सरकारी वित्तलाई नाफामा लैजाने हो भने कि चालु खर्च घटाउनुपर्छ, कि आम्दानी बढाउनुपर्छ । चालु खर्च घटाउनेतर्फ सरकारको रुचि देखिँदैन, आम्दानी बढाउने प्रयत्न सफल हुन सकेका छैनन् । बलियो सरकारले यी दुवै पक्षमा रणनीति अख्तियार गर्न आवश्यक छ ।
अर्थतन्त्र सुस्त छ– यो वाक्य पछिल्ला केही वर्ष नेपालको सन्दर्भमा ज्यामितिका स्वयंसिद्ध तथ्यजस्तै बनेको छ । परिणामतः समाजका प्रायः क्षेत्रको बहस ‘सुस्त अर्थतन्त्र’ मै गएर टुंगिने गरेको छ । सरकार, राजनीतिक दल तथा अर्थसँग सम्बद्ध निकायले अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने भनिरहे पनि परिणाम निकाल्न सकिरहेका छैनन् ।
बारम्बार सार्वजनिक हुने सरकार सम्बद्ध निकायका तथ्यांकले अर्थतन्त्रमा समस्या रहेको पुष्टि गर्छन् । नागरिकको दैनन्दिनको आर्थिक व्यवहारमा पनि समस्याग्रस्त अर्थतन्त्रको छाया देखिएकै छ । सुस्त अर्थतन्त्रको बाछिटाले समाजको समग्र पक्ष नै हतोत्साही बन्दै गएको छ । तर अर्थतन्त्रलाई चलायमान बनाउन भनेर लिइएका नीति र अपनाइएका कार्यक्रमले उल्लेखनीय सकारात्मक नतिजा ल्याएको देखिँदैन ।
अहिले पनि निजी क्षेत्र उत्साहित हुन सकेको छैन । जसले गर्दा लगानी बढ्न सकेको छैन । बैंकमा वर्षभरि नै औसतमा ५ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएर बसेको छ । सरकारले पनि आफ्नो लगानी वृद्धि गर्दै निजी क्षेत्रलाई उत्प्रेरित गर्न सकेको छैन । पुँजीगत खर्च गर्नमै सरकार चुकिरहेको छ । अर्थतन्त्र शिथिल हुनुका अनेकौं कारण छन्, अनेकौं परिणाम छन् । त्यसलाई सरकारले अनुभूत गर्न सक्नुपर्छ । सुधारका लागि कम्तीमा आफ्ना नीति कार्यान्वयन गराउन सक्नुपर्छ ।
यस वर्ष सरकारले पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । तर १० महिनामा अर्थात् चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा सरकारले १ खर्ब १८ अर्ब ३१ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ३३.५८ प्रतिशत हो । त्यस्तै, चालु आर्थिक वर्षका सरकारले राजस्वमार्फत १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । वैशाखसम्म ९ खर्ब १५ अर्ब ६६ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।
यो वार्षिक लक्ष्यको ६४.५२ प्रतिशत हो । वैशाखसम्म सरकारले ९ खर्ब ४२ अर्ब ८८ करोड ७ लाख आम्दानी गर्दा ११ खर्ब ४६ अर्ब ५९ करोड १५ लाख खर्च गरेको छ । तथ्यांकले सरकारी वित्त २ खर्ब घाटामा रहेको देखिन्छ । पछिल्ला महिनामा आयात बढ्न थालेको देखिए पनि त्यसको वृद्धिदर १२ प्रतिशत मात्र छ । निर्यातमा उच्च वृद्धि देखिए पनि त्यसबाट प्राप्त सरकारको आय कम छ ।
करको दायरा विस्तार हुन सकेको छैन । अनौपचारिक अर्थतन्त्रको आकार ४० प्रतिशतभन्दा बढी रहेको बताइन्छ । वैदेशिक अनुदान तथा सहायता घटेको छ । यसैबीच, सामाजिक सुरक्षा भत्ता, तलब, पेन्सनलगायत अनिवार्य दायित्व भने निरन्तर बढिरहेको छ ।
चालु आर्थिक वर्षको सुरुवातदेखि नै मुलुकमा बलियो सरकार छ । कांग्रेस–एमालेजस्ता तुलनात्मक रूपमा लामो विरासत बोकेका र मुलुकका गति–मतिका निर्धारक पार्टी मिलेर बनाएको सरकारसँग अर्थतन्त्रमा सुधारको अपेक्षा पनि छन् ।
गत असारमा गठबन्धन निर्माण गर्दा उनीहरूले गरेको सातबुँदे सहमतिको तेस्रो बुँदामै ‘अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय, व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने’ भनिएको थियो ।
तसर्थ अर्थतन्त्रलाई चलायमान बनाउनैपर्ने एजेन्डा मुलुकको आवश्यकता मात्रै होइन, वर्तमान सरकारको सफलताको मानक पनि हो । तर सरकारी निकायकै तथ्यांकदेखि नागरिकको अनुभूतिसम्मले वर्तमान सरकार सफलतातर्फ अग्रसर भइरहेको देखिँदैन ।
सुस्त अर्थतन्त्रले गाँजेर मुलुकको हरेक क्षेत्रले आत्मविश्वास गुमाउँदै गएको वर्तमान परिप्रेक्ष्यमा सुधारका लागि उनीहरू गम्भीर बन्नुपर्ने भए पनि राष्ट्र बैंकका गभर्नर नियुक्त गर्न भइरहेको ढिलाइ र हेलचेक्र्याइँ जस्ता सन्दर्भले सकारात्मक सन्देश दिएको छैन । त्यसैले उनीहरू समस्याप्रति संवेदनशील र सुधारका लागि प्रयत्नशील बन्नुपर्छ । परिणाम देखाउन सक्नुपर्छ ।
सरकारी वित्तलाई नाफामा लैजाने हो भने कि चालु खर्च घटाउनुपर्छ, कि आम्दानी बढाउनुपर्छ । चालु खर्च घटाउनेतर्फ सरकारको रुचि देखिँदैन, आम्दानी बढाउने प्रयत्न सफल हुन सकेका छैनन् । बलियो सरकारले यी दुवै पक्षमा रणनीति अख्तियार गर्न आवश्यक छ ।
यतिबेला सरकारको मुख्य ध्यान नै पुँजीगत खर्च बढाउनेतर्फ केन्द्रित हुनुपर्छ । राष्ट्रिय पुँजी निर्माणमा सरकारको लगानी १५ र निजी क्षेत्रको लगानी ८५ प्रतिशत छ । तर निजी क्षेत्रको लगानी नाफा हुने क्षेत्रमा मात्रै हुन्छ । सरकारले आफ्नो लगानी विस्तार गरेको अवस्थामा भने निजी क्षेत्रको पनि आत्मविश्वास बढ्छ, लगानी विस्तार हुन्छ । त्यसले आयात निर्यात बढाउँछ ।
सरकारको राजस्व वृद्धि हुन्छ । पुँजी निर्माण र रोजगारीमा बढोत्तरी ल्याउँछ । तसर्थ सरकारले भौतिक पूर्वाधार क्षेत्रमा भरपुर लगानी गर्नुपर्छ । सरकारले आफ्नो दायित्व भुक्तानी नगर्दा विभिन्न माध्यममार्फत नागरिकको हातमा पैसा पुग्ने बाटो अवरुद्ध भएको छ । परिणामतः बजार चलायमान हुन सकेको छैन । यसप्रति पनि सरकार गम्भीर हुनुपर्छ ।
लक्ष्यअनुसार राजस्व संकलनका लागि पनि सरकारी प्रयत्न सार्थक हुन सकेको छैन । आधाजसो राजस्व भन्सारबाट संकलन हुन्छ । तर अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइ हिस्सा ओगट्ने भारतसँग खुला सिमाना छ । जसले गर्दा त्यहाँबाट चोरीपैठारी गर्नेलाई सहज छ ।
तसर्थ त्यहाँ हुने राजस्व चुहावट रोक्नका लागि राज्यको निगरानी बढाउनेदेखि आधुनिक प्रविधि प्रयोग गर्नेसम्मका उपाय अपनाउनुपर्छ । उठाउन बाँकी करिब साढे ४ खर्ब राजस्व उठाउन र अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्नेतर्फ कठोर हुन सकियो भने पनि राजस्व संकलनमा बढोत्तरी आउँछ ।
