संघीयतामा क्षेत्रीय दलको प्रभावकारिता

आठ वर्षको प्रादेशिक अभ्यासलाई सिंहावलोकन गर्ने हो भने उपलब्ध स्रोतको प्राथमिकीकरणमा प्रदेश सरकारको नेतृत्व गरेका क्षेत्रीय दलहरू चुकेका छन्

जेष्ठ १, २०८२

चिरन मानन्धर

Effectiveness of regional parties in federalism

मधेश आन्दोलनको जगमा नेपालले संघीय प्रणाली अपनाएको हो । यद्यपि, दस वर्ष चलेको माओवादी सशस्त्र संघर्ष साथै विभिन्न समयमा आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका समुदायले एकात्मक र केन्द्रीकृत शासन व्यवस्थाविरुद्ध गरेको अभियान र आन्दोलनले संघीय प्रणालीको आधारभूमि तयार पारेका थिए ।

राज्यले गरेको विभेद, बहिस्करण, वञ्चना र बेथितिविरुद्ध संघर्ष गर्दै आफ्नो जातीय क्षेत्रीय पहिचानसहित स्वायत्त प्रदेश, भाषा, कला एवं संस्कृति संरक्षणको उद्देश्य राखेर थुप्रै जातीय क्षेत्रीय दल २०६२/०६३ पछि देखा परे । तीमध्ये केहीले संविधानसभामा पनि प्रतिनिधित्व गरेका थिए ।

कानुनमा राष्ट्रिय दलको परिभाषा भए पनि क्षेत्रीय दलबारे अस्पष्टता छ । यद्यपि दल उत्पत्ति हुनुका कारण, दलले बोकेका मुद्दा साथै चुनावी प्रतिबद्धता, दलको सांगठनिक सामर्थ्य र निर्वाचनमा पाउने मतमा दलको क्षेत्रीय विशेषता झल्किन्छ । उदाहरणका लागि मधेशी समुदायको हकको पैरवी गर्न स्थापना भई तराई/मधेशमा बलियो सांगठनिक आधार बनाएका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी मधेशका क्षेत्रीय दल हुन् । त्यस्तै थारूको मुद्दा उठाउने नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको क्षेत्रीय दल हो । शासन प्रक्रियामा जनताको प्रतिनिधित्व बढाउने उद्देश्यले अपनाइएको संघीय प्रणाली संस्थागत गर्न यस्ता क्षेत्रीय दलको भूमिका महत्त्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय परिवेशमा त्यस्ता उदाहरण धेरै छन् । तर नेपालमा क्षेत्रीय दलको अवधारणा नै नहुनु विडम्बना हो । 

प्रदेशको सीमांकन आदिवासी जनजाति समुदायले मागेजस्तो ऐतिहासिक भूगोल, सभ्यता र जातीय जनसंख्यालाई केन्द्रमा नराखी गरिएकाले अन्य ६ प्रदेशमा क्षेत्रीय दलले राजनीतिक वर्चस्व कायम गर्ने सम्भावना नै कमजोर बनेको छ । मधेशमा त्यसको सम्भावना अत्यधिक छ र त्यस्ता केही अभ्यास त्यहाँ भएका पनि छन् । मधेश आन्दोलनको जगमा संघीयता अपनाइएको र सोही आन्दोलनको ऊर्जा बोकी मधेश केन्द्रित क्षेत्रीय दल स्थापना भएकाले संघीयता कार्यान्वयनमा तिनको भूमिका आम चासोको विषय हो । तिनले मधेश प्रदेश सरकारको निरन्तर नेतृत्व गरेकाले पनि त्यस्तो चासो जायज छ । प्रदेशले आफ्ना कानुन, प्रादेशिक संरचना, बजेट निर्माण तथा कार्यान्वयन आफैंले गर्न सक्ने व्यवस्था संविधानमा नै छ । समानुपातिक समावेशिता संघीयताको महत्त्वपूर्ण आधार स्तम्भ हो । त्यसैले मुख्य रूपमा क्षेत्रीय दलको नेतृत्वमा रहेको प्रदेश सरकारले ती विषयमा गरेका कार्यले संघीयता संस्थागतमा मद्दत पुग्छ । 

संविधान जारी भएको करिब एक दशक बित्दा पनि संघीय सरकारले कैयौं महत्त्वपूर्ण कानुन बनाउन विलम्ब गरेर संघीयता कार्यान्वयनका लागि अर्घेल्याइँ गरिरहेको छ । मुख्यतः संघीय निजामती सेवा ऐन, प्रहरी समायोजन ऐन, संघीय शिक्षा ऐनलगायतका ऐन संघले नबनाउँदा प्रदेशले संविधान निःसृत अधिकारसमेत राम्ररी प्रयोग गर्न सकेका छैनन् । यद्यपि कर्मचारी, कानुनी संरचना, भौतिक पूर्वाधार आदिको अभावकै बीच पनि स्थानीय र प्रदेश सरकारले कार्यसञ्चालन गरी विभिन्न उपलब्धि हासिल गरेका छन् । मधेशमा क्षेत्रीय दलकै अग्रसरतामा पहिलो कार्यकालमा नै मधेश आन्दोलनको मागअनुसार पहिचानको नामसहित प्रदेश निर्माण भयो । त्यसपछि प्रादेशिक भावना र पहिचान सबल बन्नुका साथै अन्य प्रदेशका लागि पनि मधेश प्रदेश उत्प्रेरणाको स्रोत बनेको छ । 

मधेशमा क्षेत्रीय दलहरूले सरकारमा सहभागी भएपछि चुनावी वाचाअनुरूप प्रदेश लोक सेवा आयोग, प्रदेश जनलोकपाल आयोग, दलित विकास समितिजस्ता विभिन्न संरचना स्थापना गरे । ती नयाँ संरचनालाई प्रादेशिक आवश्यकताअनुरूप नयाँ ढंगले सञ्चालन गर्ने मधेशका क्षेत्रीय दललाई अवसर थियो । तर, एकात्मक र केन्द्रीकृत व्यवस्थाका विरासत जसरी नै ती संरचना स्थापना गरियो र कार्य संस्कृति पनि त्यस्तै बनाइयो । त्यसैले ती संरचनामा पनि परम्परागत कार्यशैली नै पाइन्छ । पदाधिकारी नियुक्तिमा दलको भागबन्डाले क्षमतावान् नेतृत्व पाउन सकेन । परिणामस्वरूप तिनले प्रभावकारी काम गर्न नसक्दा ती संरचना स्थापनाको उद्देश्यमा नै प्रश्न उठेको छ । कतै क्षेत्रीय दलहरूले नागरिकको असन्तुष्टिलाई थामथुम पार्न र कार्यकर्ता भर्ती गर्न मात्र त्यस्ता संरचना स्थापना गरिएका त होइनन् भन्ने आशंका बढाइदिएको छ । 

प्रदेशले स्रोतसाधन र अधिकार पाएकै हो, भलै ती पर्याप्त छैनन् । तर सीमित स्रोत साधनको प्राथमिकीकरण गरेर न्यायोचित प्रयोग गर्ने अवसर क्षेत्रीय दल नेतृत्वको प्रदेश सरकार र क्षेत्रीय दलले लिएका मन्त्रालयलाई प्राप्त थियो । करिब आठ वर्षको प्रादेशिक अभ्यासलाई सिंहावलोकन गर्ने हो भने, उपलब्ध स्रोतको प्राथमिकीकरणमा प्रदेश सरकारको नेतृत्व गरेका क्षेत्रीय दलहरू चुकेका छन् । अनुत्पादक क्षेत्रमा वितरणमुखी बजेट विनियोजनका कारण उपलब्धि अपेक्षा गरेबमोजिम छैन । स्थानीय तहलाई दिनुपर्ने स–साना बजेट कार्यान्वयन पनि प्रदेश सरकारले मन्त्रालयमै नै राख्दा संघीयताको मर्म कमजोर बनेको छ । 

जसपा नेपाल र लोसपाको संयुक्त सरकारले ल्याएका ‘बेटी पढाऊ बेटी बचाऊ’ जस्ता दूरगामी महत्त्वका लोकप्रिय कार्यक्रम आर्थिक अनियमिताका कारण रोकिए । जसपा नेपाल र लोसपाको संयुक्त सरकारका पालामा सञ्चालन गरिएका महत्त्वपूर्ण योजना तथा कार्यक्रम आर्थिक सुशासनको हिसाबले अत्यन्तै कमजोर भए । त्यसको मुख्य कारण योजना तथा कार्यक्रमको प्राथमिकता निर्धारणमा प्रदेशका नागरिकको आवश्यकताभन्दा पनि बिचौलिया र व्यवसायीको स्वार्थप्रेरित प्रभाव हुनु हो । क्षेत्रीय दलका नेतृत्वले यसलाई रोक्नुपर्नेमा आफैं यसको माध्यम बनेका छन् । हुन त क्षेत्रीय दलले नेतृत्व गरेका बाहेकका अन्य प्रदेशमा पनि समस्या उस्तै छन् । तर संघीयता र सुशासनको मुख्य बाहक क्षेत्रीय दल हुनाले यी दलप्रति जनताको विशेष अपेक्षा थियो । 

समावेशीकरणको सिद्धान्तलाई मुख्यतः उठाउने क्षेत्रीय दल नै हुन् । मधेश प्रदेशमा प्रदेश प्रहरी ऐन र प्रदेश निजामती सेवा ऐनमा महिलालाई ५० प्रतिशत आरक्षण गरिएको छ । साथै, ऐनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसरण गर्दै जातीय जनसंख्याको आधारमा मधेश प्रदेशमा आरक्षण प्रणाली लागू गरिएको छ । यी कार्यले अन्य प्रदेशमा पनि अनुकरण गर्न सहयोग पुग्न सक्छ । 

प्रदेशसभा, त्यसका समिति, प्रदेश सरकार र विभिन्न निकायमा भएका नियुक्तिलाई उदाहरण लिने हो भने मधेश प्रदेशको सामाजिक विविधताको चित्र ती नियुक्तिहरूमा झल्किँदैन । तिनमा मुख्य गरी मधेशी दलित, मुस्लिम र महिला प्रतिनिधित्व उनीहरूको जनसंख्याभन्दा निकै कम छ । यसबाट समावेशिताप्रति क्षेत्रीय दलको प्रतिबद्धता नै प्रश्नको घेरामा परेको छ । प्रदेश सरकारका ती अंगहरू समावेशी बनाउन क्षेत्रीय दललाई कसैले अवरोध गरेको छैन । मधेशी क्षेत्रीय दलकै इच्छा शक्ति कमजोर भएर नै त्यसो हुन नसकेको हो । संघीयता र समावेशिताको जननी हौं भन्ने आत्मश्लाघा गरिराख्ने तर प्रदेशमा समानुपातिक समावेशिता खोइ भनेर प्रश्न गर्दा त्यो त संघीय सरकारमा नै छैन भन्ने तर्कले संघीयता र समावेशिताप्रति क्षेत्रीय दलहरूको प्रतिबद्धता कमजोर हुँदै गएको भन्ने मतलाई नै पुष्टि गर्छ । 

क्षेत्रीय दलको आवश्यकता आदिवासी जनजाति, मधेशी, मुस्लिमलगायतका उपेक्षित समुदायका लागि हो । क्षेत्रीय दलले पहिचानलाई मुख्य मुद्दा बनाउँदै आएका छन् । ती दलको उद्देश्य, मतदातासँग गरिएको चुनावी वाचामा पनि यसबारे उल्लेख गरिएको छ । तर त्यसलाई कसरी लागू गर्ने भन्ने स्पष्ट दृष्टिकोणको अभाव ती दलको नेतृत्वमा देखिन्छ । त्यसैले स्थानीय तहका जनप्रतिनिधिहरू यस विषयमा अलमल गरिरहेका छन् । 

सुशासन, सेवा प्रवाह र आफ्नै प्रदेश संरचनालाई प्रभावकारी बनाउन साथै समानुपातिक समावेशिता लागू गर्न थुप्रै काम गर्नुपर्ने देखिन्छ । संघीयता अपरिहार्य छ भनेर वकालत गर्ने क्षेत्रीय दल नै संघीयता संस्थागत गर्न चुक्ने हो भने संघीयताविरोधी भाष्य झन् बलियो हुँदै जान्छ । अर्कोतिर, क्षेत्रीय मुद्दा उठाएर राजनीति सुरु गर्ने तर क्षेत्रीय दल हुनुको लघुताभासबाट क्षेत्रीय दलका केही नेतृत्व ग्रसित देखिन्छन् । यसले पनि क्षेत्रीय दलको राजनीतिक मुद्दा र प्रभाव थप कमजोर बनाउँदै लगेको छ । यसलाई हृदयंगम गरी क्षेत्रीय दलहरूले आफ्नो क्षेत्र र समुदायको मुद्दामा प्रतिबद्ध भएर संघीयता कार्यान्वयनमा देखिएका कमीकमजोरीलाई सुधार्न विलम्ब गर्नुहुन्न । 

–मानन्धर डेमोक्रेसी रिसोर्स सेन्टर नेपालका अध्येता हुन् ।

चिरन

Link copied successfully