हिमालको मुद्दा कसरी बनाउने साझा ? 

सगरमाथा संवाद संसारका हिमाली र समुद्र तटीय देशलाई एक ठाउँमा ल्याएर हिमालको मुद्दा दस्ताबेजीकरण गर्ने दिशातर्फ अग्रसर हुनुपर्छ 

वैशाख ३१, २०८२

मुकेश पोखरेल, सम्झना वाग्ले भट्टराई

How to make the mountain issue common?

हरितगृह ग्यासको उत्सर्जन र त्यसका कारण पृथ्वीको तापक्रममा भएको वृद्धिको असर जलवायुमा देखिएको छ । जलवायु परिवर्तनको असरका कारण नेपालजस्ता हिमाली मुलुक बढी प्रभावित छन् । नेपालले केही वर्षयता जलवायु परिवर्तनका कारण हिमाली देशहरूले भोग्नुपरेका समस्याको विषयमा विश्वको ध्यानाकर्षण गर्न विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

सन् २००९ मा कालापत्थरमा भएको मन्त्रिपरिषद्को बैठक, कोपनहेगनमा गरिएका र्‍याली, गत वर्ष आयोजना गरिएको छलफल तथा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका दौरानमा सरकारका तर्फबाट आयोजना गरिने विभिन्न ‘डायलग’ त्यसकै निरन्तरता हुन् । त्यही निरन्तरता स्वरूप नेपालले ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलो पटक गर्न लागेको सगरमाथा संवादको आयोजना गर्दै छ । 

जलवायु परिवर्तनका कारण हिमाली देशमा परेको प्रभाव र त्यहाँका जनताले भोग्नुपरेका समस्याका विषयलाई लिएर नेपालका तर्फबाट आयोजना गरिएका कार्यक्रम तथा सम्मेलनलाई सकारात्मक रूपमा लिनुपर्छ । यस्ता छलफलहरूले यस क्षेत्रमा लागेका अनुसन्धानकर्ता, विज्ञ तथा अभियानकर्तामार्फत जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई उजागर र व्यापक बनाएको छ । 

हिमालमा पर्ने असरले हिमाली देशहरूलाई त जोखिममा पार्छ नै, सँगसँगै तल्लो तटीय क्षेत्रमा पनि असर गर्छ । त्यसैले यो विषय हिमाल र समुद्र तटीय मुद्दाहरूलाई जोडेर आउनु राम्रो पक्ष हो । तर संयुक्त राष्ट्रसंघीय मञ्चमा जलवायु परिवर्तनका मुद्दाहरूमा हिमालको मुद्दा जति व्यापक र गहन छलफल हुनुपर्ने हो, त्यति हुन सकेको छैन । हिमालको भन्दा समुद्र तटीय देशहरूको मुद्दा बलियो छ । त्यसैले हिमालको मुद्दालाई अझ सशक्त बनाउन बनाउन अरू देशहरूको पनि ऐक्यबद्धता चाहिन्छ ।

हिमालको मुद्दा कमजोर हुनुको कारण हिमाली देशहरू एक भएर अघि बढ्न नसक्नु पनि हो । कमसेकम नेपालले आयोजना गर्ने सगरमाथा संवादले हिमालको परिभाषालाई बलियो बनाउन सक्नुपर्छ र हिमाल भएका देशहरूको यो साझा मुद्दा बन्न सक्नुपर्छ । एसिया र मध्य एसियामा हिमाल तथा पहाडी भू–भाग भएको देशको सूचीमा नेपाल, भुटान, भारत, पाकिस्तान, चीन, मंगोलिया, अफगानस्तान, काजकिस्तान, ताजकिस्तान, किर्गिस्तान आदि पर्छन् । टर्की, नेर्वे, स्विजरल्यान्ड, इटाली, पेरु, मेक्सिकोलगायतका देशहरू पनि हिमाली देशकै सूचीमा पर्छन् । विडम्बना नेपालले हिमालको मुद्दा उठाउँदा भारत र चीनजस्ता छिमेकी देशहरूले अहिलेसम्म यो मुद्दा बोकेका छैनन् । हिमाल त भारत र चीनमा पनि छ । त्यसकारण पनि हिमालको विषयलाई हिमालसँग जोडिएका देशहरूको पनि मुद्दा बनाउन सकियो भने पक्कै पनि सगरमाथा संवादको सार्थकता बढ्नेछ । 

कूटनीतिक माध्यमबाट नेपालले त्यसको नेतृत्व गरेर कम्तीमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धि (यूएनएफसीसीसी) को दस्ताबेजमा हिमालको मुद्दा उल्लेख गराउने दिशातर्फ अग्रसर हुनेतर्फ नेपालको पहल जारी राख्नुपर्छ । नेपाल अहिले सुरुवाती चरणमा छ । स्वार्थ मिल्ने देशहरूलाई एकीकृत गरेर अघि बढ्ने अवसर नेपालसामु छ । 

हिमाली र तटीय देशको मुद्दा 

हिमाल पग्लिँदा त्यसको असर समुद्र तटमा रहेका देशहरूमा पनि पर्छ । त्यसैले हिमालको मुद्दा समुद्र तटीय देशहरूको पनि समस्या हो । हिमालको मुद्दामा समुद्र तटीय देशहरूलाई पनि सँगै लैजानु आवश्यक छ । विश्वव्यापी रूपमा हिमनदी पग्लिँदा विगत दुई दशकमा समुद्र सतहमा करिब २१ प्रतिशत वृद्धि भएको छ । इन्टरगभर्मेन्ट प्यानल अन क्लाइमेट चेन्ज ‘आईपीसीसी’ का अनुसार अन्टार्टिका र ग्रिनल्यान्डमा हिमनदी पग्लिएका कारण समुद्र सतह बढिरहेको छ ।

‘स्पेसल रिर्पोट अन, दी ओसियन क्रायोस्फियर’ सम्बन्धी विषेश रिपोर्टमा उल्लेख भएअनुसार जलवायु परिवर्तनका कारण समुद्र सतह वृद्धि भइरहेको छ । पग्लिएको बरफले समुद्र सतहको वृद्धि गर्न प्रमुख योगदान गरेको छ । ‘वर्ल्ड ग्लेसियर मोनिटरिङ’ सर्भिसका अनुसार सन् २००६ देखि २०१६ सम्म ग्लेसियरहरूबाट वार्षिक रूपमा ३३५ अर्ब टन बरफ हराएको छ । जसले समुद्रको सतहलाई लगभग १ मिलिमिटर प्रतिवर्ष बढाएको छ । 

विश्वको जमिनको कुल क्षेत्रफलको १० प्रतिशत हिमनदीले ओगटेको र कुल शुद्ध पानीमध्ये ७० प्रतिशत पानी हिमनदीले भण्डारण गर्ने तथ्यांक छ । नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरूको पग्लिने प्रक्रिया पनि तीव्र छ । जसले गर्दा समुद्र सतह वृद्धिमा योगदान पुर्‍याइरहेको छ । यद्यपि ग्रिनल्यान्ड र अन्टार्कटिकाको तुलनामा यसको योगदान सानो छ । तर, त्यसले स्थानीय तथा क्षेत्रीय रूपमा पार्ने प्रभावचाहिँ ठूलो छ ।

सन् २०११ देखि २०२० सम्म हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरू अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत छिटो पग्लिएका छन् । हिन्दुकुश हिमालय क्षेत्र विश्वको सवैभन्दा ठूलो हिमाली प्रणालीमध्ये एक हो । नेपालको सन्दर्भमा मात्र कुरा गर्दा यहाँका हिमनदीहरू वार्षिक १०–१५ मिटरको दरले पग्लिरहेका छन् । आठवटा देशमा फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा हिउँदमा ९ लाख ५१ हजारदेखि १३ लाख ९० हजार वर्गकिलोमिटर र गर्मीयाममा ३ लाख ८८ हजार देखि ४ लाख ८१ हजार वर्ग किलोमिटर क्षेत्रसम्म हिउँले ढाकेको हुन्छ । 

तापक्रम वृद्धिका कारण नेपालमा पनि हिमनदी हराउने दिशातर्फ अग्रसर छन् । त्यसको एउटा उदाहरण हो, रसुवा जिल्लामा रहेको ‘याला’ हिमनदी । तापक्रम वृद्धिको असर स्वरूप यो हिमनदी अबको १५ वर्षपछि पूर्णरूपमा हराउने विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन् । सन् १९७० मा पहिलो पटक मापन गरिएदेखि अहिलेसम्म यो हिमनदी ६६ प्रतिशतले संकुचन भएको छ ।

विश्वभरबाट हिमनदीहरू हराइरहेको सन्दर्भमा नेपालबाट हराउने हिमनदीमध्ये पहिलो हुने अनुमान गरिएको छ । ‘याला हिमनदी सम्पूर्ण हिमालय क्षेत्रमा ‘ग्लोबल ग्लेसियर क्याजुअल्टी’ सूचीमा सूचीकृतमध्येको हिमनदी हो । यस्तो सूची सार्वजनिक गर्ने काम सन् २०२४ मा राइस विश्वविद्यालय, आइसल्यान्ड विश्वविद्यालय, ग्लेसियोलोजिकल सोसाइटी, विश्व मौसम संगठन, हिमनदी निगरानी सेवा र युनेस्कोको सहयोगमा सुरु गरिएको छ । 

नेपालको यालासहित ‘ग्लोबल ग्लेसियर क्याजुअल्टी’ लिस्टमा विश्वभरका १५ वटा हिमनदी सूचीकृत गरिएको छ । त्यसमध्ये केही नदीहरू पहिल्य नै हराइसकेका छन् । भेनेजुएलाको पिको हुम्बोल्ट हिमनदी सन् २०२४ र फ्रान्सको सारेन हिमनदी २०२३ मा हराएका थिए । चीनको डागु हिमनदीलाई पनि संकटग्रस्त सूचीमा राखिएको छ । उक्त हिमनदी सन् २०३० मा हराइसक्ने अनुमान छ । विगत केही दशकमा चिनियाँ हिमनदीहरू १२ हजार ४४२ वर्ग किलोमिटरले हराएका छन् । यो चीनमा रहेका हिमनदीमध्येको २०.६ प्रतिशत हो । 

यस क्षेत्रका हिमाल र नदीहरूमा करोडौं मानिसहरूको जीवन निर्भर छ । इसिमोडको रिपोर्टअनुसार हिन्दुकुश हिमालय क्षेत्रका पहाडी तथा हिमाली भू–भागमा २४ करोड मानिसहरूको बसोबास छ । हिन्दुकुश हिमालयबाट उत्पत्ति भएका नदी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसको संख्या १ अर्ब ६५ करोड छ । हिन्दुकुश हिमालय क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब २ अर्ब मानिसलाई सेवा दिएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२३ मा गरेको एक अध्ययन प्रतिवेदनअनुसार जलवायु परिवर्तनका कारण सन् २०५० सम्ममा थप १५ करोड ८३ लाख महिला तथा बालिकाहरू गरिबीको रेखामुनि पुग्नेछन् । जलवायु परिवर्तनका कारण दक्षिण एसियाका ६० करोड बालबालिका बाढी तथा खडेरीका जोखिममा पर्ने अनुमान गरिएको छ । त्यस्तै, जलवायु परिवर्तनका कारण नेपालको कुल जनसंख्याको ५.५ प्रतिशत जनसंख्या चर्को खाद्य जोखिममा परेका तथ्य सन् २०२२ मा राष्ट्रिय योजना आयोगले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

आईपीसीसीको प्रतिवेदनले सन् २१०० सम्म समुद्र तटीय क्षेत्रमा बाढीको जोखिम अहिले भन्दा २ देखि ३ गुणाले बढ्ने देखाएको छ । त्यसबेला समुद्र तटीय देशको अस्तित्व नै संकटमा पर्नेछ । त्यसबाट करिब ७ करोड मानिसको जीवन जोखिममा पर्ने अनुमान छ । समुद्र सतहको वृद्धिले तटीय क्षेत्रहरूमा स्थायी डुबानको खतरा बढाउने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको प्रतिवेदनमा उल्लेख छ । सन् २१०० सम्ममा समुद्र सतहको वृद्धिले १ लाख ६० हजार वर्गकिलोमिटर तटीय भूमि डुबानमा पर्ने उक्त प्रतिवेदनमा उल्लेख छ । यो भनेको बंगलादेशको क्षेत्रफलभन्दा ठूलो हो ।

हिमाल र उत्तरी ध्रुवमा हिउँ पग्लिँदा समुद्र तटीय देशहरू पनि जोखिममा पर्ने भएकाले हिमालको मुद्दामा समुद्र तटका देशहरूलाई पनि सँगै लैजान सक्ने हो भने हिमाली देशको मुद्दा बलियो बन्न सक्छ । नेपालले आयोजना गरेको सगरमाथा संवादले हिमालको मुद्दालाई स्थापित गर्न टापु देशहरूलाई सँगै लैजाने वातावरणको निर्माण गर्ने दिशातर्फ अग्रसर हुनुपर्छ ।

मुकेश

सम्झना काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्ने समाजशास्त्री भट्टराई लैङ्गिक तथा सामाजिक समावेशिता विषयको अध्येता हुन ।

Link copied successfully