गाजाका बालबालिकाको भोकले खोजेको मानव संवेदना

युद्धका सन्दर्भमा आ–आफ्नै तर्क हुन सक्छन् । त्यसको परख गर्न मानव समुदायसँग पर्याप्त समय छ । तर बालबालिकालाई मारेर, उनीहरूलाई अंगभंग बनाएर, अभिभावकबाट बिछोड बनाएर कुनै पनि युद्ध वा प्रतिकारको तर्क बलियो बन्नै सक्दैन ।

जेष्ठ ११, २०८२

सम्पादकीय

The human sensibility sought by the starving children of Gaza

प्यालेस्टिनी लडाकु समूह हमास र इजरायल सरकारबीचको युद्धमा १७ हजार बालबालिकाको मृत्यु भइसकेको छ । यतिञ्जेल बाँचेकामध्ये पनि हजारौं बालबालिकाको हातसँगै खेलौना खसेको छ । खुट्टासँगै जुत्ता–चप्पल उछिट्टिएको छ । बुवाआमा मारिएका छन् वा बिछोडिएका छन् र सबैभन्दा आत्मीय साथ छुटेको छ ।

उनीहरूको अनुहार इजरायलले प्रहार गरेको घातक हतियारले भत्काएका भवनबाट उडेको कंक्रिटको धूलोले छोपिएको छ, बारुदको धूवाँले सास फेर्न कठिन भएको छ ।

तिनका रगतपच्छे अनुहारले जोकसैलाई विचलित बनाउँछ । युद्धको क्रूर अवस्था यसरी विस्तारित भइरहेको छ कि, यतिबेला गाजाका ७१ हजार बालबालिका एक गास खानाका निम्ति मानव इतिहासकै एक कठोर संघर्ष सामना गरिरहेका छन् । भोकले गाँजेका बालबालिकाले अन्योलपूर्ण भावभंगीमा रित्ता भाँडा थापिरहेको फोटो/भिडियो गाजाबाट संसारसमक्ष पुगिरहेको छ ।

त्यसैले थोरै मात्रै संवेदना बाँकी रहेका जोसुकै र जहाँसुकैका मानिसले गाजाका बालबालिकाले भोग्नुपरेको दुर्दिनलाई महसुस गर्न सक्नुपर्छ । युद्धका नाममा बालबालिकालाई प्रताडित गर्ने शासक र समूहका विरुद्धमा आवाज उठाउनुपर्छ । मुख्यतः त्यहाँका बालबालिकालाई भोकमरीबाट जोगाउन तत्कालै आवश्यक प्रयत्न गर्न दबाब सिर्जना गर्नुपर्छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिण इजरायलमा गरेको आक्रमणमा १४ सय मानिस मारिएका थिए, जसमा इजरायलसहित ३८ देशका नागरिक थिए । त्यतिबेला ३७ बालबालिकाको मृत्यु भएको थियो । प्रतिकारस्वरूप इजरायलले सुरु गरेको आक्रमणले भने २० महिनायता मानव सभ्यतालाई चुनौती दिइरहेको छ ।

गत जनवरीदेखि युद्धविराम चले पनि मार्च ५ यता इजरायलले पुनः आक्रमण सुरु गरेको छ । सुरुवातदेखि नै इजरायलको दाबी हमास लक्षित आक्रमण गरिएको भन्ने भए पनि अवस्था त्यस्तो छैन । विद्यालय तथा अस्पताललाई समेत लक्षित गरेर आक्रमण गरिएको छ । इजरायलले अनेक तरहबाट गरेको आक्रमणमा परी झन्डै ६० हजार प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

१७ हजारभन्दा धेरै बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघ तथा अन्य केही राहत संस्थाको प्रतिवेदनमा उल्लेख छ । यीमध्ये २ सय ७४ नवजात शिशु र ८ सयभन्दा बढी १ वर्षमुनिका बालबालिका रहेको प्यालेस्टिनी अधिकारीहरूको दाबी छ । यही अवधिमा ५० भन्दा बढी बालबालिकाले भोकमरी र १७ बालबालिकाले विस्थापितका लागि राखिएका टेन्टमा चिसोका कारण जीवन गुमाएका विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । युद्धमा परी १ लाख १५ हजारभन्दा बढी बालबालिका घाइते र अंगभंग 

भएको अड्कल गरिएको छ । मार्च २ मा इजरायली नाकाबन्दी सुरु भएयता गाजामा कुपोषणका कारण ५७ बालबालिकाको मृत्यु भएको रिपोर्ट छ । युद्ध सुरु भएयता बालबालिकाले भोग्नुपरेको मनोवैज्ञानिक समस्याको हिसाबकिताब नै छैन । गाजाबाट आइरहेको यस्तो खबरले जर्मन शासक हिटलरले यहुदीमाथि गरेको अत्याचारलाई पुनः स्मरण गराइरहेको छ । प्यालेस्टिनी बालबालिकाले भोगेको समय मानव सभ्यताका लागि अर्को खराब धब्बाका रूपमा चित्रित हुने निश्चित छ ।

युद्धका सन्दर्भमा आ–आफ्नै तर्क हुन सक्छन् । त्यसको परख गर्न मानव समुदायसँग पर्याप्त समय छ । तर बालबालिकालाई मारेर, उनीहरूलाई अंगभंग बनाएर, अभिभावकबाट बिछोड बनाएर कुनै पनि युद्ध वा प्रतिकारको तर्क बलियो बन्नै सक्दैन । यसले बढीमा संवेदनाहीन शासकको युद्ध उन्मादलाई मात्र पुष्टि गर्छ । २० महिनायता इजरायल यही गोरेटोमा हिँडिरहेको छ ।

किनकि २१ औं शताब्दीमा पनि यो वा त्यो बहानामा एउटा देशका नागरिकलाई नै सफाया गर्न अघि सर्ने शासकको शक्ति त देखिएला, विवेक देखिँदैन । प्यालेस्टाइनमा हमासको जगजगी हुने विषय त्यहाँका नागरिक वा बालबालिकाको चाहना होइन ।

बालबालिका आफ्नै रहरले त्यहाँ जन्मिएका पनि होइनन् । तर जन्मिएपछि तिनीहरूको बाँच्न पाउने हक, सुरक्षा र संरक्षणको हक, पोषणयुक्त खानाको हक, खोप–स्वास्थ्य–शिक्षाको हक त्यत्तिकै छ, जति इजराजय वा अमेरिकामा जन्मिएका बालबालिकाको छ । तर इजरायलले त्यहाँका बालबालिकालाई भोकमा राखेर जीवन–मृत्युको दोसाँधमा पुर्‍याएको छ, जसको तुलनामा बालबालिकाको अन्य आधारभूत हक खोसिएको विषयको चर्चासमेत असान्दर्भिक हुन पुगेको छ ।

सूचना र सम्भावना हुँदाहुँदै पनि यतिबेला प्यालेस्टाइनका बालबालिका भोकले मर्ने स्थिति आइरहन्छ भने युद्धमा प्रत्यक्ष संलग्न दुवै पक्ष र युद्धलाई प्रभावित बनाउन सक्ने विश्वका सबै शासकलाई भविष्यले माफी दिने छैन ।

प्यालेस्टाइनमा मानवीय संकट सिर्जना गरेपछि विश्वभरबाट भएको आलोचनाका कारण इजरायल थोरै पछि हटेर नाकाबन्दी केही खुकुलो बनाएको छ । जसकारण राहत सामग्री बोकेका केही ट्रकहरू प्यालेस्टाइन प्रवेश गर्न सहज भएको छ । तर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका शब्दमा, ‘अहिलेसम्मको राहत भनेको, जताततै आगो लागिरहेको बेलामा एक थोपा पानी हाल्नुजस्तै हो । जबकि गाजालाई ठूलो मात्रामा सहायता चाहिएको छ ।’

त्यसैले राहत सामग्रीको ढुवानी थप सहज बनाउन इजरायलमाथि विश्वभरबाटै दबाब बढ्न आवश्यक छ । किनकि, यो प्रयत्न प्यालेस्टाइनका बालबालिका वा त्यहाँका नागरिकलाई भोकबाट जोगाउने सवाल मात्रै होइन, २१ औं शताब्दीको मानव चेतना र संवेदनामाथिको प्रश्न पनि हो । 

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully