अचेल दिनहुँजसो आत्महत्या, हत्या, बलात्कार, दुर्व्यवहार, कालोबजारी, मानव बेचबिखन तथा ओसारपसार, बालविवाह, ठगी, साइबर अपराधलगायतका घटनाका समाचार आउँछन् । समाज त्यस्ता घटनाको साक्षी बनिरहेको छ । व्यक्तिगत, पारिवारिक र सामाजिक रूपमा हुने विकृतिहरूमा समाजका जिम्मेवार पात्रहरूको भूमिका रहेको हुन्छ । जबसम्म हरेक व्यक्ति सामाजिक रूपमा उत्तरदायी र जिम्मेवार बन्न सक्दैनन् तबसम्म विकृति र विसंगतिको अन्त्य हुँदैन ।
काम जस्तोसुकै किन नहोस्, सामाजिक सञ्जालमा भाइरल हुने बहानामा पछि नहट्ने प्रवृत्ति मौलाउँदै गएको छ । आफ्नो व्यवहारले अरूलाई कस्तो असर पुर्याउँछ भन्नेमा गम्भीर नभई अश्लील र अमर्यादित विषयलाई समावेश गर्दा त्यसले सञ्जाल प्रयोगकर्ताहरूलाई कैयौं गुणा हानि पुर्याएको छ । विकृत विषयले मानिसलाई गलत दिशातर्फ डोर्याइरहेको हुन्छ । यसर्थ व्यक्तिगत व्यवहारले सामाजिक रूपमा पार्ने प्रभावप्रति हरेक नागरिक सचेत हुनैपर्छ ।
केही दिनअघि एक जना सरकारी कर्मचारीले आत्महत्याको प्रयास गरिन् । आवश्यक उपचार र मनोपरामर्शपश्चात् बुझ्दा उनले पारिवारिक एवं व्यक्तिगत समस्या झेलिरहेकी थिइन् । श्रीमान् साथमा थिएनन् । दोस्रो सन्तान पनि छोरी जन्मिएकी थिइन् । आफन्तजन र छिमेकीहरूले उनको मनोभावनाविपरीत पटक पटक ‘छोरा भइदिएको भए राम्रो हुने, प्रविधिको उपयोग पनि गर्न जानिनछौ’ भनेपछि उनलाई असह्य भएछ । समाजले कसैको निजी मामिलामा अनावश्यक चासो राखेर पटक पटक सल्लाह, सुझाव दिँदा त्यसले दुर्घटना निम्त्याएका यस्ता उदाहरण हाम्रो समाजमा थुप्रै छन् ।
विभिन्न पद र प्रतिष्ठामा भएका व्यक्तिहरूले नैतिक जिम्मेवारी बहन नगर्दा त्यसको असर सर्वसाधारणमा पर्ने गरेको छ । गलत कार्यमा संलग्न हुने व्यक्तिलाई सम्मान गर्ने र पीडितको मनोबल गिराउने जस्ता कार्यहरू उच्च पदस्थबाट हुने गरेका छन् । आफन्त, दलनिकट कार्यकर्ता र नातेदार कसुरदार हुँदासमेत संरक्षण गर्ने, आरोपमुक्त बनाउन प्रयास गर्ने तथा पीडितलाई धाकधम्कीपूर्ण व्यवहार गर्ने प्रवृत्ति मौलाउँदै गएको हुँदा समाजमा न्याय हराउने भय छ ।
नेपालमा बालविवाह सामाजिक समस्याका रूपमा रहँदै आएको छ । मागी विवाहको सट्टा भागी विवाह बढेको छ । यसले पनि केही समस्या ल्याएको छ । किशोरावस्थामा सही र गलत छुट्याउन नसकी गरेका निर्णयले उनीहरूको जीवन नै पीडादायी बनाएको हुन्छ । परिवार र समाजका अवयव जिम्मेवार बन्न नसक्दा बालविवाहले मौन समर्थन पाइरहेको जस्तो देखिन्छ । कुनै परिवारको समस्यालाई सामाजिक रूपमा जिम्मेवार भई व्यवस्थापन गर्न नसक्दा कानुनी व्यवस्था एकातिर अवस्था अर्कोतिर भएको छ ।
मादक पदार्थ सेवनले होस् या पारिवारिक जिम्मेवारीको बोध नगर्दा दिनहुँजसो कुटपिट र झैझगडाको मारमा महिला तथा बालबालिकाहरू परेका हुन्छन् । उनीहरू आफूले झेल्दै आएको कठिन परिस्थितिको जुधेर सामना गर्न सकिरहेका हुँदैनन् । न्याय प्राप्तिमा समेत पहुँच राख्ने अवस्थामा हुन्नन् । यी र यस्ता अन्य समस्यामा समुदायका जिम्मेवार व्यक्ति, छिमेकी या आफन्तहरू पारिवारिक मामला भनेर जिम्मेवारीबाट विमुख भइरहेका हुन्छन् । परिवारका अन्य जिम्मेवार व्यक्तिसमेत संवेदनशील नहुँदा थुप्रै दुर्घटना भएका छन् ।
नैतिकता, इमान्दारितासँगै सामाजिक उत्तरदायित्व बोध गरी सोहीअनुरूप व्यवहार गर्ने परिपाटी हराउँदै गएको छ । व्यावसायिक क्षेत्रले नाफालाई मात्र उच्च प्राथमिकतामा राख्दा यसले जनजीवनमा ठूलो असर पुर्याएको छ । खाद्यान्नमा विषादी र रङको प्रयोग, म्याद गुज्रेका सामग्रीको खरिद बिक्री, मूल्य एकरूपताको अभाव, उत्पादकभन्दा बिचौलिया हाबी, न्यून गुणस्तर, मिसावट तथा कर छलीलगायतका बेथितिहरू छन् । उत्पादन गरिने वस्तुलाई केबल कमाउने प्रयोजनका लागि हेर्ने परिपाटीले गर्दा दीर्घरोगीहरूको संख्या बढ्दै गएको छ ।
कुप्रथा, परम्परागत हानिकारक अभ्यास साथै गलत संस्कारको अन्त्य गर्न कानुनी दस्ताबेजहरू जारी गरिएका छन् । बेथितिविरुद्ध आवाज उठाउने, उजुरी गर्ने र सो को विरोध गर्ने संस्कारको अभावमा कानुनी कार्यान्वयन पक्ष कमजोर हुँदै गएको छ । राम्रोभन्दा नराम्रो कुराको पक्षपोषण गर्ने प्रवृत्ति मौलाउँदै जाँदा त्यही नै संस्कारका रूपमा विकसित हुँदै गएको छ । गरिब, निमुखा, असहाय र निम्न वर्गका मानिसहरू सबै क्षेत्रमा अन्यायमा परिरहेका छन् । यस्तो गलत अभ्यासका विरुद्धमा को लाग्ने ? कसले आवाज उठाउने ? राज्यका जिम्मेवार पदमा आसीन व्यक्तिहरूबाट सकारात्मक पहल किन हुन सक्दैन ?
दाइजो प्रथाको विरुद्धमा भाषण गर्नेहरू नै सम्पत्ति सार्वजनिक गर्ने बेलामा सम्पत्तिको स्रोतमा ‘दाइजोबापत’ भन्ने उल्लेख गरिरहेका हुन्छन् । बालविवाहको विरुद्ध कानुनी दस्ताबेज पास गर्नेहरू नै भोटमा कमी हुने डरले खुलेरै भोजमा सरिक भएका हुन्छन् । बालश्रम अन्त्य गर्न जिम्मेवारी बोकेकाहरूबाटै घरेलु श्रममा राखिएका बालबालिकाहरू पीडित भएका छन् । कर्मचारी हुन् या राजनीतिक व्यक्तित्व नै किन नहुन् राज्यका जिम्मेवार पदमा रहेकाहरूबाटै श्रम शोषण, दुर्व्यवहार, हिंसा र अन्यायमा परेका घटनाहरू छन् । शक्तिको आड भरोसामा जघन्य अपराधका दोषीहरू लुकाउने अर्थात् सार्वजनिक नगरी कारबाहीको दायरा बाहिरै राख्ने गरेका उदाहरणसमेत नभएका होइनन् । यस्तो परिवेशले जिम्मेवार व्यक्तिको गैरजिम्मेवारपनलाई उदांगो पारेको छ ।
मानिस सामाजिक प्राणी भएकाले समाज बाहिर उसको अस्तित्व रहँदैन । यसर्थ प्रत्येक व्यक्तिले समाजप्रतिको आफ्नो दायित्व र जिम्मेवारीलाई बिर्सनुहुन्न । व्यक्तिगत स्वार्थबाट माथि उठेर आफ्ना व्यवहार, गतिविधि तथा आचरणलाई स्वनियन्त्रण गर्नुपर्छ । समाजलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ । सूचना र प्रविधिको अहिलेको युगमा समाजमा हुने हरेक गतिविधिले पारिवारिक र व्यक्तिगत तथा व्यक्तिगत व्यवहारले सामाजिक रूपमा समेत असर पुर्याउने भएकाले सबै जना जिम्मेवार तथा स्वयं सचेत बन्नैपर्छ ।
