इस्लामावाद र नयाँदिल्ली विद्यमान भिडन्तमा आ–आफ्नै धरमर खुट्टामा उभिएकाले लाज छोप्न अमेरिकालाई देखाएर हाललाई संघर्ष स्थगन गर्ने निर्णयमा पुग्न बाध्य भएको हुनुपर्छ
भारत सरकारको केन्द्र शासित जम्मु–कश्मीर प्रदेशको पहलगाम नजिकै सशस्त्र आतंककारीहरूले अप्रिल २२, २०२५ का दिन केही पर्यटकलाई तिनको धर्म सोधेर २६ जना पुरुषहरूको हत्या गरेका थिए । मारिनेहरूमा आफ्ना आमा, दिदी र भिनाजुसँग छुट्टी मनाउन ‘एसियाको स्विट्जरल्यान्ड’ भनिने पहलगाम पुगेका बुटवलको कालिकानगर निवासी नेपाली नागरिक सुदीप न्यौपाने पनि थिए ।
छानीछानी गैरमुस्लिम (यद्यपि मृतकहरूको सूचीमा परेका स्थानीय पथप्रदर्शक एवं टट्टु सवारी सञ्चालक सैयद आदिल हुसैन शाह मुसलमान थिए) पर्यटकहरूको कत्तलमार्फत आतंककारीहरूले कम्तीमा सात सन्देश प्रवाहित गर्न खोजेको कुरा ठम्याउन कठिन थिएन । धार्मिक सद्भाव खलबल्याउनु प्राथमिक उद्देश्य थियो । कश्मीरको स्थिति सामान्य नरहेको कुरा देखाएर पर्यटकहरूलाई निरुत्साहित गर्न खोजिएको थियो । लक्षित हत्यामार्फत भारत सरकारको कानुन र व्यवस्था प्रणालीलाई खुला चुनौती दिइएको थियो । आतंककारीहरूले आफ्नो हिम्मत कायम रहेको देखाएर पाकिस्तानको स्थायी सत्तालाई छद्म हस्तक्षेपकारी गतिविधि बढाउन आमन्त्रण गरेका थिए । सशस्त्र द्वन्द्वको परिस्थिति प्रदर्शन गरेर कश्मीर मुद्दामा अन्तर्राष्ट्रिय शक्तिहरूलाई तान्ने प्रयत्न पनि हुन सक्दथ्यो । कश्मीर मुद्दाको सैन्य समाधान सम्भव छैन भन्ने साबित गर्नु थियो ।
सामान्य कश्मिरीहरूलाई भने आतंककारीहरूको धम्की स्पष्ट थियो— तिमीहरू निरन्तर डरमा बाँच्न अभिशप्त छौ । त्रास फैलाएर राजनीति गर्नेहरूको शब्दावलीमा प्रचारात्मक हर्कत (प्रोपगन्डा अफ द डिड) भनिने एउटा प्रचलित अभिव्यक्ति छ । पहलगाम हमलामार्फत आफ्ना सबै प्रचारात्मक उद्देश्यमा हाललाई आतंककारीहरू सफल ठहरिएका छन् ।
एक त सन् २०१४ पछि उसै पनि उत्तर भारतको गोबरपट्टी भनिने राज्यहरूमा मुस्लिम–विरोधी भावना चरमचुलीमा पुगेको छ । कतिसम्म भने पहलगाम आतंककारी हमलामा हत्या गरिएका भारतीय लेफ्टिनेन्ट विनय नरवालकी विधवा हिमांशी नरवालले शान्ति कायम राख्न अपिल गर्दै आफ्ना देशवासीलाई ‘मुसलमान वा कश्मिरीहरू’ खिलाफ नलाग्न अनुरोध गर्दा उनको हुर्मत लिन हिन्दुत्ववादीहरूको ‘गेरू दस्ता’ नै स्वचालित भएको थियो । छुट्टी मनाउने पर्यटक केही कालसम्म कश्मीर जाने आँट जुटाउन सक्ने छैनन् ।
जनसंख्याको अनुपातमा संसारमा सबभन्दा धेरै सुरक्षा बल परिचालित गरेको भए तापनि कश्मीरमा नयाँदिल्लीले शान्ति कायम राख्न नसकेको कुरा पुनः प्रमाणित भएको छ । पाकिस्तानी सेनालाई आफ्नो पुरानो ‘हजार घाउ दिएर भारतको रक्तस्राव गराउने’ सैन्य सिद्धान्तमा फर्किन कठिन हुनेछ । तर हालसालै लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) असद दुर्रानीले ‘द फ्राइडे टाइम्स’ मा अपरम्परागत योद्धाहरूको परिचालन अपेक्षाकृत कमजोर देशहरूको प्रारम्भिक आयुध (वेपन अफ फर्स्ट रिजोर्ट) हुने कुरा उठाएका छन् ।
लेफ्टिनेन्ट जनरल दुर्रानी अवकाशप्राप्त अधिकारी भए पनि उनको तर्कलाई हल्का रूपमा लिन किन मिल्दैन भने, उनी पाकिस्तानको दुर्बोध इन्टर सर्भिसिज इन्टेलिजन्स (आईएसआई) संस्थाका साथै सैन्य गुप्तचर सेवाको महानिर्देशक भएर काम गरिसकेका छन् । उनको दृष्टिकोणलाई इस्लामाबाद संस्थापनको प्रतिनिधि सोच पनि मान्न सकिन्छ ।
अपरम्परागत संघर्षहरूमा कारबाही पहिले हुन्छ, प्रमाण पछि जुटाइन्छ । पहलगाम हमलामा संलग्न आतंककारीहरूको पहिचानसम्म खुल्न सकेको छैन्, तिनको अपराध साबित हुनु त परको कुरा भयो । आन्तरिक दबाबले गर्दा ‘केही गरेर देखाउन’ नयाँदिल्ली बाध्य थियो । टेलिभिजन स्क्रिनमा ‘लस्करे नोयडा’ भनिने ‘गोदी मिडिया’ का जोकरहरूले काल्पनिक युद्ध लडिरहेका भए तापनि दुई परमाणु अस्त्रहरूले लैस कट्टरपन्थी सत्ताहरूबीचको अनियन्त्रित संघर्ष प्रलयकारी ठहरिन सक्छ भन्ने कुरा अन्तर्राष्ट्रिय शक्तिहरूले बुझेका थिए । असहज संघर्ष स्थगन (सिजफायर) गराउन सफल रहेको यश लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हतारिएका भए तापनि पाकिस्तान–भारत सैनिक भिडन्तका चार दिन
(७ देखि १० मे, २०२५) भित्र लगभग सबै भूराजनीतिक शक्तिराष्ट्रका रणनीतिकारहरू चलायमान भएका थिए । युक्रेनसँग लडिरहेको रुस नयाँदिल्लीलाई बढीमा नैतिक समर्थनबाहेक खासै केही दिन सक्ने अवस्थामा छैन् । आयुध निर्यातमा बेइजिङ नयाँ खेलाडी भएर उदाएको सत्य हो । चीन र पाकिस्तानको ‘फलामे मैत्री’ पनि आफ्नो ठाउँमा होला । तर भारत र पाकिस्तानबीचको सघन संघर्षले उद्विकासी शीतयुद्धमा बेइजिङको सामरिक हित प्रवर्द्धन गर्न मद्दत पुर्याउँदैन । युरोपेलीहरू युक्रेन मुद्दामा नयाँदिल्लीको तटस्थतासँग सन्तुष्ट छैनन् । पश्चिम एसियाका इस्लामिक राष्ट्रहरूलाई इजरायलका जायनिस्ट एवं भारतका हिन्दुत्ववादीहरूको सहकार्यले असहज बनाउनु अस्वाभाविक होइन । सार्वजनिक खपतका लागि जे भनिए पनि संघर्षको मैदानमा अहिले पनि दक्षिण एसियाका दुई परमाणु अस्त्र भएका जुम्ल्याहा राष्ट्रहरू आमुन्नेसामुन्ने एक्लाएक्लै खडा छन् ।
इस्लामाबाद र नयाँदिल्ली विद्यमान भिडन्तमा आ–आफ्नै धरमर खुट्टामा उभिएकाले लाज छोप्न अमेरिकालाई देखाएर हाललाई संघर्ष स्थगन गर्ने निर्णयमा पुग्न बाध्य भएको हुनुपर्दछ । भूराजनीतिक अन्तर्राष्ट्रिय शक्तिहरू कश्मीर मुद्दाबाट सँधै भागिराख्न सक्ने छैनन् । झन्डै आठ दशकको निरन्तर अनिश्चितता, सतत निगरानी एवं दर्जनौं साना–ठूला झडप, भिडन्त र संघर्षपछि एउटा कुरा के स्पष्ट भएको छ भने, कश्मीर मुद्दाको सैन्य निरुपण सम्भव छैन । सबभन्दा निराशाजनक अवस्था के हो भने आफ्नो वर्तमान वा भविष्य निर्णय गर्ने अधिकारबाट फेरि पनि कश्मिरीहरूलाई वञ्चित गरिएको छ । राष्ट्रपति ट्रम्पको सार्वजनिक सम्बोधनमा भारत–पाकिस्तानसँगै कश्मीरको चिन्ता प्रकट भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने आतंकवादविरुद्ध ‘जवाफी कारबाही’ गरिने धमास दिन सधैंजस्तै अहिले पनि छाडेनन् । कश्मीरमाथि पाकिस्तानको दाबी पनि कायम छ । सामान्य कश्मिरीहरूको चासो र चिन्ताबारे कसैलाई खासै मतलब रहेको देखिएन ।
स्वतन्त्र कश्मीरका लागि लडिरहेका सशस्त्र समूह, पाकिस्तानका अपरम्परागत योद्धाहरूको जमात र भारतीय सुरक्षा बलका जवानहरूबीचको त्रिकोणीय संघर्षमा च्यापिएका कश्मिरीहरूको कथा–व्यथालाई अंग्रेजी भाषामा कश्मिरी–अमेरिकी कवि आगा साहिद अली (सन् १९४९–२००१) जत्तिको शक्तिशाली तवरले सायदै कसैले व्यक्त गर्न सक्ने होलान् । साहिद अलि द्रवित हुँदै ‘ए कन्ट्री विदाउट अ पोस्ट अफिस’ कवितामार्फत आँसु बगाउँछन्– ‘श्रीनगर जंगली बिरालोजस्तै कुप्रिएको छः / एक्ला पहरेदारहरू, सहरका पुलहरूको बंकरमा दयनीय / मैदानी इलाकाका आफ्ना घरबाट टाढा, मार्ने अनुमति प्राप्त / झेलम तिनीहरूको मुनि बग्छ, कहिलेकाहीं टुक्रा–टुक्रा लास बगाउँदै / त्यहाँ ‘जिरो ब्रिज’ माथि जिपहरू बेपत्ता कुद्छन् / मैनबत्तीहरू यात्रीहरूको रूपमा निभ्छन् / मखमली शून्यतालाई उज्यालो पार्न असमर्थ / दिव्य शब्द के हो ? मन्डेलस्टमले कुनै संकेत दिँदैनन् / एक दिन कश्मिरीहरूले पहिलो पटक त्यो शब्द साँच्चै उच्चारण गर्नेछन् ।’
मार्मिक कविताको अनुवाद ओइलाउँदो गुलाफको चित्र कोरेको जस्तो हुन जाने रहेछ, जत्ति नै प्रयत्न गरे पनि रंगका गाढादेखि फिक्कासम्मका सूक्ष्म अन्तर पनि समात्न सकिँदैन, मर्दै गरेको महकको आभास दिनु त परको कुरा भयो । शक्तिशाली कवितांशको व्याख्या झनै कठिन कर्म हो । हुरीबतासको वेगलाई पुनःरचना कसरी सम्भव होला र π मन्डेलस्टमले संकेत दिन नसकेको तर ‘एक दिन कश्मिरीहरूले पहिलो पटक’ साँच्चै उच्चारण गर्ने ‘दिव्य शब्द’ के होला ? ओसिप मन्डेलस्टम (१८९१–१९३८) क्रेमलिन सत्ताका विरोधी र साइबेरियन शिविरतिर लग्दै गरिँदा हिउँमा नांगै उभ्याइएकाले बाटैमा ज्यान गुमाएका सोभियत–रसियाली कवि थिए । उनको पहिलो कविताको शीर्षक ‘ढुङ्गा’ थियो र उनले आफ्नो अन्तिम कविताको शीर्षक पनि त्यही हुने बताएका थिए ।
अवस्थितिको अभिश्राप
भूगोलले प्रारब्ध र इतिहासले प्रवृत्ति निश्चित गर्ने रहेछ । हिमालय पर्वत शृंखलाभन्दा केही तल अस्थायी रूपले जमेका अजंगका दहहरू हिमयुगसम्म आइपुग्दा पुरिँदै गएका थिए । त्यस्ता तालहरूमध्ये अण्डाकार कश्मीर असाध्यै ठूलो थियो । मिथकअनुसार देव, असुर, नाग, मानव आदि सम्पूर्ण जीवका पिता कश्यप ऋषिले तपोबलद्वारा तालको अधिकांश भाग रित्याएपछि त्यहाँ बसोबास सुरु भयो ।
भूगर्भशास्त्रीहरू भने जमेको पानीको चामत्कारिक निष्कासनभन्दा पनि प्राकृतिक बदलाव एवं क्रमिक बहाबको अनुमानलाई बढी महत्त्व दिन्छन् । प्रसंगवस, नागदहको पानी चोभारबाट बाहिर पठाउन महाचीनबाट आएका मञ्जुश्रीको खड्ग वा द्वारकाधीश भगवान् कृष्णको सुदर्शन चक्रमध्ये जुन प्रयोग भएको भए पनि नेपाल उपत्यका रातारात गुलजार भएको होइन । तालको जलस्तर घट्दै गएपछि बस्ती सुस्तरी चारैतिरको डाँडाबाट उपत्यकाको सतहसम्म पुग्दा सैकडौं वर्ष लागेको हुन सक्छ । कालान्तरमा काठमाडौं उपत्यका नामकरण गरिएको नेपाल उपत्यकाभन्दा कश्मीर घाँटी ठूलो छ, त्यहाँ भएर बग्ने नदीहरू बढी वेगवान् छन्, ताल गहिरा छन्, बगैंचा सुन्दर छन्, समशीतोष्ण हावापानी सुखद छ र जाडोको हल्का हिमपातले परिदृश्यलाई आकर्षक तुल्याउँछ । कश्मीरको सौन्दर्य त्यस घाँटीका लागि दैवी आशीर्वाद र दानवीय अभिशाप दुवै ठहरिएको छ ।
भारतीय उपमहाद्वीपभित्र इस्लामी शासनको प्रारम्भिक कालखण्डका सुफी चिन्तक, कवि, लेखक एवं गायकीका मर्मज्ञ हजरत अमीर खुसरो (सन् १२५३–१३२५) तत्कालीन दरबारिया भाषा फारसीका ज्ञाता थिए । इस्लाम धर्मावलम्बी भएकाले अरबी जानेका थिए । यमुना र गंगा नदीको मैदानी इलाकामा चलेका खरी बोली र ब्रजजस्ता स्थानीय भाषाहरूमा पोख्त थिए । बोलीचालीको मिश्रित हिन्दी भाषामा पद्यात्मक सिर्जना गरेकाले उनलाई हिन्दीका पहिलो कविका साथै ‘तोता–ए–हिन्द’ अर्थात् भारतका सामान्यजनको गीतमय आवाज पनि भनिएको हो । उनका दोहा, कव्वाली र गजलहरूमा गहिरो चिन्तनसँगै झर्रो शैलीको रस पनि सहजै भेट्टाउन सकिन्छ । साहित्यिक इतिहासका शोधकर्ताहरूका अनुसार उनको प्रसिद्ध फारसी पंक्ति ‘अगर फिरदौस बर–रू–ए–जमी अस्त / हमी अस्त ओ हमी अस्त ओ हमी अस्त (यदि पृथ्वीमा स्वर्ग छ भने, यो यही हो, यो यही हो, यो यही हो) सायद दिल्लीको कुनै शाही बगैंचाको वर्णन गर्न लेखिएको हुनुपर्छ ।
त्यस उद्धरणलाई प्रसिद्ध बनाउने श्रेय भने मुगल सम्राट् जहाँगिरलाई दिइने गरिन्छ । सम्राट् जहाँगिरले हिमाच्छादित पहाड, हरिया डाँडा, शान्त ताल र रमणीय उपत्यकाको अप्रतिम सौन्दर्यबाट अभिभूत भएर दिएको उद्गारको कोपबाट कश्मीर अद्यापि मुक्त हुन सकेको छैन । पृथ्वीमा यदि स्वर्ग छ भने त्यस्तो भूभागको नियन्त्रणका लागि प्रतियोगी दाबेदारहरूले निरन्तर संघर्ष गर्नु अनौठो पनि होइन ।
सन् ११४७ देखि ११४९ बीच कल्हणद्वारा रचित संस्कृत भाषाको ‘राजतरंगिणी’ ग्रन्थलाई भारतीय उपमहाद्वीपका मिथक र गाथा कथनबाट प्रामाणिक इतिहास लेखन चरणमा प्रवेश गराएको रचना मानिन्छ । पारम्परिक अनुश्रुति सँगसँगै उपलब्ध स्रोतहरूलाई आधार बनाउँदै ‘काश्मीर मण्डल’ को उत्पत्तिलाई उनी झन्डै ३००० वर्ष अगाडिबाट सुरु गरेर भारतमा इस्लामको प्रभाव विस्तारसम्म ल्याइपुर्याउँछन् । अफगान, सिन्धु घाँटी, मध्य एसिया, चिनियाँ सम्राज्य एवं गंगा मैदानको संगमस्थलमा रहेको कश्मीरमा वैदिक, बौद्ध, शैव, शाक्त एवं तन्त्र सँगसँगै इस्लाम र इसाई धर्महरूको अन्तरघुलनमार्फत बन्न गएको ‘कश्मिरियत’ लगभग सन् १३४० सम्म कायम रहन्छ ।
त्यसपछि झन्डै ५०० वर्षसम्म शासन गरेका मीर राजवंश, मुगल सम्राज्य एवं अफगान दुर्रानीहरूले भने आ–आफ्नै आस्था थोपर्दा कश्मिरियत कमजोर हुँदै गयो । शिख सम्राट् रणजित सिंहले अफगानहरूलाई परास्त गरेर कश्मीरको शासन आफ्ना बफादार डोगरा लडाकालाई सुम्पिदिए । शिख सम्राज्यविरुद्धको युद्धमा जम्मुका राजा गुलाब सिंहले अंग्रेजहरूको मद्दत गरेकाले सन् १८४६ मा इस्ट इन्डिया कम्पनीले कश्मीर सँगसँगै यसको वरपरका लद्दाख र बाल्टिस्तानसमेत भूक्षेत्र ७५ लाख रुपैयाँमा उनलाई बेचेको थियो ।
डोगरा राजाहरू सन् १८४६ मा महाराजा त भए, तर त्यसपछि गहिरिँदै गएको कश्मिरीका दुःखहरू अद्यापि घट्न सकेका छैनन् । भनिन्छ, आफ्नो लगानी उठाउन डोगरा राजवंशले कर उठाउने लागत पनि रैतीसँग नै असुलउपर गर्नका लागि थप कर लगाउने गर्दथ्यो । नेपालमा पनि सन् १८४६ मै जंगबहादुर कुँवरले कोतपर्वमार्फत सत्ता हत्याएपछि सबभन्दा पहिले इस्ट इन्डिया कम्पनीकै अनुमोदन पाउन मरिहत्ते गरेका थिए । शाह–राणा परिवार बिहाबारीमार्फत एकाकार भएर नेपालीहरूमाथि झन्डै १६० वर्षसम्म मनलागी गरेको त्यसपछि नै हो । व्यक्तिगत कुराकानीमा बिदेसिएका कश्मिरीहरू उच्छवास लिन्छन्— ‘सन् १९४७ मा हामीलाई पनि बेलायतले नेपाल वा कम्तीमा भुटानजस्तै बनाएर छाडेका भए’ इतिहास भने कहिलेकाहीँ चाहनाबाट निर्देशित भए पनि धेरैजसो परिस्थितिजन्य बाध्यताबाट कोरिएका गोरेटामै हिँड्ने रहेछ ।
भूराजनीतिक अखडा
भारतीय सभ्यता जत्तिसुकै पुरानो भए पनि र, स्वतन्त्र भारतले ब्रिटिस इन्डियाको उत्तराधिकारी राज्य भएको व्यवहार देखाए पनि यथार्थ के हो भने, दक्षिण एसियाली जुम्ल्याहाहरूमध्ये पाकिस्तान एक दिनले जेठो छ । ब्रिटिस इन्डियाका अन्तिम भाइसराय लर्ड लुइस माउन्टबेटनले अगस्ट १४ मै औपचारिक रूपमा पाकिस्तानका संस्थापक कायद–ए–आजम मुहम्मद अली जिन्नालाई कराँचीमा सत्ता हस्तान्तरण गरेका थिए भने त्यस्तै समारोह नयाँदिल्लीमा भने अगस्ट १५ मा मात्रै सम्पन्न भएको थियो । बेलायतको सर्वोच्चता स्वीकार गरेर आन्तरिक स्वाधीनता अभ्यास गरिरहेका रजौटाहरूमध्ये भारत वा पाकिस्तानभित्र स्वेच्छा वा जनदबाबले गर्दा विलय हुन चाहनेहरूको संख्या ठूलो थियो ।
अवाम (आमजनता) हिन्दु तर निजाम मुसलमान रहेको हैदराबाद स्वतन्त्र रहन चाहन्थ्यो । स्वतन्त्र भारतको मुटुमा अवस्थित रहेकाले त्यो कुरा नयाँदिल्लीलाई स्वीकार्य हुने सम्भावना थिएन । रैयत हिन्दु भएका जुनागढका मुसलमान नबाब पाकिस्तानसँग जोडिन इच्छुक थिए । जनदबाबले गर्दा त्यो पनि सम्भव भएन । रैती मुसलमान तर राजा हिन्दु भएका कश्मीरका डोगरा राजका दरबारियाहरूलाई भने पश्चिमाले महाराज हरि सिंहको श्रीपेच र सिंहासन जोगाइदिने ठूलो आस थियो । स्वशासनका लागि जनान्दोलन गरिरहेको नेसनल कन्फरेन्सको १९४४ को नयाँ कश्मीर घोषणापत्रमा पनि धार्मिक स्वतन्त्रताको रक्षा, निजी सम्पत्तिको अधिकार र संवैधानिक राजतन्त्रको प्रस्ताव गरिएकै थियो ।
मुहम्मद अलि जिन्ना भने कश्मीर छाडेर पाकिस्तानको जलप्रवाह सुनिश्चितताका लागि स्वतन्त्र कश्मीर वा ‘हिन्दु भारत’ मा भर पर्न तयार थिएनन् । सन् १९४७ पछि आजाद कश्मीरका मुसलमानहरूको ‘रक्षाका लागि’ भनेर पठाइएका मुजाहिद्दिन, जनजाति, फरिदी, पठान र पेसावरी कबाली लडाकाहरूले मच्चाएको लुटपाटबाट आत्तिएका महाराज हरि सिंहले सर्तसहित भारतसँग दाखिलाको दस्ताबेज (इन्स्ट्रमन्ट अफ अक्सेसन) स्वीकार गरेर दस्तखत गरे, भारतीय सेना कश्मीरभित्र प्रवेश गर्यो र त्यसपछि सुरक्षा बलको उपस्थिति र नियन्त्रण निरन्तर बढ्दै गएको छ । सन् १९४७ को भारत–पाकिस्तान झडपले स्थापित गरेको कश्मीरको नियन्त्रण रेखा कमोवेश अनौपचारिक अन्तर्राष्ट्रिय सिमानाजस्तो भएर अद्यापि कायम छ ।
सन् २०१९मा भारत सरकारले राष्ट्रपतिको आदेशबाट जम्मु–कश्मीरलाई विशेष दर्जा दिएको प्रावधान सम्मिलित संविधानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ खारेज गरेपछि महाराज हरि सिंहसँग सन् १९४७ मा गरिएको बन्दोबस्त पूर्णतः प्रभावहीन भएको छ । सशस्त्र झडपहरूले कश्मीर मुद्दा सुल्झाउन मद्दत गर्दैन भन्ने कुरा सारा संसारलाई जस्तै भारत र पाकिस्तानका सामान्यजनलाई पनि थाहा नभएको होइन । तर युद्धोन्माद फैलाएपछि त्यसलाई समेट्ने नैतिक साहस भएको नेतृत्व नयाँदिल्ली वा इस्लामाबादमध्ये अद्यापि कतै देखिएको छैन । अफगानिस्तान, भारत, पाकिस्तान र अक्सर चीनको ‘नजर लागेका’ कश्मिरीहरू झन्डै आठ दशक लामो युद्धभूमिमा बाँच्न अभिशप्त छन् ।
