शैक्षिक भ्रमणको महत्त्व

शैक्षिक भ्रमणले पार्ने चौतर्फी सकारात्मक प्रभावबारे अझै पनि बहुसंख्यक विद्यालयका प्रधानाध्यापक, सञ्चालकलगायत शिक्षकहरूले बुझेको देखिँदैन

वैशाख ३०, २०८२

मधु राई

Importance of educational visits

चार दशकअघि दार्जिलिङको सरकारी कलेजमा स्नातक तह दोस्रो वर्ष अध्ययन गर्दाताका प्राध्यापकहरूले हामी विज्ञान संकायका तीस जनाको समूहलाई तीनदिने शैक्षिक भ्रमणका लागि मिरिक लैजानुभएको थियो । भ्रमणताका कहिले नदेखेको मिरिकको ताल र तालको बीचमा कृत्रिम कमलको फूल तथा फूलको मध्यभागबाट निस्कने पानीको फोहोरा सम्झँदा मन अझै प्रफुल्लित हुन्छ । भ्रमणताका घुमेका नौला ठाउँ र विभिन्न नौला परिकारको स्वाद लिन पाएको त्यो क्षण मेरो मानसपटलमा अझै ताजै छ । यसरी आफूले विद्यार्थीकालमा गरेको शैक्षिक भ्रमणको सम्झनालाई ताजा बनाइराख्न केही वर्षयता शैक्षिक सत्रको अन्तिम साता हामी शिक्षक तथा कर्मचारीहरू शैक्षिक भ्रमणमा जान थालेका छौं ।

विगतमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हामी धनकुटाको हिले तथा इलाम गएका थियौं । चैतको उखरमाउलो गर्मीबाट राहत पाउन तथा तराईमा पुस, माघको जाडोयामको अनुभव दिलाउने हिलेसम्मको यात्रालगायत आसपासको पर्यटकीय स्थलको भ्रमण हाम्रा लागि सुखद र अविस्मरणीय रह्यो । त्यस्तै भ्रमणताका गुराँसको राजधानी कहलिएका तीनजुरेलगायत सिधुवा, वसन्तपुर, आठपहरिया संग्रहालयलगायत घुमेको क्षणले हामी शिक्षकलाई उत्साहित मात्र बनाएन, अबदेखि वर्षैंपिच्छे शैक्षिक भ्रमण गर्नुपर्छ भन्ने महसुस गरायो । यसैले गर्दा गतवर्ष इलामको तीनदिने भ्रमणताका हामीले त्यहाँको पर्यटकीय स्थलहरू घुम्ने अवसर मात्र पाएनौं, कन्याम, इलाम, माइपोखरी, पानीटार घुम्दै जाँदा हामी मेरो मावली घरनजिकै पुगेछौं । कस्तो संयोग, बाल्यकालमा बेलाबखत मावल जाँदा अनकन्टार लाग्ने घरको आँगनसम्मै गाडी पुग्दाको रमाइलो क्षण बिर्सिनसक्नु छ । कहिले पहाड नदेखेका मेरा मधेशी समुदायका शिक्षक तथा कर्मचारीहरू करेसाबारीमा तरकारीसँगै चियापत्तीको बोट देख्दा आश्चर्यमा परे ।

यस वर्षको शैक्षिक भ्रमणको गन्तव्यस्थल मैले भारतको पश्चिम बंगाल राज्यको जलपाइगुडी जिल्लाअन्तर्गत पर्ने बानरहाट बनाएँ । यसपालिको पाँचदिने शैक्षिक भ्रमणको दोस्रो दिन हामी झन्डै छ दशकभन्दा बढी समयदेखि लाग्ने बानरहाटको आइतबारे हाटबजार घुम्यौं । बानरहाट बजारको चारैतिर चियाकमान र बस्ती भएकाले आइतबारका दिन त्यहाँको साप्ताहिक बजारमा कतिपय सामान चियाकमान र बस्तीमा उत्पादित खाद्यान्नहरू किनबेच गरिन्छ । मलगायत भाइ र बहिनीले स्कुले शिक्षा हासिल गरेको आदर्श विद्या मन्दिर विद्यालय पुग्यौं । विद्यालयनजिकै सार्वजनिक पार्क थियो । पार्क घुम्दा लाग्यो– ‘विराटनगरमा पनि यस्ता सार्वजनिक पार्क भइदिए कति राम्रो हुन्थ्यो ?’ 

रमाइलो यात्रा गर्दै हासिमारा पुग्यौं र स्कर्पियो जस्तै नौसिटे सिटी सफारीमा जयगाउँ बजारको सिमानासँगै जोडिएको भुटानको फुञ्चोलिङको गेटसम्म पुग्यौं । खासमा भुटान सानो देश भए पनि भुटान सरकारले सिमानामा अन्य देशका मात्रै हैन छिमेकी देशका नागरिकहरूलाई समेत आवश्यक कागजात देखाएर मात्रै प्रवेश गर्न दिने गर्छ । 

समग्रमा यस्तो शैक्षिक भ्रमणताका सँगालेका अविस्मरणीय क्षणहरूले हामी शिक्षकहरूलाई मात्र हैन, विद्यार्थीलाई समेत वर्षभरि उत्साहित बनाउँछ । ऊर्जावान तथा सिर्जनशील बनाइराख्न मद्दत गर्छ । यस्तै भ्रमणताका सँगै घुम्दा, बस्दा र एउटै भान्सामा मिलीजुली काम गर्दा शिक्षक तथा कर्मचारीबीच आत्मीयता बढ्ने मात्र हैन, एकअर्काको भावना बुझ्न पनि मद्दत गर्छ । गत वर्ष हामीले इलामको तीनदिने शैक्षिक भ्रमणताका बेलुकीको समयमा हाम्रो विद्यालयमा साप्ताहिक रूपमा हुने दुईघण्टे शिक्षक संवाद आयोजना गरेका थियौं । यसरी दिनभरिको थकाइलाई बिर्साउने शिक्षक संवादमा हामीले ज्ञानगुनका कुरा मात्र गरेनौं, गीतसंगीतको धुनमा रम्ने अवसर पायौं । यस्तै यसपालि पनि हामीले भ्रमणबाट फर्केपछि हाम्रो शिक्षक संवादमा लिखित रूपमै भ्रमणताका अनुभव गरेका कुरा प्रस्तुत गर्‍यौं ।

त्यति मात्र हरेक वर्ष भ्रमणताका सँगालेका अनुभव र अनुभूतिहरू हामीले विद्यार्थीमाझ बाँड्दै आएका छौं । हाम्रा अभिभावकहरूलाई पनि अभिभावक भेलामा भ्रमणका कुराहरू सुनाउने गरेका छौं । शैक्षिक भ्रमणले शिक्षक–शिक्षक तथा विद्यार्थी–विद्यार्थीबीच आत्मीयता मात्र बढ्दैन, उनीहरूबीचको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्छ । उनीहरूबीचको यस्तो सम्बन्धले शिक्षण सिकाइसमेत जीवन्त हुन्छ । यसरी शैक्षिक भ्रमणले पार्ने चौतर्फी सकारात्मक प्रभावबारे अझै पनि बहुसंख्यक विद्यालयका प्रधानाध्यापक, सञ्चालकलगायत शिक्षकहरूले बुझेको देखिँदैन ।

खासमा विद्यार्थी जीवनमा यस्ता शैक्षिक भ्रमण गर्ने अवसर नपाएका बहुसंख्यक शिक्षकहरूले अझै पनि शैक्षिक भ्रमणको महत्त्व बुझेको देखिँदैन । यसो हुँदा पनि शैक्षिक भ्रमण शिक्षाकर्मीहरूको प्राथमिकतामा पर्न सकेको छैन । विकसित मुलुकहरूले विद्यार्थीलाई शैक्षिक भ्रमण अनिवार्य रूपमा गराउँछन् । कतिपय यस्ता मुलुकहरूले विद्यार्थीहरूलाई स्वदेशमा मात्रै हैन विदेश भ्रमणमा समेत लैजाने गरेका छन् ।

हामीकहाँ पनि पछिल्लो समय नगण्य निजी विद्यालय तथा क्याम्पसहरूले मात्र विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराउन थालेका छन् । बहुसंख्यक शिक्षकहरू भने शैक्षिक भ्रमणभन्दा पनि आ–आफ्नै किसिमले पारिवारिक घुमघाममा रमाउने गरेको पाइन्छ । बहुसंख्यक स्थापित निजी विद्यालयहरूले विद्यार्थीलाई त के शिक्षकहरूलाई समेत शैक्षिक सत्रको अन्त्यमा भ्रमण गराउनुभन्दा भोजभतेर गरेर खुसियाली मनाउने गरेको पाइन्छ । खासमा शिक्षण पेसामा आबद्ध शिक्षकहरूलाई सक्रिय शिक्षण गराउन पनि बेलाबेला विद्यालयहरूले शैक्षिक भ्रमण गराउन जरुरी छ । किनभने वर्षभरि विद्यार्थीको पढाइमा समर्पित शिक्षकहरूलाई शैक्षिक भ्रमणले थप ऊर्जावान बनाउँछ । त्यतिमात्र हैन पाठ्यपुस्तकको परम्परागत शिक्षण सिकाइलाई जीवन्त बनाउन पनि विद्यार्थी र शिक्षकहरूलाई शैक्षिक भ्रमण गराउन जरुरी छ । 

मधु मधु राई शैक्षिक अभियन्ता हुन् । उनी शिक्षा, शैक्षिक वातावरण, सिकाई लगायतका समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully