भूकम्पको त्रास : राज्य संयन्त्र उदास

भूकम्पीय प्रकोपजस्ता आइलाग्ने विपत्का लागि उद्धार कार्यको अग्रिम व्यवस्थापन हुनुपर्छ । तर हामीकहाँ विपत् परेको केही दिनपछि मात्रै व्यवस्थापन जुर्मुराउने गरेको छ । भूकम्पीय जोखिममा रहेको हाम्रो देशमा विनाशकारी भूकम्प जतिसुकै बेला आउन सक्छ भन्ने हेक्का राख्नुपर्छ ।

वैशाख १२, २०८२

बुद्धिनारायण श्रेष्ठ

Earthquake panic: State machinery depressed

दस वर्षअघि वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प आएको थियो । ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पले नेपाललाई ५५ सेकेन्ड हल्लाएर जनतालाई त्राहिमाम बनाएको थियो । शक्तिशाली भुइँचालोले जमिन हल्लाउँदै थेचार्दै गर्दा ९ हजार जना नेपालीको ज्यान गयो ।

२२ हजार घाइते र २ सय ७६ बेपत्ता भएका थिए । भूकम्पका कारण निजी, सरकारी, सम्पदा, विद्यालय, सार्वजनिक गरी ७४ हजार घर भत्केका थिए । 

७ लाख ७६ हजार घरमा निकै क्षति पुगेको थियो भने २ लाख ८४ हजार घरमा आंशिक रूपमा क्षति भएको थियो । १० वर्षको अन्तरालमा हामीमध्ये कतिपयले त्यो क्षण बिर्सिसक्यौं होला । तर त्यस विनाशकारी भुइँचालोले छाडेको परिणामलाई हामी नबिर्सौं । यतिकै स्केलको अथवा योभन्दा पनि ठूलो महाभूकम्प फेरि हाम्रो घरदैलोमा आयो भने कसरी त्यस प्रलयबाट जोगिने र अरूलाई कुन तरिकाबाट जोगाउने भन्ने कुरा सदैव हामीले हाम्रो मनमस्तिष्कको एउटा कुनामा राखौं । किनभने नेपाल भूकम्पको जोखिम क्षेत्रमा छ । 

१० वर्षसम्म पनि शक्तिशाली स्तरका ६ वटा भूकम्प र त्यसभन्दा कम स्केलको परकम्पन गइरहेकाले मानिसलाई एक प्रकारको त्रास छुटेको छैन । यस्ता परकम्पन छुट्दा छुट्दै २०७२ वैशाख १२ को भन्दा ठूलो महाभूकम्प आउने हो कि भन्ने डर छ । २०७२ मा ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प आएन । त्यसैले भूकम्पको ऊर्जाशक्ति फल्ट (चिरा) लाइनको प्लेटभित्र अड्केर बसेको छ । यस्ता प्लेटहरू आकस्मिक रूपले द्रुतगतिमा चलायमान भए भने त्यो अड्किरहेको ऊर्जाशक्तिमा थपिने अथवा थपिएको शक्तिले महाभूकम्प पैदा गर्न सक्छ भन्ने आकलन भूकम्पबेत्ता तथा भूगर्भविद्को रहेको छ । 

सम्वत् १८९० मा ८ रेक्टर स्केल र १९९० मा ८.४ स्केलको महाभूकम्प गएको थियो । अमेरिका कोलोराडो विश्वविद्यालयका भूकम्पबेत्ता रजर विलहामका अनुसार ‘हिमालय क्षेत्रमा रहेका मुलुकमा साधारणतः सय वर्षको साइकलमा एउटा महाभूकम्प जान्छ ।’ तर नेपालमा महाभूकम्पको अर्को समयचक्र नपुग्दै अर्थात् ८२ वर्षमै शक्तिशाली भूकम्प गयो । २०७२ को महाभूकम्पीय स्तरको नभएकाले अर्को महाभूकम्प बाँकी नै रहेको छ भन्ने ठानिन्छ ।

अन्य केही भूगर्भबेत्ताहरू भन्दै छन्– २०७२ वैशाख १२ मा गोरखा केन्द्रबिन्दु भएको भूकम्प जाँदा फाटेको बार्पाकदेखि पूर्वतिर दोलखासम्मको लगभग १३० किलोमिटर पूर्व–पश्चिम लामो र ५० किमि चौडा धाँजा (चिरा) को शक्ति काठमाडौंभन्दा दक्षिणतिर महाभारत क्षेत्रमुनि लगभग १० किमि गहिराइमा अड्किएको छ ।

यस क्षेत्रमा गत ८२ वर्षदेखि सञ्चित सम्पूर्ण उर्जाशक्ति स्खलन हुनका निम्ति उक्त धाँजा फाट्दै चुरे र तराईको सिमाना क्षेत्रमा जमिनको सतहसम्म अइपुग्नुपर्ने थियो । तर त्यसो हुन सकेन । त्यसैले गोरखा भूकम्पपछि काठमाडौंभन्दा दक्षिणको भागमा भूकम्पीय जोखिम बढेर गएको छ । यस कारण १०–२० वर्षपछि महाभूकम्प आउन सक्छ भन्ने उनीहरूको धारणा रहेको पाइन्छ । यद्यपि, भूकम्प जाने भविष्यवाणी विज्ञानले सिर्जना गर्न सकेको छ्रैन । विज्ञानले तिथि, मिति र समय यकिन गर्न नसके तापनि नेपालमा साना ठूला भूकम्प गई नै रहन्छन् । 

भूकम्पीय हिसाबले हिमालय क्षेत्र सधैं जोखिममा रहेको छ । एक सर्भेक्षणअनुसार सम्भावित मृत्युको आधारमा नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११ औं नम्बरमा पर्छ । नेपाल कहिल्यै भूकम्पप्रुफ थिएन र भविष्यमा पनि हुन सक्दैन भन्ने भूकम्पबेत्ताहरूको अवधारणा रहिआएको छ ।

स्मरणीय छ, ८ रेक्टर स्केलभन्दा माथिको भूकम्पलाई महाभूकम्प भनिन्छ भने ७ देखि ८ सम्मकोलाई शक्तिशाली, ६ देखि ७ सम्मको मझौला र ४ देखि ६ सम्मकोलाई साना भूकम्पमा वर्गीकरण गरिएका छन् । यसैगरी २ देखि ४ रेक्टरसम्मको भूकम्पलाई परकम्प भनिन्छ । २ देखि कमको परकम्पलाई रेकर्ड गरिँदैन । १ रेक्टर स्केलको तलमाथि हुँदा ३२ गुणा शक्ति कम वा बढी हुन जान्छ । सम्वत् २०७२ को शक्तिशाली भूकम्प पछि पनि बेलाबखत मझौलास्तरका भूकम्प गइरहेकै छन् । 

राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांकअनुसार गोर्खा भूकम्पपछि १० वर्षभित्र ५ वटा मझौला (६ देखि ७ रेक्टर स्केल), ८२० साना (२ देखि ४ स्केल) र ५५ हजार परकम्प (४ भन्दा कम स्केल) गएका छन् । केन्द्रका अनुसार नेपालमा स–साना परकम्प दिनको १०–१२ पटक जान्छन् । हालै २०८१ चैत २२ मा जाजरकोट क्षेत्रमा बेलुका तीन मिनेटमा दुईवटा भूकम्प (५.२ तथा ५.५ रेक्टर स्केल) गए । केही घर चिरा परे । अतालिएर भाग्दा केही मानिस घाइते भए । यसरी भूकम्प गइरहेकै छन् । यसरी भूकम्प र परकम्प गइरहेकाले हामीले जहिल्यै पनि सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।

नेपालको भौगोलिक अवस्थिति

५ करोड वर्ष पहिले दक्षिणर्फको इन्डियन प्लेट उत्तरमा रहेको तिब्बती युरेसियन प्लेटमा ठोक्किन आइपुगी भित्र पस्यो । फलस्वरूप अफगानिस्तानदेखि म्यानमारसम्म २५ सय किलोमिटर हिमालय शृंखला बन्यो । यसमा ८ सय किलोमिटर नेपालको हिमशृंखला पर्छ । भूकम्पसम्बन्धी अध्ययन अनुसन्धान तथा मनिटरिङ गरिरहेका स्वदेशी–विदेशी वैज्ञानिकहरूका अनुसार करोडौं वर्षदेखि भारतीय प्लेट तिब्बती प्लेटमा घुस्ने–घस्रने क्रम जारी छ ।

हालमा पनि प्रतिवर्ष करिब २ सेन्टिमिटरका दरले पस्दै छ । यस्तै, शिवालिक महाभारत पहाडी शृंखला प्रतिवर्ष ३ मिलिमिटर उठ्दै गएको र हिमालय करिब २ देखि ७ मिमि अग्लिँदै गरेको अनुमान गरिएको छ । नेपालको जमिनभित्र चुरे शिवालिक शृंखलामा पूर्व–पश्चिम तीनवटा फल्ट लाइन (चिरा) बनेका छन् । यस्ता फल्टमा रहेका साना प्लेट घर्षणका कारण एकआपसमा ठोक्किन पुग्दा पनि सतहमा कम्पन छुट्ने गर्छ ।

भूकम्पीय शिक्षा, प्रविधि र व्यवस्थापन 

कथंकदाचित् भविष्यमा ठूलो स्केलको महाभूकम्प आयो भने कसरी बाँच्ने र अरूलाई बचाउने अथवा कमभन्दा कम क्षति कसरी गराउन सकिन्छ भन्ने ज्ञान हासिल गर्नुपर्छ । वास्तवमा भूकम्पले मान्छेलाई मार्दैन । तर मानिसलाई आफ्नै घरले किचेर मार्छ । भूकम्प छुटेको समयमा कसरी बच्ने भन्नेबारे मानिसले केही मात्र भए पनि पूर्वसावधानी अपनाएर आफू सदैव जागरुक रहे भूकम्प आइहाले बच्न सक्ने सम्भावना रहन्छ ।

यसका निम्ति उचित तौरतरिका अपनाउँदा धेरै मात्रामा आफू सुरक्षित हुन सकिन्छ । भूकम्प गएको समय आफू विद्यालयमा अथवा घरको कुनै तलामा रहेको भए नआत्तिएर संयमका साथ कताबाट बाहिर निस्कन सकिन्छ भन्ने कुरा दिमागले तत्काल निर्णय गरी कामयाव गर्नुपर्छ । भूकम्पले हल्लाएको क्षणमा कस्तो उपायबाट घरबाहिरतिर भागेर ज्यान जोगाउन सकिन्छ भन्नेजस्ता विषयवस्तुसम्बन्धी भूकम्पको ज्ञान गराउन उच्च माध्यमिक विद्यालयसम्मको पाठ्यक्रममा संलग्न गरी शिक्षादीक्षा दिने व्यवस्था गरिनुपर्छ । 

भूकम्पको क्षति कम गराउनका लागि भूकम्प प्रतिरोधक घर/भवन बनाउने प्रविधि अवलम्बन गर्नुपर्छ । यससम्बन्धमा विभिन्न क्षेत्रको माटो परीक्षण गरी थेग्ने क्षमताअनुसारको मात्र भवन संरचना निर्माण गर्न अनुमति दिने पद्धतिको विकास गर्नुपर्छ । आवासीय घर, भवन, हाउजिङ कम्प्लेक्स, व्यापारिक मल, अफिस कम्प्लेक्स निर्माणसम्बन्धी वैज्ञानिक राष्ट्रिय मापदण्ड निर्धारण गरी कडाइका साथ अवलम्बन गराउने संयन्त्र विकास गरिनुपर्छ । यस्ता संरचनाहरूमा भूकम्प प्रतिरोधक (रिजलेन्ट) प्रविधि अपनाउन सहरी विकास मन्त्रालयअन्तर्गतका सम्बन्धित विभाग तथा निकायहरूले हदैसम्म कडाइ गर्नुपर्छ । 

भूकम्प गएपछि तत्काल सबै व्यावसायिक हवाई उडान रद्द गरी हेलिकप्टर तथा साना हवाई जहाज उद्धारकार्यमा लाग्नुपर्ने नियमावली निर्माण गरिनुपर्छ । आवश्यक मात्रामा खाद्यान्न, कम्बल, ओछ्यान, पाल, त्रिपाल, फास्टफुड (तयारी खाने कुरा) आदिको क्षेत्रीयस्तरमा भण्डारण गर्ने व्यवस्था हुनुपर्छ । गोदाममा सञ्चित यस्ता सामान ६ महिना/वर्ष दिनमा बदलिइरहनुपर्छ । पुरानो सामान बिक्री गरी नयाँ स्टक राख्ने प्रचलन गर्नुपर्छ । 

क्षेत्रीयस्तरको स्वास्थ्य संस्थामा भूकम्पपीडितका लागि आवश्यक पर्ने औषधिको स्टक राखिने प्रबन्ध गरिनुपर्छ । यस्ता सञ्चित औषधि वर्ष–वर्ष दिनमा बिक्री गरी नयाँ औषधि तथा स्वास्थ्य सेवासम्बन्धी सामग्री उपकरण बदलिरहने व्यवस्था हुनुपर्छ । 

भूकम्प गएको छोटो समयभित्रै धेरै उद्धार कार्य गर्न सकिने प्रबन्ध मिलाइराख्नुपर्छ । उद्धार उपकरणहरू– जस्तो, सिमेन्ट ढलानलाई तत्काल काट्ने, प्वाल पार्न सक्ने विद्युतीय उपकरण, ब्याट्रीचालित ज्याबल, थुप्रेको इँटालाई टुक्रा–टुक्रा पारी माटोमा परिणत गर्न सक्ने केमिकल तरल पदार्थ आदि सामग्री तत्काल उपलब्ध हुने प्रबन्ध गर्नुपर्छ । यस्ता उपकरण र प्राविधिक सरसामान चलाउन जान्ने तालिमप्राप्त व्यक्ति तयार पार्नुपर्छ । थुप्रेको इँटा, माटो आदि तत्काल छिटो हटाउने सोहोर्ने विकसित प्रणालीको व्यवस्थापन गर्नुपर्छ ।

अन्त्यमा

१० वर्षअघिको शक्तिशाली भूकम्पपछि विपत् व्यवस्थापनमा सरकारले निकै ढिलासुस्ती गरेको अनुभव नेपाली जनताले गरेका थिए । त्यस भूकम्पीय प्रकोपमा परेका पीडितलाई उद्धार गर्न केही दिनसम्म नेपाल आफैंले सकेन । तर छिमेकी देश भारतको सुसज्जित उद्धार टोली भोलिपल्टै र चीनको टोली पर्सिपल्ट सखारै, अनि अन्य देशका उद्धारक नेपाल उत्रिए ।

केही विदेशी टोली विमानस्थलबाट सिधै संरचना ध्वस्त भएको इलाकामा पुग्यो । घरले चेपिएरका कतिपय पीडितलाई जिउँदै र केही पुरिएका लास बाहिर निकाले । त्यसपछि नेपाली टोली पनि सुसज्जित भए । केही टोलीले आफैं काम गरे भने केही टोली विदेशीसँग संलग्न भएर उद्धार कार्यमा जुटे । यी सबै अनुभवका आधारमा भविष्यका लागि विपत् व्यवस्थापनमा स्वचालित संयन्त्रको विकास गर्नुपर्ने देखिन्छ । 

भूकम्पीय प्रकोपजस्ता आइलाग्ने विपत्का लागि उद्धार कार्यको अग्रिम व्यवस्थापन हुनुपर्छ । तर हामीकहाँ विपत् परेको केही दिनपछि मात्रै व्यवस्थापन जुर्मुराउने गरेको छ । डेढ वर्षअघि आएको जाजरकोट र बझाङका भूकम्पपीडितहरूले तत्कालका लागि चिसो हावा छल्ने टेन्ट त्रिपाल र जाडोबाट बच्ने न्यानो ओढ्ने ओछ्याउने सामग्री पाउन महिनौं कुर्नुपर्‍यो । पीडितहरूमध्ये अधिकांशले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

हाम्रोजस्तो भूकम्पीय जोखिम रहेको देश नेपालमा चक्रीयक्रम तथा नियमित आकस्मिकताका रूपमा आउने महाभूकम्प छुट्दा कसरी आफू बाँच्ने र अरूलाई बचाउने भन्ने ज्ञान प्रचारप्रसार गर्नुपर्छ । भूकम्प प्रतिरोधक निर्माण मापदण्ड अवलम्बन गर्दै भूकम्पीय शिक्षा हासिल गरी सदा चनाखो तथा जागरुक हुनुपर्छ । जोखिम कम गर्नाका लागि यस्तो मापदण्ड अवलम्बन गराउने तथा जनचेतना जगाउने कार्यमा सरकारले जनतालाई जागरुक बनाउनुपर्छ । भूकम्पीय जोखिममा रहेको हाम्रो देशमा विनाशकारी भूकम्प जतिसुकै बेला आउन सक्छ भन्ने हेक्का राख्नुपर्छ । भूकम्प आउँदा यस्सो झस्किने र फेरि केही दिनमै बिर्सने प्रवृत्ति राज्य संयन्त्रमा हुनुहुन्न ।

– श्रेष्ठ ‘भूकम्पको ज्ञान’ पुस्तकका लेखक तथा सीमा अध्येता हुन् । 

बुद्धिनारायण सीमाविद् बुद्धिनारायण श्रेष्ठ नापी विभागका पूर्वमहानिर्देशक हुन् । नापी, सिमाना र सीमा व्यवस्थापन विषयमा उनका आधा दर्जन भन्दा धेरै पुस्तक प्रकाशित छन् ।

Link copied successfully