विकासबारे सांसदको चिन्ता स्वाभाविक, बजेट परिचालनको रहर अस्वाभाविक

जेष्ठ ६, २०८२

सम्पादकीय

The MP's concern about development is natural, the desire to mobilize the budget is unnatural

अरू समयमा विधायकी भूमिका र शक्ति पृथकीकरणको जतिसुकै वकालत गरे पनि वैशाख–जेठतिर भने सांसदले सायद त्यसलाई बिर्सिन्छन् र आफूलाई ‘विकासका संवाहक’ का रूपमा प्रस्तुत गर्ने जमर्को गर्छन् । चलनचल्तीमा ‘सांसद विकास कोष’ भनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ लाई बजेटमा समावेश गर्नका लागि अर्थमन्त्री, प्रधानमन्त्रीदेखि आफ्नो पार्टी नेतृत्वमाथि दबाब बढाउँछन् । अरू विषयमा मतान्तर गर्ने सत्ता र प्रतिपक्षी सांसद पनि यस उद्देश्यमा भने एकै ठाउँ उभिन्छन् ।

प्रतिपक्षी मात्रै होइन, सत्तापक्षकै सांसदले पनि बजेटको विरोध गर्ने भएपछि प्रायः अर्थमन्त्रीले बजेटमा यस्ता कार्यक्रम राख्ने गरेका छन् । यस पटक पनि अर्थमन्त्री विष्णु पौडेलले प्रत्येक निर्वाचन क्षेत्रका लागि २१ करोड विनियोजन गर्ने तयारी गरेका छन् । अझै पनि समय छ, विवादास्पद कार्यक्रमका लागि दबाब दिनबाट सांसदहरू पछि हट्नुपर्छ । प्रधानमन्त्री र अर्थमन्त्रीले पनि जनमत ख्याल गर्नुपर्छ र सांसदलाई सहमत गराउन सक्नुपर्छ । प्रतिनिधिसभाको पहिलो र दोस्रो ठूलो दलले मिलेर बनाएको बलियो सरकारले खराब प्रचलनलाई अन्त्य गर्ने साहस गर्नुपर्छ ।

सांसद विकास कोषको सुरुवात मनमोहन अधिकारी नेतृत्वको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१ पुस ११ गते प्रस्तुत गरेको बजेटसँगै भएको थियो । त्यस बजेट वक्तव्यमा ‘प्रतिनिधिसभाका माननीय सांसदहरूको भावना तथा आफ्नो क्षेत्रको विकास निर्माणमा रहेको जिम्मेवारीलाई मनन गर्दै’ बाँकी आर्थिक वर्षका लागि ‘प्रत्येक सांसदहरूको निर्देशनमा आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माण गर्ने गरी’ २ लाख ५० हजारका दरले ५ करोड १२ लाख ५० हजार विनियोजन गरिएको थियो । २०५२ असार २७ मा अधिकारीले नै प्रस्तुत गरेको बजेटमा राष्ट्रिय सभाका सांसदलाई समेत जोडेर प्रतिसांसद (कुल २६५) २ लाख ५० हजारका दरले कुल ६ करोड ६२ लाख ५० हजार विनियोजन गरिएको थियो । त्यसयता यस कार्यक्रमले समर्थन र विरोध पाउँदै आएको छ । पछिल्ला वर्षमा भने यस कार्यक्रमले सांसदको मूल भूमिका अतिक्रमण गरेको र बेथितिको विस्तार गरेको भन्दै आलोचना भइरहेको छ । तैपनि, अर्थमन्त्रीहरूले दृढतापूर्वक यसलाई हटाउन सकेका छैनन् । बरु सोझै वा लुकाएर संसदीय क्षेत्रका लागि बजेट वा आयोजना सुनिश्चित गर्ने गरेका छन् ।

सांसद् विकास कोष, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम वा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम, जे नाम दिइए पनि मूल ध्येय निर्वाचन क्षेत्रमा योजना छनोट र बजेट परिचालनको तजबिजी सम्बन्धित क्षेत्रका सांसद (हरू) लाई दिने भन्ने हो । सांसदसँग पहिल्यै योजना मागेर बजेट विनियोजन गर्नु पनि चलाखी मात्रै हो । यस्ता प्रयत्न संसद् र सांसदको दायित्व र भूमिकालाई बुझ्ने सवालसँग जोडिएको छ । सांसद भनेका विधायक हुन्, विकासका एजेन्ट होइनन् । उनीहरूको मुख्य काम मुलुकलाई कानुन र सरकार दिने हो । तर कानुन निर्माणमा संसद्को गति सुस्त भइरहेको गुनासो छ । विधेयक दर्ता भएको वर्षौंसम्म ऐन बन्दैन । उचित कारणबिना नै संसदीय समितिमा विधेयक रोकिने गरेका छन् । आफ्नो मूल कामलाई चुस्त दुरुस्त बनाउनेतर्फ ध्यान दिन नसकिरहेका सांसदहरूले विकासका नाममा बजेट परिचालनमा रुचि राख्नु अस्वाभाविक छ । विकास हुनुपर्ने सन्दर्भमा उनीहरूको चासो, चिन्ता वा हुटहुटीलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ । तर विकासका लागि आफैं बजेट परिचालन गर्न अग्रसर भने हुने होइन । नेपालमा विकासको मोडल कस्तो हुने, समानुपातिक ढंगले क्षेत्रगत विकास कसरी गर्ने, विकासको लाभलाई कसरी समान ढंगले वितरण गर्ने जस्ता विषयमा सांसदले नीति वा कानुन बनाएर सरकारलाई कार्यान्वयनका लागि मार्गदर्शन गर्नुपर्छ । त्यसको कार्यान्वयन नभएमा जवाफ माग्नुपर्छ ।

संविधानले नै कार्यकारिणी अधिकार मन्त्रिपरिषद्सँग हुने सुनिश्चित गरेको छ । त्यसैले विकास निर्माणदेखि सेवा प्रवाहको जिम्मेवारी उसकै हो । त्यसलाई कानुनी र नीतिगत रूपमा सहजीकरण गर्नु संसद्/सांसदको जिम्मेवारी हो । कार्यकारी अधिकार प्राप्त निकायले गरेको काममा कमजोरी भएमा, पारदर्शी नभएमा, अनियमितता भएमा प्रश्न उठाउने र जवाफ खोज्नु सांसदको दायित्व हो । तर जब सांसद नै आफ्नो मूल दायित्व भुलेर विकास गर्ने र बजेट परिचालन गर्ने रहर गर्न थाल्छन्, प्रथमतः त्यहाँ अर्काको कार्यक्षेत्रमाथिको हस्तक्षेप ठहरिन्छ । दोस्रो, प्रश्न सोध्नुपर्ने अंग नै उत्तर दिनुपर्ने अवस्थामा पुगेपछि पारदर्शिता हराउँछ । सरकारसँग जवाफ माग्ने नैतिक बल संसद्सँग रहँदैन । परिणामतः कार्यकारी अंग स्वेच्छाचारी बन्नलाई सहयोग पुग्छ । यसले संसदीय प्रणालीले परिकल्पना गरेको शक्ति सन्तुलन असन्तुलित हुन पुग्छ ।

सांसदको तजबिजी चल्ने बजेटमा अनियमितताको सम्भावना अधिक रहन्छ । 

यस्तो कार्यक्रम सम्बन्धित सांसद निकटका कार्यकर्तालाई आर्थिक परिचालनको अवसर दिने गरिएको विगतका उदाहरण छन् । सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न भन्दै २०८० भदौ ६ मा दिएको अन्तरिम आदेशमा पनि सुशासन हुनेमै शंका गरेको छ । आदेशमा भनिएको छ, ‘विकास योजना निर्माण र कार्यान्वयनसम्बन्धी स्वीकृत अभ्यास र मान्यता प्रतिकूल हुने गरी सीमित आर्थिक क्षमता रहेको मुलुकमा राष्ट्रिय ढुकुटीको ठूलो हिस्सा (अर्थात् संघ र प्रदेश समेतबाट अर्बौं रकम) केही खास जनप्रतिनिधिहरूको वैयक्तिक तजबिजमा खर्च गर्नु योजनाबद्ध विकासको अवधारणा तथा सुशासनको मान्यताअनुकूल हुने देखिँदैन । यसमा सरकारी कोषको रकम खर्च गर्दा अपनाउनुपर्ने पारदर्शिता र जवाफदेहितासम्बन्धी विषय पनि विचारणीय बन्न जाने देखिन्छ ।’ एकातिर सांसदको मूल जिम्मेवारीविपरीत हुने र अर्कोतर्फ राष्ट्रको ढुकुटीको सदुपयोग हुने सुनिश्चितता पनि नहुने ढंगको कार्यक्रम बजेटमा राखिनु बेथितिलाई निरन्तरता दिनु हो । यस्तो प्रयत्नबाट सांसद र सरकार पछि हट्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully