विपद्को जोखिममा महिला 

महिला प्राकृतिक प्रकोपमा पर्ने र धेरै क्षति बेहोर्ने मुख्य कारण शारीरिक र जैविक हो । अर्को कारण प्रमुख दायित्व पारिवारिक संरक्षण र रेखदेख हुनु हो ।

जेष्ठ १५, २०८२

अमृता अनमोल

Women at risk of disaster

बर्सेनिजस्तै यसपालि पनि मनसुन भित्रन लागेको छ । भनिन्छ, प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन । एक्कासि आउँछ र जीउज्यानसहित सर्वस्व लैजान्छ । तर, धेरै जोखिम र क्षति महिलालाई गराउँछ । यस्तो किन हुन्छ ? किनकि, महिलाहरू जैविक, सामाजिक, आर्थिक र भौतिक हिसाबले कमजोर अवस्थामा हुन्छन् ।

 अधिकांश घर व्यवहार र शिशु स्याहारका काममा व्यस्त हुन्छन् । पुरुषजस्तै प्रकोपबाट जोगिन, पौडिन र दौडिन जान्दैनन् वा सक्दैनन् । यही कारण प्राकृतिक विपद्बाट बढी महिला प्रभावित हुन्छन् । महिलामध्ये पनि सुत्केरी, गर्भवतीलगायतका विशेष अवस्थाका महिला विपद्को जोखिममा धेरै हुन्छन् । शरीर कमजोर भएका बेला उनीहरू विपद् आउने सूचना, बच्ने तरिका र विपद्का बेलाको भूमिका नजान्दा पनि समस्यामा पर्छन् । 

२०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा ज्यान गुमाउने आधा बढी महिला थिए । जाजरकोटमा गएको भूकम्पमा महिलाले धेरै क्षति बेहोरे । महिला प्राकृतिक प्रकोपमा पर्ने र धेरै क्षति बेहोर्ने मुख्य कारण शारीरिक र जैविक हो । प्रकोपमा धेरै महिला पर्ने अर्को कारण प्रमुख दायित्व पारिवारिक संरक्षण र रेखदेख हुनु हो । धेरै महिला घरभित्र काम गर्ने भएकाले 

विपद्का बेला पनि घरमै फस्ने सम्भावना हुन्छ । विपद्सम्बन्धी जानकारी नहुँदा पनि महिलाहरू धेरै प्राकृतिक प्रकोपमा पर्छन् । सूचनामा कम पहुँच हुँदा मोबाइल, टेलिभिजन, रेडियोलगायतबाट आउने प्रायःजसो प्राकृतिक विपद्का जानकारी पुरुषमार्फत घरमा आउँछ । सूचना थाहा पाए पनि सुरक्षित स्थान कहाँ हो, थाहा पाउन समय लाग्छ । राहत र उद्धारमा पनि प्राथमिकतामा महिला पर्दैनन् । यसले पनि विपद्को क्षति महिलामा धेरै हुन्छ ।

लैंगिक विभेद र परम्परागत सोचले महिलालाई अझ गाँजेको छ । महिला कमजोर हुन्छन् भन्ने मानसिकताका कारण पूर्वतयारी र उद्धारबारे महिलालाई सिकाइँदै सिकाइन्न । विपद् व्यवस्थापनमा सहयोगीका रूपमा मात्र लिइन्छ । विपद्सम्बन्धी नीतिमा होस् वा उद्धार टोलीमा महिलाको सहभागिता कम हुन्छ । महिलाको नेतृत्वदायी भूमिका प्रायः हुँदैन । यसकारण प्राकृतिक विपद्का कतिपय अवस्थामा महिलाको आवश्यकताबारे आवाज नै सुनिँदैन । 

प्राकृतिक विपद्पछि सुरक्षा अभाव र हिंसाका कारण पनि महिला जोखिममा परेको देखिन्छ । विपद्पछिको आश्रयस्थलमा बस्ने र सुत्ने ठाउँ एवं शौचालय सुरक्षित नहुँदा हिंसामा पर्ने समस्या हुन्छ । महिनावारीका बेला सेनिटरी प्याड उपलब्ध नहुँदा पनि समस्या हुन्छ । 

विपद्पछिका अस्थायी शिविरमा यौन हिंसा, जबर्जस्ती करणी, मानव तस्करलगायतको उच्च जोखिम रहन्छ । धेरै महिलाहरू आर्थिक रूपमा परनिर्भर छन् । यही कारण निर्णय क्षमता कमजोर हुन्छ । विपद्पछि घरसम्पत्ति गुमाए पनि पुरुषहरू तत्काल वैकल्पिक सीपमा जोडिन सक्छन् तर महिला सक्दैनन् । यसले विपद्पछि पनि महिला जोखिममा पर्ने क्रम धेरै छ ।

विपद्बाट बच्न सबैभन्दा पहिले व्यक्ति स्वयंले सुरक्षित हुन प्रयास गर्नुपर्छ । विपद्पूर्व कस्तो तयारी गर्ने, विपद् भइहाले कसरी सुरक्षित हुने, विपद् कुन ठाउँमा कसरी आउन सक्छ, त्यसबेला के गर्ने भन्ने जानकारी हुनैपर्छ । यसबारे महिला लक्षित चेतना प्रवाह जरुरी छ । जोखिम घटाउन त्यस्ता संरचना महिलामैत्री बनाउन जरुरी छ । विपद्ले विपद्का बेलामा मात्र होइन, त्यसपछिका धेरै वर्ष पनि असर गरिरहन्छ । व्यक्ति मात्रलाई होइन, राज्यलाई पनि क्षति हुन्छ । त्यसैले पनि विपद् र महिलाका सवाललाई महिलाका मात्र बनाइनु हुँदैन । राज्यका सवालका रूपमा सरकारले संवेदनशील रूपमा लिनुपर्छ । 

प्राकृतिक विपद्मा महिला धेरै पर्नु र क्षति हुने संरचनागत असमानता र लैंगिक भेदभावको नतिजा पनि हो । विपद्मा महिला जोखिम र क्षति कम गर्न प्राकृतिक विपद्को पूर्वतयारीमा महिलाको सक्रिय सहभागिता गराउनुपर्छ । लैंगिक रूपमा संवेदनशील पूर्वतयारी, उद्धार र राहत नीति बनाउनुपर्छ । महिलामैत्री सूचना प्रणाली विस्तार गर्नुपर्छ ।

आश्रयस्थल लैंगिक, संवेदनशील र महिलामैत्री हुनुपर्छ । विपद्का बेला पनि महिला नेतृत्वलाई प्राथमिकतामा राख्नुपर्छ । प्राकृतिक विपद्को क्षति रोक्न पूर्वतयारीमा लगानी बढाउन जरुरी छ । त्यसका लागि महिलामैत्री चेतना प्रवाह र व्यवस्थापनमा काम गर्नुपर्छ । संरचनागत, सामाजिक र सांस्कृतिक कारणले महिलाले थप जोखिन र क्षति बेहोर्नुपर्ने अवस्था हुन नदिन 

विपद्का पूर्वतयारी र विपद्पश्चात्का सबै स्रोत र सूचनामा महिलाको पहुँच बढाउनुपर्छ । विपद्को व्यावहारिक ज्ञानमा महिला सामेल गराउनुपर्छ । यसले प्राकृतिक विपद्मा महिलाको क्षति र जोखिम रोकिने मात्र होइन, समुदायमै विपद्को बज्रपात घटाउन सकिनेछ । 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully