मस्तिष्कमा ‘सेरोटोनिन’ रसायनको कमी हुँदा मानिसले आफ्नो रिस, संवेदना र आवेगलाई नियन्त्रणमा राख्न सक्दैन, यसै सिलसिलामा कसैकसैले अप्रिय घटनालाई अन्जाम दिन्छन्
सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्याका रूपमा लिइन्छ । वास्तवमा आत्महत्या एउटा अदृश्य रोग हो, धेरैजस्तो अवस्थामा आत्महत्या मानसिक समस्याको अन्तिम परिणाम हो । आत्महत्याका घटना नेपालमा मात्र नभएर विश्वभरि नै हुने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष करिब ७ लाख २० हजार मानिसले आत्महत्या गर्छन् ।*
धेरैजसो देशमा आत्महत्या तथा आत्महत्या प्रयासलाई सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ । धार्मिक दृष्टिले पनि आत्महत्या महापाप हो । हिन्दु धर्मग्रन्थ मात्र होइन– कुरान, बाइबलजस्ता धार्मिक पुस्तकले पनि यसलाई महापाप भनेका छन् । वैदिक विद्वान् डा. सञ्जय देव भन्छन्, ‘मानव जीवनलाई कुनै कारणले समाप्त गर्नु मनुष्य जीवन र ईश्वर दुवैको अपमान हो ।’ चार वेदमध्ये एक यजुर्वेदमा भनिएको छ, ‘जुन मानिस आफ्नो शरीरको अन्त्य गर्छ, ऊ घोर अन्धकारमा डुब्छ ।’
नेपालमा आत्महत्या गर्नेमध्ये ७२ प्रतिशतले झुन्डिएर आत्महत्या गरेका छन्, यससँगै विष सेवन, आफैंलाई गोली हानेर, आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने पनि छन् । मानसिक अवसाद अर्थात् डिप्रेसन पनि आत्महत्याका केही प्रमुख कारणमध्ये एक हो । डिप्रेसनसँगै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोग पनि आत्महत्याका कारण बनेका छन् ।
सामाजिक तथा मनोवैज्ञानिक कारणले गर्दा पनि मानिस आत्महत्या गर्छ । गम्भीर तथा पीडादायक शारीरिक रोग जस्तैः क्यान्सर, एचआईभी एड्स, यौन समस्या, परीक्षामा असफलता, प्रेममा बिछोड तथा असफलता, कष्टकर वैवाहिक जीवन, अवैध गर्भ, व्यवसायमा घाटा वा नोक्सान, बैंकिङ ऋण, सामाजिक अपमान तथा सामाजिक बहिष्कार, आत्मसम्मानमा ठेस, झूटो आरोप, लाञ्छना, उपेक्षा, जागिरबाट बर्खास्ती, अरूका सामु बेइज्जती, प्रियजन र आफन्तको मृत्यु, मानसिक द्वन्द्व, मद्यपान वा दुर्व्यसन, पारपाचुके वा आपसी सम्बन्धमा कटुता, यौन समस्या, दाइजो समस्या, घरेलु हिंसा, बलात्कार, वैदेशिक रोजगारी, बेरोजगारी, आर्थिक समस्याजस्ता कारण पनि आत्महत्याका पहलु बनेका छन् ।
हाम्रो शरीरमा रोग वा घाउ लाग्यो भने डाक्टरकहाँ जान्छौं र उपाचार गराउँछौं । हामी यसलाई साधारण रूपमा लिन्छौं, तर मानसिक रोग वा डिप्रेसन हुँदा त्यसलाई कमजोरी वा लाजका रूपमा लिन्छौं, जसका कारण मानिस खुलेर आफ्नो पीडा–व्यथा भन्न सक्दैन, ऊ डराउँछ, समाजले थाहा पाए मलाई नकार्ने त होइन ? मलाई पागल त भन्दैनन् भन्ने डरले ऊ भित्रभित्रै गुम्सिरहेको हुन्छ ।
मस्तिष्कमा ‘सेरोटोनिन’ रसायनको कमी हुँदा मानिसले आफ्नो रिस, संवेदना र आवेगलाई नियन्त्रणमा राख्न सक्दैन । त्यसपछि उनीहरू आक्रामक र विध्वंसक हुन जान्छन् । यसै सिलसिलामा कोही त अप्रिय घटनालाई अन्जाम दिन्छन् । यस्तो समयमा परिवारका सदस्यले शान्तिपूर्वक यस्तो मानिसलाई आफ्नो विश्वासमा दिएर शान्त गर्नुपर्छ ।
प्राविधिक युगको प्रवेशले संसारलाई जति नजिक ल्याएको छ, मान्छे मान्छेबाटै टाढा भएको छ । मोबाइल र सामाजिक सञ्जालका कारण मानिस आज एक्लो भएको छ । मोबाइलमा एक हजारभन्दा माथि साथी छन् र कुनै पोस्टमा हजार वा लाख लाइक आउँछ, तर दुःखको घडीमा कति जना साथ हुन्छन् ? तपाईंको पीडा सुन्ने कति जना छन् ? सम्पन्न मानिस आफ्ना उपलब्धिहरू सामाजिक सञ्जालमा देखाउँछन्, तर
आफ्ना दुःख र पीडा भने गोप्य राख्ने गर्छन् । यही पीडाको बोझ र एक्लोपन एक दिन विस्फोट हुन्छ र ऊ सधैंका लागि सबैबाट टाढा हुन्छ ।
हामीले अरूका कुरा पनि धैर्यपूर्वक सुन्ने संस्कृतिको विकास गर्नुपर्छ । अवसरका बेला मात्र नभएर आत्मीय सम्बन्ध जहिले पनि कायम राख्न सक्नुपर्छ । सफलताको परिभाषा फेर्नुपर्छ । सफलता भनेको पद, इज्जत, धन, वैभव मात्र होइन, मानसिक शान्ति, आत्मसन्तुष्टि, आत्मस्वीकृति पनि हो ।
धेरै सम्मानित र सम्पन्न मानिस ‘परफेक्सनिस्ट’ अर्थात् पूर्णतावादी बन्ने धुनमा जीवनभरि संघर्ष गर्छ, दुईको चार र चारको आठ बनाउने होडबाजीमा धेरैसँग टाढा हुँदै जान्छ । यस्तो मानिस सानो असफलता पनि सहन गर्न सक्दैन । त्यसपछि ‘म कसरी गलत हुन सक्छु ?’ भन्ने सोचले उसलाई
निरन्तर मानसिक दबाबमा राख्छ । यस्तो व्यक्तिले गल्ती, आलोचना र असफलतालाई सहन गर्न सक्दैन । ऊ भित्रभित्र खण्डित हुन थाल्छ र यही पीडा आत्मनिन्दा, आत्मदण्ड र घृणामा बदलिन्छ र ‘म बलियो छु’ भन्ने देखाउनका लागि आत्महत्याको बाटो रोज्छ ।
वास्तवमा विगतको घाउ मानिसले भुल्नै सक्दैन । सबैको पीडा अतीतसँग जोडिएको हुन्छ, सानो उमेरमा गरेको गल्तीको सजाय, बलात्कारको पीडा, यौन हिंसा, अपमान जस्ता कुराले मानिसको मस्तिष्कमा गहिरो छाप छोड्छन् । ऊ सफल भए पनि विगतबाट बाहिर आउनै सक्दैन । यी कुराले पनि आत्महत्या गर्न उक्साएको पाइन्छ ।
त्यसैगरी कतिपय मानिस बाहिर एउटा रूप र भित्र अर्को रूप लिएर हिँडिरहेका हुन्छन् । यस्ता मानिस दिनभरि हाँस्छन्, अरूलाई प्रोत्साहन र प्रेरणा दिन्छन्, तर आफ्नै घरमा एक्लोपनको सिकार हुन्छन् । समाजमा सकारात्मक सोचका कुराकानी गर्ने तर आफ्नो मनोभावना
पोख्न उनीहरू लाज मान्छन् । यस्तो दोहोरो चरित्रका अधिकांश मानिसले आत्महत्याको बाटो रोज्न पुग्छन् ।
कुनै पनि मानिसले एकैपल्ट आत्महत्या गर्दैन । यदि निराशाजनक कुरा गर्ने, एक्लै एक्लै बस्न खोज्ने, दार्शनिक बन्न खोज्ने लक्षण देखा परेमा घरका मानिसहरू सचेत हुनुपर्छ । यस्तो व्यवहार देखाउने व्यक्तिलाई गिज्याउने होइन, हिम्मत र प्रोत्साहन दिनुपर्छ । उनीहरूलाई एक्लै छोड्नु हुँदैन । मानसिक रोग विशेषज्ञलाई देखाएर समयमै उपचार गरिहाल्नुपर्छ । हामीले आत्महत्या गर्ने व्यक्तिलाई कमजोर, कायर भनेर होइन, संवेदनशील भनेर बुझ्न पनि आवश्यक छ । सकारात्मक सोच, सादगी, सहानुभूति, सक्रिय संवाद नै आत्महत्या रोकथामको प्रभावकारी औषधि हो ।
* केही तथ्यहरू गलत भएकाले हटाइएको छ । सम्पादक
