खुला सीमा, बन्द दिमाग 

कतिपय भारतीय जनप्रतिनिधिहरूले सीमाञ्चलमा बढ्दै गरेको सीमापार सुरक्षा संवेदनशीलतालाई औंल्याउन थालेका छन् । नेपालतिर हुने सामाजिक–राजनीतिक घटनाक्रमलाई सीमाञ्चलको अन्तर्विरोधसाग जोडेर हेर्न थालेका छन् ।

जेष्ठ १, २०८२

चन्द्रकिशोर

Open borders, closed minds

भारतीय राज्य कश्मीरको पहलगाममा भएको आतंकी घटनापश्चात् भारत–पाकिस्तानबीच अकासिएको तनावपछि नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा त्यसको असर अनुभव गरिएको छ । दशगजा क्षेत्रमा देखिने सघन निगरानीबाट समेत यो खुला सीमाको संवेदनशीलतालाई औंल्याउँछ ।

कतिपय ठाउँमा ‘नोमेन्सल्याण्ड’ मा नेपाल र भारतका सुरक्षाकर्मीहरूको संयुक्त गस्ती लगाइएको छ । बढ्दो सुरक्षा व्यवस्था र सार्वजनिक सतर्कताले आवागमनमा असर परेको छ । सुरक्षा निगरानीको काम दुवैतिरबाट हुँदै गरेको छ ।

नेपालदेखि भारत–पाकिस्तानको सीमा टाढा छ । तर सार्कका सदस्य यी दुई देशबीच बढ्दै गएको तनावको बाछिटा यहाँसम्म आइपुगेको छ । पहलगामपछि दशगजा वारिपारि गर्नेहरूको परिचयपत्र माग्ने, सामान जाँच्ने, गाडीहरूको खानतलासी गर्ने क्रम बढाइयो । सीमा नाकाहरूमा साविकदेखि रहँदै आएको सीमा सुरक्षा बलको उपस्थिति बाक्लो बनाइएको छ । खुला सीमा भएको हुनाले भारतीय पक्षले कडीकडाउ गर्दै लगेको बताइन्छ । 

पूर्व, दक्षिण र पश्चिम दिशामा भारतसँग साँध कायम भएको भूपरिवेष्ठित नेपालको सिमाना सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तरप्रदेश र उत्तराखण्ड राज्यसँग जोडिएको छ । भारत नेपालका लागि महत्त्वपूर्ण छिमेकी हो । नागरिक सम्बन्धको प्राचीनताले भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरूमा बहुआयाम छन् ।

नेपाल–भारतबीचको सीमा वारिपारि कैयौं बस्ती गुजमुटिएर बसेका छन् । कोभिडका बखतदेखि नै सीमामा सुरक्षा नियन्त्रणले निरन्तरता पाएको हो । तर स्थान विशेष अनुसार यसको कार्यान्वयन भिन्न छ । भारतले आफ्नो सुरक्षा जोखिमको श्रेणीबद्धता अनुरूप स्थान वा क्षेत्र विशेषमा निगरानीको सघनताको मात्रा कमबेस गरेको बुझिन्छ । पहलगाम हमलापश्चात् नेपालसँगको खुला सीमाप्रति चनाखोपन थपिएको छ । दुवैतिरका सरकारले सीमामा निगरानी गर्न सुरक्षा प्रबन्ध कसिलो बनाउँदै लग्दा त्यसको बिस्तारै असर सीमावर्ती दिनचर्यामा पर्न थालेको छ ।

भारतको साँध जोडिएको मुख्यतः पाकिस्तान, बंगलादेश र म्यान्मारसँगको सम्बन्धले नेपाललाई असर पार्छ भने विगतको अनुमान छ । तर कुन विषयमा कस्तो किसिमको प्रभाव पार्‍यो ? भारतीय सार्वजनिक विमर्श, सामाजिक सञ्जालमा प्रकट उत्तेजना, टिप्पणी प्रतिटिप्पणीको भाष्यले नेपालतर्फको सीमावर्ती क्षेत्रमा कस्तो प्रभाव पार्दछ ? भनेर ठोस अध्ययन गरी हाम्रा नीति निर्माताहरूलाई सल्लाह दिने संस्था त परै जाओस् सार्वजनिक विमर्श पनि पाउँदैनौं ।

सीमालाई व्यवस्थापन गर्दा के कस्ता कुराहरू राख्नुपर्छ भन्ने कुराको अनुमान दुवैतिर भइरहेको छैन । कोरोनाकालपश्चात् सीमाञ्चल क्षेत्रमा आवागमन सहज बनाउनुपर्ने माग हुँदै आएको छ । केही निश्चित नाकाबाहेकका खुला ठाउँबाट चारपाङ्ग्रे गाडी तथा स्थानीय सार्वजनिक वाहनहरूमा रोक लगाइएको छ ।

यसले स्थानीयहरूको जनजीविका कष्टकर देखिएको छ । पहिला सीमामा ओहोरदोहोर गर्दा खुकुलो गरिनुपर्ने आम मनोविज्ञान थियो । तर अब फेरिएको हालतमा सुरक्षा जाँच राखिए पनि स्थानीयस्तरमा गाडीहरूको आवागमन पुरानै लयमा फर्काउनुपर्ने आवश्यकता औंल्याइन्छ ।

सीमावर्ती बस्तीका बासिन्दाहरूले सुरक्षाकर्मीको उपस्थितिलाई एउटा कटु यथार्थका रूपमा स्विकार्छन् । जस्तो परिस्थिति बन्दै छ, त्यस अनुरूप जनजीविका ढाल्दै जानुपर्ने सोच टुसाएको छ । सीमामा खटिएका सुरक्षाकर्मीहरूका अनुसार स्थानीय को हुन् भनेर हामी अन्दाज गर्न सक्छौं तर जब वारिपारि गाउँमा कोही यस्तो मान्छे आइपुग्छ, जसको भेषभूषा र बोली बाहिरिया जस्तो देखिन्छ भने सोधपुछ गर्छौं ।

स्थानीयहरू पनि अपरिचित अनुहार देखिए त्यसको सूचना दिन्छन् । स्थानीयहरू भन्छन्– ‘यसले सँगै जोडिएको गाउँको जीवन सहज छ । सीमावर्ती क्षेत्रका बासिन्दाले सुरक्षाकर्मीलाई सघाउ पुर्‍याएको खण्डमा नै दीर्घकालिक लाभ हुने ठम्याइ फैलिँदै छ ।

भारत–पाकिस्तान सम्बन्ध सुमधुर हुँदा त्यसबाट नेपाल लाभान्वित हुन सक्ने अवस्था विगतमा देखिएकै हो । करतारपुर कोरिडोर खोलिएपछि भारत–पाकिस्तान दुवैतिरका शिख समुदायलाई सजिलै तीर्थाटन गर्ने सुविधा उपलब्ध हुँदा यता नेपाल–भारत सीमा व्यवस्थापनमा स्थानीयताको विमर्शले मुखरता पाएको थियो ।

सीमा व्यवस्थापनमा बोर्डर वारिपारिका बासिन्दाको सामाजिक, सांस्कृतिक, आर्थिक पारस्परिकतालाई नजरअन्दाज नगरियोस् भन्ने संकथनले बल पायो । म्यान्मार वा बंगलादेशमा अप्ठेरो हुँदा पूर्वी नेपालका नाकाहरूमाथि भारतीय चनाखोपन देखिन्छ भने यस पटक खासगरी समतल भूभाग जोडिएको सबैतिर सुरक्षा दृष्टि राखियो ।

सीमाञ्चलका बासिदाले नचाहँदा नचाहँदै पनि दुवैतिरबाट सुरक्षातन्त्रीकरण बाक्लिँदै गएको छ । तर हाम्रो पारम्परिक सम्बन्ध जहाँको त्यहीँ छ । यदाकदा हामीले सीमा वारिपारि सम्बन्धलाई व्यवस्थित गर्नुपर्ने स्थितिमा हामी न परम्परामा बस्न सकेका छौं । न नयाँ सम्बन्धको आधार र स्तर विकसित गर्न सकेका छौं ।

नयाँ ढंगले सम्बन्ध विकसित गर्न अध्ययन अनुसन्धानको आवश्यकता त छँदै छ, जनस्तरीय संवादको जरुरी त्यतिकै छ । जो नेपालीको खेतीकिसानी वारि छ, जो गाईबस्तु चराउन यताउता जान्छन् वा किनमेल गर्छन्, यी सबै कुरा चल्दै छ ।

सँगै अनेकौं असहजता पनि मौलाउँदै छ । सीमा त खुला नै छ, तर स्थानीय बासिन्दाहरूका लागि अवसरको कमी हुँदै गइरहेको छ । सीमाले अर्थ राख्छ किनभने यसले नेपाल–भारत जनसम्बन्धमा एक विशेष तत्त्व प्रदान गर्छ । सीमाञ्चलका लागि यो सीमा एउटा कोरिएको राजनीतिक रेखा मात्र छैन । यो विरोधाभासी तागतको प्रतीक पनि हो ।

नेपालको भूमि एकअर्काविरुद्ध प्रयोग नहुने सरकारको प्रतिबद्धता छ । पाकिस्तानी सेनाको नियन्त्रणमा रहेको ‘इन्टर सर्भिस इन्टेलिजेन्स’ (आईएसआई) ले नेपाली भूभाग प्रयोग गरेर भारतविरुद्ध गतिविधि चाल्ने भारतीय चिन्ता छ । त्यसैगरी चिनियाँ गतिविधि दक्षिणी सीमासम्मै आइपुग्दा त्यसले भारतविरोधी गतिविधिलाई पालनपोषण र संरक्षण गर्न सक्ने पारिपट्टिको आशंका छ ।

कतिपय गलत बुझाइका कारण भारतीय मिडियाले सनसनीखेज समाचार– विश्लेषण दिने गर्दा सीमावर्ती भारतीय नागरिकमा समेत कैयौं आशंकाहरू टुसाएका छन् । पछिल्ला वर्षहरूमा पारिका केही संगठनहरूले नेपालतिरको सीमावर्ती क्षेत्रमा बदलिँदो जनसांख्यिक बनोट, एक खास धार्मिक प्रतिष्ठान आबद्ध भवनहरूको निर्माण क्रम, धार्मिक अनुष्ठानहरूको बढोत्तरी, घुसपैठियाहरूको आश्रय जस्ता विषयलाई आन्तरिक चिन्ताका विषय बनाउँदै आएका छन् ।

कतिपय भारतीय जनप्रतिनिधिहरूले सीमाञ्चलमा बढ्दै गरेको सीमापार सुरक्षा संवेदनशीलतालाई औंल्याउन थालेका छन् । नेपालतिर हुने सामाजिक–राजनीतिक घटनाक्रमलाई सीमाञ्चलको अन्तर्विरोधसँग जोडेर हेर्न थालेका छन् ।

केही मान्छेले कसरी यो मापदण्ड बनाउन पुग्छन् उनी जो भन्छन् त्यही अरूले भन्नुपर्छ । उनी जे बाह्रखरी घोकाउँछन्, अरूले पनि त्यही याद गर्नुपर्छ । हाम्रो परिप्रेक्ष्यमा यथार्थपरक विमर्श छैन । नेपाली स्थानीयहरूमा कि भारत रिसाउँछ कि राष्ट्रवादी कित्तामा परिँदैन भन्ने भय छ । एउटा अहान छ, ‘जहवाँ भय बाटे, उहवाँ सबकुछ बनावटी बाटे’ । आशय हो, जहाँ भय छ त्यहाँ उठान हुने विमर्शहरू कृत्रिम हुन्छन् ।

पाकिस्तान र बंगलादेशपछि भारतले म्यान्मारसँग जोडिएको सिमानामा काँडेतार लगाउन सुरु गरेको छ । त्यहाँ भारतीय राज्यहरू नागाल्यान्ड, मणिपुर, अरुणाचल र मिजोरम छन् । यी सीमा क्षेत्रका विभिन्न जातीय समूहको नेपाल–भारत जस्तै वैवाहिक सम्बन्ध रहिआएको छ । कस्तोसम्म थियो भने विवाह भएपछि कैयौं बेहुलाहरू बेहुलीकै देशमा गएर स्थायी बसोबास गर्दथे ।

कतिपयका घर, खेत, व्यवसाय र परिवारका सदस्यहरू दुइटै मुलुकमा छन् । यो सीमा क्षेत्रमा कैयौं ठाउँमा पहाड र घना जंगल छ । यहाँ काँडेतार लगाउनु आफैंमा एक जटिल प्रक्रिया बताइन्छ । तर पनि भारतले आफ्नो सुरक्षा जोखिमको मूल्यांकन गर्दै छेकवार गर्न दृढ छ । साँध जोडिएका दुई राजनीतिक भूगोलका बासिन्दाबीच सकारात्मक सम्बन्ध भए पनि दुई मुलुकका सरकारबीचको समीकरण वा कुनै एक मुलुकको सुरक्षा आकलनले सीमावर्ती सम्बन्धलाई निर्दिष्ट गर्छ । भारतको आफ्ना छिमेकीसँगको सीमा व्यवस्थापनलाई बुझ्न सम्बन्धित देशको भारतीय राज्यसँगको सम्बन्धको अवस्था र अन्य पक्षहरूलाई हेर्नुपर्दछ ।

जतासुकै जब हिंसक संघर्ष हुन्छ त्यहाँ सीमालाई गम्भीरतापूर्वक लिइन्छ । सीमाले एक अस्पष्ट भूमिका खेल्छ । सामाजिक, आर्थिक र सामरिक कोणबाट त्यसको व्याख्या गरिन्छ । नेपालसँगको खुला सीमाबारे महत्त्वपूर्ण र स्थायी प्रश्न उठान हुन थालेको छ । भारतीय मिडियालाई टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्टस्) को चिन्ता छ ।

‘कसैले पनि हामी सीमावर्ती ग्रामीणहरूका बारेमा सोच्दैन’ स्थानीय स्वर जो छ, त्यसको उपेक्षा गर्न सकिँदैन । नयाँ वास्तविकता र भूरणनीतिक बदलावहरू मध्यनजर गर्दै सीमावर्ती सम्बन्धलाई कसरी नयाँ व्याकरण दिने ?

महावञ्चित जीवनको अकृत्रिम आख्यान भएको छ– ‘नेपाल भारतको सीमाञ्चल’ । भारत र पाकिस्तान दुइटैतिर आफ्ना सीमाञ्चलका सत्य पस्किने प्रशस्त साहित्य रचिएको छ । तर नेपाल–भारत सीमावर्ती सम्बन्धको अद्वितीयताबारै खासै लेखिएको छैन । यो सीमा यी दुई मुलुकको आपसी सम्बन्धको भन्दा तेस्रो मुलुकका कारण ‘सीमा’ अब पर्खालका रूपमा अनुवाद हुँदै आयो ।

जहाँ साधारण मान्छेहरूका लागि स्पेस लगातार कम हुँदै गएको छ । हिन्दीका प्रसिद्ध कवि केदारनाथ सिंहको एउटा पंक्ति छ– ‘भूलता तो यह भी जा रहा हूं कि भूलता जा रहा हूं मैं’ । वैश्वीकरणका युगमा योभन्दा ठूलो त्रासदी केही पनि हुन सक्दैन । के दुनियाँका अन्य बोर्डर जस्तै यो बोर्डर पनि छेकवार हुँदै जान्छ वा तमाम चुनौतीहरूका माझ नागरिकमैत्रीको अटल सेतु बनिरहन्छ ? दुइटै प्रश्न चुनौतीपूर्ण छन् ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully