सगरमाथाको इतिहास धेरैजसो पश्चिमा दृष्टिबाट कोरिएका छन् । कतै नेपाली शेर्पाका क्षमता, त्याग र समर्पणका कथा भन्न खोजिएको छैन भने कतै उनीहरूलाई इतिहासको साझेदार नै स्विकारिएको छैन । अब यसको इतिहास नेपाली दृष्टिकोण र मनबाट लेखिन आवश्यक छ ।
काठमाडौंमा सगरमाथा संवाद भइरहँदा खुम्बु क्षेत्रमा सगरमाथा आरोहणकै चटारो चलिरहेको थियो । आरोहणको अवस्था र समस्या बुझ्न आरोही र आरोहण सहयोगी विशेषगरी शेर्पाहरूसँग अन्तरक्रिया गर्ने उद्देश्यले पर्यटन मन्त्रालयसम्बद्ध उच्च सरकारी कर्मचारी र पर्वतारोहण क्षेत्रका अग्रणी व्यवसायीसहित म सगरमाथा आधार शिविर पुगेको थिएँ ।
संयोगवश गृहमन्त्री पनि ठीक त्यही समयमा आधार शिविरमा पुग्नुभयो । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहणका लागि केही दिनदेखि नै आधार शिविरमै हुनुहुन्थ्यो । सगरमाथाको आँगनमा भएको त्यो दिनको छलफल र अन्तरक्रिया सगरमाथाको गर्विलो इतिहास र केही वर्षदेखि निरन्तर वृद्धि भइरहेको विश्वव्यापी तापमानले हिमाल र हिमाली जनजीवनमा पारेको प्रभावमा केन्द्रित थियो ।
सर्वोच्च शिखर नेपालको हुँदाहुँदै पनि लामो समय पर्वतारोहण क्षेत्रमा शक्तिशाली देश र ठूला पर्वतारोहण कम्पनीको हालीमुहाली रहने गरेको कटु यथार्थ अब फेरिएको छ । नेपाल यतिखेर आफ्नो हिमाल पूर्ण रूपमा आफ्नै जनशक्ति, सर्त, मर्म र मापनका भरमा सञ्चालन गर्न सक्ने गौरवशाली कालमा छ/सात दशकभन्दा बढी समयदेखि परिष्कृत बन्दै आइरहेको अहिलेको आधार शिविर नेपाली वैभव र प्रतिष्ठाको द्योतकका रूपमा स्थापित भएको छ ।
विश्वले मिहिन रूपमा चियाउने त्यस हिमाली कुनोमा नेपाली शेर्पाहरूले गाइडका रूपमा आफ्ना दुर्लभ दक्षता देखाउने काम मात्र गरेका छैनन्, नेपाल राज्यका सच्चा प्रतिनिधि एवं पहरेदारका रूपमा हाम्रो हिमालको स्वामित्व लिएका छन् ।
कमान्डर शेर्पा
नेपालमा सुरुवाती सगरमाथा आरोहण गर्ने दल ब्रिटिस, स्वीस, चिनियाँ, अमेरिकी, भारतीय वा फ्रेन्च जुनसुकै देशका भए पनि शेर्पाहरू सधैं तिनका अविच्छिन्न हिस्साका रूपमा रहे । तर शेर्पाहरूले आफ्ना अहम् योगदानको श्रेय जसरी पाउनुपर्थ्यो, त्यो पाउन सकेनन् ।
२०४६ सालपछि आरोहणका नियमहरू खुकुला पारिए । शेर्पाहरू अरूका सहयोगी मात्र नभई व्यापक दायरामा हिमालमा आफ्नो कमान्ड सम्हाल्न सक्षम हुन थाले । यतिखेर शेर्पाहरू हिमालका भरिया वा पथप्रदर्शक मात्र छैनन्, विश्वस्तरका सेवा दिन सक्षम आरोहण कम्पनीका सञ्चालकका रूपमा नेपाली पर्वतारोहणलाई नयाँ उचाइमा पुर्याउन सक्षम भएका छन् ।
व्यावसायिक आरोहणमा नेपाली पर्वतारोहण क्षेत्रले मारेको फड्कोले विश्वका मध्यम वर्गीयहरूका लागि समेत यतिखेर सर्वोच्च शिखर चुम्ने सपना सम्भव देखिएको छ । यसका साथै करिब ५ हजार ३ सय मिटरको उचाइमा बर्सेनि तीन महिना स्थापित हुने टेन्टको बस्तीसम्मै भए पनि जीवनकालमा एक पटक पुग्ने सपना बुन्ने मानिसको संख्या पनि बढ्दो छ ।
तेन्जिङ नोर्गे शेर्पा सर एडमन्ड हिलारीसँगै सबैभन्दा पहिले सगरमाथा शिखरमा पुगेर फर्केपछि सायद पहिलो पटक विश्वमा एकाएक कुनै नयाँ जाति त्यति धेरै चर्चित बनेको थियो । त्यो तेन्जिङको व्यक्तिगत कीर्ति मात्र थिएन, त्यो उपलब्धिबाट उनले शेर्पाको पहिचान विश्वस्तरमा स्थापित गरेर हिमाली जातिलाई कहिल्यै बिर्सन नसकिने गुन लगाए ।
त्यही विरासत बोकेरै हिमाल उक्लिन थालेका उनीपछिका एकपछि अर्को शेर्पा पुस्ताले विश्व मञ्चमा आफ्नो कौशल, निष्ठा र नेतृत्वमा प्रश्न उठाउने मौका दिएका छैनन् । नेपालको पर्वतारोहण मात्र नभएर विश्वका १४ अग्ला हिमालदेखि सातै महादेशका अग्ला चुचुरोसम्ममा नेपाली शेर्पाहरू पहिलो रोजाइमा पर्छन् । कुनै बेला विदेशी आरोहीलाई सघाउने यति–उति संख्या भनेर उद्धृत हुने शेर्पाहरू अहिले विश्वमा महान् आरोहीका रूपमा सम्मानित छन् । नेपाली शेर्पाका पदचाप विश्वस्तरमा फैलिरहेको यो बेला नेपाली पर्वतारोहणका लागि स्वर्णिम समय हो ।
आधार शिविर पुग्दा त्यस स्थानको आकर्षणका रूपमा त्यहाँ स्थापित टेन्टको बस्तीको रमझम, युद्धस्तरको तयारी र मौसमी अनुकूलनको अभ्यासका लोभलाग्दा दृश्यहरू देखिन्छन् । कामीरिता शेर्पा, पादवा शेर्पाजस्ता कैयौं पटक शिखर चुम्ने उम्दा एवं कीर्तिमानी शेर्पा पनि त्यहीँ वरिपरि भेटिन्छन् ।
सगरमाथाको पदयात्रामा आउने मानिसहरू नाम्चे बजारमा पहिलो सफल सगरमाथा आरोहण दलका एक मात्र जीवित सदस्य कान्छा शेर्पालाई भेट्न लामबद्ध हुन्छन् । उनीहरू साँच्चिकै पर्वतारोहण जगत्का मानव धरोहरहरू हुन् । ख्याति प्राप्त शेर्पाहरूबीच रहन पाउनु आम आरोहीहरूका लागि साँच्चै जीवन्त अवसर हो ।
नेपालमा सफल सगरमाथा आरोहण हुनु अघिपछिका हरेक समयमा त्यस्ता दुर्लभ धरोहर देखा परेका छन् । ठूला इतिहास बनाएर दिवंगत भइसकेका पासाङ ल्हाल्मु शेर्पा, बाबुछिरी शेर्पा, आङरिता शेर्पा, तेञ्जेन लामा शेर्पाजस्ता अनगिन्ती शेर्पाहरूको योगदान इतिहासमा बलियोसँग लेखिनुपर्ने विषय हो ।
इतिहासका तिलस्मी पात्रझैं लाग्ने ती सबै विश्व प्रसिद्ध पुस्तक वा चलचित्र बन्न सक्ने गाथा हुन् । अहिले नयाँ पुस्ताका धेरै शेर्पाहरू नवीन सीप र प्रविधिमैत्री बनेर पर्वतारोहणमा अनेकौं रंग थपिरहेका छन् । यतिखेर नेपालका हरेकजसो आरोहण कम्पनीसँग एक वा अर्को स्वरूपमा दुर्लभ कीर्तिमान बोक्ने र उच्च साहस प्रदर्शन गरेका एक–से–एक शेर्पाहरू छन् । यो हाम्रो खास सम्पत्ति हो ।
आदर्श आरोहण र सुधारका प्रयास
विश्वको प्रतीक चुचुरो आफूसँग हुनुको दायित्व निकै गह्रौं पनि छ । नेपालले यसलाई स्वामित्वका रूपमा भन्दा पनि प्रकृति र इतिहासले छाडेको नासोको संरक्षकका रूपमा बुझ्नुपर्छ । सगरमाथासँग संसारका हरेक कुनामा बस्ने मानिसहरूको गहिरो साइनो जोडिएको छ । ती अझै जोडिँदै जानेछन् । सगरमाथा उनीहरूको पनि हो भन्ने भावनालाई ठेस नपुर्याउने गरी हाम्रा नीति नियम बन्नुपर्छ ।
ठूलो खर्च र त्यससँगै आवश्यक जनशक्ति परिचालनको सामर्थ्यका हिसाबले कुनै बेला सगरमाथा आरोहण राज्यस्तरमा मात्र सम्भव कुरा मानिन्थ्यो । नेपालले सन् १९५० देखि १९७० को दशकबीचमा देखिएका ब्रिटिस, अमेरिकी वा इटालियन आरोहण दलको तयारी हेर्ने हो भने त्यो कुनै ठूलै युद्धको भन्दा कम नरहेको इतिहास हामी पढ्न पाउँछौं ।
त्यसबेला सगरमाथा आरोहण राष्ट्रिय प्रतिष्ठाको विषय हुन्थ्यो । तर अहिले मध्यमवर्गीय आम आरोहीले उक्त सपना देख्न सक्छ । त्यसको अर्थ सगरमाथाको गरिमामा आँच पुग्ने गरी जोकोही हिमाल चढ्न सक्छन् भन्नेचाहिँ कदापि बुझिनु हुँदैन ।
पछिल्ला वर्षमा सगरमाथालाई पैसा मात्रकै भरमा, शेर्पा मात्रैलाई बढ्ता भार पारेर चुचुरो पुग्ने लालसा बोकेका आरोहीहरू बढ्दा भीडभाड बाक्लिएको गुनासो आउन थालेका छन् । पर्याप्त तयारीबिनाका मानिसहरू धेरै हुने भएका कारण भीडभाड बढेको विदेशी आरोही र शेर्पाको मत छ । हिमालमा कसैको ज्यान जाने अवस्था सिर्जना हुनु भनेको अर्को पीडादायी अवस्था हो ।
पर्वतारोहण जगत्मा सगरमाथाको गरिमा घट्ने काम कुनै पनि स्वरूपमा हुनु हुँदैन भन्नेमा नेपाल सरकार सदैव सचेत छ । यो कुरालाई दृष्टिगत गरी नेपाल सरकारले पर्वतारोहणको नीतिगत सुधारलाई प्राथमिकता दिएको छ । पर्वतारोहण नियमावली संशोधन भएको छ । पर्यटन नीति र पर्यटन ऐनमा पर्वतारोहणलाई प्राथमिकता दिइएको छ । आरोही र शेर्पालाई लक्षित गरी आरोही कल्याण कोषको नीतिगत व्यवस्था गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
पर्वतीय 'ब्रान्ड’
हामीसँग रहेको सगरमाथा एक अटल एवं अचल सम्पत्ति हो । हिमाली काखमा पदयात्रा गर्न सकिने लामा–लामा पदमार्ग हामीलाई प्रकृतिले दिएका सुन्दर उपहार हुन् । तर तिनको मूल्य बुझ्न नसके ती सधैं त्यस्तै रहिरहन्छन् भन्ने हुन्न । शेर्पा समुदायले अब उनीहरूका पुर्खाहरूले छाडेका रैथाने सीपकै भरमा पर्वतारोहणको विरासत कायम राखिराखुन् भन्ने सोच्न मिल्दैन ।
उनीहरूका लागि नवीन कौशल र प्रविधिमैत्री हुन सक्ने गरी देशभित्रै अत्याधुनिक पर्वतारोहण तालिम केन्द्रहरूको विकास र विस्तार हुन जरुरी छ । हाम्रा हिमाल आफैं आरोहणका उत्कृष्ट पाठशाला हुन् । शेर्पा जति योग्य प्रशिक्षक अरू को हुन सक्ला ? यो कुरालाई ध्यान दिई सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, नेपाल पर्वतारोहण संघजस्ता संस्थाको दक्षता विकासलाई प्राथमिकता दिएको छ ।
पर्वतारोहणमा भवितव्य टार्न नसकिने यथार्थ भए पनि जलवायु परिवर्तनसँगै बढेका जोखिमसँग जुध्न अब सोहीअनुसारका उच्च मापदण्डका तालिम र कौशल नेपाली आरोहण समुदायलाई अत्यावश्यक छ । सन् २०१४ मा खुम्बु आइसफलमा १६ शेर्पाको ज्यान जाने गरी गएको हिमपहिरो र सन् २०१५ मा आधार शिविरमै आएको अर्को हिमपहिरोमा परी २२ जना शेर्पा र पर्यटकहरू गुमाएका घटनाबाट पाठ सिक्न ढिलो गर्नु हुँदैन ।
शेर्पा अब एउटा जातिका रूपमा मात्र छैन, त्यो एउटा प्रतिष्ठित पेसा बनेको छ । शेर्पा हाम्रो विशेष क्षमताको ब्रान्ड हो । शेर्पाजस्तो भरपर्दो सहयोगी अरू केही हुन नसक्ने मूल्यांकन गरी समृद्ध देशहरूको संगठन जी–२० मा समेत राष्ट्र तथा सरकार प्रमुखहरूलाई सघाउने उनीहरूका मुख्य कर्मचारीलाई ‘शेर्पा’ नाम दिएरै सम्बोधन गर्ने गरिन्छ । विदेशीहरू उनीहरूलाई शेर्पाकै रूपमा चिन्छन् ।
शेर्पाहरू हिमालका पहरेदार हुन् । हामीले जसरी खुम्बु आइसफलमा बाटो बनाउन वा चुचुरोसम्मै डोरी टाँगेर पुर्याउन शेर्पाको भर पर्छौं, त्यसरी नै उनीहरूलाई पर्वतारोहण सञ्चालनको सरकारजत्तिकै बरोबर हिस्सेदार मानेर काम गर्न सक्छौं । यो मान र गरिमालाई बढाउनका लागि नीतिगत प्रस्टतादेखि पर्यटन जगत्को एकीकृत साथ आवश्यक छ ।
सगरमाथा 'सफ्ट पावर’
सगरमाथा संवादमार्फत यस पटक नेपालले जलवायु परिवर्तनको मुद्दामा अन्तर्राष्ट्रिय अग्रसरता लिने प्रयास गर्यो । नेपालका लागि यस सर्वोच्च शिखर आफ्नो ‘सफ्ट पावर’ अस्त्र हो ।
सगरमाथामा जुट्ने जमातलाई संसारले निकै ध्यानपूर्वक हेरिरहेको हुन्छ । विगतका वर्षका लय पछ्याउँदै यस वर्ष मात्रै खुम्बु हिमनदीमाथि खडा भएको टेन्टको बस्तीमा ५० भन्दा धेरै देशका मानिसहरू जुटे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपालको हिमाल र आरोहण जसरी सायदै कुनै अन्य विषयलाई प्राथमिकता दिएका हुन्छन् । त्यसैले यो हामीले विश्वमञ्चमा देखिने र सुनिन सक्ने शक्ति पनि हो ।
समकालीन विश्वमा जलवायु परिवर्तनको विषय पेचिलो बनिरहँदा हामीले त्यस मुद्दामा यही सगरमाथाको आड लिएर नेतृत्व लिन सक्छौं । जलवायु परिवर्तनको असर हिमालमा जसरी प्रस्ट र छिटो अन्यत्र देखिँदैन । र, यो विषय हिमाली क्षेत्रको मात्र चिन्ताको विषय पनि होइन । ‘तेस्रो ध्रुव’ समेत भनेर चिनिने हिमशृंखला पग्लँदाको असर त्यसमुनिको समुद्रसम्मै पर्ने कटु यथार्थको बोध विश्व समुदायमा ढिलो हुनु हुँदैन । नेपालले आफ्नो हिमाल र तिनै हिमालले जुटाएका विश्व समुदायको आड लिएर यस मुद्दामा नेतृत्वदायी भूमिका लिन ढिलो गर्ने छुट छैन ।
अन्त्यमा,
सगरमाथाको सफल आरोहणको सात दशक नाघिसक्दा नेपालले विश्वस्तरमा यसकै कारण आफ्नो मौलिक प्रतिष्ठा र नेपाललाई निकै माया गर्ने समुदाय कमाएको छ । तर हालसम्म सगरमाथाको इतिहास धेरैजसो पश्चिमा दृष्टिबाट कोरिएका छन् । कतै नेपाली शेर्पाका क्षमता, त्याग र समर्पणका कथा भन्न खोजिएका छैनन् भने कतै उनीहरूलाई इतिहासको साझेदार नै स्विकारिएको छैन । इतिहास विजेताले नै लेख्ने हो । नेपालसमेत आफ्नै परिवेश र लयमा पर्वतारोहणको विजेता नै हो । औपनिवेशिक भाष्यबाट निस्किएर हामीले हाम्रो काखैको हिमाल बुझ्न आवश्यक छ । हामीले सगरमाथा भन्ने सर्वोच्च शिखरलाई तिब्बतीहरू त्यहाँकी देवी मियोलाङसाङमाको सम्मानमा
‘चोमोलोङ्मा’ भन्छन् । बाँकी विश्वले त्यसलाई यसको पहिलो पटक मापन गर्ने जर्ज एभरेस्टको सम्झनामा भएको नामकरण एभरेस्ट भनेर बुझ्छन् । त्यसको अर्थ पनि सबैका लागि आफ्नै दृष्टिबाट यस हिमालको भाव फरक–फरक हुन सक्छ भन्ने पनि हो । यसको इतिहास अब व्यापक रूपमा नेपाली दृष्टिकोण र मनबाट लेखिन आवश्यक छ ।
‘चुचुरो पुग्ने कुराको निर्णय सगरमाथाले मात्रै गर्न सक्छ’ भन्ने एउटा चर्चित उक्तिले प्रकृतिसामु मानव कति कमजोर र आरोहण कति अमूर्त र चुनौतीपूर्ण छ भन्ने बुझाउँछ । त्यसरी नै सगरमाथा कसैको दम्भ, कुण्ठा वा पूर्वाग्रह कुनै पनि स्वरूपमा अभिव्यक्त हुने ठाउँ हुनु हुँदैन । व्यावसायिक आरोहणले जति नै विशिष्ट स्वरूप लिँदै गए पनि यसको पवित्रता बुझेर आपसी सहकार्य र सम्मानबाट मात्र वास्तविक आरोहण गर्ने सगरमाथाको समुदाय हामीलाई चाहिएको छ । विलासी पर्यटनका नाममा शेर्पाका जीवन जोखिममा पार्ने जुनसुकै काम हिमाललाई सम्मान गर्ने अर्को व्यक्तिबाट अपेक्षा गर्न सकिँदैन ।
यो साहसिक पर्यटनको एउटा मैदान भईकन पनि अरूभन्दा स्वयंसँग प्रतिस्पर्धा गर्ने सबैभन्दा उपयुक्त थलो हो । यहाँ तिनै हिमालका संघर्षशील जनजीवनले सहनशील शेर्पा जन्माएको छ । त्यहाँको धार्मिक–सांस्कृतिक विश्वासले हिमालको सम्मान र रेखदेख गर्न सिकाएको छ र पर्वतारोहणका विभिन्न कालखण्डमा निःस्वार्थ भावले जीवन नै दाउमा राखेर शेर्पाहरूले गरेका कर्मले इतिहास लेखिएको छ ।
त्यसकै भरमा शेर्पाका पुस्तौं पुस्ताले उक्त साख जीवन्त रूपमा कायम राखेका छन् । त्यसको सम्मान कम्तीमा हामीले हाम्रा ती महान् आरोहीहरूलाई कहिल्यै नबिर्सने गरी इतिहासमा सँगालेर गर्नुपर्छ ।
– पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन्।
