खेलप्रति आकर्षण बढाउन, नयाँ प्रतिभा विकास गर्न, आर्थिक उपार्जनको माध्यम बनाउन प्रशस्तै खेल पूर्वाधार आवश्यक पर्छन् । हरेक खेललाई लोकप्रिय बनाउन र व्यावसायिक बनाउन राज्यको पनि मिहिनेत हुनुपर्छ ।
थाइल्यान्डमा आयोजित ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’ मा सोमबार नेपाली महिला क्रिकेट टोलीले यूएईविरुद्ध हासिल गरेको जित ऐतिहासिक हुन पुगेको छ । यो जितसँगै टोली ट्वान्टी–२० क्रिकेटको विश्वकप छनोटमा पुगेको हो ।
सन् २००७ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको टोलीका निम्ति यो सबैभन्दा माथिल्लो उचाइ हो । विश्वकप खेल्ने अवसर पाउन नेपालका निम्ति अझै एक खुट्किलो बाँकी छ ।
एक खेलअगावै विश्वकप छनोटमा पुगेको टोलीले मंगलबारको खेल गुमाएसँगै एसिया च्याम्पियन बन्न भने सकेन । यद्यपि, सोमबारको खेलबाटै इतिहास रचिसकेको नेपालले अब विश्वकप छनोटका लागि हुने खेलतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । पूर्वतयारीलाई तीव्रता दिनुपर्छ । नेपाली क्रिकेटसँग जोडिएका संघसंस्था, सरोकारवालादेखि खेलाडी सबैको यथोचित प्रयत्न अपेक्षित छ ।
थाइल्यान्डले आइतबार यूएईलाई ५४ रनले पराजित गरिसकेको अवस्थामा नेपालले सोमबार यूएईविरुद्धको खेलमा जित हात पारेमा एक खेलअगावै ट्वान्टी–२० विश्वकप छनोटमा पुग्ने समीकरण बनेको थियो । परिणाम अपेक्षा गरेजस्तै आयो, नेपाली टोलीले यूएईलाई ५ विकेटले पराजित गर्यो ।
तीन साताअघि मात्र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको र पछिल्ला वर्षमा नेपालको यात्रामा बाधक बन्दै आएको यूएईलाई पराजित गरेर विश्वकप छनोटको खेलमा स्थान पक्का गर्नु नेपालका निम्ति थप खुसीको सन्दर्भ हो । अब थाइल्यान्ड र नेपालले एसियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा खेल्नेछन् ।
विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले इंग्ल्यान्डमा २०२६ मा हुने ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्नेछन् । विश्वकप छनोटको मिति र आयोजक राष्ट्रको घोषणा हुन भने बाँकी छ ।
आजसम्म जुनसुकै खेलमा पनि नेपालले प्राप्त गरेको सफलता धेरै हदसम्म खेलाडीको व्यक्तिगत लगाव र मिहिनेतको प्रतिफल हो । तर सधैं यसरी सफलता प्राप्त हुँदैन । राज्यको अग्रसरता आवश्यक पर्छ । खेलाडीमाथि राज्यले लगानी गर्नुपर्छ । खेलेरै आर्थिक भविष्य बलियो बनाउने वातावरण बनाउनुपर्छ ।
आन्तरिक प्रतियोगिता बढाउनुपर्छ, खेलाडीको ‘एक्सपोजर’ बढाउने स्थिति बनाउनुपर्छ । खेलप्रति आकर्षण बढाउन, नयाँ प्रतिभा विकास गर्न, आर्थिक उपार्जनको माध्यम बनाउन प्रशस्तै खेल पूर्वाधार आवश्यक पर्छन् । हरेक खेललाई लोकप्रिय बनाउन र व्यावसायिक बनाउन राज्यको पनि मिहिनेत हुनुपर्छ ।
हामीकहाँ भने सफलता प्राप्त गरेको बेलामा पटके पुरस्कार घोषणालाई नै सरकारले आफ्नो दायित्व पूरा गरेको अर्थमा लिने गरेको छ । त्यस्ता पुरस्कार पनि समयमै उपलब्ध नगराउँदा खेलाडीलाई झुक्याइएको जस्तो अनुभूत हुने गरेको छ । यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ । तसर्थ खेलकुदको विकासका लागि सरकार तत्कालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्नुपर्छ ।
समग्र खेलकुदको विकास नै राज्यको मुख्य प्राथमिकतामा पर्न सकेको छैन । हरेकजसो खेलसँग सम्बन्धित संस्थाहरू आर्थिक अभाव भोगिरहेका हुन्छन् । त्यसको असर खेलाडीको क्षमता विकासमा पर्ने गर्छ । त्यसमा पनि सम्बन्धित खेलका पुरुष खेलाडीले जति ‘एक्सपोजर’ पाउने गरेका छन्, महिला खेलाडीको हकमा त्यति पनि हुँदैन । विभेद पनि खेप्नुपर्छ ।
एउटा उदाहरण पुरुष र महिला क्रिकेट खेलाडीको वर्गीकरण र पारिश्रमिकसँग सम्बन्धित नेपाल क्रिकेट संघ (क्यान) कै निर्णयलाई लिन सकिन्छ । पछिल्लो पटक २०८१ फागुन २८ मा गरिएको वर्गीकरणमा पुरुषतर्फ ३३ र महिलातर्फ १९ खेलाडी समेटिएका छन् । जसमा पुरुषतर्फ ‘ए ग्रेड’ मा पर्ने खेलाडीको पारिश्रमिक १ लाख र महिला खेलाडीको पारिश्रमिक ५० हजार कायम गरिएको छ ।
‘बी ग्रेड’ का पुरुष खेलाडीलाई ७० हजार र महिला खेलाडीलाई ३५ हजार, ‘सी ग्रेड’ का पुरुष खेलाडीलाई ५५ हजार र महिला खेलाडीलाई २५ हजार, ‘डी ग्रेड’ का पुरुष खेलाडीलाई ३५ हजार र महिला खेलाडीलाई २० हजार पारिश्रमिक तोकिएको छ । जबकि फुटबल, तेक्वान्दो, भलिबल, जुडो, उसु, पौडीजस्ता खेलमा महिला खेलाडीको सफलता गर्व गर्नलायक छ ।
पेरिस पारा ओलम्पिक, २०२४ मा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले कांस्य पदक जित्दै इतिहास नै रचेकी छन् । त्यसैले पुरुष र महिला खेलाडीबीच समान लगानी र अवसरको खाँचो छ भन्ने प्रस्ट हुन्छ ।
गत वैशाख १९ गते सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा रंगशालालगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने र खेलकुदलाई निजी क्षेत्रका संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिनेजस्ता कार्यक्रम समेटिएका छन् ।
आगामी जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य सार्वजनिक गर्दा पनि खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम र बजेट विनियोजन हुनुपर्छ । यति बेलाको प्राथमिकतामा भने विश्वकप छनोट खेल पर्नुपर्छ । त्यसका लागि प्रशस्तै पूर्वतयारी गर्नुपर्छ । मुख्यतः खेलाडीले बढीभन्दा बढी खेल खेल्ने अवसर पाउनुपर्छ । क्यान नेतृत्वले विश्वका विभिन्न टिमसँग नेपाली खेलाडीले खेल्ने वातावरण निर्माण गर्नुपर्छ ।
