स्वतन्त्र मिडिया नेताका आदेशपालक होइनन्

सामाजिक सञ्जालका सञ्चालक संयोगवश ‘डिजिटल स्पेस’ का शासक बनेका छन्, तर यो ‘डिजिटल स्पेस’ हामी नागरिकको हो

जेष्ठ ९, २०८२

थिबाउत ब्रुतिन, सेलियर मर्सियर

Independent media is not the leader's command

रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) महानिर्देशक थिबाउत ब्रुतिन र दक्षिण एसिया निर्देशक सेलियर मर्सियरले गतसाता नेपाल मिसनमा आएका बेला कान्तिपुर पब्लिकेशन्स्को कार्यालयमा पत्रकारहरूसँगको अन्तरक्रियामा सहभागी भएका थिए । उनीहरूले व्यक्त गरेको धारणाको सम्पादित अंश ।

प्रेस स्वतन्त्रताको हाम्रो धारणा र परिभाषा पत्रकारहरूको सुरक्षा हो । तर, दुर्भाग्यवश धेरै देशहरू छन् जहाँ पत्रकारहरूलाई जेल हालेर निसाना बनाइँदै छ । नेपालमा पनि केही समयअघि पूर्वराजाको समर्थनमा भएको विरोध प्रदर्शनको क्रममा एभिन्युज टीभीका क्यामेराम्यानको हत्या गरिएको थियो ।

हामीलाई लाग्छ कि प्रेस स्वतन्त्रता सुरक्षाभन्दा बढी हो । यो जनताको विश्वास र स्थिर सामाजिक अवस्था पनि हो । हामीले तपाईंहरूका जनतासँगका सम्बन्धलाई कदर गर्नुपर्छ । यो साँच्चै महत्त्वपूर्ण छ, किनभने जनता धेरै छिटो टाढा जान सक्छन् । यो एकै प्रकारको समाचारको थकानबाट वा प्रेसप्रतिको अविश्वासको कारणले पनि हुन सक्छ ।

सुरक्षा, विश्वास र मिडियाको स्थिर अर्थतन्त्र महत्त्वपूर्ण छ । तर दबाबमा मिडियाले समाज वा गुणस्तरीय पत्रकारिताका लागि कुनै फाइदा नहुने तरिकाबाट पनि व्यवहार गर्न सक्छ । जब पत्रकारहरू आर्थिक दबाबमा हुन्छन्, तिनीहरू राजनीतिमा जान सक्छन् । सञ्चारका अन्य पेसामा आवद्ध हुन सक्छन् र अन्य प्रकारका गतिविधिहरूमा संलग्न हुन्छन् । हामीले नैतिक पत्रकारितालाई कायम राख्न आवश्यक छ ।

त्यसैले अर्थतन्त्र, सुरक्षा, सामाजिक सन्दर्भ र कानुनी तथा राजनीतिक परिस्थितिले पत्रकारिता गर्न अनुकूल छ कि छैन भन्ने निर्धारण गर्छ । धेरै देशहरूमा अझै पनि समस्याग्रस्त कानुनहरू छन् । मलाई थाहा छ, नेपालमा डिजिटल पत्रकारिताको भविष्यबारेमा चिन्ताहरू छन् । हामीले यी चुनौतीहरूलाई सम्बोधन गर्न र कानुनको विश्लेषण गर्न आवश्यक छ, ताकि तिनीहरूले प्रेसका लागि समस्याहरू प्रस्तुत नगरून् । प्रेसको पूर्ण स्वतन्त्रता सुरक्षाभन्दा बढी हो । हामीले यस फरक आयाममा काम गर्न आवश्यक छ ।

अर्को महत्त्वपूर्ण विषय, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता एकै होइनन् । अभिव्यक्ति स्वतन्त्रता भनेको आफ्नो विचार व्यक्त गर्न सक्ने सम्भावना हो । यो पनि महत्त्वपूर्ण छ र हामीले यसलाई कदर गर्नुपर्छ । तर प्रेसको स्वतन्त्रता भनेको संस्था हो । तपाईंहरूले कुनै पनि बाधा र रोकावटबिना काम गर्न सक्ने क्षमता र वातावरण हो ।

स्रोतहरूको सुरक्षाका लागि हामीसँग सूचना कानुनहरू हुनु आवश्यक छ । हामीसँग सार्वजनिक हितको जानकारी प्रकाशित गर्ने क्षमता हुनु जरुरी छ । त्यसैले यो प्रेस भनेको एजेन्सी हो । यो जिम्मेवारीयुक्त कार्य हो । कतिपय अवस्थामा प्रेस स्वतन्त्रता भनेको समाचार कक्षमा अभिव्यक्ति स्वतन्त्रताको विस्तारित पाटो हो भनेर बुझिन्छ । खासमा त्यो होइन । पत्रकारहरूले गर्ने काम फरक छ । समाजमा यसको थप मूल्य छ । हामीले डोनाल्ड ट्रम्पजस्ता नेताहरू निर्माण गर्न खोजिरहेका अवस्थाबाट बच्नुपर्छ ।

उनीहरूले त्यस्तो समाज दिने प्रयास गर्न सक्छन् जहाँ अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी छ, तर पत्रकारलाई आफ्नो काम जारी राख्न सक्ने अवस्था हुँदैन । यो धेरै खतरनाक छ । यो एक प्रकारको नयाँ समस्या हो ।

त्यसैले हामीले एक विश्वसनीय र दिगो प्रेस निर्माण गर्न आवश्यक छ । प्रेसको कार्यस्थल सूचकांकमा १८० देशमध्ये नेपाल ९० औं स्थानमा छ । यो सूचकांकको ठीक बीचमा पर्छ । हामीलाई सुरक्षाका दृष्टिकोणबाट केही स्पष्ट समस्याहरू छन् भन्ने लाग्छ । त्यसलाई सम्बोधन गर्नुपर्छ र के हुन्छ हेर्नुपर्छ । हालैका वर्षमा पत्रकारले आफ्नो कर्तव्य पालना गर्दा मारिएको पहिलो उदाहरण हामीसामु छ । तर हामीलाई लाग्छ कि कानुनी र आर्थिक चुनौतीहरूलाई पनि सम्बोधन गरेमा अवस्थामा सुधार आउन सक्छ । ती सबै प्राप्त गर्न पनि पत्रकारहरूले आफ्नो काम जारी राख्न आवश्यक छ । हामी तपाईंहरूको र आम जनताको सेवा गर्न यहाँ छौं भन्नुपर्छ ।

नेपालमा पत्रकारको अवस्था चिन्ताको विषय हो । पत्रकारहरूको भविष्य निर्माण गर्न हामीले नागरिकहरू अन्य पेसाका व्यक्तिहरूसँग मिलेर राम्रो अवस्था बनाउनुपर्छ । किनकि आज हामीले समाजका हरेक क्षेत्रमा विकसित भएका नयाँ आयामहरूका कारण समस्या भोगिरहेका छौं । हामीले जनताको विश्वास प्राप्त गर्दै सबल अर्थतन्त्र निर्माण गर्नु छ । सँगै डिजिटल कम्पनीहरूको नियमन पनि जरुरी छ ।

यस वर्ष नेपालको स्थान १६ औं स्थानमा खस्कियो । पहिले यो ७४ औं स्थानमा थियो अब यो ९० औं स्थानमा छ । नेपाल खस्कनुका कारण के–के हुन् त ?

कार्यस्थल सूचकांक मिडिया विज्ञहरूसँग गरिएको सर्वेक्षणमा आधारित छ । यो भन्नु साँच्चै महत्त्वपूर्ण छ कि, यो विषय विज्ञहरूसँगको गुणात्मक सर्वेक्षण हो । हामीले जसलाई प्रश्नहरू सोध्छौं उनीहरूले हो/होइनमा जवाफ दिन्छन् । तर केही प्रश्नहरूमा उनीहरूले राखेको आफ्नो धारणाबारे प्रमाण पनि दिनुपर्छ । जुन हामी पछि प्रमाणित गरेर पनि हेर्छौं । 

त्यसैले यस वर्षको सर्वेक्षणमा, नेपालबाट प्राप्त नतिजा गत वर्षको तुलनामा कम थियो । हामीले विशेष गरेर ५ मापदण्डहरू अर्थतन्त्र, सामाजिक, कानुनी, राजनीतिक र सुरक्षालाई प्राथमिकतामा राखेर सर्वेक्षण गर्छौं । यस वर्ष सुरक्षामा नेपाल २२० अंक प्राप्त गर्‍यो । त्यो पहिले १०९ मात्रै थियो । त्यसैले यो गिरावट हो । यस्तै, अर्थतन्त्रमा ८० अंक प्राप्त गर्‍यो, पहिला ५२ थियो । त्यसमा पनि तीव्र गिरावट देख्यौं । अर्थतन्त्र र सुरक्षाका कारण गिरावट आयो । यो कुनै अंकगणितभन्दा जटिल छ । तर मलाई लाग्छ यो प्रेस स्वतन्त्रताको तापक्रम मापन गर्ने राम्रो थर्मोमिटर हो ।

...

राजनीतिक नेताहरूले आफ्नो भाषणमा जिम्मेवार हुनुपर्छ । उनीहरूलाई आफ्नो भाषामा जिम्मेवार हुन हामीले आह्वान गर्नुपर्छ । अहिलेको अवस्थामा उनीहरूलाई सामाजिक सञ्जाल मन पर्न सक्छ । तर, उनीहरूलाई नै स्वतन्त्र प्रेस पनि चाहिन्छ । जब उनीहरूले कुनै एक अखबार वा पत्रकारलाई लक्षित गरेर कुनै अभिव्यक्ति दिन्छन् भने सम्पूर्ण समाचार उद्योग त्यसका विरुद्ध एक भएर उभिन जरुरी हुन्छ । समाचार व्यवसाय अन्य कुनै पनि व्यवसायजस्तै हुन्छ । यो प्रतिस्पर्धी छ, विभाजनहरू छन् । यो सामान्य हो । तर जब मिडिया आउटलेट र त्यहाँ कार्यरत पत्रकारहरूमाथि बिनाप्रमाण औंला ठड्याइन्छ भने सबै एक भएर उभिन हामी प्रोत्साहित गर्छौं । यसका साथै हामीले कानुनी रूपमा पनि प्रतिकार गर्नु महत्त्वपूर्ण हुन्छ ।

पत्रिकाहरू आफूले प्रकाशित गरेका विषयका लागि जिम्मेवार हुन्छन् । राजनीतिज्ञहरूले बिनाठोस प्रमाण पत्रिकालाई झूटा समाचार प्रकाशित गरेको आरोप लगाउनु हुन्न । उनीहरूले आफूले गरेका नराम्रा कामको जिम्मेवारी पनि सामना गर्नुपर्छ । यदि राजनीतिज्ञ वा जनता मिडियाको कामबाट सन्तुष्ट छैनन् भने, उनीहरूले अदालतमा गएर आफ्नो दाबी पेस गर्न सक्छन् । 

साथै, हामीलाई लाग्छ कि समाचार उद्योग जनताका लागि खुला हुनुपर्छ, अझ पारदर्शी हुनुपर्छ । मिडियाले आफू कोहो भनेर अझ खुला रूपमा खुलासा गर्न सक्छन् र आफ्ना पूर्वाग्रह प्रकट गर्न सक्छ । र, मलाई लाग्छ कि एकै समयमा पारदर्शिता पनि हुनुपर्छ ।

...

इजरायलले प्यालेस्टिनी पत्रकारहरूमाथि गरेको अत्याचार पनि हाम्रा लागि चिन्ताको विषय हो । हामीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अन्तर्राष्ट्रिय अदालत र अन्तर्राष्ट्रिय पुनरावेदन अदालतमा मुद्दा दायर गर्दै छौं । किनभने हामीलाई लाग्छ कि, प्यालेस्टाइनमा करिब ४४ पत्रकारहरू आफ्नो पेसा गरेकै कारण मारिएका छन् । तर, केही पत्रकार मारिएको दाबी गरे पनि त्यस्तो देखिँदैन । तिनीहरूमध्ये केही आम नागरिक हुन् । अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेपछि त्यसलाई प्रमाणित गर्ने जिम्मा हाम्रै हुन्छ । त्यसैले हामीले मारिने व्यक्ति कस्तो के अवस्थामा मारिएको थियो भनेर पहिला यकिन गर्नैपर्छ ।

२०२४ मा पाकिस्तानमा मारिने पत्रकारहरूको संख्या धेरै छ । जुन समस्याग्रस्त छ । तिनीहरूमध्ये सबैभन्दा ठूलो संख्या तालिवान, माफिया वा स्थानीय आतंकवादी नेताहरूद्वारा मारिएको थियो । हामी भारतमा पनि अधिनायकवादी बहाव देख्छौं । जुन विश्वको ठूलो लोकतन्त्र मानिन्छ । तर पत्रकारितालाई नियन्त्रण गर्न राज्यले त्यहाँ आतंकवादविरुद्धको कानुनको सहायता लिइरहेको छ । विशेष गरेर कश्मीरमा ठूलो समस्या देखिन्छ । कश्मीरमा वास्तवमा के भइरहेको छ भन्ने सूचना पाउन पनि मुस्किल छ । 

हामी त्यस्तो प्रणालीसँग डराउँछौं जब पत्रकारहरू, विशेष गरी महिला पत्रकारहरूविरुद्ध सामाजिक सञ्जालबाट ठूलो स्तरमा घृणायुक्त अभिव्यक्ति फैलाइन्छ । त्यस्ता अभिव्यक्तिले कुनै पनि प्रकारको भौतिक आक्रमणलाई बढावा दिन सक्छ । यदि कुनै नेताले दिनरात आफ्नो भाषणमा कुनै पत्रकारलाई गाली गर्छ भने त्यो पत्रकारमाथि कुनै पनि समय आक्रमण हुन सक्छ । त्यो ठूलो समस्या हो । 

केही देशले स्वतन्त्र मिडियाको आवाजलाई बन्द गर्न उनीहरूले अन्तर्राष्ट्रिय रूपमा प्राप्त गरिरहेको आर्थिक सहायतामाथि पनि अंकुश लगाउने कोसिस गरिरहेका छन् । किनभने 

स्वतन्त्र मिडियाले प्रमुख राजनीतिज्ञहरूको आदेश पालना गरिरहेका हुँदैनन् ।

...

सामाजिक सञ्जालहरू नियमनबाट बच्न खोजिरहेका छन् । उदाहरणका लागि युरोपेली संघले फेसबुकलगायत सामाजिक सञ्जाललाई सूक्ष्म रूपमा नियमन गर्ने प्रयास गरेको थियो । तर, ती प्रयासलाई सामाजिक सञ्जालका सञ्चालकहरू बेवास्ता गर्न खोजिरहेका छन् । तिनीहरूको नियमप्रतिको प्रतिबद्धता उनीहरूको व्यावसायिक स्वार्थजत्तिकै बलियो छ । सामान्य रूपमा भन्नुपर्दा मार्क जुकरवर्ग र मेटा समूहले गरेको काम धेरै खतरनाक छन् । जुकरवर्गले सकारात्मक भूमिका खेलेका छैनन् । उनी तथ्य जाँचलाई समर्थन गर्ने प्रतिबद्धताबाट पछि हटिरहेका छन् । उनले भिडियोमार्फत पत्रकारिताविरोधी धारणा बनाउनका लागि ठूलो भूमिका खेलेका छन् ।

सामाजिक सञ्जाल कम्पनीले पत्रकारिताको बराबरी गर्दै सेन्सरसिप गर्न खोज्नु चुनौतीपूर्ण विषय हो । यसलाई कुनै पनि रूपमा सही मान्न सकिन्न । त्यसैले हामी उनीहरूलाई सम्पादक मान्न चाहँदैनौं । सम्पादकहरू जिम्मेवार मिडिया आउटलेटहरूमा हुन्छन्, जसले पत्रकारिता गरिरहेका छन् । 

सामाजिक सञ्जालका सञ्चालक संयोगवश डिजिटल स्पेसका शासक बनेका छन् । तर यो डिजिटल स्पेस हामी नागरिकहरूको हो ।सामाजिक सञ्जाल भनेको ग्यास वा पानीजस्तै केवल एक उपभोग्य वस्तु हुन् । तिनीहरूले केवल सेवा प्रदान गरिरहेका हुन् । तिनलाई डिजिटल सेवाको ग्यारेन्टी दिन बाध्य पारिनुपर्छ । केही अवस्थामा तिनीहरूले जे गरिरहेका छन् त्यो आज लोकतन्त्रको फाइदाका लागि पनि हुन सक्छ । तर दीर्घकालमा त्यो लोकतन्त्रका लागि फाइदाजनक हुँदैन । र, हामीले त्यसलाई उल्ट्याउन आवश्यक छ, किनकि तिनीहरू त्यो स्थितिमा गएका छन् ।

उनीहरू त्यो शक्तिमा आएका छन्, किनकि हामीले उनीहरूलाई यो गर्न दिएका छौं । मलाई विश्वास छ कि फेसबुकको विकल्प हुनुपर्छ वा हुन सक्छ । यदि हामी विद्यमान कुराहरूलाई नियमन गर्न चाहन्छौं भने विकल्पहरू निर्माण गर्ने प्रयासमा हाम्रो समय खर्च गर्नुपर्छ, जुन गर्न हामी चाहँदैनौं ।

हामी मिडिया नियमनमा विश्वास गर्दैनौं । तर सामाजिक सञ्जाल नियमनमा विश्वास गर्छौं । हामीलाई लाग्छ कि तिनीहरू नियमनयोग्य छन् । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताबीचको भिन्नता पनि त्यही हो । प्रेसले आफ्नो काम निर्बाध रूपमा गरिरहन पाउनुपर्छ ।

अभिव्यक्ति स्वतन्त्रता भनेको आफ्नो विचार व्यक्त गर्ने क्षमता हो । त्यसैले यी दुई एकअर्कासँग गाँसिएका छन् । तर हामीले मानिसलाई बुझाउन आवश्यक छ कि पत्रकारहरूले केवल आफ्नो विचार व्यक्त गरिरहेका छैनन्, उनीहरू समाजको लागि तथ्यहरू उजागर गरिरहेका छन् ।

त्यसैले आज हामी यस्तो अवस्थामा आइपुगेका छौं जहाँ हामीले अभिव्यक्ति स्वतन्त्रताका बारेमा धेरै कुरा गर्छौं तर प्रेस स्वतन्त्रताका बारेमा बोल्दैनौं । तर म चाहन्छु कि हामी स्वतन्त्र प्रेसका बारे धेरैभन्दा धेरै बोलौं । यी दुई सामन्जस्यमा रहनुपर्छ । हामीलाई स्वतन्त्र प्रेसको बढी र अभिव्यक्ति स्वतन्त्रताको कम आवश्यकता होइन ।

थिबाउत थिबाउत ब्रुतिन रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ)का महानिर्देशक हुन् ।

सेलियर सेलियर मर्सियर रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ)का दक्षिण एसिया निर्देशक हुन् ।

Link copied successfully