शिक्षामन्त्रीको राजीनामाले उठाएका प्रश्न

वैशाख ९, २०८२

सम्पादकीय

Questions raised by the resignation of the Minister of Education

आफ्ना माग पूरा गराउन कक्षाकोठाबाट निस्किएर राजधानीमा जम्मा भएका शिक्षक सडकमै रहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षामन्त्रीको राजीनामा आकस्मिक देखिए पनि पृष्ठभूमि भने महिनौंदेखि निर्माण हुँदै आएको थियो । खासगरी विद्यालयदेखि विश्वविद्यालयसम्मका मुद्दामा प्रधानमन्त्री संवेदनशील नबन्दा मन्त्री पिल्सिनुपर्ने अवस्था थियो । विश्वविद्यालयको नीतिगत नेतृत्वमा कुलपतिकै रूपमा प्रधानमन्त्रीकै भूमिका निर्णायक हुन्छ ।

त्यस्तै, विद्यालय शिक्षाका सरोकार सम्बोधन गर्ने कानुन निर्माण पनि सरकार र संसद्को समन्वयबाट मात्र सम्भव छ । तर, शैक्षिक संस्था अस्तव्यस्त हुँदा पनि प्रधानमन्त्रीले बेवास्ता गर्ने अवस्थामामा शिक्षामन्त्रीमाथि निरन्तर नैतिक, सामाजिक र मानसिक दबाब परेको थियो भन्ने स्पष्ट नै छ । प्रधानमन्त्रीय पद्धति भएको हाम्रोजस्तो मुलुकमा प्रधानमन्त्रीबाट सहयोग नपाउने मन्त्रीसँग एउटै मात्र विकल्प रहन्छ– राजीनामा । भट्टराईले त्यही स्वाभाविक मार्ग पछ्याएकी छन् । शिक्षकका माग र शिक्षा क्षेत्रका मुद्दा सम्बोधनमा शिक्षामन्त्री नै अवरोध रहेको भए उनको राजीनमाले मार्गप्रशस्त गर्ने थियो । तर समस्या सम्बोधनमा प्रयासरत मन्त्रीको राजीनामाले आगामी बाटो झन् अन्योलग्रस्त बनेको छ । 

सेवासुविधा तथा पेसागत हकहितका माग राखेर देशभरका शिक्षक प्रतिनिधि काठमाडौंमा केन्द्रित भएर आन्दोलनमा उत्रिएको तीन साता चल्दै छ । यही मुद्दामा यसअघि २०७५, २०७८ र २०८० मा आन्दोलन हुँदा तत्कालीन प्रधानमन्त्रीहरू क्रमशः केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वका सरकारले सम्झौता गरेर शिक्षकलाई जिल्ला फर्काएका थिए । तत्कालिन सहमतिका आधारमा विद्यालय शिक्षा ऐन ल्याइनुपर्ने माग लिएर शिक्षक आन्दोलित छन् । संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई हिउँदे अधिवेशनमै पारित गर्ने मन्त्री भट्टराईको प्रतिबद्धता पनि थियो । तर विधेयक पारित भएन, त्यसैले शिक्षक आन्दोलन सुरु भयो । त्यति मात्र होइन, आगामी अधिवेशनबाट समेत विधेयक पारित हुने सुनिश्चित छैन । प्रधानमन्त्री र सभामुखले नै शिक्षकलाई विश्वस्त बनाउन सकेका छैनन् । त्यसैले मूल समस्याको गाँठो झन्झ्न कसिएको छ । 

मन्त्री भट्टराईले आफ्ना सबै सकारात्मक प्रयत्नमा सफलता पाउन सकिनन् । यद्यपि प्रायः प्रमुख शैक्षिक मुद्दामा उनको धारणा प्रस्ट थियो । शिक्षा सरोकारमा संविधानको मर्मबाट दायाँबायाँ नहुने र अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनमा उनको अडान स्पष्ट थियो । यसका लागि पालिकामा कोष बनाउनेलगायतको मोडल उनले प्रस्ताव गरेकी थिइन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालयमा सुधारको सुरुवात गरेर सद्भाव पाइरहेका निवर्तमान उपकुलपति केशरजंग बराललाई काम गर्न दिनुपर्ने पक्षमा उनी थिइन् ।

प्रधानमन्त्रीकै असहयोगका कारण राजीनामा दिन बाध्य भएका बरालसँग सम्वाद गरेर उनलाई विश्वविद्यालयमा फर्काउनुपर्ने उनको सुझाव थियो । तर, प्रधानमन्त्रीले भने बिनासम्वाद राजीनामा स्वीकृत गरिदिए । त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाए पनि सार्वजनिक नगरिएकामा उनी असन्तुष्ट थिइन् । जारी शिक्षक आन्दोलन भने निर्णायक रूपमा आयो ।

शिक्षकहरू एइईईको कापी जाँच र कक्षा १२ को परीक्षामा सहभागी नहुने अवस्थामा पनि उनीहरूलाई आफ्नो कर्मक्षेत्रमा फर्काउन सरकार र संसद्बाट निर्णायक पहलको आवश्यकता थियो । तर, आन्दोलन सुरु भएको दुई सातापछि मात्र प्रधानमन्त्रीले शिक्षकहरूलाई आफ्नो निवासमा बोलाए तर त्यो ‘महत्त्वपूर्ण’ बैठकमा शिक्षामन्त्रीलाई बोलाउने, उनको प्रस्ताव सुन्ने र मुद्दा सम्बोधनमा साथ दिने आधारभूत कर्तव्य प्रधानमन्त्रीबाट पूरा भएन । व्यक्ति विशेषलाई जसले जसरी पनि हेर्न सक्छ । तर मूल मुद्दामा विभागीय मन्त्रीमाथि भएको यो उपेक्षा व्यक्तिगत होइन, बरु समग्र शिक्षा प्रणालीमाथिको संवेदनहीता हो भन्नेमा शंका छैन । 

तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको उच्चस्तरीय शिक्षा आयोगले २०७५ माघ १ गते बुझाएको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री ओलीले त्यसपछि अढाइ वर्ष पदमा बस्दा पनि सार्वजनिक गरेनन् । जबकि त्यसैलाई आधार बनाएर विद्यालय शिक्षा ऐन बनाउने भनिएको थियो । ६ वर्षपछि दाहाल नेतृत्वको सरकारले प्रतिवेदन सार्वजनिक त गर्‍यो तर त्यति बेलासम्म विधेयक संसद्मा दर्ता भइसकेको थियो । देउवा र दाहाल नेतृत्वका सरकारले शिक्षकसँग सम्झौता त गरे, तर विधेयकलाई प्राथमिकतामा राखेनन् । ओली सरकारमा आएको ९ महिनासम्म विधेयक प्राथमिकतामा परेन ।

त्यसैले अहिले विद्यालय शिक्षाका गतिविधि देशभर ठप्प छन् । शिक्षा सुधारका मुद्दाप्रति खासगरी प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसमेत रहेका मुख्य राजनीतिक दलको नेतृत्व असंवेदनशील रहेसम्म यो मुद्दा अनेक रूपमा अनन्त रहनेछ । तीन दलका तीन शीर्ष नेता पालैपालो प्रधानमन्त्री भएका बेला शिक्षकहरूसँग सम्झौता गरेकाले पनि उनीहरूको यो मुद्दाप्रति अतिरिक्त दायित्व छ ।

फेरि, शीर्ष नेताबीच सहमति भए जस्तोसुकै गतिरोध अन्त्य हुने अभ्यास छ । तर शिक्षक आन्दलोनका विषयमा अहिलेसम्म सत्ता वा प्रतिपक्षमा रहेका नेताहरूबीच छलफल भएको छैन । जबकि संसद्का दुवै सदनबाट कानुन पारित गराउन प्रमुख राजनीतिक दलबीच सहमति हुनैपर्ने अवस्था छ । यसतर्फ सरकार, सहयोगी र प्रतिपक्षीबाट पहल जति ढिलो हुन्छ, गाउँबस्तीमा छरिएका सामुदायिक विद्यालयको साख उति कमजोर हुनेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully