पाका नेताको सान्दर्भिकता कति ?

परिवर्तनलाई समय र सान्दर्भिकतासँग जोड्ने नायकको हातमा मुलुक नगएसम्म यो सडक र प्रहरीको कठबाँसको लौरोले विश्राम पाउने स्थितिसमेत बन्ने छाँट देखिँदैन । सबैखाले असन्तुष्टिहरूले एकीकृत र संगठित आकार हासिल नगरुन्जेलसम्म नयाँ लायकको नायक पनि स्थापित हुन सक्ने अवस्था देखिँदैन ।

वैशाख २५, २०८२

राजेन्द्रसिंह भण्डारी

What is the relevance of senior leaders?

जब जनविरोधका स्वरहरूले जनविद्रोहको स्वरूप लिन खोजिरहेको हुन्छ, त्यति बेला जनउत्तरदायी सरकारले गर्ने राज्य दमनलाई प्रस्ट्याउन र सान्दर्भिकतासँग जोड्न अग्रगमन र प्रतिगमनको भद्दा मुद्दालाई आवरणका रूपमा प्रयोग गरिरहेका हुन्छन् । 

मुलुकले सबैखाले प्रणालीको प्रयोग गर्दासमेत मुलुकमा प्रेरणादायी र प्राणदायी काम हुन सकेन । दुईतिहाइको सरकारले पनि दुई कौडीको काम गर्न सकेन भन्ने आम बुझाइ र प्रतिक्रियालाई खारेज गर्न नसकिरहेको अवस्था छ । शिक्षा, चिकित्सा, निजामती सबै क्षेत्र आन्दोलित छन् ।

सबैले भाग र माग मात्र खोजिरहेका बेलामा सरकार आफ्नै पारामा रमाइरहेको देखिन्छ । सरकारकै पाराले गर्दा आम सर्वसाधारणले दुःख पाएको भाष्य निर्माण भइरहेको छ । यो नकारात्मक भावले आमनागरिकमा आवेग, उत्तेजना र घृणा फैलाइरहेको देखिन्छ, यसलाई सही दिशा दिने र मुलुकको दशा सुधार्ने पात्र वा प्रतिनिधि नायकको खोजी पनि यही मेसोमा भइरहेको देखिन्छ ।

वास्तवमा, आन्दोलनकै गर्भ र प्रसव पीडाको अनुभूतिबाट जन्मेका र हुर्केका अहिलेका पाका नेताहरू नै सबै समस्याका बाधक हुन् भन्ने आम बुझाइ प्रबल भइरहेका बखत पाका नेताले पनि आफूलाई समय र सान्दर्भिकतासँग जोड्न सकिरहेका छैनन् ।

समयको माग र पाका नेताको सोचका बीचमा ठूलै अन्तर देखिएकाले पनि यिनीहरू नै नायक रहुन्जेलसम्म मुलुकमा लायकका काम हुने सम्भावना नरहने देखिन्छ । विगतका पटक–पटक अभ्यासबाट पनि यिनीहरूको नीति र नियत असान्दर्भिक प्रमाणित भइसकेको छ । 

अहिले मुलुकको आन्तरिक सुरक्षा अवस्था र आमनागरिकको दैनिकीसमेत कष्टकर बन्दै गएको छ । हाम्रा पाका नेता भने राज्य प्रणालीलाई प्राविधिक रूपमा प्राप्त अंकको सुविधाको दुरुपयोग गर्दै सत्ताकै खेलमा रमाइरहेका देखिन्छन् । यो सत्ता लिप्साबाट संन्यास र विश्राम लिने छाँट नदेखाएकाले आमनागरिक झनै अधैर्य हुन थालेका हुन् ।

मुलुकमा अधैर्यताको अवस्थालाई अनिश्चितताको पर्यायका रूपमा पनि बुझ्न सकिन्छ । त्यसैले यस्तो अवस्थामा ‘जे अनिश्चित छ, त्यही मात्र सुनिश्चित’ छ भन्ने गरिन्छ । यो आवेग र अधैर्यताले जन्माएको अनिश्चितताभित्र पनि राजनीतिको कुटिल रणनीतिक चालमा मात्रै रमाइरहने नेताले समयको चाल र समयले नै जन्माइसकेको सान्दर्भिकताको चापलाई बुझ्न सकेका छैनन् । त्यसैले मुलुकले फेरि अर्को जनविरोध वा जनविद्रोहको धक्का खोजिरहेको देखिन्छ । 

वास्तवमा समय र सान्दर्भिकता बुझेका नेताको पहिलो गुण भनेकै सहनशीलता र सहिष्णुता हो । जो असहनशील हुने गर्छन्, उनीहरू प्रतिक्रियामा रमाउने र प्रतिरोधमा उत्रिने गर्छन् । यिनीहरूका क्रियाकलाप जति असंगत हुने गर्छन्, प्रतिक्रियाहरू पनि त्यत्तिकै असान्दर्भिक र उट्पट्याङ किसिमका हुन्छन् । अरूलाई बोलेर वा पेलेर भित्तैमा पुर्‍याउन पाएकामा यिनीहरूको दिमागमा भएको डोपामिन ( खुसी र दुःखसँग सम्बन्धित हर्मोन) सक्रिय हुने गर्दछ ।

रचनात्मक सोचबाट कोसौं टाढा रहेका यी नेताको मनस्थिति नै क्षतिग्रस्त किसिमको हुने गर्छ । त्यसैले त यिनीहरूका कार्यक्रम र कर्मले मुलुकमा दशा मात्रै निम्त्याउने गर्छ । हाम्रा सरकार प्रमुखका सार्वजनिक अभिव्यक्तिले स्वयं हामीलाई लज्जाबोध हुन्छ । तर उनीहरू त्यसैमा रमाइरहेका हुन्छन् । ‘मोटाएका किर्ना, फट्यांग्रा खाने, बाघे झापु हान्ने, अरिंगालजस्तै आक्रमण गर्ने’ शब्दावली प्रयोग गरेर सार्वजनिक अभिव्यक्ति हाम्रै सरकार प्रमुखका मुखारबिन्दुबाट आउँछन् ।

यस्ता वाणी कुनै झुन्ड र समूहका लागि प्रेरणादायी र कर्णप्रिय उपदेश भइदिन्छन् । यो अर्को विडम्बना र परिवर्तनको प्रमुख बाधक तत्त्व हो ।

परिवर्तनलाई समय र सान्दर्भिकतासँग जोड्ने नायकको हातमा मुलुक नगएसम्म यो सडक र प्रहरीको कठबाँसको लौरोले विश्राम पाउने स्थितिसमेत बन्ने छाँट देखिँदैन । सबैखाले असन्तुष्टिहरूले एकीकृत र संगठित आकार हासिल नगरुन्जेलसम्म नयाँ लायकको नायक पनि स्थापित हुन सक्ने अवस्था देखिँदैन । त्यसैले अहिले यही अवस्था र संख्यामा निर्भर यही राजनीतिक व्यवस्थाको भरपूर फाइदा यिनै पुराना नेताले उठाइरहेका छन् । 

आफूले मात्रै उठाइरहेको काइदाको फाइदामा आमनागरिकको पहुँच स्थापित हुनुपर्‍यो भन्ने सडकका मुद्दाले धक्का दिन थालेपछि अवाञ्छित तत्त्वहरू पनि सक्रिय हुन थालेका देखिन्छन् । जसले गर्दा मुलुकको आन्तरिक र बाह्य दुवै सुरक्षामा चुनौती थपिँदै गएको छ ।

हिंसा, प्रतिहिंसा, विद्रोह र प्रतिविद्रोहको खेलबाट मुलुकलाई जोगाउन अब नयाँ र सर्वमान्य सहमतिको साझा चौतारीलाई राजनीतिक रूपमै हल गर्न आवश्यक देखिन्छ । अर्कोतर्फ समयको चाललाई आत्मसात् गर्ने नयाँ नेतृत्वलाई राज्यका हरेक तहमा उचित र निर्णायक स्थान दिइनुपर्ने आवाजलाई सुशासनको राष्ट्रिय मुद्दा बनाउन अपरिहार्य भइसकेको देखिन्छ । अब पनि पुरानै नेताबाट अहिलेका समस्या हल गर्ने र समयको सान्दर्भिकता खोज्ने सपना कसैले देख्दछ भने त्यो त नितान्त निजी र स्वार्थपरक मात्रै हुन सक्दछ ।

संघीयताले विकासको सान्दर्भिकता र धर्म निरपेक्षताले सांस्कृतिक सहिष्णुता र गौरवशाली पहिचान खोजिरहेको सन्दर्भ सँगसँगै कैयन् बलजफ्ती थुपारिएका राजनीतिक मुद्दाले फेरि पेसी र प्रमाणित औचित्य खोजिरहेको देखिन्छ । संविधानसभामार्फत प्राप्त संविधानले के दियो, के हल गर्‍यो भन्ने यक्ष प्रश्नलाई पुनः समयको सान्दर्भिकतासँग जोडेर पूरक प्रश्नका रूपमा हल गरिनु अपरिहार्य आवश्यकता भइसकेको छ ।

राजेन्द्रसिंह भण्डारी भण्डारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुन् ।

Link copied successfully