आतंकवादको भू–राजनीति 

आतंकविरुद्ध एक क्षेत्रीय संगठनले आकार लिनुपर्छ, एक प्रतिशक्ति बनोस्, जसले यस्ता अराजक हिंसा मच्चाउने शक्तिलाई नियन्त्रित गर्न सकोस्, प्रतिशक्ति स्वयं युद्धरोधक हुन्छ, यस्तो विचारलाई सम्मान तथा सक्रियता नदेखाएसम्म के नेपालले आफ्नो भविष्यबारे सोच्न सक्छ ?

वैशाख १८, २०८२

चन्द्रकिशोर

The Geopolitics of Terrorism

भारतको कश्मीरस्थित पर्यटकीयस्थल पहलगाममा हालै भएको आतंककारी आक्रमणमा अट्ठाइस जनाको ज्यान गयो । मृतकमा नेपाल र यूएईसहित भारतका नागरिक छन् । नेपालमा आफ्ना नागरिक सुदीप न्यौपाने मारिएको प्रति शोक व्यक्त भयो ।

सँगै छिमेकी मित्रराष्ट्र भारतमाथि आइपरेको यस दुर्घटनाप्रति नेपालका राष्ट्रपति–प्रधानमन्त्रीको तहबाट समेत चिन्ता प्रकट भयो । साँध जोडिएको छिमेकी राष्ट्र भएको नाताले मात्र नभएर दुई राष्ट्रबीच अनादिकालदेखि रहिआएको सम्बन्धका कारणले पनि पहलगामको पीडा गहिरोसँग बुझियो । सडकदेखि संसद्सम्म आतंकवादविरुद्ध आवाज गुन्जियो ।

भारत र पाकिस्तानबीच बढ्दो तनाव बाक्लिएर वारपारको नौबत आएको छ । नेपालसँग नजिकका यी दुई छिमेकीबीचको आपसी सम्बन्धका बाछिटाबाट नेपाल अप्रभावित रहने कुरै रहँदैन । तर यस पटक पहलगाम हमलामा एक नेपाली नागरिक यस कारण मारिए कि उसको एक विशेष धार्मिक पहिचान थियो ।

यस्ता आतंकवादी हिंसाको सिकार नेपालीहरू अन्य मुलुकमा समेत हुने गरेको विगत छ । तर यस पटकको यो घटनाको भू–राजनीतिक आयाम पृथक् छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस पटक मुख फोरेका छन् ।

आक्रमणकारीहरूले केवल हिन्दु पुरुष पहिचानलाई प्राथमिकता दिए । भनिन्छ, खोजी–खोजी त्यही जान्ने कोसिस गरे । तिनका लागि को–कुन मुलुकका बासिन्दा हुन् भन्ने कुनै अर्थ थिएन । त्यो सवाल गौण रह्यो । उनीहरूले एक धर्मविशेषकालाई मात्र आफ्नो लक्ष्य बनाए । दक्षिण एसियाली मुलुकहरू विविधता बोकेको क्षेत्र हो । यस्ता कार्यले धार्मिक विभाजनलाई अझ गहिरो बनाउने खतरा छ ।

आतंकवादीहरू धार्मिक पहिचानका आधारमा नरमेध गरेर यस भूखण्डमै धार्मिक द्वन्द्वका परकम्प ल्याउन चाहन्थे । बंगलादेशपछि पहलगाम प्रकरणले एउटा यक्ष प्रश्न खडा भएको छ, जो नेपालभित्र पनि सुनिने गरिन्छ । एक समुदायको अर्को समुदायलाई हेर्ने दृष्टिमा संकीर्णता खडा गर्ने संगठित र लगातार कोसिस हुने क्रमबाट कसरी जोगिने ? 

आतंकवाद त्यो कट्टरपन्थी पक्षबाट गरिन्छ, जो मानव जीवनको पवित्रताप्रति पूरै उदासीन रहन्छन् । उसो त अन्तर्राष्ट्रिय समुदाय आतंकवादको सार्वभौमिक परिभाषालाई लिएर विभाजित छन्, तर पनि यसलाई सामना गर्न बाध्य छन् । पहलगामले पनि प्रस्ट्यायो, आतंकवाद कुनै दुर्घटना होइन । आतंकवाद सावधानीपूर्वक योजनाबद्ध हुन्छ । र, जबसम्म हमला हुँदैन, यो अदृश्य रहन्छ । यो आतंकवादको विशेष पक्ष हो । न समय न स्थानका बारे नै अनुमान गर्न सकिन्छ ।

भू–राजनीतिक प्रतिस्पर्धामा एक उपकरणका रूपमा आतंकवादको प्रयोग गर्ने चलन छ । राज्य प्रायोजित आतंकवादले यस्तैमा ठाउँ पाउने गर्छ । भू–राजनीतिक प्रतिस्पर्धा, संसाधन नियन्त्रण, अस्थिरता खडा, सामुदायिक ध्रुवीकरण, भयको प्रसार गर्न छद्मावरणको ओत लिने गरिन्छ । आतंकवादको भू–राजनीति जटिल, कुटिल र क्रूर हुने गर्छ ।

कूटनीतिज्ञहरू बताउने गर्छन्, तपाईंको मुलुकले केही गर्दै छ र त्यसमा छिमेकीको चासो छचल्कियो भने भू–राजनीति हो । त्यसैगरी तपाईंको मुलुकले अर्को कुनै देशसँग केही गर्दै छ भने तेस्रो मुलुकको चासो देखियो भने त्यो भू–राजनीति हो । छिमेकी भारतलाई उसको सुरक्षा सरोकारबारे आश्वस्त बनाउनु त छँदै छ, आफ्नोसमेत सुरक्षा संवेदनशीलता सम्हाल्नु उत्तिकै जिम्मेवारीका रूपमा आइपरेको छ । भारतसँगको खुला सीमा र नेपाल–भारतबीचको पारस्परिक सम्बन्धप्रति कैयौं पक्ष असहिष्णु छ कि भन्ने मन्थन गर्ने बेला पनि हो यो । यो अभिन्न छिमेकी भारतलाई भरोसामा राख्ने समय हो ।

आतंकवादी प्रक्रिया, पात्र र परिणामले प्रत्येक चीज र प्रत्येक शब्दहरूको पूर्वनिर्धारित अर्थलाई बिल्कुलै बदलिँदै जान्छ । तिनीहरू शब्दक्रीडा गर्न जानेका हुन्छन् । तिनका शब्दहरू कुनै जादुगरको टोपीजस्तै हुन्छन्, जहाँ सानो–सानो प्वालबाट कति ठूलो चीज निस्किएर आउँछ । शब्दहरूको सन्दर्भ बदलिनेबित्तिकै अर्थहरूको कायाकल्प हुन पुग्छ । शब्दहरू आफ्नो सीमित र प्रचलित अर्थबाट मुक्त हुँदै जान्छन् । यी सन्दर्भहरू असुविधाजनक सवाल हुन् । पहलगामपश्चात् उदाएका कतिपय क्षेत्रीय भाष्यहरूलाई यस्तै आलोकमा नियाल्नुपर्ने हुन्छ ।

सफाइ उसले दिन्छ, जो सफा छैन । पखालिएको र सफा कपडाले कहिल्यै पनि लौन्ड्रीवालासँग सिकायत गर्दैन । यो त ऐतिहासिक तथ्य हो । पाकिस्तान, भारत र हिन्दुहरूको खिलाफको प्रतिक्रियामा जन्मिएको हो । यही नकारात्मक आधारमा नै उसको अस्तित्व कायम छ । पाकिस्तानका संकट आफ्नै छन् । सन् १९४७ मा पाकिस्तान भारतबाट टुक्रियो ।

जुन ‘पाकिस्तानी संस्कृति’ भन्ने संकथन छ, यो के आफ्नै जन्मकालमै उदायो ? वा भारत र पाकिस्तानको साझा संस्कृति हजारौं वर्ष पहिला सुरु भयो ? दोस्रो प्रश्न उठ्छ, यो हजारौं वर्ष के हो ? हडप्पा–मोहनजोदाडो कसको विरासत हो ? यो त अहिलेको पाकिस्तानमा हो, त्यसो भए के यो उसकै मात्र विरासत हो ? फगत यसकारण कि यो उसकै राजनीतिक सीमाभित्र हो ? तर विभाजन अघि त्यो भारतको हिस्सा थियो । इस्लाम धर्मावलम्बीहरू दुनियाँभर छन् । सबैका आफ्नै अलग संस्कृति छन् । यस्तोमा के कुनै अमूक मुलुक कुनै धर्मको मुखर प्रवक्ता बन्न सक्छ ? 

नितान्त असहायता, विमर्शको प्रभावहीनता र मानवीय संवेदनामा आउँदै गरेको बदलावका कारण केही चीज मान्छे र राष्ट्रको स्वभाव बन्दै जान्छ । जस्तो– हत्या, अविश्वसनीयता, षड्यन्त्र आदि जो कुनै समय व्यक्ति, समाज र देशका लागि अत्यधिक चिन्ताको विषय थियो । त्यो सहज स्वीकृत सत्य बन्दै गएको छ । यसैले पहलगाममाथि चलाइएको क्रूरतापूर्ण गोलीलाई कतिपय मान्छेले ‘मायावी यथार्थ’ को रोचकताका रूपमा देखे ।

तात्कालिक स्वार्थले केही पनि हेर्न दिँदैन, स्वयं आफ्नो भविष्य पनि कि कुनै दिन कतै यस्तै ढल्न पुग्दा त्यस्तै प्रतिक्रिया दोहोरिन्छ जो ऊ आज अरूका लागि देखाउँदै छन् । भन्न खोजेको के हो भने, आतंकी नरम वा उदार भन्ने हुँदैन । राम्रो वा खराब हुँदैन । न त यो वा त्यो तर्कका आधारमा यसको औचित्य नै पुष्टि गर्न सकिन्छ । यथार्थ के हो भने, आतंकवादी हिंसा कुनै बाह्य शक्ति होइन, यो त आफ्नैभित्रको वैचारिक अराजकता हो । यो पनि उत्तिकै ठम्याउनुपर्ने विषय हो ।

आतंकलाई रोज्ने कि तिरस्कार गर्ने ? किनभने आतंकीको लामो सूची हुन्छ । त्यो गोलीको निसाना तपाईं स्वयं बन्न सक्नु हुन्छ । सुदीप न्यौपानेका ठाउँमा जो कोही हुन सक्थ्यो, यस्तै घटनामा फेरि अर्को सुदीप पर्न सक्छ । पहलगामको ताजा आक्रमण र विध्वंस यस दक्षिण एसियाका लागि ‘अशनि– संकेत’ हो । प्रसिद्ध ग्रन्थ गीतामा उल्लिखित छ– ‘ये यथा मां प्रपद्यंते तांस्तथैव भजाम्यहम । मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।’

हरेक तरिकाबाट मान्छेहरू मेरै बाटोको स्मरण गरिराखेका छन् । यहाँ कहाँ सम्प्रदायवाद छ ? यी सबै चीजलाई फेरि प्रकट गर्न आवश्यक छ । यही सांस्कृतिक धरोहर हो, यसलाई बुझ्नुपर्ने छ । यसलाई फेरि रेखांकित गर्नु यस समयको ठूलो आवश्यकता हो । कुनै पनि मुलुकको पुँजीभूत चिन्तन नै उसको संस्कृति हो । त्यसमा मूलभूत मान्यताहरू, मूलभूत आस्थाहरू निहित हुन्छन् । जीवन पद्धति, रहनसहन, खानपिनमा परिवर्तन हुन सक्छ तर त्यो मूलभूत आस्थाहरूमा हुँदैन ।

विख्यात फ्रान्सेली कूटनीतिज्ञ चार्ल्स मउरिस डेका शब्दमा ‘प्रत्येक देशको व्यवहारशील परराष्ट्र नीतिमा व्यक्तिगत आकांक्षा, लहड र अति जोस वर्जित हुन्छ ।’ पाकिस्तानका सैन्य संस्थापनले जहिल्यै पनि आफ्ना व्यक्तिगत लहड र अति जोसलाई परराष्ट्र नीतिको निर्णायक पक्ष बनाउन दबाब दिने गर्छ । संस्थापन भन्नेबित्तिकै जन्मकालिक एउटा यथास्थितिवाद भई नै हाल्यो । र, त्यहाँको आन्तरिक शक्ति संरचनामा सेना प्रबल रहेको हुँदा उसको दबाब नै सदर बन्ने गरेको छ । बाघको सवारी अन्ततः खतरनाक त उनका लागि पनि हुने निश्चित छ । तर यो दक्षिण एसियाली शान्तिका लागि प्रत्युत्पादक र आत्मघाती साबित हुँदै आएको छ ।

सार्कले आफ्नो स्वर्णिम यात्रा गर्न सक्ने वर्षहरू पाकिस्तानका कारण खेर गएको छ । पाकिस्तानको यस्तो रवैयाप्रति मौन रहने दक्षिण एसियाली देशहरूका लागि विस्मात् साझा नियति जो बनेको छ । त्यसैगरी यस्ता प्रवृत्ति बोकेको पाकिस्तानप्रति चीनको भित्री रवैया के हुन्छ ? किनभने यो ‘रणनीतिक साझेदारी मित्रताको नयाँ शब्दावली’ मात्र होइन भन्ने कुरा जगजाहेर छ ।

अल्पसंख्यक साम्प्रदायिकता कसैका लागि सत्तामा आउने सिद्ध मन्त्र हुन्छ त कसैका लागि बहुसंख्यक साम्प्रदायिकता सत्तामा पुग्ने सोपान हुन्छ । यस प्रकारको घालमेलका कारण नेपालको लोकतन्त्र जोखिममा पर्न सक्छ । त्यस्तै आतंकको विरुद्धमा एक क्षेत्रीय संगठनले आकार लिनुपर्छ । एक प्रतिशक्ति बनोस् जसले यस्ता अराजक हिंसा मच्चाउने शक्तिलाई नियन्त्रित गर्न सकोस् ।

किनभने प्रतिशक्ति स्वयं युद्ध रोधक हुन्छ । यस्तो विचारलाई सम्मान तथा सक्रियता नदेखाएसम्म के नेपालले आफ्नो भविष्यबारे सोच्न सक्छ ? बोल्नु र चुप रहनु कसैको निजी छनोट हुन सक्छ । जो मौन छन्, त्यो उकुसमुकुसमा बाँचिरहेका पनि हुन सक्छन् । तर सार्वजनिक वृत्तमा जब कुनै विवेकी कुरा बोल्न, बताउनबाट भाग्न खोजिन्छ, वातावरण खराब हुने मनोत्रास हुन्छ । त्यो मौनताले लोकतन्त्र र समाजको ‘स्वास्थ्य सूचकांक’ कमजोर रहेको दर्शाउँछ ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully