आजसम्म संसारमा कति बुद्ध आए भन्ने विषयमा अनुमान लगाउन कठिन छ, तथापि पालि साहित्य बुद्धवंशमा २८ जना मानुषी बुद्धहरूको वर्णन पाइन्छ । यी सम्पूर्ण बुद्धहरूबाट देशित शिक्षाहरू (धर्म) एकै प्रकारका हुन्छन् किनकि यी उपदेशहरू हरेक बुद्धका व्यक्तिगत विचार नभएर लुप्त भएका सर्वकालिक सनातन नियमहरूको उजागर मात्र हुन् ।
श्रीलंकाको ऐतिहासिक ग्रन्थ दीपवंश र महावंशको ऐतिहासिक र कालक्रमिय विवरणका आधारमा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा इसापूर्व ६२३ मा वैशाख पूर्णिमाको दिनमा भएको थियो । सम्राट् अशोकको शासनकाल एवं पुरातात्त्विक तथ्यहरूका आधारमा बुद्धको जन्ममिति इसापूर्व ५६३ मान्ने अधिकांश इतिहासकारहरू पनि छन् । संयुक्त राष्ट्रसंघ र युनेस्कोले बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिने क्रममा इसापूर्व ६२३ लाई नै शाक्यमुनि बुद्धको जन्ममिति मानेको छ । नेपाल सरकारले यही मितिलाई बुद्ध जन्ममिति मानेको छ ।
बुद्धले वर्तमान भारतको कुशीनगरमा ८० वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन देहत्याग गर्नुभएको थियो, जुन घटनालाई बुद्धको महापरिनिर्वाण भनिन्छ । बुद्धले महापरिनिर्वाण प्राप्त गरेको समयबाट गणना गर्दा आज २५६९ औं बुद्धजयन्ती पर्न आउँछ । बुद्धले ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख पूर्णिमाकै दिन
आफ्ना सम्पूर्ण क्लेसहरूलाई क्षय गरी बुद्धत्व प्राप्त गर्नुभएको थियो । एक व्यक्तिको जीवनको प्रमुख तीनवटा महत्त्वपूर्ण घटनाहरू (त्रि–संयोग) एकै तिथिमा पर्नु सामान्य घटना पक्कै पनि होइन । यस प्रकार आजको दिन यी तीनवटै घटनाहरूको स्मरण गर्ने एवम् बुद्धबाट प्रतिपादित मार्गमा हिँड्न प्रेरणा लिने दिन पनि हो ।
बुद्धजयन्ती मनाउने सन्दर्भमा जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण एकै तिथिमा परेकाले तीनवटै आध्यात्मिक घटनाहरूको संयुक्त स्मृतिस्वरूप बुद्धको महापरिनिर्वाणको मितिलाई आधार मान्ने गरेको पाइन्छ । भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसलगायत बौद्ध देशहरूले बुद्धको जन्ममितिलाई भन्दा पनि उहाँको बोधिप्राप्ति, महापरिनिर्वाण एवम् उहाँबाट प्रतिपादित सत्यपथको उत्सवका रूपमा यस घटनालाई लिएको देखिन्छ । नेपालमा प्रजातन्त्रको उदयसँगै, खासगरी थेरवाद बौद्धधर्मको पुनर्जागरणपश्चात् यिनै बौद्ध देशहरूको प्रचलनबाट प्रेरित भएर महापरिनिर्वाणलाई नै आधार मानेर बुद्धजयन्ती मनाइँदै आएको छ । सामान्यतया स्मृति उत्सव मनाउँदा जन्ममितिलाई आधार मान्ने चलन हुन्छ । बुद्धजयन्ती मनाउने सन्दर्भमा पनि बुद्धको जन्मपश्चात्को समय गणना गरी आज २६४९ औं जन्मजयन्ती मनाउनु युक्तिसंगत देखिन्छ । सम्बन्धित सरोकारवालाहरूले यस सम्बन्धमा आवाज पनि उठाउन थालेका छन् । नेपाल बुद्धको जन्मभूमि भएकाले हाम्रो देशबाटै यस कार्यको सुरुवात गर्नु आवश्यक छ । अन्य बौद्ध देशहरूबीच पनि यस सम्बन्धमा एकता कायम गर्न राज्य तहबाटै उच्च कूटनीतिक पहलकदमी लिन आवश्यक छ ।
अचेल केही विद्वान्हरूले बुद्धका उपदेशहरूलाई तत्कालीन समयको आर्थिक, सामाजिक, धार्मिक एवम् राजनीतिक व्यवस्थाको विरुद्ध सिर्जित विद्रोहका रूपमा व्याख्या गर्दछन् । तत्कालीन व्यवस्थामा वैकल्पिक एवम् अग्रगामी विचारधारा प्रस्तुत गरेका कारण विद्वान्हरूले यस्तो व्याख्या गरे पनि बौद्ध साहित्यहरूले बुद्ध पुरुषहरूको उत्पत्तिका सम्बन्धमा गहन नैतिक–चारित्रिक–कर्मिक एवम् कस्मिक सिद्धान्तहरूको व्याख्या गरेको पाइन्छ । यस सिद्धान्त अनुसार समयको लामो कालखण्डसम्म विलुप्त भएको सनातन सत्य ज्ञान (धर्म) उजागर गर्नुपर्ने लोकीय आवश्यकता अनुसार बुद्ध बन्ने संकल्प लिएका कुनै सत्पुरुषले अनन्त कालसम्म सम्यक् सम्बुद्ध बन्न आवश्यक पर्ने सम्पूर्ण सद्गुणहरू (पारमी) पूरा गरेपछि बोधिसत्वका रूपमा जन्म लिन्छन् र आफ्नै प्रयासले सम्यक् सम्बोधि प्राप्त गर्दछन् । पालि साहित्यमा वर्णन गरिए अनुसार दीपङ्कर बुद्धको समयमा सुमेध ऋषिका रूपमा जन्म लिई भविष्यमा बुद्ध बन्ने प्रतिज्ञा लिएका बोधिसत्व सिद्धार्थले ४ असंख्य एवम् १ लाख कल्पसम्म विभिन्न जन्महरूमा १० पारमी, १० उपपारमी एवम् १० परमत्थ पारमीहरू पूरा गरी अन्तिम जन्ममा बोधिसत्व सिद्धार्थ राजकुमारका रूपमा लुम्बिनीमा जन्म लिई आफ्नै प्रयासले सम्यक् सम्बोधि हासिल गर्नुभएको थियो । जातक कथाहरूमा बुद्धका यस्ता ५४७ प्रकारका पूर्वजन्महरूको वर्णन पाइन्छ । आजको मानव चेतनाका लागि यस प्रकारका अनन्त पूर्वजन्म, पुनर्जन्म जस्ता ‘पारासाइकोलोजी’का विषय संशयपूर्ण लागे पनि बौद्ध मनोविज्ञान एवम् ‘बुद्धिस्ट कस्मोलोजी’ले यस सन्दर्भमा चित्तबुझ्दो व्याख्या गरेको छ ।
आजसम्म संसारमा कति बुद्ध आए भन्ने विषयमा अनुमान लगाउन कठिन छ, तथापि पालि साहित्य बुद्धवंशमा २८ जना मानुषी बुद्धहरूको वर्णन पाइन्छ । यी सम्पूर्ण बुद्धहरूबाट देशित शिक्षाहरू (धर्म) एकै प्रकारका हुन्छन् किनकि यी उपदेशहरू हरेक बुद्धका व्यक्तिगत विचार नभएर लुप्त भएका सर्वकालिक सनातन नियमहरूको उजागर मात्र हुन् । यी शिक्षाहरू साधारणजनले बुझ्न सक्ने गरी अर्थ्याइएको, हरेकजनले स्वयम् अनुभव गर्न सक्ने, आसु–फलदायी, हरेकलाई आमन्त्रण गरी आउनुहोस्, हेर्नुहोस् भन्न सकिने,
आत्म–अवलोकनमा लाने एवम् हरेक विवेकी व्यक्तिले अनुभूत गर्न सक्ने खालका हुन्छन् । यस्ता सत्यहरूको अन्वेषण एवम् गवेषण गरी प्रकाशमा ल्याउने हरेक बुद्धहरू कल्पकल्पमा उत्पन्न हुने महापुरुषहरू हुन् । यस्ता महापुरुषहरूलाई भगवान्, अर्हन्त, सम्यक्सम्बुद्ध जस्ता शब्दावलीले पुकारिन्छ ।
बुद्धले ४५ वर्षसम्म दिएका उपदेशहरू आज ८४ हजार सूत्रका रूपमा त्रिपिटकमा सुरक्षित छन् । यी शिक्षाहरूमा उच्च मानसिक आध्यात्मिक लाभदेखि लिएर व्यक्तिको दैनिक जीवनका हरेक पक्षमा आवश्यक उपदेशहरू संग्रह गरिएका छन् । यी शिक्षाहरूको बुद्धकालीन समाजको राजनीतिक, आर्थिक, सामाजिक परिवेशमा सफलतापूर्वक प्रयोग गरिएको थियो भने आजको विश्व परिवेशमा यिनको सान्दर्भिकता अझ बढ्दो छ । चित्त (मन) र यसको अनुशासन नै बौद्ध शिक्षाको मूल पक्ष भएकाले आजको शिक्षा प्रणाली, मानसिक स्वास्थ्य, पारिवारिक सद्भाव, राजनीति र नीतिशास्त्र, अर्थतन्त्र एवम् व्यवसाय, वातावरण संरक्षण, अन्तर्राष्ट्रिय सम्बन्ध एवम् शान्ति लगायतका मानव जीवनका हरेक पाटामा बुद्ध शिक्षाको सान्दर्भिकता दिन प्रतिदिन बढिरहेको छ ।
नेपाल कोणागमन, क्रकुच्छन्द र शाक्यमुनि गरी तीन बुद्धहरूको जन्मस्थल हो । हालको कपिलवस्तुस्थित गोटिहवा क्रकुच्छन्द बुद्ध, कपिलवस्तुकै निग्लिहवा कोणागमन बुद्ध एवम् लुम्बिनीमा शाक्यमुनि बुद्धको जन्म भएको थियो । बुद्धको महापरिनिर्वाणको करिब ३०० वर्षपछि २४९ इ.पु. मा उक्त स्थानहरूमा आई सम्राट् अशोकले स्थापना गरेका स्तम्भहरूमा यो कुराको प्रमाण हाल पनि देख्न सकिन्छ । नेपालमा यसरी तीन बुद्धहरूको जन्मस्थल हुनुलाई पक्कै पनि सामान्य घटना मान्न सकिन्न । निश्चय नै हरेक नेपालीहरूमा यो महान् ऐतिहासिक एवम् आध्यात्मिक घटनाप्रतिको उच्च जिम्मेवारी छ । त्यसैले आजको आवश्यकता हरेक नेपालीले तीन बुद्धहरूको जन्मस्थल नेपाल भएकोमा गौरव गर्ने मात्र हैन, बरु यी बुद्धका उपदेशहरूको सच्चा अनुयायी बन्ने र नेपाललाई बौद्ध दर्शनको गुरु राष्ट्र बनाउनेतर्फ हो ।
– न्यौपाने लुम्बिनी बौद्ध विश्वविद्यालयका सहप्राध्यापक हुन् ।
