नागरिकको स्वास्थ्य र राज्यको आर्थिक स्वास्थ्य रुग्ण हुने अवस्था

राज्यले सञ्चालन गरेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम छरिएका छन् र फरक–फरक ढंगले चलिरहेका कारण राज्यको ठूलो धनराशि खर्च भइरहेको छ । एकै व्यक्तिले दोहोरो–तेहरो सुविधा लिने गरेका छन् भने कतिपयले आधारभूत उपचार पनि पाउँदैनन् । यसरी नागरिकको स्वास्थ्य र देशको आर्थिक स्वास्थ्य दुवैमा प्रतिकूल असर परेको छ ।

जेष्ठ ८, २०८२

सम्पादकीय

The health of the citizens and the financial health of the state are sick

ठीकठाकै चलिरहेको परिवारमा जब कोही बिरामी पर्छ, त्यसमा पनि गम्भीर प्रकृतिको बिरामी पर्छ, तब सो परिवारको लय भत्किन्छ । बिरामी र आफन्तले पाउने अल्पकालीन–दीर्घकालीन हैरानीको पाटो उल्लेखनीय छँदै छ, आर्थिक–सामाजिक उतारचढावसमेत बेहोर्नुपर्छ ।

औषधि उपचारमा हुने व्यक्तिगत खर्चकै कारण नेपालमा प्रत्येक वर्ष ५ लाख ७४ हजार २ सय ९४ नागरिक गरिबीको रेखामुनि धकेलिने गरेको विश्व बैंककै प्रतिवेदनको तथ्यांकले नेपालमा स्वास्थ्य उपचारको जटिलता प्रस्ट हुन्छ ।

यता राज्यले सञ्चालन गरेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम छरिएका छन् र फरक–फरक ढंगले चलिरहेका कारण राज्यको ठूलो धनराशि खर्च भइरहेको छ । यसरी खर्च हुने अनुमानित ४१ अर्ब रुपैयाँमध्ये करिब २१ अर्ब रुपैयाँ दोहोरो खर्च हुने गरेको छ । एकै व्यक्तिले दोहोरो–तेहरो सुविधा लिने गरेका छन् भने कतिपयले आधारभूत उपचार पनि पाउँदैनन् । यसरी नागरिकको स्वास्थ्य र देशको आर्थिक स्वास्थ्य दुवैमा प्रतिकूल असर परेको छ । 

लोककल्याणकारी राज्यले विभिन्न ढाँचाका कार्यक्रममार्फत नागरिकलाई सुविधा दिँदै आएका पनि छन् । नेपालमा पनि नागरिकलाई आंशिक सुविधा पुर्‍याउने उद्देश्यसहित कैयौं कार्यक्रम सञ्चालनमा छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत सामाजिक स्वास्थ्य सुरक्षा योजनाअनुसार थरीथरी कार्यक्रम छन् ।

विपन्न नागरिक औषधि उपचार, आमा सुरक्षा, १५ वर्ष मुनिका बालबालिका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मुटुको निःशुल्क उपचार, विपन्न नागरिकका लागि कडा रोगको निःशुल्क उपचारजस्ता कार्यक्रम सञ्चालनमा छ । स्थानीय तहबाट पनि स्वास्थ्य सहायता दिइन्छ । वडाको सिफारिसमा अस्पतालका सामाजिक सेवा इकाइमार्फत पनि निःशुल्क सेवा दिने गरिएको छ ।

प्रदेश सरकारले स्वास्थ्य अनुदान दिने गरेका छन् । यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमातहत सञ्चालित सामाजिक सुरक्षा कोषमार्फत औषधि उपचार हुन्छ । रक्षा मन्त्रालयमातहतको सैनिक कल्याणकारी कोषमार्फत नेपाली सेना र उनका परिवारलाई गृह मन्त्रालयको प्रहरी कल्याण कोषमार्फत प्रहरी र तिनका परिवारलाई निःशुल्क उपचार दिने गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सिभिल अस्पतालले अधिकृतस्तरका कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० प्रतिशत छुट र अधिकृतस्तर मुनिका तथा सेवा निवृत्त तथा उनका परिवारलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, अर्थ मन्त्रालयमातहतको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, विभिन्न बैंकहरूले बिमा कम्पनीसँग समन्वय गरी खातावालालाई निश्चित रकम उपचारका लागि दिने गरेका छन् ।

 जति कम व्यक्तिले जति बढी सुविधा लिन्छन्, बाँकी व्यक्ति त्यस्तो सुविधा लिनबाट वञ्चित हुन्छन् । सीमित व्यक्तिले दाहोरो–तेहरो भुक्तानी लिँदा बाँकीले आधारभूत सुविधा पनि नपाउने अवस्था बन्छ । पहुँचवाला एउटै व्यक्तिले धेरैतिरबाट सुविधा लिइदिँदा वास्तवमै सहयोग चाहिएको पहुँचहीनले स्वाभाविक सुविधा पनि नपाउन सक्छ । यतिबेला सामाजिक न्याय पनि खण्डित हुन पुग्छ । त्यसैले पनि एउटै व्यक्तिले दोहोरो सुविधा लिने बाटो बन्द गरिनुपर्छ । त्यसले अन्ततः स्वास्थ्य उपचारमा राज्यले गर्नुपरिरहेको दोहोरो खर्च अन्त्य हुन सक्छ ।

सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न सकिएमा राज्यको दोहोरो खर्च अन्त्य हुने आधार बन्ने विज्ञ बताउँछन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले २०८१ साउनमा सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकीकृत गर्ने घोषणा गरेका पनि थिए । तर, अझै पनि अन्य मन्त्रालयमातहत सञ्चालित सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम त परै छ, स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालित स्वास्थ्यका कार्यक्रमहरूसमेत एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न सकेका छैनन् ।

फरक–फरक ऐन र ‘स्किम’ अन्तर्गत चलिरहेका कार्यक्रमलाई एकीकृत मापदण्डमा समेट्न स्वास्थ्य मन्त्रालयको समन्वयकारी भूमिका आवश्यक छ । स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा सामाजिक सुरक्षाका कार्यक्रमसँग सम्बन्धित कानुनको कुन दफा कुन निकायले संशोधन गर्ने भन्ने सम्बन्धमा सिफारिस छ । त्यसलाई मन्त्रालयले सन्दर्भमा लिन सक्छ र पहल गर्न सक्छ ।

सबैभन्दा पहिले स्वास्थ्य मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कार्यक्रमलाई बिमा बोर्डमार्फत सञ्चालन गर्न विश्वसनीय पहल आवश्यक छ । स्वास्थ्यमन्त्री पौडेलको मुख्य ध्यान सर्वप्रथम आफ्नै मन्त्रालयमा केन्द्रित हुन आवश्यक छ । प्रश्न बिमा बोर्डको क्षमतासँग पनि जोडिएको छ । सरकारी स्वास्थ्य बिमालाई प्रभावकारी ढंगले सञ्चालन गर्न नै कठिन भइरहेको छ ।

बोर्डले भुक्तानी दाबीको विश्लेषण गर्न र भुक्तानी दिन सकिरहेको छैन । चालु आर्थिक वर्षको मसान्तसम्म भुक्तानी दिनुपर्ने रकम २४ अर्ब पुग्ने बताइएको छ । जबकि, बोर्डको कोषमा भने एक अर्ब रुपैयाँ मात्र छ । तसर्थ, अहिलेकै सञ्चालन ढाँचा, जनशक्ति र प्रविधिको भरमा थप कार्यक्रम एकीकृत गर्दा झनै अस्तव्यस्त हुने आशंका रहन्छ ।

त्यसैले पनि मन्त्रालयले नागरिकमा रहेको विश्वासहीनता चिर्न नै पहिलो मिहिनेत गर्नुपर्छ । तर स्वास्थ्य उपचारमा राज्यको दोहोरो खर्च अन्त्य गर्ने बाटो भने छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा सञ्चालन गर्नु नै भएकाले यसतर्फको प्रयत्न भने जारी राख्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully