हाम्रा सोचविचार, शैली र आनीबानीमा सुधारचाहिँ गर्नैपर्छ । एक त मुलुकमा सबैभन्दा प्रमुख मियो भनेको नेतृत्व वर्ग हो । उनीहरूमा उच्च नैतिक आचरण, संस्कार हुन जरुरी छ । आफू र आफ्नो दलभन्दा माथि उठेर समग्र देशको भलाइमा जुट्न सक्नुपर्छ ।
विकास निरन्तर चलिरहने प्रक्रिया हो । यसको कहिल्यै अन्त्य हुँदैन । विकासको साधन र साध्य भनेकै मानव विकास हो । मानव पुँजीको निर्माण गर्नु हो । हामीभित्रका नराम्रा सोच, विचार, चिन्तन र दुर्बलताहरूलाई हटाउनु र घटाउनु हो । सभ्य र सचेत नागरिकमैत्री समाज निर्माण गर्नु हो ।
हरेक व्यक्तिले आफ्नो मानवीय मूल्य बढाउनु हो । राम्रा कामकुराको अनुकरण र अनुसरण गरेर त्यसलाई व्यवहारमा उतार्नु हो ।
एकछिन हाम्रा आनीबानीलाई विचार गरौं त । सबैलाई अरूको कुरा काट्नमा नै मज्जा आउँछ । अरूलाई नराम्रो व्यवहार गर्दा आफू ठूलो भएको भान हुन्छ । कसैले प्रगति गरेको छ भने खुट्टा तान्ने जुक्तिबुद्धि सोचेर घण्टौं समय बर्बाद गर्छौं । सबै कामकुराको र समस्याहरूको समाधान गर्ने अस्त्र भनेको आन्दोलन हो भन्ने हाम्रो मानसिकता छ । श्रम गर्ने संस्कृति लोप हुँदै गएको छ ।
कामलाई माया गर्ने, कामलाई सम्मान गर्ने प्रवृत्ति हराएको छ । जुनसुकै क्षेत्रमा बिचौलियाहरूको राज छ । नेतृत्वको भाषण सुन्दा थपडी बजाउने काममा हामी सर्वसाधारण नागरिकसमेत अभ्यस्त बनेका छौं । अरू बेला सरकारका विरुद्धमा बोल्ने, खबरदारी गर्ने कुरा काट्ने गर्छौं तर जब चुनाव आउँछ अनि तिनैलाई अमूल्य भोट दिन्छौं, सरकारमा पठाउँछौं । खोइ त हामी असल नागरिक बन्न सकेको ? हामी समस्त नागरिकहरूले आफ्नो मूल्य बढाउन जरुरी छ ।
सरकार छोटो समयमा परिवर्तन हुने गरेको छ । दण्डहीनताले आफ्नो बाटो बलियो बनाएको छ । मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रको मनोबल गिरेको छ । संघीयता लागू भएको दशक पुग्दासमेत संघीय निजामती सेवा ऐन आउन सकेको छैन । कर्मचारी समायोजनको उचित व्यवस्थापन भएको छैन । देशबाट प्रचुर मात्रामा वस्तु तथा सेवाहरू निर्यात हुन सकेका छैनन् । युवाहरू विदेशिइरहेका छन् ।
यसो भनिरहँदा मुलुक बर्बाद नै भएको चाहिँ होइन । मुलुकभित्र विकासका अथाह सम्भावनाहरू छन् । हाम्रोमा प्राकृतिक स्रोत साधन पर्याप्त छ । जनसंख्याको आकार ठिक्क छ । जसको उचित व्यवस्थापन गरी केही वर्षसम्मलाई हामीेले जनसांख्यिक लाभ लिन सकिन्छ ।
कृषि, पर्यटन, ऊर्जा, उद्योग, सूचना–प्रविधिलगायतका क्षेत्रमा अलिकति ध्यान दिएर लगानीमैत्री बन्न सकियो भने विकासका बाटाहरू क्रमशः खुल्दै जान्छन् । अब हाम्रा सोचविचार, शैली र आनीबानीमा सुधारचाहिँ गर्नैपर्छ । एक त मुलुकमा सबैभन्दा प्रमुख मियो भनेको नेतृत्व वर्ग हो । उनीहरूमा उच्च नैतिक आचरण, संस्कार हुन जरुरी छ । आफू र आफ्नो दलभन्दा माथि उठेर समग्र देशको भलाइमा जुट्न सक्नुपर्छ ।
आर्थिक विकासका लागि आत्मनिर्भर अर्थतन्त्र बनाउने अभियानमा जुट्नुपर्छ । जहाँ जे छ, जे उत्पादन हुन्छ, त्यही खेती सुरु गर्नुपर्छ । सरकारले कृषिमा लगानी गर्न र अनुदान दिन कन्जुस्याइँ गर्नु हुन्न । कृषकलाई दिने अनुदान गैरकृषकले पाउनु हुन्न । यसको नियमन कडा रूपमा हुन जरुरी छ ।
सरकारी विद्यालयको गुणस्तर सुधार्न सबै लाग्नुपर्छ । निजी विद्यालयको उचित नियमन गर्नुपर्छ । मनपरी शुल्क उठाउने प्रवृत्तिलाई मात्र रोक्न सकियो भने पनि यसमा लगानी गर्नेहरूको संख्या क्रमशः घट्दै जान्छ । अनि अहिले निजी विद्यालयमा देखिएका बेथितिहरूमा क्रमशः सुधार आउँछ ।
विश्वविद्यालयमा पढ्ने विद्यार्थीका लागि अन्य बाहिरी मुलुकहरूमा जस्तै पढ्दै कमाउँदै गर्ने पद्धतिको विकास गर्नु जरुरी छ । यसले केही हदसम्म हाम्रो बौद्धिक ब्रेनड्रेनको समस्यामा सुधार ल्याउन सक्छ । हाम्रोमा नागरिक शिक्षा कमजोर छ । धेरै नागरिकहरू यसैको अभावमा जसले जे भन्छ, उसैको पछि लाग्ने देखिन्छ । सबै आन्दोलनमा सधैंभरि सक्रिय भीड यसकै उदाहरण हो ।
काम गर्ने सवालमा हाम्रो सोचाइमा केही समस्या छ । अलि–अलि पढेपछि आफ्नो खेतबारीमा टेक्नै हुन्न, गाईभैंसी पाल्नै हुन्न, सानातिना व्यापार–व्यवसाय गर्नै हुन्न भन्ने सोच्दछौं । अनि बेसुरमा नेतृत्वको, टाठाबाठाहरूको झोला बोकेर, पछि लागेर हिँड्छौं । त्यसो गरेर कहीँ पुगिन्न । जो–जससँग, जे–जस्तो क्षमता, जे अधिकार र दायित्व छ, सो पूरा गरौं । यसो गर्दा हामीसँग अनावश्यक समय बर्बाद पार्ने फुर्सद हुन्न ।
सरकारका नराम्रा कामकुराहरूको खबरदारी गरौं । राम्रो गर्नका लागि हातेमालो गरौं । विकास भन्ने कुरा एक व्यक्ति, दल, सरकारले मात्र गरेर हुने कुरा होइन । यो त बहुआयामिक विषय हो । त्यसैले सिंगो मुलुकको विकास गर्न विकासवादी भएर अगाडि बढौं ।
