‘काकिस्टोक्रेसी कि क्लेप्टोक्रेसी ?’

‘काकिस्टोक्रेसी’ (अयोग्य र भ्रष्ट नेतृत्वको शासन) हाम्रो देशको राजनीतिक संरचनामा पनि गहिरो रूपले जोडिएको छ, यही कारण सधैं अयोग्य, भ्रष्ट र सिद्धान्तविहीन व्यक्तिहरूले पटक–पटक नेतृत्व गर्ने अवसर पाएका छन्

वैशाख ११, २०८२

शुभशंकर कँडेल

'Kakistocracy or Kleptocracy?'

राजनीतिमा एउटा शब्द प्रायः कम सुनिन्छ, तर यसको प्रभाव संसारभरि गहिरो रूपले शासकीय प्रहसनमा छ । त्यो हो ‘काकिस्टोक्रेसी’ । यो शब्द दुईवटा ग्रीक शब्दहरू ‘काकिस्टा’ (सबैभन्दा खराब वा अयोग्य) ‘क्राटोस’ (शक्ति वा शासन) अर्थात्, सबैभन्दा अयोग्य, भ्रष्ट, संवेदनहीन वा स्वार्थी व्यक्तिहरूले देशको शासन सञ्चालन गर्ने पत्रु अवस्था हो । 

‘काकिस्टोक्रेसी’ कुनै संविधानमा लेखिएको शासन प्रणाली नभए पनि जब एउटा देशमा राजनीतिक नेतृत्व नै भ्रष्ट, गैरजिम्मेवार, अयोग्य र अनैतिक हुन्छ, तब त्यसलाई ‘काकिस्टोक्रेसी’ भन्न सकिने भन्दै सन् २०२४ को वर्ष शब्दका रूपमा विश्व प्रसिद्ध पत्रिका ‘द इकोनोमिस्ट’ले चुनेको थियो । 

‘इकोनोमिस्ट’का अनुसार नेतृत्वको अयोग्यता भनेको नीति निर्माण, प्रशासनिक निर्णय वा कूटनीतिक व्यवहारमा अनुभव वा योग्यताको सर्वथा अभाव भ्रष्टाचारका लागि सार्वजनिक सम्पत्ति निजी हितमा दुरुपयोग गर्ने, जवाफदेहिताको पूर्ण अभाव अर्थात् कानुनभन्दामाथि आफूलाई राख्ने प्रवृत्तिदेखि लोकतान्त्रिक संस्थाहरूको अवमूल्यन गर्दै न्यायपालिका, निर्वाचन आयोग, सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रयास र सत्तामा बसेर जनताका आवाजप्रति संवेदनशीलता नदेखाउने अहंकारी शैली नै ‘काकिस्टोक्रेसी’ हो । यसो सुन्दा हाम्रै शासकहरूका बारेमा व्याख्यान दिएजस्तो छैन त ? 

‘काकिस्टोक्रेसी’, जुन समाजको लोकतन्त्रीकरण, अर्थतन्त्रमा बजार सम्बन्धको परिचय, कानुनको शासन र मानवअधिकार र आधारभूत स्वतन्त्रताहरूको प्राथमिकताको आडमा राज्य र जनताको सम्पत्तिको लुटमा आधारित छ । ती राजनीतिक नेतृत्वहरू र आपराधिक ‘ओलिगार्क’ संरचनाहरूबीचको संयोजनका रूपमा विस्फोट हुन्छ ।

अनुचित र जालसाजीपूर्ण निर्वाचनहरूमार्फत सत्ता हडप्ने, समाजको बढ्दो ध्रुवीकरण, जनसंख्याको ठूलो हिस्साको गरिबीकरण र मुट्ठीभर नवधनाढ्यहरूको समृद्धि, कुलीनहरूको हितमा आधारित आर्थिक र अन्य सम्पत्तिहरूको बिक्री, फस्टाउँदो भ्रष्टाचार र कानुनविहीनताको अवस्थामध्ये निर्वाचन जालसाजीबाहेक सबै नेपालकै लागि भनिएको जस्तो प्रतित हुँदैन त ? 

यसलाई ‘मेगालोमेनियाक’ (अहंकारोन्मादी) राजनीति पनि भन्न सकिन्छ । आखिर, प्रधानमन्त्रीहरूले पार गर्नुपर्ने घेराहरू नै राजनीतिशास्त्रमा अध्ययन गरिने संस्थाहरू हुन् । जहाँ दबाब समूहहरूमा सामुदायिक सक्रियता, स्थानीय सरकारका अनुभव, पार्टीको काम, पूर्व–चयनित सम्पर्क सञ्जाल, निर्वाचन प्रक्रिया, मिडिया प्रोफाइल प्राप्त गर्नु, शत्रुलाई चिन्नु, प्रधानमन्त्रीसँग चाप्लुसी गरेर (यदि उदार–दक्षिणपन्थी भए) वा गुटका साथीहरूसँग चाप्लुसी गरेर (यदि श्रमिक–वामपन्थी भए) पद प्राप्त गर्नु, हस्तक्षेपकर्ताहरू र तपाईंलाई पदमा पुर्‍याउन चाहनेहरूसँग व्यवहार गर्नु र नोकरशाही र राज्यका समकक्षीहरूसँग यति राम्रोसँग व्यवहार होस् कि जसले तपाईंको नाम भविष्यका नेताका रूपमा स्थापित गराओस् वा उल्लेखसम्म त होस् नै ।

यिनै मुखर विषयप्रतिको सन्दर्भले वर्तमान शासकीय व्यवहार प्रदर्शन भइरहेको छ । सम्भवतः काका मुंगोले उनको चर्चित राजनीतिक उपन्यासमा भनेजस्तै ‘राजनीतिको सबैभन्दा खराब कुरालाई एक शब्दमा भन्न सकिन्छ मतदाताहरू ।’ म्याककलमको नवीनतम र सायद सबैभन्दा महत्त्वपूर्ण राजनीतिक हाते पुस्तिकाको शीर्षक ‘हाउ टु स्पट ए मेगालोमेनियाक’ अर्थात् एक युवा मतदातालाई दिइएको तीतो सल्लाह यही हुनुपर्छ । 

निश्चत रूपले, ‘सबैभन्दा खराबद्वारा शासन’ (काकिस्टोक्रेसी) लाई सधैं नै राजनीतिक नेताहरू वा ओलिगार्किक घेराका प्रतिनिधिहरू खराब र दुष्ट नै नहुन पनि सक्छन् । प्रायः तिनीहरूमध्ये धेरै जानकार, राम्रोसँग शिक्षित, विनम्र व्यक्तिहरू पनि भेटिन सक्छन् । जसमध्ये धेरैले सायद आफ्नो देशको सेवा गर्नुलाई आफ्नो सर्वोच्च उद्देश्य ठानेका पनि हुन सक्छन् । तर तिनीहरूले जे गरे पनि र जसरी गरे पनि त्यो तिनीहरूको नाफामा परिणत हुन्छ र राष्ट्रहितका विरुद्धमा हुन्छ ।

यस्तोखाले सत्ताको सार र राज्य–सत्ताको प्रकृति नै अपरिवर्तित सिद्धान्त जस्तो देखिन्छ । यस्तो प्रवृत्ति आम जनताको (मतदाताहरूको) ठूलो हिस्साको हितबाट उत्पन्न हुँदैन । तर सीमित व्यक्तिहरूको साँघुरो चक्रीय घेराबाट नयाँ–नयाँ अवतारमा प्रकट हुन्छ । यस्तो दुश्चक्र तोड्न असाधारण र गैरमानक उपायहरूको दीर्घकालीन आवश्यकता पर्न सक्छ । यस्तो स्थिति गोचर हुनु भनेको देशको भविष्यकै लागि प्रसव पीडाभन्दा भयानक पनि हुन सक्छ । दुनियाँभरको समकालीन कथित लोकतान्त्रिक प्रक्रियाबाट उदाएका ठिमाहा शासनशैलीले यस्तै अनुभव दिइरहेको छ । 

ऐतिहासिक उदाहरण 

बीसौं शताब्दीको नाजी शासनमा योग्य र इमानदार अधिकारीहरू हटाएर कट्टरपन्थी, क्रूर र बफादार व्यक्तिहरूलाई राखिएको बदनाम उदाहरण सबैभन्दा बढी उल्लेख हुने गर्छ । केही दक्षिण अमेरिकी देशहरूमा सैन्य शासनका समयमा सत्ता भ्रष्ट जनरलहरूले जनता होइन, आफ्नो सुरक्षालाई प्राथमिकता दिएको घटना नेपालका ज्ञानेन्द्र शाहसम्म विस्तारित भएको अस्ति भर्खरैको ताजा इतिहास स्मरणीय छ ।

समकालीन विश्व राजनीतिमा कतिपय कथित लोकतान्त्रिक भनिएका नेताहरू सामाजिक सञ्जालको लोकप्रियता, कट्टर राष्ट्रवाद वा षड्यन्त्रको राजनीतिलाई हतियार बनाएर योग्यता वा जिम्मेवारीलाई धूलिसात् पार्दै शासन चलाइरहेका छन् । त्यसको मुहान अब अमेरिकादेखि नेपालसम्म विस्तारित आयाममा सुन्दर तरिकाले देख्न गाह्रो छैन । भ्रष्ट शासनव्यवस्था र शैलीका लागि षड्यन्त्र सिद्धान्त र राष्ट्रवाद तथा धर्म संस्कृतिको संरक्षणको भाष्य घातक अस्त्र हुन् । 

नेपालजस्तो लोकतान्त्रिक मुलुकमा दुनियाँको लेन्सबाट हेर्दा ‘काकिस्टोक्रेसी’ मज्जैले देखिँदो हो । सरकारमा योग्यताभन्दा बढी शक्ति, पहुँच वा निष्ठाविहीन राजनीतिक व्यवहारको हाबी, प्राविधिक क्षमता नभएका व्यक्तिहरूले मन्त्रालयको नेतृत्व गर्ने, भ्रष्टाचार अनुसन्धानलाई दबाउन जस्तोसुकै हर्कत गर्न पछि नपर्ने, शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्ता क्षेत्रमा अक्षम र घातक निर्णय लिने, शासकीय नीच स्वार्थका लागि सार्वजनिक सम्पत्ति र जनताको करमाथि खुलेआम धावा बोल्ने प्रपञ्चले नेपाली ‘काकिस्टोक्रेसी’लाई मज्जैले अभिव्यक्त गरेको छ । त्यसलाई पढ्न चाहने हो भने विद्या भट्टराईले मन्त्रीपदबाट दिएको राजीनामा एउटा पाठ हुन सक्छ ।

‘काकिस्टोक्रेसी’ भनेको कुनै अदृश्य शक्ति होइन । यो हामी सबैको सामूहिक बेवास्ता, डर वा स्वार्थको परिणाम हो । यस्तो व्यवस्था बदल्नका लागि आवश्यकता भनेको जागरुक नागरिक, संस्थागत पारदर्शिता र जवाफदेहिताको संस्कृति हो । अन्यथा, सत्तामा अयोग्यको निरन्तरताले हाम्रो भविष्यको विनाश हुनेछ ।

केपी शर्मा ओली चौथो कार्यकालमा लत्रिरहेका छन् । शेरबहादुर देउवा छैटौं कार्यकालका लागि तयारी गरिरहेका छन् । प्रचण्ड तीन पटक प्रधानमन्त्री बने । उनीहरूको त्यस्तो के विशेष योग्यता हो ? जसले ती दलका लाखौं नेता–कार्यकर्ता केवल बफादार दासभन्दा बढी बन्न सकेनन् । रछ्यानमा मिल्काइएका ज्ञानेन्द्र शाहले समेत सत्ताको सुतीखेतीका लागि राजधानीमै दुई नागरिकको मृत्यु हुनेसम्मको वितण्डा मच्चाउने घटना मञ्चन गराइसक्दा नागरिक चेतना भुत्तै भएको देखिनु ऐतिहासिक विडम्बना होइन र ? 

‘काकिस्टोक्रेसी’ (अयोग्य र भ्रष्ट नेतृत्वको शासन) हाम्रो देशको राजनीतिक संरचनामा पनि गहिरो रूपले जोडिएको छ । यही कारण देशमा सधैं अयोग्य, भ्रष्ट र सिद्धान्तविहीन व्यक्तिहरूले पटक–पटक नेतृत्व गर्ने अवसर पाएका छन् । उनीहरू हरेकले लोकतान्त्रिक संस्थाहरूमा व्यापक क्षति पुर्‍याउने प्रतिस्पर्धामा विरासत बनाएको घामजत्तिकै छर्लङ्ग छ । देशका प्रमुख आर्थिक नियामक निकायका नियुक्ति, मोलमोलाइको पराकाष्ठाका रूपमा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको लाजको पसारो पर्याप्त छैनन् र ? 

संघीय लोकतान्त्रिक र समावेशी गणतन्त्रको संसदीय प्रणालीमा ‘काकिस्टोक्रेसी’ फस्टाउने जमिन भनेको ध्रुवीकृत राजनीतिक प्रणाली र निष्क्रिय तथा भाग्यवादी मतदाताका कारणले उत्पन्न हुने अवस्था हो । रैथाने राजनीतिककर्मीहरूले विरोधीहरूलाई ‘अन्यकरण’ गर्दै जनताका आवश्यकताहरूलाई बेवास्ता गरेर उनीहरूको अक्षम र भ्रष्ट नेतृत्वलाई निरन्तरता दिन सफल भएका छन् । नेताहरूले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेर सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रलाई थिल्थिलो पारेका छन् ।

उनीहरूले संसद्का बहस र लामो प्रक्रियाभन्दा सांसद खरिदबिक्रीलाई सहज ठान्दै अध्यादेशको बाढी लगाइएको हालैको ताजा उदाहरणमा देख्न सकिन्छ । समय सकिनै लागेका र आमरूपमा काविल मानिएका विद्युत् प्राधिकरणका कार्यकारी प्रमुखलाई अपदस्थ गरेर पारिवारिक आसेपासेलाई नियुक्त गर्न झन्डै आधा दर्जन पटकका अनुभवी देउवा र उनलाई पछ्याइरहेका ओली खुसीसाथ अग्रसर हुनु नेपाली ‘काकिस्टोक्रेसी’को ज्वलन्त प्रयोग हो । 

अब कुरा गरौं – ‘क्लेप्टोक्रेसी’बारे । यसखाले प्रवृत्तिले भ्रष्टाचारलाई पूर्ण रूपमा नयाँ स्तरमा पुर्‍याउँछ । ‘क्लेप्टोक्रेसी प्लुटोक्रेसी’ (सबैभन्दा धनीहरूको शासन) र ‘ओलिगार्की’ (सानो उच्च वर्गको शासन) भन्दा फरक छ । ‘क्लेप्टोक्रेसी’मा, भ्रष्ट राजनेताहरूले कानुनको शासनबाहिर गोप्य रूपमा आफूलाई धनी बनाउँछन्, लबिस्टहरू र कर्पोरेसनहरूबाट कमिसन, घूस र विशेष सुविधाहरूमार्फत वा उनीहरूले केवल राज्यको कोषलाई आफू र आफ्ना सहयोगीहरूतर्फ निर्देशित गर्छन् ।

साथै, ‘क्लेप्टोक्रेट’हरूले प्रायः आफ्नो सत्ता गुम्ने आशंकामा आफ्नो अधिकांश नाफालाई विदेशी राष्ट्रहरूमा निर्यात गर्छन् (एसेमोग्लु र रविन्सनः २००४) । ठूलो भ्रष्टाचारजस्तै, ‘क्लेप्टोक्रेसी’ले राजनीतिक, व्यापारिक, सांस्कृतिक, सामाजिक र आपराधिक संस्थाहरूमा रहेका उच्चपदस्थ व्यक्तिहरूबीचको बलियो एकीकृत सञ्जालमार्फत घूस, जबर्जस्ती र नीतिगत हेराफेरीबाट राज्य दोहन गर्छन् । ‘क्लेप्टोक्रेसी’मा यस्ताखाले ठूला पैमानका भ्रष्टाचार अपवाद नभई राज्यको एकीकृत उद्देश्य र मुख्य कार्य हो । अहिले यसको सुन्दर प्रयोग भएको छ । 

‘क्लेप्टोक्रेसी’मा ठूलो भ्रष्टाचार प्रणाली, गहिरो गरी जरा गाडेका सञ्जालका कारण तिनीहरूको आत्म–प्रबल हुन्छ । जटिल र अत्यधिक लाभदायक भ्रष्टाचार योजना बनाउनुभन्दा बढी त्यस्ता सञ्जालहरूमार्फत वर्षौं वा दशकौंसम्म ठूला भ्रष्टाचारहरूका प्रवाहलाई निरन्तर कायम राख्न संस्थाहरूलाई परिवर्तन गर्नु ‘क्लेप्टोक्रेसी’को उन्नत शैली हो । जस्तो हामीकहाँ विभिन्न मन्त्रालयको विभाग कहिले प्रधानमन्त्री मातहत, कहिले त्यस्ता संस्थाको विभाजनका घटनामा प्रस्टै देखिन्छ ।

ठूलो भ्रष्टाचार योजनाहरूबाट उच्च पदस्थहरूले अर्बौं रकम कुम्ल्याएपछि नेपालजस्ता देश निरन्तर टाटपल्टाइतिर उन्मुख हुनु स्वाभाविक छ । सतहमा देखिँदा त्यस्ता योजनाबद्ध करछली, नीतिगत हेराफेरीबाट बनाइएका भ्रष्टाचारका अखडाबाट औसत नागरिकलाई खासै प्रभाव नपार्न सक्छ । ‘क्लेप्टोक्रेसी’मा विकृतिहरू यति ठूला हुन्छन् कि औसत नागरिकहरूले आफ्नो जीवनमा भएको प्रभावलाई नदेख्न सक्छन् । तर त्यस्तो संस्कृतिबाट दैनिक प्रताडित बनिरहेका हुन्छन् । अहिले नेपाल यही दिशामा गहिरो गरी उन्मुख भइरहेको छ । 

‘क्लेप्टोक्रेसी’मा यस्ता ठूलो भ्रष्टाचार अपवाद नभई राज्यको एकीकृत ढंगले चालिएका मुख्य धन्दाको रूपमा सञ्चालित हुन्छन् । यस्ता काण्डहरू छिटो, व्यापक र यति ठूलो स्तरमा हुन्छन्, जसले गर्दा धेरै नागरिकहरूले प्रतिक्रिया दिनसमेत मेसो नपाउन सक्छन् । यही परिदृश्यलाई हुनुपर्छ, सायद कांग्रेस महामन्त्री तथा वर्तमान अलौकिक गठबन्धन सरकार सञ्चालन संयन्त्रका सदस्य गगन थापाले बिचौलियाहरू प्रधानमन्त्रीको शयनकक्षमा पुगेको भन्दै सार्वजनिक बयानबाजी दिएको । 

आर्थिक तथा प्रशासनिक उच्च पदस्थ व्यक्तिहरू— जसलाई सामान्य रूपमा युरोपमा ‘ओलिगार्क’हरू भनिन्छ । यिनीहरू नै ‘क्लेप्टोक्रेसी’मा महत्त्वपूर्ण भूमिका निभाउने प्रमुख खेलाडीका रूपमा राजनीतिक मैदानमा उत्रिन्छन् । ‘ओलिगार्की’ शब्द प्राचीन ग्रिक ओलिगोई (थोरै) र आर्केन (शासन गर्नु) बाट आएको तथा अरस्तुले ‘जब सम्पत्ति भएका व्यक्तिहरूले सरकार आफ्नो हातमा राख्छन्’ भन्ने व्याख्याबाट परिभाषित छ । अरस्तुको बुझाइमा ओलिगार्की हुनका लागि, धनी व्यक्तिहरूले सरकारलाई प्रभावित गरेर उनीहरूले देशको सम्पत्ति र शक्तिलाई बहुसंख्यक जनतामाथिको दोहनका लागि थुपार्ने उपक्रमको सिलसिला हो ।

पछिल्लो पटक पाथीभारा केवलकार काण्डमा प्रदर्शन भएको यस्तै उपक्रमको एक हिस्सा होइन र ? ‘विविध प्रकारका चोरतन्त्र आधारित शासनहरू, जसले व्यवस्थित ठगीको संस्कृतिलाई प्रोत्साहन गर्छन्, तिनीहरूलाई ‘राजनीतिक र कर्पोरेट क्लेप्टोमेनिया’ भनेर अर्थ्याउन सकिन्छ । यस्तो जमातमा लुटपाट र दोहनका लागि केवल उच्च सरकारी अधिकारीहरू मात्र नभएर, एक साँघुरो धनी वर्ग (प्लुटोक्य्राटहरू) लाई समेत समृद्ध बनाउँछ ।

यी प्रायः त्यस्ता धनी व्यक्तिहरू र परिवारहरू हुन्छन्, जसले राजनीतिक कृपावाद, विशेष चासोका लागि बनाइएका कानुनहरू, एकाधिकार, विशेष कर छुट, सरकारी हस्तक्षेप, अनुदान वा प्रत्यक्ष भ्रष्टाचारको माध्यमबाट ठूलो सम्पत्ति संकलन गरेका हुन्छन् । यस्तो प्रकारको राजनीतिक लाभमा आधारित आर्थिक प्रणालीलाई कहिलेकाहीँ ‘भद्दापुँजीवाद’ (क्रोनी क्यापिटलिजम्) पनि भनिन्छ । अहिले हाम्रो देश यही शैलीको प्रयोगशाला बनेको छ ।

‘क्लेप्टोक्रेसी’ (लुटतन्त्र) र ‘काकिस्टोक्रेसी’ (अक्षमहरूको शासन) कसरी एकअर्कासँग जुम्ल्याहा बनेर हाम्रो देशको प्रमुख शासनशैली बन्न आइपुगेको छ भन्ने यतिबेला प्रमुख दुई दलको विकल्पहीन सरकारका मुखियाहरूबाट मज्जैले प्रदर्शित भएको छ ।

त्यसमाथि आधुनिक वैश्वीकरण र प्रविधिले यसखाले ठिमाहा शासनशैलीका परिणामहरूलाई थप विस्तार गर्नु अस्वाभाविक हुने कुरै भएन । अमेरिकाजस्तो बलियो लोकतान्त्रिक परम्परा भएका देशहरूसमेत ‘काकिस्टोक्रेटिक’ प्रवृत्तिहरूबाट अछूतो नरहेको हालैका घटनाक्रमले सतहमा ल्याएको देख्न सकिन्छ । 

एक प्रसिद्ध फ्रान्सेली दार्शनिक तथा साहित्यकार हेनरी द मान्थरलान्ट (१८९५–१९७२) ले ‘क्लेप्टोक्रेसी र काकिस्टोक्रेसी’को ठिमाहा अभिव्यक्तिलाई उजागर गर्ने गरी १९३० को एक डायरीमा व्यक्त गरेको विचार निकै मर्मस्पर्शी देखिन्छ । ‘मूर्खता भनेको विचारहरू नहुनु होइन । त्यस्तो मूर्खता त जनावर र मोलस्कको मधुर, आनन्दमय मूर्खता हुनेछ ।

मानव मूर्खता भनेको धेरै विचारहरू हुनुमा केन्द्रित छ । मूर्ख विचारहरू, जसका साथमा झन्डा, भजन, लाउडस्पिकर र यहाँसम्म कि ट्यांक र फ्लेम–थ्रोअरहरू पनि विश्वास दिलाउने साधनका रूपमा हुन्छन् । यिनले मूर्खताको परिष्कृत र एकमात्र साँच्चै भयानक रूपलाई गठन गर्छन् । ‘ठ्याक्कै हाम्रा समकालीन चक्रीय प्रधानमन्त्रीका खेलाडीहरू र छरछिमेकी देशका शासकहरूमा यो शैली कति सुन्दर रूपमा प्रहसन भइरहेको छ भन्ने स्मरणले नै आजको विभेदकारी र दुराचारी दुनियाँ सजिलै बुझ्न सकिन्छ । 

राजनीतिक स्थिरताका नाममा पछिल्लो समय नेपाललाई समेत पछ्याउन सन्दर्भ दिने गरी पाकिस्तानमा त्यहाँका परम्परावादी मुख्य दुई दलहरू, जो भुट्टो र सरिफ परिवारका कचहरीजस्ता बन्दै आएका छन् । यी दुई दलको सरकारलाई चार दशक लामो कूटनीतिक अनुभवकी लेखक नग्मा हासमीले ‘काकिस्टोक्रेसी’का रूपमा चिह्नित गरेकी छन् । यो उपमा मौजुदा नेपाली शासन प्रणालीलाई पनि हासमीबाटै सापटी लिएर दिनु साँच्चिकै न्यायिक हुन सक्छ । 

‘काकिस्टोक्रेसी’को चक्र तोड्ने भनेको प्रगतिशील उदार र समावेशी नेतृत्वका लागि, नागरिक सक्रियता र जवाफदेही शासन प्रणालीलाई प्रोत्साहन गर्ने गरी जनताको तहबाट पहलकदमी लिनुको कुनै विकल्प देखिँदैन । देशको संस्थागत क्षयीकरण र राज्यको ढुकुटीमाथिको खुलेआम लुटलाई रोकेर जनकल्याणमा केन्द्रित शासन स्थापित गर्न अन्ततः नागरिक चेतनाको विस्फोटभन्दा अर्को उपाय पनि त हुँदैन । 

शुभशंकर नेपाल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका पत्रकार शुभशंकर कँडेल समसामयिक बिषयमा लेख्छन् ।

Link copied successfully