शिक्षक तत्काल सडकमा नफर्कने गरी बनाऊ कानुन

विधेयक बनेलगत्तै शिक्षक, अभिभावक वा विद्यालय सञ्चालक ज्ञापनपत्र लिएर सडकमा उत्रिने बाटो नबनोस् । विधेयक पारित गर्दा विधायकहरूले यसैमा ध्यान दिनुपर्छ ।

जेष्ठ ५, २०८२

सम्पादकीय

Make a law so that teachers do not return to the streets immediately

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकका अधिकांश प्रावधानमा सहमति जुटाएको छ । यससँगै २० चैतदेखि २९ दिनसम्म शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्दा चर्चामा रहेको विधेयक अघि बढ्ने आधार तयार भएको छ ।

उपसमितिले सहमति नभएका विषयलाई थाती राख्दै समितिमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा १७ वैशाखमा सरकार र शिक्षक महासंघबीच भएको नौबुँदे सहमतिका विषयहरू पनि परेका छन् । यसबाट शिक्षकसँगको सहमति कार्यान्वयन हुने विश्वास बढेको छ नै, डेढ वर्षदेखि विचाराधीन विधेयक पनि चाँडै ऐन बन्ने सम्भावना बढेको छ ।

अर्कोतर्फ, संघीयता कार्यान्वयनमा आइसकेको र शिक्षासँग सम्बन्धित अधिकार तीन तहका सरकारबीच बाँडफाँट भएकाले त्यसको व्यावहारिक कार्यान्वयन गर्न पनि विद्यालय शिक्षा ऐनको आवश्यकता छ । अब समितिले विवादित विषयमा यथाशक्य चाँडो सहमति जुटाई विधेयकलाई संसद्को पूर्ण बैठकमा पुर्‍याउने प्रयत्न गर्नुपर्छ । त्यसले विद्यालय शिक्षालाई कानुनी लयमा ल्याउनेछ ।

पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारका शिक्षामन्त्री अशोककुमार राईले २७ भदौ २०८० मा विधेयक दर्ता गराएका थिए । सोही वर्ष २५ असोजदेखि विधेयकलाई छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको थियो । त्यसयता विधेयक समितिमै विचाराधीन छ । विधेयक दर्ता हुनासाथ विरोध गर्दै ३ असोज २०८० देखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए ।

उनीहरूले त्यसअघि शिक्षकसँग भएका सहमतिलाई विधेयकमा समावेश नगरिएकाले आन्दोलन गर्नुपरेको बताएका थिए । ५ असोजमा ६ बुँदे सहमति भएको थियो, जसमा विधेयक संशोधनमा सरकारले सहजीकरण गर्ने पनि उल्लेख थियो । तर, त्यसपछि भने विधेयक समितिमै थन्किएको थियो ।

असन्तुष्ट शिक्षकले २० चैत २०८१ देखि पुनः आन्दोलन सुरु गरेका थिए । २९ औं दिनमा ९ बुँदे सहमति भएको थियो । सहमतिसँगै सरकारले १५ असारभित्र विधेयक पारित गर्ने प्रतिबद्धता पनि जनाएको थियो ।

उपसमितिले एसईई परीक्षा नगर्न सिफारिस गरेको छ । संविधानले नै आधारभूत शिक्षा (कक्षा १ देखि ८) र माध्यमिक शिक्षा (कक्षा ९–१२) लाई स्थानीय तहको अधिकार क्षेत्रमा राखेकाले तामझामका साथ राष्ट्रियस्तरमा सञ्चालन हुने एसईईको औचित्य नै थिएन । यो ठूला निजी विद्यालयका प्रतिष्ठाको प्रदर्शन र आर्थिक उपार्जनको अवसर मात्रै बनिरहेको थियो ।

अर्कोतर्फ, ८ वा १२ कक्षामा तह अन्त्य हुने भएकाले बीचको कक्षा १० मा राष्ट्रियस्तरको परीक्षा सञ्चालन गर्नु तर्कसंगत पनि थिएन । यद्यपि, हाम्रो परीक्षा प्रणालीमा गडबडी छन् । जस्तो कि, विद्यालय स्वयंले लिने कक्षा ९ मा सबैजसो विद्यार्थी उत्तीर्ण हुन्छन् । तर एसईईमा आधाजसो विद्यार्थी अनुत्तीर्ण हुन्छन् । गत वर्षको नतिजामा कक्षा १० (एसईई) मा ५२ प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएका थिए ।

अब राष्ट्रियस्तरमा एसईई नभए पनि विद्यालय तह स्वयंले लिने परीक्षा प्रणालीलाई विश्वसनीय बनाउन आवश्यक छ । उपसमितिले आन्तरिक प्रतिस्पर्धाबाट ६० र खुलाबाट ४० प्रतिशत शिक्षक नियुक्त गर्ने सहमति गरेको छ ।

आन्तरिकलाई अवसर दिने हेतुले परीक्षाको मापदण्डमा सम्झौता गरिनु हुँदैन । त्यस्तै, अहिले पनि निजी विद्यालयले विद्यार्थीलाई दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति दिएका छन् कि छैनन्, कसलाई र कुन मापदण्डमा दिएका छन् भन्ने आमरूपमा प्रस्ट छैन । उपसमितिले निजी विद्यालयलाई छात्रवृत्तिमा नियमन गर्ने सहमति गरेको छ । यसले पनि लक्षित वर्गले अवसर पाउने आधार बन्ने विश्वास गर्न सकिन्छ ।

निजी स्कुल र प्रारम्भिक बाल विकास कक्षा (ईसीडी) सञ्चालनका विषयमा भने सहमति जुट्न सकेको छैन । ईसीडी कक्षालाई विद्यालय संरचनाभित्रै राख्ने वा नराख्ने, कति वर्षको बनाउनेजस्ता विषयमा मतान्तर छन् । विधेयकमा निजी विद्यालयलाई कम्पनी मोडलमा अहिलेको अवस्थामै सञ्चालन हुन दिनुपर्ने उल्लेख भए पनि कतिपय सांसद निश्चित अवधि तोकेर गैरनाफामूलक मोडल (गुठी) मा लैजानुपर्ने पक्षमा छन् । अर्कोतर्फ, गुठीमा लगिए कति वर्षभित्र के सर्तमा लैजाने भन्नेमा पनि स्पष्ट धारणा छैन । यो आफैंमा पेचिलो विषय हो । 

समग्र शैक्षिक प्रणाली नै कस्तो बनाउने भन्नेमा सरकार नै अलमलमा देखिन्छ । त्यसैले सरकारले आफ्नो धारणा प्रस्टसँग राख्नुपर्छ । समितिले पनि सहमति जुटेका विषयलाई सम्पत्तिका रूपमा ग्रहण गर्दै सहमति नजुटेका विषयलाई संविधानको परिकल्पना, सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाउने अधिकार, शैक्षिक विकासका विश्वव्यापी उन्नत अभ्यास, नेपालीको सामाजिक–आर्थिक अवस्थाजस्ता पक्षलाई ख्याल गरेर टुंगो लगाउनुपर्छ । विधेयक बनेलगत्तै शिक्षक, अभिभावक वा विद्यालय सञ्चालक ज्ञापनपत्र लिएर सडकमा उत्रिने बाटो नबनोस् । विधेयक पारित गर्दा विधायकहरूले यसैमा ध्यान दिनुपर्छ । 

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully