यसरी जागिरबाट अवकाश भइरहँदा अरूले सम्झने काम मैले केही नगरेको अनुभव पनि भयो । म त केवल एउटा ठेकेदारजस्तो आफ्नो ठेक्का सकें र अर्को ठेक्काका लागि क्वालिफाइड ठेकेदारमा आफ्नो नाम दर्ज गराउन तल्लीन मात्रै रहें ।
हामीकहाँ जागिरे जीवनबाट कर्मचारीको बिदाइ गर्दा प्रायः तह तथा पदअनुसार गरिने प्रचलन छ । तर सामान्यतया गर्नुपर्ने त समान बिदाइ नै हो । जागिरे अवधिमा धेरै हाकिम देखियो । अझ भनौं, विभिन्न स्वभावका हाकिमहरू झेलियो ।
कोही अरूको खुट्टामा टेक्ने, कोही अरूको कानले सुन्ने, कोही अरूको आँखाले हेर्ने, कोही मान्छेलाई मान्छे नदेख्ने हाकिम पनि थिए । अझ कोही–कोही त भुइँमा न भाँडामा भएका, कोही आफूलाई सर्वज्ञाता ठान्ने हाकिम पनि हुँदा रहेछन् । तर कोही भने साँच्ची नै हाकिम हुनका लागि जन्मिएका जस्ता पनि थिए । जे–जस्ता हाकिम भए पनि बिदाइको दिन ती सबैका ‘सात खत’ माफी दिने चलनको प्रत्यक्षदर्शी म पनि छु ।
बिदाइ प्रसंग उठ्दा म आफैंलाई हाकिम सम्झेर बिदाइको कल्पना गर्छु । मेरो मनमा अनेक भाव तरंगित हुन्छन् । तिनैलाई तरंगित काल्पनिक भाव यहाँ समेट्ने कोसिस गरेकी छु । कार्यालयमा बिहानैदेखि बिदाइको काम सुरु भएको थियो । कर्मचारीहरू आ–आफ्नै ढंगबाट चहलपहल गरिरहेका थिए ।
कोही मेरो कोठामा छिरेरै केही भन्न खोजिरहेजस्ता देखिन्थे त कोही फरक प्रसंगमा कुराकानीको विषय उठान गर्न खोजेजस्ता । मैले जसलाई नजिक ठानेकी थिएँ, उनीहरू भने कहाँ के गर्दै थिए– अनुमानसमेत लगाउन कठिन थियो । किनकि केही समयदेखि नै उनीहरूको भेटघाट पातलो थियो । हुन पनि किन नहोस्– अब मसँग उनीहरूले के नै लिनु छ र ? मैले गरिदिनु नै के छ र ? जे मैले उनीहरूका लागि गर्नु थियो, त्यो त गरिसकेकी थिएँ, जे तिनीहरूले मसँग लिनु थियो, लिइसकेका थिए ।
बिदाइको कार्यक्रम सुरु भयो । धेरैले मेराबारेमा बोले । ‘अब उहाँको अभाव संगठनलाई खड्किरहनेछ, संगठनलाई उहाँको साथ सहयोग अझै आवश्यकता थियो’ आदि–आदि । यसै क्रममा मेरो पनि बोल्ने पालो आयो । मलाई बोल्न कठिन थियो ।
किनकि यति लामो विरासत बोकेको राजसंस्था नहुँदा त देश चलेकै छ भने म बबुरो यति ठूलो संस्थाबाट बाहिरिँदै गर्दा के नै फरक पर्छ र ? मजस्ता त कति आए, गए ! म गएर कति नै फरक पर्ने हो र ? तैपनि मनलाई बाँधेर औपचारिकताका शब्द सम्झँदै आफ्नो मन्तव्य पूरा गरें । माला, खादा, टीका, मायाको चिनो पाएँ । खाजाको राम्रो प्रबन्ध गरिएको थियो । कार्यक्रम समापन भएपछि सबै जना आ–आफ्नो घर जान हतारिँदै थिए । मेरो मन भारी त थियो नै खोइ किन हो त्यो क्षणमा शरीर पनि भारी लागिरहेको थियो ।
म बल्लतल्ल कार्यालयको गेटसम्म पुगें, मेरा वरिपरि कोही थिएनन्, न त अगाडि र पछाडि नै । सधैं म चढेर जाने सवारीसाधन गेटमा पर्खिरहेको थियो तर चालक भने देखिनँ । सोधें, ‘खोइ त गुमाने ?’
ऊ त अघि नै घरमा काम छ भन्दै निस्किएको कुरा नयाँ चालकले बताए । ‘तिम्ले आज हाकिम साबलाई घर छोडिदेऊ है भन्दै थियो,’ उनले भने । ‘अरू पनि केही भनेको थियो त गुमानेले ?’ मैले प्रतिप्रश्न गरें ।
‘हजुर !’ उनले अगाडि भने, ‘दसैंताका हजुरलाई पावर/भेटी/कोसेलीका रूपमा ल्याएका बोतल र अन्य सामान उसले हजुरको घरमा ओसारेर थाक्थ्यो रे । तर हजुरले कुनै दिन पनि उसलाई केही दिनुभएन रे । तिहारताका त सामान हेर्न मालिक्नी साबले गाडीमा ड्राइभरको सिटतिर पनि मोबाइलको लाइट बालेर बोतल छुट्ला कि भनेर हेरेकामा साह्रै चित्त दुखाको रैछ उसले । यस्तै–यस्तै गन्थन गर्थ्यो दिनैभरि ।’
म बिदाइ भएर गेटबाट बाहिरिँदै गर्दा मनमा अनेक कुरा खेल्न थाले । सधैंभरि मेरो सेवामा समर्पित चालक जसलाई मैले सधैं चालकै रूपमा हेरें, कहिल्यै उसलाई ऊ पनि मजस्तै मान्छे हो, उसको पनि पेट छ, उसको पनि मन छ, उसको पनि घरपरिवार छ, ऊ पनि समयमा घर पुग्नुपर्छ भन्ने कहिल्यै हेक्का राखिनँ । सायद यसैको परिणाम होला– आज मेरो अन्तिम दिनको सेवालाई अरूमा सारेर ऊ गएको । चालकको प्रसंग सँगसँगै अन्य धेरै कर्मचारीको अनुहार एकपछि अर्को गर्दै यसरी नै नाच्न थाले ।
जोमाथि टेकेर म अडिएकी थिएँ, उनीहरू त फेरि कसैलाई टेको लगाउन हिँडिसकेका थिए । जसका आँखाले हेरें, तिनीहरू पनि कसैको चस्मामा पावर थप्दै थिए, जसको मनलाई बुझें, उनीहरू पनि अरू कसैलाई मन बुझाउन जाँदै थिए । जो जसलाई मैले आफ्नो ठानेर सधैं च्यापिरहें, उनीहरू अर्को च्याप्ने मजस्तैको खोजीमा लागे भने ती अन्य जो कसैको चाकडी र चाप्लुसी नगरी काममा खटिन्थे, तिनीहरूलाई मैले सधैं खेदो मात्रै गरें । तिनीहरूको मनले आज म कार्यालयबाट बाहिरिरहँदा के भनिरहेको होला ? अब यो कुरा सोच्नुबाहेक मसँग विकल्प थिएन ।
सोचें– मान र सान भनेको पदको तातो रहुन्जेल मात्रै रहेछ । आफैंलाई धिक्कारें– ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न नसकेकामा । अफसोच पनि लाग्यो– संगठनभित्र कुनै प्रणालीको विकास गर्न नसकेकामा । सधैं धमिलो पानीमा माछा मार्ने काम गर्न पुगें, सच्चा र इमानदारलाई कहिल्यै प्रोत्साहन गरिनँ ।
यसरी जागिरबाट अवकाश भइरहँदा अरूले सम्झने काम मैले केही नगरेको अनुभव पनि भयो । म त केवल एउटा ठेकेदारजस्तो आफ्नो ठेक्का सकें र अर्को ठेक्काका लागि क्वालिफाइड ठेकेदारमा आफ्नो नाम दर्ज गराउन तल्लीन मात्रै रहें । प्रश्नहरू उब्जिरहे तर जवाफ आउने समय सकिएको थियो । बिदाइको दिन मात्रै बल्ल पो सब चीज थाहा पाउँदै थिएँ । अब पश्चात्ताप सिवाय के नै गर्न सक्थें र ! यही बेला मेरो अन्तरमनले भन्दै थियो– ‘मेरोजस्तो पश्चात्ताप गर्ने गरी अन्य हाकिमको यसरी बिदाइ नहोस् ।’
–कँडेल राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन्।
