वैदेशिक रोजगारीमा दक्षताको खाँचो 

मर्यादित वैदेशिक रोजगारीको विकल्प स्वदेशमै उद्यमशीलताको वृद्धि हो, त्यसका लागि आफ्नै देशमा रोजगारी सिर्जना गर्नुको साथै उद्यममा पनि प्रोत्साहन गर्नुपर्छ

वैशाख २४, २०८२

तारा वाग्ले

The need for efficiency in foreign employment

वैदेशिक रोजगारी नेपालको अर्थतन्त्र धान्ने र आर्थिक गतिविधि चलायमान बनाउने महत्त्वपूर्ण माध्यम बनेको छ । यसले अर्थतन्त्रको बलियो खम्बा बनेर आर्थिक उन्नतिमा योगदान दिँदै श्रमशक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाएको छ ।

सरकारले पनि वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने नीति लिएको छ । तर वैदेशिक रोजगारीमा दक्ष र सीपयुक्त जनशक्ति पठाउन नसक्दा सुरक्षित, सम्मानित र मर्यादित बनेको छैन । नेपालको अर्थतन्त्र उकास्ने आधारशीला मानिएको वैदेशिक रोजगारीमा जाने कामदारको अवस्था भने खस्कँदो छ । 

वैदेशिक रोजगारीमा गएका कामदारहरूले खासगरी सीपयुक्त र प्राविधिक क्षेत्रमा काम नपाउने, निकै कम तलबमा जोखिमयुक्त काम गर्नुपर्ने, सुरक्षा र सम्मान नहुनेलगायतका समस्या भोग्नुपरेको छ ।

ज्ञान, सीप र दक्षताबिनै विदेश गएका कारण श्रमिकहरूले विदेशमा काम गर्ने क्रममा विभिन्न समस्यासँग जुध्नुपरेको हो । आफूहरू अनेकौं समस्यामा परे पनि उनीहरू नेपालको आर्थिक विकासको संवाहक बनेका छन् । उनीहरूले देशको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्समार्फत २४ प्रतिशत योगदान दिएका छन् । 

सरकारी तथ्यांक अनुसार नेपालबाट बर्सेनि ७ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गएको तीन वर्षमा २१ लाख ८२ हजार श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । त्यसमध्ये उच्च दक्ष जनशक्तिको संख्या १ हजार मात्रै थियो ।

विगतका तीनवटा आर्थिक वर्षहरूमा वैदेशिक रोजगारीमा गएकाको कुल संख्यामध्ये अदक्ष जनशक्तिको संख्या ६ लाख ३० हजार थियो । एक दशकअघिसम्म वैदेशिक रोजगारीमा गएको मध्ये अधिकांश श्रमिक सीपबिनै बिदेसिएका हुन्थे । तर अहिले भने सीप सिकेर वा आवश्यक शैक्षिक योग्यता हासिल गरी सोहीअनुरूपका कामका लागि विदेश जान थालेका छन् ।

आवश्यक सीप र दक्षता हासिल गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढ्न थालेको सरकारी अध्ययनले देखाएको छ । तर पर्याप्त सीप र दक्षता हासिल गरी रोजगारीको लागि बिदेसिनेको संख्या भने सन्तोषजनक देखिँदैन ।

आर्थिक वर्ष २०८०/८१ मा ७३२ जना उच्च दक्ष श्रमिक रोजगारीका लागि बिदेसिएका थिए । त्यस्तै ५ लाख ३२ हजार दक्ष श्रमिक, ६० हजार अर्धदक्ष श्रमिक र १ लाख ४५ हजार ५ सय ४७ कुनै पनि सीप नभएका अदक्ष श्रमिक बाहिरएिको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । 

एक पटक वैदेशिक रोजगारीमा गएर फर्किएपछि पुनः त्यही काममा जाने श्रमिक र नेपालबाटै सीप सिकेर गएकाहरू दक्ष श्रमिकमा गनिन्छन् । 

वैदेशिक रोजगारीमा जानेहरूको दक्षताका सम्बन्धमा सरकारको तथ्यांक बजारको माग र आपूर्तिसँग मेल खाएको देखिन्न । सरकारले भर्खरै बनाएको आप्रवासन नीतिको मस्यौदामा सीप नसिकेका कारण नेपाली श्रमिकले विभिन्न समस्या खेप्नुपरेको उल्लेख छ । मस्यौदाअनुसार आप्रवासनमा जाने अधिकांश श्रमिकहरूमा शिक्षा र सीपको स्तर कम भएकाले जोखिमयुक्त काममा संलग्न हुनुपरेका कारण रोजगारी अपेक्षित रूपमा आकर्षक, मर्यादित र सुरक्षित हुन सकेको छैन । 

वैदेशिक रोजगारीमा जाने श्रमिकको दक्षताबारे सरकारको तथ्यांकलाई श्रम, आप्रवासन प्रतिवेदन २०२२ ले पनि विश्वसनीय नभएको बताएको थियो । सो प्रतिवेदनमा नेपालले आफ्नो आप्रवासी श्रमशक्तिलाई मागपत्रमा उल्लेख भएअनुसार नै अदक्ष, अर्धदक्ष, दक्ष, व्यावसायिक, उच्च दक्षमा वर्गीकरण गरेको तर यो वर्गीकरण कुनै पनि अन्तर्राष्ट्रिय सीप प्रणालीसँग मेल नखाने उल्लेख छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम आप्रवासनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित तयार पारेको मस्यौदामा अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुरूप सुसूचित, सीपयुक्त, प्रतिस्पर्धी र व्यावसायिक श्रमशक्ति विकास गर्नुपर्ने, श्रम कूटनीति र यसले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने विषय समेटिएको छ ।

साथै गन्तव्य मुलुकको श्रम बजारको माग र प्रवृत्तिअनुसार श्रमिकको सीप र दक्षताको पहिचान एवं विकास गर्ने, श्रम आप्रवासनबाट फर्किएका श्रमिकको दिगो र सम्मानजनक पुनःएकीकरण गर्दै सामाजिक सुरक्षा सुनिश्चित गर्ने उल्लेख छ । यसैगरी श्रम गन्तव्य मुलुकसँगका द्विपक्षीय श्रम सम्झौतामा आप्रवासी श्रमिक अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय कानुन पालना हुनेगरी कार्यान्वयन गर्ने नीति लिइने जनाइएको छ । 

महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन, २०८१ ले पनि वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश नेपाली अदक्ष भएको बताउँदै यसमा व्यापक सुधार गर्नुपर्ने औंल्याएको थियो । प्रतिवेदनमा वैदेशिक रोजगारीका लागि २०७४/०७५ देखि २०७८/०७९ सम्म गएका २२ लाख ८८ हजार २६ मध्ये उच्च दक्षतायुक्त ०.०३ प्रतिशत, पेसाविद् ०.१३ प्रतिशत, दक्ष ३६.५१ प्रतिशत, अर्धदक्ष ८.७५ प्रतिशत र अदक्ष ५४.५८ प्रतिशत कामदार रहेको उल्लेख छ ।

सरकारले केही दिन अघि ल्याएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन नीति, कानुन र कार्यविधि संशोधन तथा तर्जुमा गरिने उल्लेख छ । अन्तर्राष्ट्रिय श्रम बजारका मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गर्ने सरकारको नीति छ ।

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा पनि सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम, श्रम सम्झौता पुनरावलोकनलागायतका कार्यक्रम ल्याइएका थिए ।

सरकारले आर्थिक २०७७/०७८ देखि नै वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरूलाई उद्यमशील बन्नका लागि सुरुवाती पुँजी उपलब्ध गराउने नीति लिएको थियो । दक्ष श्रमिक, कामको सम्मान, स्वरोजगार, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापनजस्ता विषय सरकारको श्रम नीतिमा समेटिँदै आएका छन् । तर कार्यान्वयनमा देखिएका कमजोरीका कारण अपेक्षित प्रगति हुन सकेको छैन । 

सरकारले स्वदेश वा विदेशमा युवाहरूलाई सीप सिकाएर प्राविधिक क्षेत्रको काममा लगाउने नीति दिएको छ । पञ्चवर्षीय योजना तथा वार्षिक नीति कार्यक्रमहरूमा सीपयुक्त जनशक्ति विकास गर्न लक्ष्य लिएको छ । तर सो जनशक्तिलाई समान रूपले सीपयुक्त बनाउन सकिएको छैन ।

सरकारले वैदेशिक रोजगार बोर्डको सचिवालयअन्तर्गतको सीप विकास तालिम केन्द्रमार्फत वार्षिक ३० हजार जनशक्तिलाई तालिम दिएको दाबी गरेको छ । तर ठूलो संख्यामा सीपविहीन जनशक्ति बिदेसिएको यथार्थ हाम्रासामु छ । 

नेपाली श्रमिक पर्याप्त सीपबिनै वैदेशिक रोजगारीमा जाने गरेको भए पनि अन्य देशको तुलनामा भने नेपाली श्रमिकको माग बढी हुने गरेको देखिन्छ । नेपालीहरू अन्य देशको तुलनामा इमानदार, मिहिनेती हुने र कमै पारिश्रमिकमा काम लगाउन पाइने भएकाले श्रम गन्तव्य देशका रोजगारदाताले नेपाली कामदारको माग गर्छन् । गत वर्ष साउनदेखि चैत मसान्तसम्म नयाँ र पुनः श्रम स्वीकृति लिएर ६ लाख ७ हजार ८ सय ७४ जना बिदेसिएका छन् । 

राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकअनुसार २१ लाख ९० हजार ५ सय ९२ नेपाली बिदेसिएका थिए भने आर्थिक सर्वेक्षण प्रतिवेदन ०८०/०८१ मा गत फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको उल्लेख छ । विदेश जान श्रम स्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् । सरकारले २०५०/०५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको अभिलेख राख्न थालेको हो । वैदेशिक रोजगारीका लागि हाल संस्थागत रूपमा १ सय ११ देशलाई खुला गरिएको छ । 

सरकारले सुरक्षित, सम्मानित र मर्यादित वैदेशिक रोजागरीका लागि तीन दशक अघिदेखि नै प्रयास थालेको भए पनि दक्ष कामदार पठाउन नसक्दा नेपालीहरू निकै कम तलबमा निम्नस्तरको काम गर्न बाध्य छन् । वैदेशिक रोजगारीबाट बढी प्रतिफल हासिल गर्न र दक्ष तथा अर्धदक्ष श्रमिक निर्यात गर्ने श्रमिकको सीप क्षमता विकासमा जोड दिने, विदेश जानुअघि आवश्यक तालिम अनिवार्य गर्नेलगायतका व्यवस्था गर्न जरुरी छ । साथै स्वदेशमै वस्तु तथा सेवाहरूको उत्पादन बढाउने, वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमा व्यवसाय सञ्चालन गर्न उचित वातावरण 

तयार गर्नेलगायतको दिशामा प्रभावकारी काम गर्नुपर्ने देखिन्छ । मर्यादित वैदेशिक रोजगारीको विकल्प स्वदेशमै उद्यमशीलताको वृद्धि हो । त्यसका लागि आफ्नै देशमा रोजगारी सिर्जना गर्नुका साथै उद्यममा पनि प्रोत्साहन गर्नुपर्छ । साना र मझौला उद्यमलाई प्रोत्साहित गरी लगानीबाट रोजगारी सिर्जनाको वातावरण बनाउन सरकार तथा सोकारवाला निकायले नीतिगत तर व्यावहारिक पहल थाल्नु आवश्यक छ ।

तारा वाग्ले पत्रकार हुन् । उनी महिला, बालबालिकाको अधिकार र सार्वजनिक प्रशासन लगायतका बिषयमा लेख्ने गर्छिन् ।

Link copied successfully