मन्त्रिपरिषद्‍मा ५० प्रतिशत महिला राखेर अस्ट्रेलियाले दिएको सन्देश

वैशाख ३१, २०८२

सम्पादकीय

Australia's message by having 50 percent women in the cabinet

नेपालभन्दा झन्डै आठ हजार किलोमिटर परको देश अस्ट्रेलियाबाट अनुकरणनीय खबर आएको छ । माथिल्लो सदन सिनेटमा ५६.६ प्रतिशत महिला प्रतिनिधित्व रहिरहेकै पृष्ठभूमिमा तल्लो सदन प्रतिनिधिसभामा पनि महिला उपस्थिति उल्लेखनीय हुने भएको छ ।

एक सय ५० सिटका लागि भएको निर्वाचनमा अहिलेसम्म १४६ सिटको नतिजा आएको छ, जसमा ६६ सिटमा महिला विजयी भएका छन् । तसर्थ प्रतिनिधिसभामा पनि कम्तीमा पनि ४४ प्रतिशत महिला प्रतिनिधित्व हुने निश्चित छ । अझ, नवगठित २२ सदस्यीय मन्त्रिपरिषद्मा ११ जना महिलाले भूमिका पाएका छन् । यसरी लैंगिक समानतायुक्त प्रगतिशील मुद्दा बोक्ने लेबर पार्टीले इतिहासमै सबैभन्दा बढी उम्मेदवार जिताएको छ । रोचक के छ भने, उसले ९३ ठाउँमा जित हासिल गरिसक्दा ४९ जना महिलाले नै जितेका छन् । संसद्मा उपस्थिति मात्रै होइन, परराष्ट्र तथा अर्थ जस्ता विश्वभर महत्त्वपूर्ण ठानिने मन्त्रालयको जिम्मेवारी महिलाले पाएका छन् । 

नेपालमा पनि २०६२/६३ को जनआन्दोलनपछि राज्य पुनःसंरचनाको माग अग्रगामी बहस र आम एजेन्डा बनेको थियो । त्यसअन्तर्गत समावेशिताका मुद्दा थियो, जसले संसद्मा कम्तीमा एक तिहाइ महिला उपस्थिति प्रत्याभूत गर्छ । यही कारण २०६३ मा गठित अन्तरिम व्यवस्थापिका, दुवै संविधानसभा, २०७४ यताका संघीय संसद्मा समेत एक तिहाइ हाराहारी महिलाको प्रतिनिधित्व हुन सम्भव भएको हो ।

जनप्रतिनिधित्वमा मात्रै होइन, राज्यका सबै निकायमा हुने पदपूर्तिमा महिला आरक्षण छ । यस्तो नीतिले लैंगिक रूपमा राज्यलाई समावेशी बनाउँदै लगेको छ । राष्ट्रपति, प्रधानन्यायाधीश वा सभामुखमा महिला पुगेका पनि छन् । अनेकौं सकारात्मक प्रतिफल प्राप्त भए पनि तुलनात्मक रूपमा अधिकार र जिम्मेवारी बढी रहने कार्यकारी पदमा भने महिलाको उपस्थिति अझै नगण्य छ । राजनीतिक नेतृत्व अझै उदार नभएकाले निर्णय प्रक्रियामा महिलाको उपस्थिति अझै बलियो गरी स्थापित हुन सकेको छैन ।

नीतिगत रूपमा नेपालका सबै राजनीतिक दल लैंगिक मुद्दाप्रति प्रतिबद्ध नै देखिन्छन् । तर व्यवहारमा त्यसको पूर्ण प्रतिबिम्ब स्थापित गर्न सकेका छैनन् । २०७२ मा संविधान जारी भएपछि मुख्य तीन पार्टी कांग्रेस, एमाले र माओवादीले संघीय सरकारको नेतृत्व गरिरहेका छन् । ती पार्टीका सभापति/अध्यक्ष नै प्रधानमन्त्री भएका छन् । तर मन्त्रिपरिषद्मा महिलाको उपस्थिति उत्साहजनक हुन सकेको छैन । भाषण त उनीहरू महिलालाई प्रधानमन्त्री बनाउने गर्छन्, तर त्यो कति सतही हो भन्ने पुष्टि उनीहरूले नै नेतृत्व गरेको मन्त्रिपरिषद्मा महिलाको उपस्थितिले गर्छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा २०७२ मा ३, २०७४ मा ३ र २०७८ मा ४ जना मात्र महिला मन्त्री थिए । अहिले ओलीकै नेतृत्वमा गठित मन्त्रिपरिषद्मा 

२ जना मात्र मन्त्री महिला छन् । त्यस्तै, पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा २०७३ मा ३ जना र २०७९ मा ६ जना महिला मन्त्री बनेका थिए । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा २०७४ मा ३ र २०७८ मा ४ जना महिलाले भूमिका पाएका थिए । यस्तो विवरणले मन्त्री बनाउने सवालमा सबैजसो प्रधानमन्त्री अनुदार रहेको देखिन्छ ।

संसद्मा महिलाको प्रतिनिधित्व सुनिश्चित होस् भनेर अपनाइएको समानुपातिक निर्वाचन प्रणालीको समेत दुरुपयोग हुने गरेको छ । पार्टीका प्रभावशाली नेताका परिवारभित्रका सदस्य, नातेदार वा पैसावाललाई सांसद बनाइएकै कारण समानुपातिक प्रणालीले आलोचना खेप्नुपरेको छ । जस्तो कि, २०६४ र २०७० मा समेत समानुपातिक सभासद भइसकेकी तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा समानुपातिक प्रणालीबाट सांसद बनिन् ।

२०७० मा गठित दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट सभासद बनेकी राज्यलक्ष्मी गोल्छाले पार्टीलाई पटकपटक गरी सात करोड रुपैयाँ बुझाएको सार्वजनिक वक्तव्य नै दिएकी थिइन् । सांसद बनाउने सवालमा मात्रै होइन, पार्टीको नेतृत्व र निर्णायक तहमा महिलाको उपस्थिति कमजोर छ । पार्टीले लिने महत्त्वपूर्ण निर्णयमा महिला नेताको भूमिका देखिँदैन । स्थानीय तहको निर्वाचनमा दलले उम्मेदवारी दिँदा अध्यक्ष/प्रमुख तथा उपाध्यक्ष/उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार हुनुपर्ने प्रावधानलाई गठबन्धनका नाममा उल्लंघन गर्ने अभ्यास संस्थागत गरिएको छ ।

एकातिर हामीले अपनाएको प्रणालीभित्र नै शुद्धीकरण आवश्यक छ । जुन उद्देश्य र लक्षित वर्गका निम्ति जस्ता संवैधानिक र कानुनी प्रबन्ध गरिएको हो, त्यसको दुरुपयोग हुनु हुँदैन । त्यसलाई समृद्ध बनाउने उपाय खोजिनुपर्छ । अर्कोतिर, खासगरी कार्यकारी अधिकार प्रयोग गर्ने र निर्णायक भूमिकाका महिला प्रतिनिधित्व बढाउनुपर्छ । त्यसका लागि राजनीतिक दल र नेताहरूले उदारता देखाउन र जिम्मेवारीबोध गर्न सक्नुपर्छ । महिलाको क्षमताप्रति विश्वास र लैंगिक न्यायप्रति संवेदनशील बन्नुपर्छ । यसका लागि राजनीतिक नेतृत्व जति दृढ हुँदै जान्छन्, सबै निकायमा सकारात्मक परिवर्तन हुँदै जान्छन् ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully