माओवादीको ‘तराई–मधेश जागरण अभियान’ केवल एक राजनीतिक यात्रा नभई उत्पीडित वर्गको आवाज बुलन्द गर्ने र सामाजिक रूपान्तरणको आधार तयार पार्ने ऐतिहासिक पहलकदमी बनेको छ
झापाको कचनकवलबाट गत फागुन १२ गते सुरु भएको हुलाकी मार्गकेन्द्रित ‘तराई–मधेश जागरण अभियान’ कञ्चनपुरको महेन्द्रनगरमा पुगेर समापन भयो । यस अभियानले बहुआयामिक सन्देशहरू दिएको छ माओवादी केन्द्र पार्टीका नेता र कार्यकर्ताहरूलाई जनताले भोगिरहेका वास्तविक अवस्था बुझ्ने, जनताबाट सिक्ने, प्रश्नको उत्तर दिने, सेवामा समर्पित हुने र उनीहरूको सुख–दुःखमा साथ दिने दुर्लभ अवसर प्राप्त भयो ।
पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरको यो यात्रामा जनताका आकांक्षा र पीडालाई गहिराइमा पुगेर बुझ्ने अवसर साँच्चै अद्भुतपूर्व रह्यो ।
सहिद परिवारजनसँगको भेटघाट र छलफलले हामीलाई भावनात्मक रूपमा झनै नजिक बनायो । उनीहरूले आफना वेदना र पीडा पोख्दा हामी पनि द्रवीभूत भयौं । अझ बेपत्ता परिवारका पीडा र वेदना सुन्दा हामीलाई मन थाम्न गाह्रो भयो र हामी सँगसँगै रोयौं । उक्त घडीमा हामीले पार्टीका तर्फबाट सहिद र बेपत्ताका परिवारका लागि गरिएका प्रयासहरू जस्तैः सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्तासम्बन्धी ऐन निर्माण र त्यसमा व्यवस्था गरिएका प्रावधानहरूबारे जानकारी गरायौं । यी कुरा सुन्दा उनीहरूका मुहारमा आशाका किरणहरू देखिन्थे । विशेषगरी सहिद र बेपत्ताका परिवारसँगको छलफलले हामीमा गहिरो भावनात्मक प्रभाव छोड्यो ।
अभियानका दौरानमा साना–ठूला गरी सयौं सभाहरू भए, जहाँ झन्डै एक करोड जनतासँग प्रत्यक्ष भेटघाट, संवाद र अन्तर्क्रिया भयो । यी सभाहरूमा सहभागी जनसमुदायले हाम्रा कुराहरू ध्यानपूर्वक सुनिरहे । कतिपय स्थानमा समय व्यवस्थापनको चापले गर्दा ४–५ घण्टासम्म पनि हामीलाई जनताहरू व्यग्रतापूर्वक पर्खिरहेका हुन्थे । उनीहरूको यो धैर्यताले हामीलाई जिम्मेवारीबोध गरायो । सबै खबरदारी सभाहरू भव्य र आकर्षक रूपमा सम्पन्न भएका थिए । दर्जनौं अन्तर्क्रिया, अन्तरसंवाद, जनसंवाद र विचार गोष्ठीहरू प्रभावकारी रूपमा सम्पन्न भए । प्रायः सबै कार्यक्रममा समसामयिक विषयहरू आर्थिक विकास, शिक्षा, स्वास्थ्य, विकास निर्माण, सामाजिक विभेद, अन्याय, अत्याचार र शोषणबारेमा मार्मिक र तिखा प्रश्नहरू सोधिन्थे । प्रश्न जति तिखा थिए, हामीले ती प्रश्नको जवाफ सरल, स्पष्ट र इमानदार रूपमा दिने प्रत्यन गर्यौं । उनीहरू स्वतन्त्र एवं भरोसायुक्त तवरमा प्रश्नहरू तेर्स्साउँथे । यी संवादहरूको माध्यमबाट पार्टी र जनताबीच एकअर्कालाई बुझ्ने र बुझाउने बलियो आधार बन्यो ।
यसबीच, डोम, दुसाध, मुसहर, चमारलगायतका सीमान्तकृत समुदायको बस्तीमा प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त भयो । तराई–मधेशका दलितमाथि भएको विभेद, अन्याय र अत्याचारका घटनाहरू सुन्दा हामी निकै मर्माहत भयौं । यी संवादले तराई–मधेशमा सामाजिक विभेदले कसरी जरा गाडेको छ भन्ने जीवन्त अनुभूति दिलायो । यो अनुभवले माओवादी पार्टीलाई उत्पीडित वर्गको आवाज बुलन्द गर्ने, सामाजिक न्याय र समानताका लागि अझ दृढतापूर्वक अघि बढ्न प्रेरणा दिएको छ ।
अभियानका दौरानमा हामी हरेक दिन ‘मर्निङ वाक’ मा निस्कन्थ्यौं । ‘मर्निङ वाक’ का क्रममा चोक–चोकमा स्थानीय जनसमुदायको स्वस्फूर्त उपस्थिति र उत्साहपूर्ण स्वागतले हामीलाई थप ऊर्जा प्रदान गर्थ्यो । अभियानमा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट र अन्तर्क्रियालाई विशेष प्राथमिकतामा दिइएको थियो । त्यसो त, पार्टी अध्यक्ष प्रचण्ड सधैंभर सहिद तथा बेपत्ता परिवारको घरमा बास बस्नुभयो, जसले उहाँको सहिदप्रतिको सम्मानभाव झल्काउँथ्यो । हामीले पनि सम्भव भएसम्म सहिद तथा बेपत्ता परिवारकामा नै बस्ने र उनीहरूका दुखःसुख बुझ्ने प्रयास गर्यौं । यी भेटघाटले सहिद र बेपत्ता परिवारको बलिदानप्रति सम्मान व्यक्त गर्नुका साथै उनीहरूका समस्या र अपेक्षा बुझ्ने अवसर प्रदान गर्यो । यसर्थ यो अभियान सहिद र बेपत्ता परिवारसँग पार्टी र पार्टीको नेतृत्वसँग जोड्ने बलियो कडी बन्यो ।
अभियान अघि बढ्दै जाँदा बाटोमा पर्ने सबै स्थानीय सरकारका प्रतिनिधिहरूले स्वागत, अभिनन्दन गरे । विकास निर्माणसम्बन्धी मागपत्र बुझाए । माओवादी पार्टीबाट निर्वाचित भएकाले मात्र होइन, कांग्रेस, एमाले, तराई–मधेशकेन्द्रित दलसहित अन्य पार्टीहरूले पनि पूर्ण भरोसाका साथ हामीलाई स्थानीय सरोकार र समस्यासहितका मागपत्र बुझाएका थिए । यस्तो लाग्थ्यो, मानौं देशको कार्यकारी प्रमुख नै अभियानमा सहभागी हुनुभएको छ ।
अभियानका दौरान प्रहरी प्रशासनले कुशल एवं इमानदारीसाथ समग्र सुरक्षाको व्यवस्थापन गरेका थिए । सुरक्षाको सवालमा कुनै संशय उत्पन्न हुन दिएनन् । बिहान ५ बजेदेखि राति १० बजेसम्म अभियानका विभिन्न गतिविधिहरू निर्बाध र ढुक्कसँग सञ्चालन भए । यसले प्रहरी प्रशासन व्यावसायिक रूपमा निपूर्ण हुँदै गएको अनुभूति दिलायो ।
माओवादी पार्टीको १८ औं केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले पार्टी रूपान्तरण र पुनर्निर्माण गर्ने संकल्प गरेको थियो । उक्त बैठकले निर्मम आत्मसमीक्षासहित उत्पीडित वर्ग, समुदाय, सहिद तथा बेपत्ता परिवारलाई केन्द्रमा राखेर हुलाकी मार्गकेन्द्रित क्षेत्रमा पहिलो चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । विगतमा वर्गलाई उपेक्षा र जनतालाई बेवास्ता भएको स्वीकार गर्दै हामी जनतामाझमा पुगेका थियौं । भनाइ र गराइमा रहेको विरोधाभासलाई अन्त्य गर्दै जनताप्रति आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्यौं । यो आत्मालोचनात्मक अभियानको सफलतासँगै हाम्रो पार्टीप्रति जनतामा विश्वास पुनर्जागृत भएको छ ।
हुन त केही समयको अन्तरालपश्चात् जनताको घरआँगनमा पुग्ने निर्णय गर्दा हामीलाई जनताले कसरी ग्रहण गर्लान् भन्ने खुल्दुली थियो । तर, ‘तराई–मधेश जागरण अभियान’ माओवादी पार्टीलाई जनतासँग जोड्ने बलियो कडी बन्यो । अभियानका क्रममा सबै उत्पीडित वर्ग, जातजाति, जनजाति, भाषाभाषी र सीमान्तकृत जनसमुदायसँगको घुलमिल, छलफल र गहन बहसले पार्टी र जनताबीचको सम्बन्धलाई गुणात्मक रूपमा सुदृढ गरेको छ । यो अभियानले हाम्रो आधारभूत वर्गसँगको सम्बन्धलाई थप मजबुत बनायो ।
उत्पीडित वर्गले बुझेका छन् कि, माओवादी कमजोर हुँदा उनीहरूका मुद्दाहरू पनि कमजोर हुँदा रहेछन् । यो चेतनाले उत्पीडित समुदायमा माओवादीप्रति पुनः विश्वास र भरोसा जागेको छ । अभियानले जनताका आकांक्षा र पीडालाई नजिकबाट बुझ्ने अवसर दियो । यो अभियान केवल एक राजनीतिक यात्रा नभई उत्पीडित वर्गको आवाज बुलन्द गर्ने र सामाजिक रूपान्तरणको आधार तयार पार्ने ऐतिहासिक पहलकदमी बनेको छ ।
‘तराई–मधेश जागरण अभियान’ तीव्र र घनीभूत रूपमा अगाडि बढिरहेका बेला प्रतिगामी शक्तिहरू सल्बलाउन थाले । उनीहरूले जनतालाई भ्रमित पार्न अतिरञ्जित प्रसार सुरु गरे । विडम्बना, दुईदलीय सरकारको कुशासन र व्याप्त भ्रष्टाचारका कारण जनतामा चरम असन्तुष्टि र निराशा व्याप्त भएको परिस्थितिलाई उपयोग गरी परिवर्तनका उपलब्धिहरूलाई उल्टाउने दुष्प्रयास भए । यस चुनौतीको सामना गर्न माओवादी पार्टीको पहलमा
समाजवादी मोर्चाको नेतृत्वले प्रतिगमन र यथास्थितिका विरुद्ध राजधानीकेन्द्रित जनपरिचालन गर्यो । लोकतन्त्रको अभ्यासमा देखिएका सीमा र कमजोरीहरूलाई हटाउँदै गणतन्त्रको सुदृढीकरण गर्न, त्यसका लागि अहिलेको गणतन्त्रलाई समाजवादी विशेषतासहितको गणतन्त्रमा विकास गर्ने दृष्टिकोणलाई आम जनसमुदायमा प्रस्तुत गर्यो ।
विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक समस्या समाधान गर्न अहिलेको गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्न जोड लगाउनुपर्दछ । हामीले यो कुरा स्पष्ट गनुपर्छ कि, समाजवादी गणतन्त्र केवल एक राजनीतिक नारा होइन, बरु यो हरेक नागरिकको सम्मान, समृद्धि र स्वतन्त्रताको ग्यारेन्टी गर्ने व्यवस्था हो । यसको प्राप्तिका लागि हामीलाई जनताको व्यापक समर्थनको आवश्यकता छ । माओवादी पार्टी, जसले राजनीतिक परिवर्तनका लागि मूल संवाहकको भूमिका निर्वाह गर्यो, उसैको मूल राजनीतिक एजेन्डामा आधारित रहेर आर्थिक विकास, सुशासन र सामाजिक न्याय प्राप्तिको मार्गमा देश अघि बढिरहेको छ । माओवादी नेतृत्वको अघिल्लो सरकारले आर्थिक समृद्धिका लागि, भ्रष्टाचारविरुद्धमा, सुशासन र सामाजिक न्यायको क्षेत्रमा गरेका कार्यहरूले जनतामा सकारात्मक प्रभाव पारेको छ ।
हामी यतिबेला मध्यपहाडी लोकमार्गकेन्द्रित हुने अभियानको तयारीमा जुटेका छौं । अहिले माओवादी पार्टीलाई जनताको आशा र सपनासँग जोड्दै समाजवादी क्रान्तिको मार्गमा अघि बढउनुपर्ने ऐतिहासिक जिम्मेवारी छ । तसर्थ, कार्यनैतिक दृष्टिले, २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो राजनीतिक शक्तिका रूपमा उभ्याउन जनतामा ध्यानकेन्द्रित गर्ने र राजनीतिक हिसाबले समाजवादी क्रान्तिको योजनाबद्ध ढंगले तयारी गर्ने हाम्रो पार्टीको मुख्य कार्यभार हो । विगतमा स्पष्ट राजनीतिक कार्यदिशाका कारणले नै आम जनसमुदायको साथ समर्थन र विश्वास आर्जन भएको हो । आज पनि पार्टीलाई सही दिग्दर्शन, विचार, दृष्टिकोण, नीति, कार्यनीति र योजनाबद्ध कार्यक्रमसहित अघि बढ्न वस्तुगत आधार तयार भएको छ ।
