बदलिँदो वर्षा तथा बाढी/पहिरोको चरित्रहरूलाई सूक्ष्म विश्लेषण नगर्ने हो भने आगामी दिनमा काठमाडौं उपत्यकाको बाढी जोखिम प्रत्येक कोणबाट उच्च हुँदै जाने र अकल्पनीय क्षति निम्तिने देखिन्छ
गत वर्ष असोज महिनाको अभूतपूर्व वर्षा र बाढीबाट भएको क्षति मूल्यांकनको वास्तविक लेखाजोखा अझै जारी रहँहा यो वर्षको मनसुन संघारमा आएको छ । पछिल्ला वर्षहरूका वर्षा र बाढीको प्रकृति हेर्दा नेपालको सन्दर्भमा विस्तारै मनसुन, बाढी र विपद् पर्याय भइसकेका छन् ।
काठमाडौं उपत्यकामा विगतमा थुप्रै गम्भीर प्रकृतिका बाढीहरू आइसकेका छन् ।
सन् १९५४ को बाढी प्रारम्भिक रूपमा अभिलेखित बाढीमध्ये एक हो । जसले कृषि र पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो । सन् १९८१ को बाढी तीव्र मनसुनका कारण आएको थियो र यसले काठमाडौंका केही क्षेत्रलाई प्रभावित पारेको थियो ।
सन् १९९३ को बाढी सबैभन्दा विनाशकारीमध्ये एक थियो, जसमा १३० भन्दा बढीको ज्यान गयो र व्यापक क्षति भएको थियो । सन् २००२ को बाढी अत्यधिक वर्षा र कमजोर ढल प्रणालीका कारण भू–भागहरू डुबानमा परेका थिए । सन् २००८ मा आएको बाढीले स्थानीय समुदाय र आर्थिक गतिविधि अवरुद्ध गरेको थियो ।
गत असोजमा महिना नेपालमा भएको अभूतपूर्व वर्षाले देशभरका २५ मौसम केन्द्रहरूमा ऐतिहासिक २४ घण्टे वर्षाको कीर्तिमान कायम गरेको थियो । काठमाडौं उपत्यका जलाधार क्षेत्र काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको करिब ६२५ वर्ग किलोमिटरको जलाधार क्षेत्रफल भएको एक अन्तत: पहाडी उपत्यका हो जुन समुद्र सतहबाट १२०० मिटरदेखि २७०० मिटरको उचाइ पर्दछ ।
बाढी, पहिरोलगायतका प्रकोपका अन्तर्निहित कारणहरू र तिनका अन्तरसम्बन्धको विश्लेषण प्रभावकारी बाढी व्यवस्थापन रणनीतिहरू विकास गर्न मात्र नभई वर्तमान नीति, संस्थागत क्षमता, कार्यक्रम, र न्यूनीकरण प्रयासहरूको मूल्यांकन गर्नसमेत आवश्यक रहेको हाम्रो अनुसन्धानले देखाएको छ ।
काठमाडौं उपत्यका र रोशी क्षेत्रमा गत असोज महिनामा गएको बाढीका कारण र क्षतिबारे नेचुरल हेजार्ड्स रिसर्च नामक अन्तर्राष्ट्रिय जर्नलमा ‘अनरेभलिङ द कजेज एन्ड इम्प्याक्ट अफ इन्क्रिजिङ फ्लड डिजास्टर इन द काठमाडौ भ्याली : लेसन्स फ्रम द अन प्रिसिडेनटेड सेप्टेम्बर २०२४ फ्लड्स’ शीर्षकको अनुसन्धानपत्र प्रकाशित भएको छ । उक्त अनुसन्धानमा लेखकहरूसमेत अनुसन्धाताहरू कबिन लामिछाने, भरत खड्का, विप्लव आचार्य, कमल विश्वकर्मा, सुमित अधिकारी, राजन केसी, अनुशा दानेगुलु, सामना भट्टराई, अभिलाषा रेग्मी, मन्दिप सुवेदी सहभागी भएका थिए ।
अध्ययनको निष्कर्ष
सन् २००० देखि २०१९ सम्मको अवधिमा सहरीकरणको भू–उपग्रहीय नक्सांकन गरी विश्लेषण गर्दा समग्र काठमाडौं उपत्यकाभित्र नदीको १०० मिटर दायाँ–बायाँ बस्ती विकास दुई गुणाले (१६.९ बाट ३२.९ वर्ग किलोमिटर क्षेत्रफल बस्ती बढेको) वृद्धि भएका कारण बाढीले प्रभावित जनसंख्यासमेतमा व्यापक वृद्धि भएको देखाएको छ ।
साथै प्राकृतिक रूपले नदीको चौडाइ माथिल्लो भेगबाट तल्लो भेगतर्फ जाँदा क्रमश: बढ्दै जानुपर्नेमा उपत्यकाका कतिपय खोलाहरूको अतिक्रमण/कोरिडोर निर्माण भई माथिल्लो भेगभन्दा तल्लो सहरी भेगमा चौडाइ साँघुरिँदै गएकाले बहाव क्षेत्र कम हुँदै गएको छ । जसले गर्दा बाढीको प्रभाव झन् बढेको देखिन्छ । यस सन्दर्भमा गत वर्ष सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरालगायत मुख्य नदी किनारबाट दायाँ–बायाँ ४० मिटर छोड्नुपर्ने गरी जारी गरेको आदेशको गाम्भीर्यतालाई मनन गर्नुपर्ने देखिन्छ
गत बाढीमा नख्खु खोलावरिपरि धेरै नै क्षति भएको थियो । ललितपुर जिल्लाको नख्खु खोला जलाधारको माथिल्लो भागमा ठाडो ढलान छ । यस क्षेत्रमा दुइटा खानी क्षेत्र (बालुवा, ग्राभेल र ढुंगाको उत्खनन) रहेका छन्, जुन टीकाभैरवभन्दा झन्डै २ किलोमिटर माथि पर्छ । एक लेले खोलाको उप–जलाधारमा र अर्को नख्खुको मुख्य जलाधारमा पर्छन् । बाढीका कारण नख्खु खोलाको माथिल्लो भाग (नल्लु) मा नदीको धार चौडिएको र गहिरो भएको पाइएको छ ।
यो भाग उत्खनन क्षेत्रभन्दा माथि पर्छ । अर्कोतर्फ, उत्खनन क्षेत्रभन्दा झन्डै २ किलोमिटर तलको भागमा भने नदीको चौडाइ बढ्नुका साथै नदीको तल्लीमा थुप्रिएको लेदोहरूका कारण पनि देखिन्छ । नदी किनारमा राखिएका उत्खनन सामग्री बाढीले बगाएर लगेपछि नदीमा थप बलौटे पदार्थ मिसिएका छन् । जसका कारण उत्खनन क्षेत्र र टीकाभैरवको बीचमा नदी तली भरिएको देखिन्छ । बाढीपछिको अवस्था हेर्दा नदी तलीका सामग्री अझ मोटा देखिएका छन्, जसले भूस्खलन, गेग्रान बहाव र माथिल्लो भागको उत्खनन गरी भण्डारण गरिएका सामग्री बगाइएको संकेत दिन्छ ।
नदी किनार नजिकैको कटान र गहिरिनुका कारण धेरै घरहरू ढलेका छन् वा भासिएका थिए । गत वर्षको अत्यधिक बाढी आउनुको कारणमध्ये सहायक खोलाबाट मूल खोलातर्फ ठूलो मात्रामा थुप्रिएको माटो तथा ढुंगामाटो बगाउनु हो । वर्षाका कारण जमिनको अधिकतम पानी सोस्ने क्षमता पार भई भिरालो जमिनबाट अत्यधिक गेग्रान बहाव आएको, जसलाई माथिल्लो क्षेत्रमा भएको अवैज्ञानिक बाटो उत्खनन, जग्गा खण्डीकरण (प्लटिङ) लगायतका गतिविधिसँग पनि जोडेर हेर्न सकिन्छ ।
बाढीका कारण प्राकृतिक र मानवजन्य दुवै हुन सक्छन् । प्राकृतिक कारणहरूमा जलाधारको प्रकृति, भू–बनोट, भारी वर्षा, आदि पर्छन् । त्यस्तै, मानवजन्य गतिविधिहरूमा नदीको वहाबलाई अवरुद्ध गर्ने खालको संरचना विस्तार वा जथाभावी रूपमा मर्मत नगरेको तथा अपर्याप्त ढल निकास प्रणाली, नदी अतिक्रमण, अव्यवस्थित बस्ती विस्तार तथा जमिन उपयोग, अनियन्त्रित बालुवा उत्खनन र माथिल्लो भेगमा भइरहेको जथाभावी बाटो खन्ने कार्यले बाढीको प्रभावलाई अझ तीव्र र गम्भीर बनाएको तथ्य अनुसन्धानबाट स्पष्ट भएको छ ।
गत असोजको ३ दिनको समयमा उपत्यकाको वर्षा मापन केन्द्रको वर्षाको परिमाण विश्लेषण गर्दा केही स्थानको पुनरागमन अवधि (रिटर्न पिरियड) हजार वर्षभन्दा बढीसमेत देखिन आएको छ । यो भनेको हालसम्मको मापन भएको वर्षाको तथ्यांकअनुसार एक हजार वर्षमा एक पटक पर्ने पानी जनाउँछ ।
विगतभन्दा गत वर्षको बाढीको प्रभाव उच्च थियो । वर्षा र बाढीको चरित्र पनि नियमित डुबानमा मात्रै सीमित थिएन । नेपालको विपद् व्यवस्थापन ढाँचामा कमजोरी रहेकाले तत्काल सुधारको आवश्यकता छ । सम्बन्धित निकायहरूबाट भारी वर्षाको प्रारम्भिक चेतावनी दिइए पनि जनमानसमा बाढीको प्रभावबारे गम्भीरता बोध छैन ।
पर्याप्त तयारी र प्रतिकार्यको कमीले विपद्को प्रभाव उल्लेख्य रूपमा बढ्न गएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत असोजको विपद्ले देशको कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशतभन्दा बढी क्षति पुर्याएको थियो ।
बदलिँदो वर्षा तथा बाढीपहिरोको चरित्रहरूलाई सूक्ष्म विश्लेषण नगर्ने हो भने आगामी दिनमा काठमाडौ उपत्यकाको बाढी जोखिम प्रत्येक कोणबाट उच्च हुँदै जाने र अकल्पनीय क्षति निम्तिने जोखिम देखिन्छ । सहायक खोलामा अत्यधिक गेग्रान बहाव/लेदो आएको प्रमुख कारणहरूमा ठाडो भिरालो भू–भागमा प्लटिङ गर्नु, र सडक निर्माणका लागि नियन्त्रणविहीन रूपमा पहाड काटिनु रहेको हो । यद्यपि, अत्यधिक वर्षाले सजिलै बग्न नसक्ने, वनजंगल हरियालीले ढाकिएको भिरालो भू–भागहरूमा समेत भूस्खलन र पहिरो बगाउने घटनाले ठूलो क्षति गरेको छ ।
उपत्यकाको बाढी जोखिम र प्रभावको दीर्घकालीन समाधानलाई सम्बोधन गर्न नीतिगत व्यवस्थाहरूको कडा कार्यान्वयन जरुरी छ ।
सुझाव
यस अध्ययनअनुसार काठमाडौं उपत्यकामा दिगो तथा प्रभावकारी बाढी व्यवस्थापनका लागि एक पक्षीय वा एकल दृष्टिकोणको सट्टा, यस क्षेत्रको पृथक् विशेषता र विशिष्ट चुनौतीहरूअनुरूप सहकार्यमा आधारित बहुआयामिक रणनीतिको आवश्यकता छ । बाढी व्यवस्थापनका लागि विशेष गरी समुदाय र प्रकृतिमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन, सहरी योजना, कानुनी र नीतिगत सुधार र कडा कार्यान्वयन, अन्तर–निकाय सहकार्य, सुदृढ स्थानीय सरकार र विपद् जोखिम व्यवस्थापनमा प्रणालीगत सुधारको तत्काल आवश्यकता छ ।
उपत्यका र यसको जल, जमिन र समुदायहरूको सम्बन्धमा आधारित दिगो संरक्षण र पुन:स्थापनामा केन्द्रित हुनुपर्छ । नदी किनारमा निश्चित मापदण्ड बनाई निर्माण प्रतिबन्ध गर्ने र बाढी जोखिम मूल्यांकनअनुसार सहरी विकास योजना बनाउने, जलमापन तथा सेडिमेन्ट निगरानी केन्द्रहरू स्थापन गर्नु, स्थानीय तहका कर्मचारीलाई जलस्रोत तथा जलजन्य विपद् व्यवस्थापन तालिमद्वारा सशक्त बनाउने साथै नागरिक विज्ञान (सिटिजन साइन्स) को प्रयोग गर्दै समुदायको सहभागिता बढाउँदै जानुपर्छ ।
त्यस्तै, दीर्घकालीन उपायहरूमा उपल्लो भागमा जलाधार व्यवस्थापन योजना लागू गर्ने, बीचको भागमा ‘डिटेन्सन बेसिन’ (केही समयलाई पानीको परिमाण जमाउने जलाशय) निर्माण गर्ने ठाउँ पहिचान गर्ने, तल्लो सहरी भागमा नदीलाई बहावका लागि खुला मार्ग दिने, बाढी क्षेत्रसँग सम्बन्धित कानुन तथा मापदण्ड पुनरावलोकन गर्नुका साथै अवैध खानी नियन्त्रण र दिगो उत्खननको मात्रा निर्धारण गर्न गर्नुपर्छ ।
उपत्यकाको ढल प्रणाली सुधार गर्नुको साथै एकीकृत विपद् तथ्यांक संकलन र अध्ययन गर्न संघीय ढाँचामा आधारित ‘डेटाबेस’ निर्माण गर्नङ्गपर्छ । परम्परागत अनुभवमा आधारित आदिवासी ज्ञानको पुनरुत्थान र राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने खालको कार्यक्रम ल्याउन जरुरी छ ।
बाढी व्यवस्थापनलाई जलस्रोत, भूमि प्रयोग र मानव बस्तीको संयुक्त दृष्टिकोणबाट हेर्ने समय आएको छ । संघीय संरचनामा आधारित दीर्घकालीन जलाधार व्यवस्थापन र विपद् न्यूनीकरण रणनीति अब नीति होइन, आवश्यकता बनिसकेको छ ।
–कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशका सिनियर डिभिजनल इन्जिनियर, शर्मा बीजीसी इन्जिनियरिङ इन्कर्पोरेसन, क्यानाडामा कार्यरत वरिष्ठ भू–प्राविधिक विज्ञ र भट्टराई त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका उप–प्राध्यापक हुन् ।
