आलम कानुनको बलमा छुटे कि सत्ताको शक्तिमा ?

१७ वर्षअघिको संविधानसभा निर्वाचन प्रभावित गर्न आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा ६ वर्षदेखि जेलमा रहेका आलमले सफाइ पाएका छन् । तर, यसले हाम्रो अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ ।

जेष्ठ १६, २०८२

सम्पादकीय

Is Alam freed by the power of law or by the power of power?

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले बुधबार गरेको फैसलासँगै पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलम कारागारबाट मुक्त भएका छन् । १७ वर्षअघिको संविधानसभा निर्वाचन प्रभावित गर्न आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा ६ वर्षदेखि जेलमा रहेका आलमले सफाइ पाएका छन् । तर, यसले हाम्रो अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ ।

पहिलो त उनको दबदबा कति थियो भने घटनाको १२ वर्षसम्म पनि पीडित परिवारको आवाज राज्य संयन्त्रले नै दबाएका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि मात्र मुद्दाको अनुसन्धान सुरु भएको थियो र उनी पक्राउ परेका थिए ।

मुद्दा चलेको पाँच वर्षमा गत वर्ष उनलाई जिल्ला अदालतले जन्मकैद हुने सजाय सुनाएको थियो । तर, एक वर्ष एक महिनापछि उनलाई उच्च अदालतले भने सफाइ दिएको छ । आलमलाई सफाइ दिने फैसलामा जिल्ला अदालतले निर्क्योल गरेका सबै तथ्यलाई उच्चले बदर गरिदिएको छ । एउटा जघन्य घटनाका अभियुक्तमाथि यसरी शतप्रतिशत विपरीत फैसला आएकाले न्यायपालिकामाथि पनि प्रश्न उठेको छ । यस विषयमा न्यायिक नेतृत्वको ध्यान पुग्न आवश्यक छ । 

आलम जोडिएको यो घटना २०६४ चैत २७ को हो । भोलिपल्ट हुँदै गरेको संविधानसभाको निर्वाचनमा विपक्षीका मतदातालाई त्रसित बनाई बुथ कब्जा गरेर निर्वाचन जित्ने उद्देश्यसहित बम बनाउन लगाएको आरोप आलममाथि छ । रौतहटको साविक राजापुर फरदहवा–४ स्थित कांग्रेस नेता तथा आलमका काका स्व. शेख इद्रिसको गोठमा बम बनाउने क्रममै विस्फोट भएको थियो ।

त्यसक्रममा घाइते भएका यमुनामाई गाउँपालिकास्थित सरुअठा गाउँका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई जिउँदै चिम्नीभट्टामा हालेर मारेको आरोप छ । विस्फोटको घटनालाई गुपचुप राखेर केही घाइतेलाई भारतमा उपचार गर्न पठाइएको थियो भने अरूलाई मुख खोले ‘जे पनि हुन सक्ने’ धम्की दिएर चुपचाप पारिएको अभियोगपत्रमा उल्लेख छ ।

विस्फोटको तीन दिनपछि ३० चैत २०६४ मा एमाले उम्मेदवार शैलेन्द्र साहले घटनाबारे प्रहरीमा निवेदन दिएका थिए । झिनो अनुसन्धान भए पनि मुद्दा अघि बढेन । त्रिलोकका पिता र ओसीकी आमाले जिल्ला प्रहरी, सरकारी वकिल, उच्च सरकारी वकिल र महान्यायाधिवक्ताको कार्यालयमा हारगुहार गरेका थिए । तर, अनुसन्धान नै नभएपछि उनीहरू सर्वोच्च पुगेका थिए । 

सर्वोच्च अदालतले २०६९ मा गम्भीर रूपले अनुसन्धान गरी मुद्दा चलाउनू भन्दै सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । तर त्यसको सात वर्षपछि मात्र २०७६ असोजमा पक्राउ गरेर सरकारले मुद्दा चलाएको थियो । एउटा व्यक्तिमाथि अनुसन्धान गर्न पीडित परिवार भएभरका निकाय धाउनुपर्ने अवस्था किन आयो ? किन उनीमाथि स्वाभाविक अनुसन्धान भएन ? प्रस्ट छ, त्यहाँ शक्तिको आड थियो भन्ने प्रस्ट भइसकेको छ ।

अझ अदालतमा मुद्दा चलिरहेका बेला पनि उनको दलका सभापति शेरबहादुर देउवाले ‘आलमलाई छुटाउन पहल गर्ने’ भन्दै समर्थकहरूलाई विश्वस्त बनाएका थिए । त्यसका लागि देउवाले प्रस्टीकरण पनि दिनुपरेको छैन, बरु आलम ससम्मान रिहा भएका छन् ।

पाँच वर्ष मुद्दा चलेपछि २०८१ वैशाख १३ मा जिल्ला अदालत रौतहटले आलम, भाइ मोहम्मद महताब आलम, शेख सेराज (सराज) र बद्री सहनीलाई जन्मकैदको सजाय गरेको थियो । जिल्ला अदालतले विस्फोट भएको तथ्य स्थापित भएको भन्दै घाइते त्रिलोकप्रताप र ओसी अख्तरलगायतलाई मोहम्मद आफताब आलमसमेतले बोरामा हाली 

ट्याक्टरमा राजा इँटा उद्योगको चिम्नी भट्टामा लगी जलाई मारेको ठहर गरेको थियो । उच्चले भने बम विस्फोट वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, घाइते भनिएका त्रिलोकप्रसाद र ओसी अख्तरलाई ट्र्याक्टरमा हाली राजा इँटाभट्टामा लगी पोलेको भन्ने ठोस सबुद प्रमाण भेटिन नसकेको र विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनले पनि यसलाई पुष्टि गर्न नसकेको निर्क्योल गरेको छ । अब सर्वोच्च अदालतमा पीडितले न्याय खोज्ने विकल्प बाँकी नै छ । न्यायिक प्रक्रियामा यो नियमित अभ्यास हो । तर, आफ्ना सन्तान गुमाएका अभिभावकका लागि भने यो ढिलाइ, यो पर्खाइ र यो उतारचढाव अस्वाभाविक हो । 

आलमले आफ्नो इलाकामा त्रास फैलाएको र दबदबा कायम गरेको आरोप लाग्ने गरेको छ । आफूलाई पक्राउ गर्ने प्रहरी अधिकारीले गल्ती गरेको भन्दै उनले ‘जिल्लामा आगो लाग्ने’ धम्की दिएका थिए । यो आक्रोशपूर्ण अभिव्यक्ति मात्र थिएन, यसका लागि उनी अभ्यस्त नै थिए । छोरा ओसी अख्तरको न्यायका लागि गौर, हेटौंडा र काठमाडौं धाइरहेकी आमा रुक्सनालाई ८ माघ २०६७ साँझ गोली हानी हत्या गरिएको थियो ।

उनलाई गोली किन हानियो ? त्यसको पृष्ठभूमिमा को थियो र स्वार्थ के थियो भन्ने विषयमा अहिलेसम्म गहन अनुसन्धान भएको छैन । यस राजापुर वरपरको समाजको शान्तिसुरक्षा र सामाजिक मनोविज्ञानलाई प्रस्ट पार्दछ । अहिले पनि पीडित परिवार र न्यायका लागि सहयोग गरेका व्यक्ति तथा संस्थाको सुरक्षाप्रति संशय बढेको छ । यति ठूलो जोखिम मोलेर पनि न्यायको दियो खोज्दै हिँडेका वृद्ध नागरिकलाई न्यायिक नेतृत्वले निराश बनाउनु हुन्न । यसमा सकारात्मक र प्रभावकारी हस्तक्षेप आवश्यक छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully