सीमान्त नागरिकको गणतन्त्र

आज गणतन्त्र दिवसको पावन अवसरमा मन्थन गरौं– हामी स्वाधीन भयौं कि अनाधीन अर्थात् उच्छृंखल ? उच्छृंखल आफ्नो इच्छाहरूको कम, मनोवेगहरूको गुलाम अधिक हुन्छ ।

जेष्ठ १५, २०८२

चन्द्रकिशोर

A republic of marginal citizens

घोकेको पाठले सुगालाई सिकारीको जालबाट जोगाउन सक्दैन । देहाततिर हजुरआमा–बा पुस्ताले त्यो सुगा र सिकारीको लोककथा खुब सुनाउँछन् । श्रुति परम्पराले यस्ता लोककथाहरूलाई जोगाएको छ । कथा छ नि, ‘सिकारी आउला, जाल बिछ्याउला । दाना छर्ला । तर त्यसको प्रलोभनमा नपर्नु । यसले ज्यानै जाला ।

 ‘एउटा साधुले आफूले पालेको सुगालाई दिनदिनै घोकाउँछ । तर जहिले पनि रटाइएका लोक आख्यानले सुगाको रक्षा हुँदैन । चक्रव्यूहमा फसिरहनु उसको नियति बन्छ । राजनीतिको अर्थ हो–शासक र शासितको परस्पर सम्बन्ध । यो दुइटैमा जति दूरी हुन्छ, त्यतिकै अधिक विषमता रहन्छ । लोकतन्त्रमा शासक र शासितको अवधारणा रहँदैन ।

निर्वाचित जनप्रतिनिधि नागरिकका सेवक हुन् र नागरिक सहयात्री । तर आफूलाई ‘सेवक’ ठान्नुपर्नेहरू अझै ‘शासक’ को मनोभावमा छन् । यस्तोमा सीमान्त नागरिकहरू आफूलाई त्यस्तो रेलवे पटरीमा पाउँछन् जहाँ द्रुत गतिको रेल सामुन्ने छ । भाग्ने वा जोगिने कुनै विकल्प छैन ।

यो सम्भावनाहरू खोज्ने समय हो । प्रत्येक प्रहर एउटै खोज हुनुपर्ने हो, सम्भावनाहरू कहाँ–कहाँ जोगिएका छन् । क–कसले कता–कता सम्भावनाहरू जोगाएर राखेका छन् । भुइँ तहमा आफूलाई एक्लो र कमजोर मान्ने मानिस बाक्लिएका छन् । यस्तोमा विचार वा सोच व्यक्तिगत चिन्तन र अनुभवबाट उब्जिन्छ । त्यसलाई कुनै व्यक्तिविशेषमाथि जबर्जस्ती लाद्न सकिन्न । यसैले महत्त्वपूर्ण हुन्छ कि, जब कोही यथास्थितिबाट मुक्तिको सपना हेर्छ र संघर्षका लागि आफूलाई तयार पार्छ ।

बाराको सिम्रौनगढ नगरपालिकामा एक महिना पहिले आएको हावाहुरी र असिनापानीले केही वडाका किसानहरू पीडित भए । यीमध्ये अधिकांशले जग्गा भाडामा लिएर तरकारी खेती गरेका थिए । तर हुरीले किसानहरूको सपना उडायो । किसानहरू एक्लाएक्लै क्षतिपूर्तिका लागि गुहार माग्दै रहे । केही आश्वस्त पार्ने संकेत फेला परेन ।

अन्त्यमा नेताहरूलाई पुकार गर्नुको साटो उनीहरू आफैं गोलबन्द भए, संघर्षका कार्यक्रमहरू ल्याए, स्थानीय तहमाथि दबाब पर्‍यो र क्षतिपूर्ति दिने वाचा भयो । जुन राजनीतिक समयलाई निरादर गर्ने चलन बढेको छ, त्यही बेला अनाम किसानहरूको संघर्षले एक परिचय प्राप्त गरेको छ । एक किसान जो सबै थोक हारिसकेका छन् ऊ एक अर्को हारका लागि जोखिम उठाउँछ र सफलता पाउँछ ।

त्यसैगरी सिम्रौनगढको एक विरासत पुरातात्त्विकस्थल हुनु हो । यहाँ प्रादेशिक अर्थ राजनीतिले सम्पदाहरूको संरक्षणको आवरणमा मास्ने उद्यम गर्न थाल्दा स्थानीयहरूमा प्रतिवाद गर्नुको विकल्प रहेन । जो जहाँ छ, त्यहीबाट बोल्ने हो । स्थानीय युवाहरूले यो दल वा त्यो दल, यो नेता वा त्यो नेता हेरेनन् । उनीहरूलाई लाग्यो, हामीले प्रतिवाद गरेनौं भने यो बचे खुचेको अवशेष पनि लुप्त हुन्छ ।

उनीहरूका हस्तक्षेपले सार्थक परिणाम निस्किने देखिएको छ । निष्क्रियताले अधिनायक जन्माउँछ, सक्रियताले लोकतन्त्र स्पन्दित भइरहन्छ । निश्चय पनि लोकतन्त्र बहुसंख्यकहरूद्वारा सञ्चालित हो तर लोकतन्त्रलाई प्राणवायु दिने काम अल्पसंख्यक सीमान्त जमातले गर्छन् । बहुसंख्यक त सत्ता र शक्तिको परिक्रमा गरेर आफ्नो अनैतिक निहितार्थ पूर्तिमा लाग्छ । 

सीमान्त नागरिकहरूका स्थानीय स्वर मुखर भएपछि मात्र त्यो आवाजमा अन्यत्रबाट ऐक्यबद्धता गुन्जिन्छ । इतिहासका प्रत्येक कठिन घुम्तीमा यस्तो स्वर र विचार जिउँदो रहन्छ, यो चाहे अल्पमतमा होस् वा मधुरो तर यस्तै सोच, संवाद र संघर्षले गाह्रो समयमा जुनकिरीको उज्यालो बन्न पुग्छ । गणतन्त्र शब्दमा विशालताको भाव छ, जसले अरूलाई साथ लिएर तिनको मतलाई सुनेर एक सामाजिकताको निर्माण गर्छ ।

गणतन्त्रको लडाइँमा स्वाधीनताको मूल भाव यही हो । आज गणतन्त्र दिवसको पावन अवसरमा मन्थन गरौं– हामी स्वाधीन भयौं कि अनाधीन, हामी स्वाधीन (स्व+अधीन) नभएर इन्डिपेन्डेन्ट अर्थात् अनाधीन हुन पुगेका छौं भन्ने लाग्छ । अनाधीन अर्थात् उच्छृंखल । उच्छृंखल आफ्नो इच्छाहरूको कम, मनोवेगहरूको गुलाम अधिक हुन्छ । गणतन्त्रको लडाइँ दुई थरीको हुन्छ, एक विभेदविरुद्ध र अर्को स्वयंका दुर्बलताहरूका विरुद्ध । 

हो, नेपालमा गणतन्त्रको अस्तित्व संकटमा छ । तर संकटको सामना गर्ने क्षमता र परिपक्वता पनि उल्लेख्य मात्रामा बढेकाले राष्ट्रले विद्यमान विपत्तिबाट पार पाउने युक्ति छिट्टै पहिल्याउनेछ भन्नेमा विश्वास गर्नुपर्छ । नेपाली सत्ता राजनीतिमा व्याप्त सम्भ्रान्तहरूको एकाधिकार, गणतन्त्रलाई जरो गाड्न नदिने सबभन्दा ठूलो बाधकका रूपमा रहँदै आएको छ । यतिखेर पहिचानवादी राजनीति कर्मकाण्डमा परिणत भएको छ । भुइँ तहको ठम्याइमा तिनका मसिहाहरू दक्षिणा नपाई फूल टिप्नसमेत नमान्ने पुरोहितहरूजत्तिकै घृणित बनेका छन् । ‘राजा बनाम नागरिक’ को उही बासी वादविवाद प्रतियोगिताको मञ्चन गराएर आफ्नो रक्तअल्पतामा थोरै भए पनि लौह थप्ने तात्कालिकतामा बाँचेको छ– राप्रपा–गण ।

नेपालमा साम्यवाद स्थापना मृगतृष्णा हो । उदार लोकतन्त्रको बाटो नै हो जो चारैतिरबाट घेरिएको संकटको बादलले नेपाली मनोकाशमा चाँदीको घेरा फेला पार्न सघाउँछ । सत्तारूढ एक घटकले केही घण्टा सडक कब्जा गर्दैमा गणतन्त्रको आयु सुनिश्चित हुँदैन । गणतन्त्र कुनै अमूक दल वा नेताको ठेकेदारीमा बाँच्ने होइन । यो त सीमान्त नागरिकहरूका स–साना धक्काहरूबाट परकम्पित भइरहने हो । परकम्पहरूबाट गणतन्त्र जडतन्त्र हुनबाट जोगिएर जनतन्त्रको चरित्र राखिरहन्छ ।

गणतन्त्र प्राप्ति हुँदा हाम्रो लक्ष्य के थियो ? त्यो लक्ष्य प्राप्तिमा हाम्रो सामुन्ने के–के समस्या आइरहेको छ ? यसको निदान कसरी गर्न सकिन्छ ? के हामीले लक्ष्य प्राप्तिका लागि सही दिशा समाउन सक्यौं ? के त्यसमा केही त्रुटि रह्यो ? यदि हो भने सही बाटो कुन हो ? त्यसका लागि संविधानमा के संशोधन वा परिमार्जन आवश्यक छ ? अहिले खुला मनले सोच्ने पुनीतकाल हो ।

गणतान्त्रिक इतिहासको सिंगो कालसूची स्वर्णमण्डित कुर्सीहरूका लोलुप आकांक्षाहरूले भरिएको छ । कुर्सीको अर्थ हो– सत्ता । सत्ता क्रूर र निर्मम हुन्छ । उसले आफ्नो वरिपरिका तगाराहरूलाई निर्मूल गर्दै गएन भने तिनले उसलाई नै च्यूत गरिदिन्छन् । आजका नेता, प्रशासक अमूक कुर्सीमा बसेदेखि नै ती उम्मिदहरूको चीरहरण गर्न सुरु गर्छ, जसका लागि ऊ त्यहाँ पुगेको हो । भन्न खोजेको के हो भने, दलीय राजनीतिमा रूपान्तरणका लागि सहभागिता जनाएको भनिए पनि दलहरूभित्रको अन्तरकथा उही एकले अर्कालाई किनारा लगाउने, कमजोर बनाउने नै हो । अहिले ठूला–साना सबै दलका घर झगडाको जरो यही हो । अर्थात् दलहरूभित्रको आन्तरिक लोकतन्त्र सीमित हुँदै आएको छ ।

प्रशासन, न्याय, दलीय राजनीति, नागरिक समाज सबै प्रहसनमा बदलिँदै आयो । धार्मिक उत्सवको सडक प्रदर्शनभित्र श्रद्धाभन्दा उन्माद बढी छचल्किन्छ । राजनीतिक कार्यक्रमहरू आमजनका आस्थाका उत्सव रहेनन्, फगत ताली बजाउने भीडका रूपमा सीमित देखिए । महालेखापरीक्षक वा अख्तियार दुरुपयोग अनुसन्धानलाई जब चाँजोपाँजोको एक रूप बुझ्न थालिन्छ, तब त्यसले धेरै सवाल खडा गर्छ । गणतन्त्रको जयगाथाभित्र भुइँमान्छे एक निरापद चुप्पीबाट घेरिँदै आएका छन् । हुन सक्छ, त्यो चुप्पीभित्रबाट कुनै नयाँ रचनात्मक विस्फोट हुन सकोस् । हुन सक्छ, त्यो चुप्पी लामो समयसम्म रहिरहोस् ।

अब भय नै सत्य देखिएको छ, यही बुझाइ व्याप्त छ । निदा फाजलीको एक चर्चित शेरलाई सामान्य बदलावका साथ उद्धृत गरी भन्नुपर्दा– ‘हर खबर मे होती है, दस–बीस खबरें, जिस खबरको देखना हो कई बार देखना । जस्तै– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा सक्रिय भएको जनाउ विदेशी भूमिबाट अभिव्यक्त हुन्छ । असल नागरिक बन्ने दायित्व बिर्सेर ज्ञानेन्द्र शाह लन्च–डिनरको साप–सिँढी खेलमा रमाउन रुचाउँछन् । अनेकौं भयहरू यथार्थ भएर सामुन्ने ठडिन्छ ।

सत्य अब संघर्ष र समाजबाट होइन, बजारले निर्धारित गर्छ । त्यसैले व्यक्ति, समाज, संघर्ष आदि सबैको मोल तय गरिएको छ । अवस्था कस्तोसम्म आइपुग्यो भने तपार्इं मन पराउनुस् वा नपराउनुस्, बजारले तपाईंको भाउ तय गर्छ नै । र, यहाँ सबैथोक बिर्सिएर रहनुपर्छ । इतिहास, संघर्ष, बौद्धिकता– सबै थोक । यो बजारले यतिविघ्न प्रलोभन दिन्छ कि, तपाईं बजारको स्विमिङ पुलमा डुबुल्की लगाउनु हुन्छ नै । तपाईं एक ‘वस्तु’ रहनु हुन्छ वा वस्तुको क्रेता । हिन्दी कवि बद्रीनारायणको ‘बजारका गीत’ अंश हाम्रा लागि पनि सान्दर्भिक छ– ‘जो कोई बजार में आएगा चार पैसे में बिकाएगा, पर दो ही पैसा पाएगा दो तो दलाल ले जाएगा, चाहे कोई हो हम, आप या कबिर । बौद्धिक, लेखक, फकिर सब चार में बिकाएंगे पर दो ही पैसा पाएंगे, हां, जिसे ठीक से बिकना आएगा वह दो की जगह दस भी पा जाएगा ।’ 

गणतन्त्रको उदार परिवेश यस्ता बजारमा भीड बढाउन उर्वर माहोल भएको छ । त्यस्ताहरू न्यून छन् जो प्रतिरोध, विरोध र संघर्षको इतिहास बाँच्न चाहन्छन्, त्यो माहोलका खिलाफ अथकित खडा रहन खोज्दछ जसले तिनलाई ‘ज्ञान’ र ‘सत्ता’ को दुनियाँबाट टाढा राख्न खोज्छ ।

लोकतान्त्रिक गणतन्त्र कुनै रूढि होइन, न यो अन्धविश्वास हो । यस व्यवस्थामा प्रश्नहरू उठ्छन्, अहर्निश उठिरहन्छ । वास्तवमा प्रश्न र प्रतिप्रश्नको अन्तरक्रियामा नै लोकतन्त्रले आफ्नो जीवन्तता एवं सिर्जनात्मकता पाउँछ र यसरी नै लोकतन्त्रले आफ्नो प्रासंगिकताको निरन्तरता पनि सुनिश्चित गरिरहन्छ ।

विज्ञहरू यस्तै आलोकमा अर्थात् अविच्छिन्न गतिशीलताको सन्दर्भमा निरन्तर उठिरहने प्रश्नहरूको उत्तर खोज्ने यस क्रममा नै अन्तर्निहित ‘सिर्जनात्मक ध्वंसात्मकता’ ले आफ्नो अभिव्यक्ति पाइरहेको बताउँछन् । त्यसै कारणले जुन बेला यस्ता प्रश्नहरू उठ्न कम हुँदै जान्छन् वा यस्ता प्रश्नहरूको जवाफ फर्काउन रुचाइँदैन तब लोकतन्त्र निसासिन थाल्छ । आमजन राजनीतिक पुरोहितवादलाई रुचाइराखेका छैनन् ।

सीमान्त नागरिकले कुनै मसिहा खोजेका छैनन् । प्रश्नभन्दा माथिको कुनै अवतारी पुरुष चाहेको छैन । उदांगो भइसकेको राजतन्त्रका खरानी कुनै चमत्कारका लागि लेपन गर्न तयार छैनन् । पालकी बोकेर तीनकुने ताण्डव गर्नेहरूको विभिन्न शब्दाडाम्बर र चलाखीपूर्ण मञ्चनलाई जनताले पत्याइरहेका छैनन् ।

समानताको नयाँ तहमा उक्लिने सपना राखेका सीमान्त  नागरिकले नयाँ अन्तरसम्बन्धको अपेक्षा राखेका छन् । बहुदलीयता मात्रले न बहुलता न विविधता र अन्ततोगत्वा भुइँमान्छेको लोकतन्त्रलाई प्रत्याभूत गर्न सक्दो रहेछ । यो भ्वाङलाई साम्य पार्न यो वा त्यो दलको आलोचना वा यो वा त्यो पात्रप्रति विमति राखेर मात्र हुँदैन । गोडाका पाइलाहरूले गोरेटो बन्छ, यो नै मूल प्रश्न हो । 

मधेशतिर भनाइ छ, गाउँमा जब कसैको खराब समय आउँछ तब ऊ अदालतको चक्करमा पर्छ । तर त्योभन्दा पनि झन् खराब समयको सूचक हो कि नेताहरूको गोलचक्करमा पर्नु । यसलाई यस्तै रहेछ यहाँको चलन भनेर मात्र पुग्दैन । यो हाम्रो समयको सत्यको सबैभन्दा ठूलो अश्लील दुर्घटना हो, जो समकालीन इतिहासमा दर्ज हुन सकिरहेको छैन । के पाइयो र गुमाइयो भन्दा पनि के–के सिकियो, त्यो महत्त्वपूर्ण हुन्छ । एउटा उल्लेख गर्नुपर्ने पाठ के हो भने तस्बिरको सेलरोटी हेर्दा आकर्षक भए पनि त्यसले भोक मेटिँदैन । त्यसैगरी गणतन्त्र दिवसमा गरिने महार्‍यालीको तस्बिरले पिँधमा मुस्कान छाउँदैन । गणतन्त्र व्यवस्था प्रस्थानबिन्दु र गन्तव्यस्थल जोड्ने मूक धर्सो होइन । यो त भुइयाँसँगको सपना, सम्बन्ध र सम्पर्क हो । यसको मात्रा घट्यो भने गणतन्त्र जीवन्त बन्दैन ।

गणतन्त्रका समर्थन वा विरोधका राजनीति गर्नेहरू व्यवस्था जोगाउनु वा समाप्त पार्नुभन्दा पनि आउँदो आम चुनावको फ्लाइट मोडमा छिरिसकेका छन् । जहाँ नयाँ–पुराना दलहरूको समान बुझाइ छ– चुनाव जित्नका लागि केवल राम्रो काम गरेर मात्र पुग्दैन, योसँगै मजबुत सहयोगी र स्थायी भोट बैंक पनि चाहिएको हुन्छ । भोट बैंकको खोजीमा राजनीतिक क्षयीकरणले ग्रस्त भए दलहरू ।

नयाँ–नयाँ अनुहारहरू आत्मपूजामा लिप्त हुँदै गएकाले तिनको प्रभाव पनि क्षीण भएको छ । त्यसले सवाल यो होइन कि आउँदो चुनावमा कसले बाजी मार्ला ? आधारभूत कुरा हो, गणतन्त्र जीवन्त कसरी रहिरहने ? दिन प्रतिदिन अनिश्चित घरेलु राजनीतिक परिदृश्यमा बाह्य खेलाडीहरूको प्रभाव थप बढ्ने निश्चित छ । र, यी खेलाडीहरूले सञ्चारमाध्यमहरूमार्फत आफ्नो छवि राम्रो बनाउने प्रयास गर्ने होड चल्नु निश्चितप्रायः छ ।

गणतन्त्र पाएपछि हामी दल, दाता नवदरबारहरूका दास भयौं । कसले लुट्न पाए, को वञ्चित रहे ? नरेश सक्सेनाको पंक्ति मनमनै गमौं– ‘मुर्दा लोगोंको जिंदा लोगों की अपेक्षा कहीं ज्यादा बर्फ चाहिए, कहीं ज्यादा आग, कहीं ज्यादा जमिन और कहीं ज्यादा पानी चाहिए ।’

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully