सांसद आफैंले बजेट बोकेर हिँड्ने कि खर्चको निगरानी गर्ने ?

जब सांसदहरू नै आफ्नो तजबिजमा बजेट परिचालन गर्ने भूमिकामा पुग्छन्, त्यतिबेला सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप हुन्छ, साथै निगरानी गर्ने संसद्को भूमिका संकुचित हुन्छ । संसदीय व्यवस्थाको ‘शक्ति सन्तुलन’ को सिद्धान्तलाई बलियो बनाउन पनि सबै पक्ष आआफ्नो जिम्मेवारी र दायरामा बस्नुपर्छ ।

जेष्ठ १४, २०८२

सम्पादकीय

Will the parliamentarian himself carry the budget or monitor the expenditure?

संघीय संसद्का सदस्यहरूले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि बजेट पाउन दबाब बढाएकामा सार्वजनिक आलोचना भइरहेका बेला प्रदेशसभाका सदस्यले पनि त्यस्तै पहल थालेका छन् । सांसदको तजबिजमा खर्च हुने भएकाले पारदर्शिता र जवाफदेहिता नभएको भन्दै सर्वोच्च अदालतले समेत यस्तो कार्यक्रममा रोक लगाएको छ ।

तर, शीर्षक र स्वरूप परिवर्तन गरेर यस्तै कार्यक्रम ल्याउन प्रदेशका सांसदले मुख्यमन्त्रीहरूलाई दबाबमा पारेका छन् । प्रदेशसभा सदस्यले सिधै खर्च गर्न पाउने गरी बजेट विनियोजन गर्न वा उनीहरूको सिफारिसअनुसारका योजनालाई बजेट वक्तव्यमा समेट्न सबैजसो मुख्यमन्त्री सकारात्मक भएका छन् ।

यस्तो दबाब र तयारीले प्रदेशसभा सदस्य मात्र होइन, सरकार पनि जवाफदेहिता र पारदर्शितासहितको शासकीय सुधारमा असंवेदनशील रहेको प्रस्ट हुन्छ । विधायिकी भूमिकामा रहेका सांसदहरू अर्थ परिचालनमा संलग्न हुन नहुने सैद्धान्तिक मर्म एकातिर छ, त्यसमा पनि यसअघिका अभ्यासमा नै विवादमा परेको कार्यक्रम ल्याउने हो भने फेरि सरकार र संसद्को साखमाथि थप प्रश्न उठ्नेछ । 

आगामी आर्थिक वर्ष २०८२/८३ मा निर्वाचन क्षेत्र केन्द्रित बजेट ५ करोड पुर्‍याउनुपर्ने ‘लबिइङ’ कोशी प्रदेशसभाका सदस्यहरूको छ । त्यस्तै मधेश सरकारले चालु आर्थिक वर्षको ‘रातो किताब’ मै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिकलाई १ करोड ५० लाख बराबरका योजना समेटेकामा आगामी वर्ष पनि त्यसलाई निरन्तरता दिन दबाब छ ।

बागमतीमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिकलाई ३ करोड रुपैयाँ विनियोजन गर्ने तयारी छ । गण्डकी सरकारले चालु आर्थिक वर्षमा प्रदेशसभा सदस्यले माग गरेका ५० लाखदेखि १ करोड रुपैयाँसम्मका योजना बजेटमा समेटिएकामा सोही किसिमको तयारी आगामी आर्थिक वर्षका लागि पनि गरेको छ । लुम्बिनीमा प्रदेशसभा सदस्यले खर्च गर्न पाउने गरी कम्तीमा ५ करोड बजेट व्यवस्था गर्न ‘लबिइङ’ भइरहेको छ ।

कर्णालीमा आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश योजनामा मात्र बजेट छुट्याउने तयारी छ । आयोजना छनोट गर्न प्रदेशसभामा प्रत्यक्षतर्फबाट निर्वाचित ज्येष्ठ सदस्यको नेतृत्वमा जिल्लास्तरीय आयोजना प्रस्ताव छनोट सिफारिस समिति बनाइएको छ ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले ४ करोड बराबरका योजना र समानुपातिकले २ करोड रकम बराबरका योजनाहरू मुख्यमन्त्री कार्यालयमा पेस गरेका थिए । त्यसका लागि बजेट विनियोजन गरिएको थियो । यस पटक पनि त्यसैलाई निरन्तरता दिनुपर्ने माग छ । 

विकास आयोजना ल्याउने र बजेट विनियोजन गर्ने जिम्मेवारी र अधिकार सरकारको हो । त्यसमा असहमति भए संसद् वा प्रदेशसभा बैठकमा धारणा राख्न सक्छन्, असहमति भए बजेटलाई अस्वीकार पनि गर्न सक्छन् । सदनबाट बजेट पारित भइसकेपछि कार्यान्वयनको जिम्मेवारी सरकारको हो, त्यसको निगरानीको जिम्मेवारी सांसदहरूको हो ।

बजेटको हकमा सरकार र विधायिकाको भूमिका छुट्टिने सैद्धान्तिक आधार पनि यही हो । जब सांसदहरू नै आफ्नो तजबिजमा बजेट परिचालन गर्ने भूमिकामा पुग्छन्, त्यतिबेला सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप हुन्छ, साथै निगरानी गर्ने संसद्को भूमिका संकुचित हुन्छ । संसदीय व्यवस्थाको ‘शक्ति सन्तुलन’ को सिद्धान्तलाई बलियो बनाउन पनि सबै पक्ष आआफ्नो जिम्मेवारी र दायरामा बस्नुपर्छ । 

विधायकहरू सरकारी बजेट परिचालनका कार्यक्रमसँग जोडिन नहुने अर्को कारण बजेट दुरुपयोगसँग पनि सम्बन्धित छ । निगरानी गर्नुपर्ने सांसदहरू नै बजेट बोकेर हिँडेपछि सरकार र त्यसका अंग थप स्वेच्छाचारी बन्छन् । यसै पनि सांसदको तजबिजमा खर्च हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम मूलतः कार्यकर्तालाई आर्थिक जोहो गरिदिने माध्यम बनेका छन्, विकास भने देखावटी ।

यसले सुशासनको अपेक्षालाई झन् क्षीण बनाउँछ, विकासमा गुणस्तर पनि सुनिश्चित हुँदैन । सर्वोच्च अदालतले संघीय सरकारले अघि बढाएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न भन्दै २०८० भदौ ६ मा दिएको अन्तरिम आदेशमा यही सरोकार उठाएको छ ।

आदेशमा भनिएको छ, ‘विकास योजना निर्माण र कार्यान्वयनसम्बन्धी स्वीकृत अभ्यास र मान्यता प्रतिकूल हुने गरी सीमित आर्थिक क्षमता रहेको मुलुकमा राष्ट्रिय ढुकुटीको ठूलो हिस्सा (अर्थात् संघ र प्रदेशसमेतबाट अर्बौं रकम) केही खास जनप्रतिनिधिहरूको वैयक्तिक तजबिजमा खर्च गर्नु योजनाबद्ध विकासको अवधारणा तथा सुशासनको मान्यताअनुकूल हुने देखिँदैन ।

यसमा सरकारी कोषको रकम खर्च गर्दा अपनाउनुपर्ने पारदर्शिता र जवाफदेहितासम्बन्धी विषय पनि विचारणीय बन्न जाने देखिन्छ ।’ जुन कार्यक्रममा संलग्न हुँदा सुशासनको सुनिश्चित हुँदैन, त्यसका निम्ति सांसदले दबाब बढाउन उचित हुँदैन ।

सांसद विकास कोषको सुरुवात मनमोहन अधिकारी नेतृत्वको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१ पुस ११ मा प्रस्तुत बजेटबाट गरेका थिए । त्यसयता अनेकौं नाम र आकारमा बजेटमा राखिँदै आएको छ । तर संसदीय व्यवस्थामा सरकार र विधायिकाको सैद्धान्तिक भूमिकाको अवधारणाविपरीत भएको र दुरुपयोगको पनि उदाहरण भएकाले पछिल्ला वर्षमा जनस्तरमै यस्तो कार्यक्रमको विरोध हुँदै आएको छ ।

प्रदेशसभा सदस्यले पनि यस्तै कार्यक्रमका लागि दबाब बढाउनु भनेको संघीय सांसदले बोकिरहेको विकृतिको अनुकरण मात्रै हुन्छ । बजेट परिचालन गर्ने सांसदहरूको रहरले न मर्यादा जोगाएको छ, न विधि बलियो बनाएको छ । यसमा दुवै तहका सदन र सरकार स्पष्ट हुनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully