसंख्या प्रभावित हुने आकलन छ, विपद् व्यवस्थापनमा तीनै तहका सरकार एवं सरोकारवाला निकायबीच समन्वय, सहकारिता र सहअस्तित्वको सिद्धान्त अनुसार साझेदारी हुनु जरुरी छ
जटिल भूसंरचना, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, वातावरण प्रदूषण तथा जलवायु परिवर्तनका कारण नेपाल बहुप्रकोपको दृष्टिकोणबाट सधैं उच्च जोखिममा छ । प्रत्येक वर्ष भारी वर्षा, बाढीपहिरो, चट्याङ, तातो हावा, शीतलहर, आगलागी, सडक दुर्घटना, वातावरणीय प्रदूषण र महामारीजस्ता प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट धनजनको ठूलो क्षति हुने गरेको छ ।
नेपालको सन्दर्भमा दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाको वायु प्रणालीका रूपमा रहेको मनसुन हिन्द महासागरमा उत्पन्न भई बंगालको खाडी हुँदै सामान्यतया जेठको अन्त्यतिर भित्रिने गरेकामा यस वर्ष जेठ १५ मै नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरिसकेको छ । वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा मनसुनको अवधिमा हुने हुँदा बाढी, पहिरो, डुबान, जमिन कटानजस्ता जल उत्पन्न प्रकोपको शृंखला मनसुनको आगमनसँगसँगै सुरु हुने गर्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा बनेको यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना जेठ १४ मा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औं बैठकबाट स्वीकृत भई कार्यान्वयनको चरणमा छ ।
गत वर्षको चैत १९ देखि कार्ययोजना तर्जुमा प्रक्रिया सुरु भएकामा यस वर्षको कार्ययोजनामा विषयगत क्षेत्र (क्लस्टर) का जिम्मेवार निकाय, सहयोगी निकाय, सुरक्षा निकाय, प्रदेश सरकार, निजी क्षेत्र, सञ्चार क्षेत्र एवं अन्य सम्बन्धित विभिन्न निकाय तथा सरोकारवालासँग बृहत् छलफल, अन्तर्क्रिया, गोष्ठी, कार्यशालामार्फत राय सुझाव संकलन गरी तिनलाई समेट्ने प्रयास गरिएको छ ।
विगतका विपद्का घटना र प्रभावका तथ्यांकको विश्लेषण गरी मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान गर्नु, विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, विभाग, सुरक्षा निकाय तथा सरोकारवाला निकायको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि कार्यजिम्मेवारी निर्धारण गर्नु र मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा समन्वयात्मक र एकीकृत क्रियाकलाप तय गरी मनसुन प्रतिकार्यलाई प्रभावकारी बनाई क्षति न्यूनीकरण गर्नु कार्ययोजनाका खास उद्देश्य रहेका छन् ।
विगत दस वर्षको मनसुनजन्य विपद् जोखिमको अवस्था विश्लेषण गर्दा मनसुन अवधिभर ८ हजार ४ सय १८ वटा मनसुनजन्य विपद्का घटनामा परी २ हजार ३ सय १७ जनाको ज्यान गएको छ भने ४ सय १९ जना बेपत्ता र २ हजार ६ सय ४९ जना घाइते भएका छन् ।
गत वर्षको मनसुन अवधिमा २ हजार १ सय ३८ वटा मनसुनजन्य विपद्का घटनामा परी ४ सय ९५ जनाको मृत्यु, ६६ जना बेपत्ता र ५ सय २२ जना घाइते भएका थिए । गत वर्ष असारबाट नेपालमा पनि वर्षा मापन सुरु भएको छ । गएको ७७ वर्षको अवधिमा पहिलो पटक २४ घण्टामा सुदूरपश्चिमको दोधारामा ६ सय २४ मिलिमिटर वर्षा मापन गरियो, जुन त्यहाँ हुने औसत वार्षिक वर्षाको लगभग आधा थियो । त्यस्तै असोज १० देखि १३ गतेसम्म काठमाडौं उपत्यका वरपरसमेत २४ घण्टामा ४ सय मिलिमिटरसम्म पानी पर्यो ।
विगतको मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यको अवधिमा भएका कमी–कमजोरीबाट थुप्रै कुरा सिक्न जरुरी छ । सरोकारवाला जिम्मेवार निकायबीचमा प्रभावकारी समन्वय र सहकार्य हुनुपर्ने, सम्बन्धित जिम्मेवार निकायबाट जारी हुने पूर्वसूचना तथा चेतावनी जोखिमयुक्त वर्ग, क्षेत्र र समुदायमा समयमै पुग्ने र सो अनुसार कार्यान्वयन हुने सुनिश्चित गर्न प्रभावकारी सञ्चार प्रणालीको व्यवस्था गर्नुपर्ने जरुरी छ ।
कार्ययोजना अनुसार जिम्मेवार निकाय एवं सहयोगी निकायले आ–आफ्नो भूमिका निर्वाह गरे नगरेको सम्बन्धमा नियमित अनुगमन तथा मूल्यांकन गरी सोको समीक्षा गर्न आवश्यक छ । यसैगरी तहगत आपत्कालीन कार्यसञ्चालन केन्द्र, सुरक्षा निकाय एवं सम्बन्धित जिम्मेवार निकाय खोज, उद्धार तथा राहत व्यवस्थापनसम्बन्धी कार्यमा प्रभावकारी रूपमा परिचालित हुन आवश्यक क्षमता तथा साधन स्रोतको पर्याप्त व्यवस्थापन हुनुपर्ने देखिएको छ । घटना आदेश प्रणालीलाई प्रभावकारी बनाई खोज तथा उद्धारका बेला परिचालित निकायबीचको समन्वय र सहकार्यलाई व्यवस्थित गर्नुपर्ने पनि जरुरी छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ । यस अवधिमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा अधिक वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको, सुदूरपश्चिमको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा उक्त सम्भावना ४५ देखि ५५ प्रतिशत र मधेशको पूर्वी तथा दक्षिणी भूभागमा ३५ देखि ४५ प्रतिशतसम्म सम्भावना रहेको विभागले जनाएको छ ।
देशका अन्य भूभागमा समेत यस मनसुनको अवधिमा अधिक वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको पूर्वानुमान छ । मनसुनको अवधिमा दैनिक तापक्रम पनि सरदरभन्दा अधिक रहने आकलन छ । समग्रमा यस वर्षको मनसुनजन्य विपद्बाट देशभर ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित बन्ने आकलन छ ।
मनसुनजन्य विपद्को अवधिमा प्रभावितलाई प्रभावकारी ढंगबाट राहत व्यवस्थापनका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय, गैरसरकारी संघसंस्था लगायतका निकायसँग समन्वय र सहकार्य गरिने रणनीति बनाइएको छ ।
कार्ययोजना अनुसार केन्द्रदेखि स्थानीय तहसम्मका सबै जिम्मेवार तथा सहयोगी निकाय, निजी क्षेत्र, सञ्चार क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय सहायताको क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल र स्वयं नागरिकले आ–आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न आवश्यक छ ।
विपद् व्यवस्थापन सामूहिक कार्य भएको र समन्वयात्मक एवं सहकार्यात्मक तरिकाले मात्र यो सम्भव भएकाले तहगत सरकार एवं सरोकारवाला निकायबीच समन्वय, सहकारिता र सहअस्तित्वको सिद्धान्तअनुसार साझेदारी हुनु जरुरी छ ।
– केसी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता हुन्।
