जात व्यवस्था बचाउने विवाह प्रणाली

प्राचीनकालदेखि नै स्वजातीय विवाह नै यस्तो सूत्र वा शक्तिशाली हतियार हो, जसले जात व्यवस्था बचाइराखेको छ

वैशाख ८, २०८२

मेखराज उदय

A marriage system that preserves the caste system

नेपाली समाजमा स्थापित एक भनाइ छ– छिमेकी भनेका ‘जिउँदाका जन्ती र मर्दाका मलामी हुन् ।’ तर छिमेकमा मृत्यु पर्दासमेत मलामी नजाने दुःखद र कारुणिक घटनाका खबर अहिले आइरहेका छन् ।

उमेर पुगेका युवकयुवतीबीच प्रेमसम्बन्ध, स्वाभाविक विवाह भएका घटनामा अभिभावकको संलग्नतामा हत्या, यातना दिने, गैरन्यायिक मुद्दा वा झमेलामा फसाउने मात्रै होइन, सत्ताको दुरुपयोगसमेत गर्ने गरेका घटना सार्वजनिक भइरहेका छन् । यस्तो हुनुका पछाडि जात प्रमुख रूपमा रहेको छ । जातकै कारण यस्ता आतंक र अतिवाद मौलाइरहेका छन् । 

यस प्रसंगमा वर्ण, जात र नेपालमा वर्ण वा जात व्यवस्था कसरी र कहिले प्रवेश गर्‍यो भन्ने कुरा महत्त्वपूर्ण छ । वर्ण शब्दले ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रलाई जनाउँछ, जसको प्रथम प्रयोग ऋग्वेदको पुरुष सुक्तमा गरिएको छ । ऋग्वैदिक कालमा क्षत्रीय विश्वामित्र शास्त्रीय ज्ञान प्राप्तिका कारण ब्राह्मण बनेको उल्लेख छ ।

गोरखाली राजा पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको फूलबारी हो भने । यो भनाइ गलत भएको कुरामा इतिहासकारको सर्वसम्मति छ । सम्भवतः पृथ्वीनारायण शाह भर्खर काठमाडौं उपत्यका प्रवेश गरेका बखत जे सुने त्यही भने भन्ने धेरैको तर्क पनि छ । 

तथ्य के हो भने राजा जयस्थिति मल्ल (सन् १३६०—१३९५) ले भारतबाट कट्टर ब्राह्मण कीर्तिनाथ उपाध्याय तथा मैथिल ब्राह्मणहरू रघुनाथ झा, रामनाथ झा तथा दक्षिण भारतबाट श्रीनाथ भट्ट र महिनाथ भट्टलाई नेपाल (काठमाडौं उपत्यका) मा झिकाइ चार वर्णबाहेकका पञ्चम जातिलाई पेसाका आधारमा ३६ भागमा विभाजन गरेका हुन् । यहाँको बनिबनाउ समाजलाई विभाजन गरी यहींबाट छुवाछूत प्रथासमेत कठोरतापूर्वक लागू गरिएको हो । (डा. चन्द्रविक्रम बुढाथोकी, जयस्थिति मल्लको सुधार)

जसलाई ३६ जात भनिन्छ । ती हुन्– ज्यापु, बनी, मु (मुल्मी), दंग (डंगोल), काहाभुजा, कुम्हाले, दली बलहजी (बुल), नली, यङग्वार, गौंका (गौं) चित्रकार (पुँ वा पुसः), तेपे, कल्थार, पुलपुल, कोना, गथु, तत्ती, बल्ला, लमु, पिही, गौचा (ग्वाला), नन्दगौवा, बल्हामी, चेउ, आवा, पुःँमा (भुस्याहा), सुवा, कोयेनासा र सुघाङ (रजक, धोवी) । यी सबै पेसागत जात हुन् भने नेवार एक भाषिक सम्प्रदाय हो, जात होइन ।

नेवार बौद्ध र हिन्दु गरी दुई धार्मिक सम्प्रदायमा विभक्त छन् । उदाहरणका लागि बौद्धका पुरोहित वज्राचार्य र हिन्दुका पुरोहित देउभाजु (राजोपाध्याय र उपाध्याय) हुन्छन् । देउभाजु अन्य हिन्दुमा जस्तै जन्मले नै पुरोहित हुन्छ भने वज्राचार्य जन्मले मात्रै होइन, कर्मले पनि हुन सक्छ । कर्माचार्य, गुर्वाचार्य, जोशी आदि ६ थरे श्रेष्ठ थरधारी छन् । 

‘न्याय नपाए गोरखा जानू’ भन्ने सर्वव्यापक कथन नेपालीजनमा आजपर्यन्त सुन्न पाइन्छ । गोरखाली राजा राम शाह (सन् १६०५—१६३६) ले वर्ण व्यवस्थालाई बलियो पार्न चार वर्ण छत्तीस जातको व्यवस्था कायम गरेका थिए । 

लेखक मोदनाथ प्रश्रितको ‘जातपात र छुवाछूत प्रथाः शास्त्रीय सन्दर्भ’का अनुसार नेपालको तराई, मधेश क्षेत्रमा ई.पू. १००० तिर आजको नेपालको मिथिला क्षेत्र (पूर्वी तराई) का विदेह जनकवंशीलाई शास्त्रहरूमा क्षत्रीय भनिएको र राजा जनकले ‘ब्रह्मसभा’ बोलाएको उल्लेख गरेकाले त्यतिबेला त्यस क्षेत्रमा वर्ण व्यवस्था थियो भनी मान्न सकिन्छ ।

हाम्रो दक्षिण छिमेकी मुलुक भारतबाट इसाको बाह्रौं शताब्दीपछि प्रवेश गरेका वैदिक आर्यले तत्कालीन नेपालका खस शासकसँग एकता कायम गर्दै पश्चिम नेपाल, खस साम्राज्य कर्णालीदेखि गण्डकी क्षेत्रका मगराँत राज्यहरूसम्म वर्ण व्यवस्था लागू गरे ।

ईसाको आठौं शताब्दीपछि अनेकौं गैरहिन्दु राजपुत्रहरूले वैदिक धर्ममा दीक्षित भएर यज्ञोपवित धारण गरे र क्षत्रीय भए । तिनै धर्म परिवर्तन गरेर हिन्दु हुन आएका राजपुत्रका सन्तति आज आफूलाई राजपूत वा रजपूत भन्छन् । त्यस्तै चक्रवर्ती राजाका अधीनमा रहेका साना राज्य भएका राजाका राज्यलाई ठकुराई भनिन्छ र त्यस्तो राज्यको राजालाई ठाकुर वा ठकुरी भनिन्छ ।

ईसापूर्व द्वितीय सहस्राब्दीका आसपास उत्तर पश्चिम दिशाबाट हिन्दकुश पर्वत शृंखला पार गरी जुन जाति आएर यहाँका मूलवासी जनतामाथि विजय प्राप्त गरी सप्तसिन्धुदेखि जमुनाको पश्चिमी भागसम्म फैलिएर बस्यो, त्यसलाई सामान्यतया आर्य भन्ने चलन छ ।

उनीहरूले आफूभन्दा भिन्न जातिलाई अनार्य भने । यसरी प्रवेश गर्ने अनेक समूह थिए, ‘भरतजन’ पनि निकै प्रसिद्ध मानिन्छ । यी जनसमूहका बीचमा केही बुद्धिजीवी हुन्थे, जसलाई ऋषि भनिन्थ्यो । यी ऋषिहरू पुरोहितको काम पनि गर्थे । पुरोहितहरू राजाका प्रधानमन्त्रीसरह अनेकौं कार्यमा बुद्धिदाता हुन्थे । त्यस्ता पुरोहितका रचनाको संग्रहलाई आज ऋग्वेद भनिन्छ । त्यसैको परम्परामा पछि अन्य ३ वेद पनि लेखिए । ऋग्वैदिक कालमा आर्य, अनार्य जाति (समुदाय ?) बीच द्वन्द्व भएको उल्लेख पाइन्छ ।

ब्राह्मण (हिन्दु) धर्मका मूल आधार ४ वेद हुन् । ती वेदलाई व्याख्या गर्ने क्रममा अनेक शास्त्र जस्तैः पुराणहरू, स्मृति, गीता आदि जन्मिए, त्यहाँ जातीय विभेद व्यवस्था र छुवाछूत प्रथा जन्माइयो । नेपालको पश्चिमी राज्यमा 

ब्राह्मणहरू प्रवेश गरे । उनीहरू भारतमा मुस्लिम शासकहरूको आक्रमण तथा अतिक्रमणबाट बच्न यता प्रवेश गरे । मूलतः जीउ, स्त्री र धर्म बचाउन आर्य ब्राह्मणहरू नेपाल प्रवेश गरेको इतिहास छ । मुस्लिम आक्रमणकारीबाट आफ्ना स्त्रीलाई बचाउन विवाहिता स्त्रीले विवाहको प्रतीक स्वरूप सिउँदोमा सिन्दुर लगाउने चलन चलाइयो । हाल भने अज्ञानतावश अनार्य विवाहिता स्त्रीहरूसमेत सिन्दुर लगाउने गर्छन् ।

वैदिक धर्म अनुसार सर्वश्रेष्ठ जाति हो, ब्राह्मण । गीता अनुसार देव(ता)को अर्थ आर्य हो भनिएको छ । त्यसपछि क्षत्रीय आउँछन् । वैदिककालदेखि नै ब्राह्मण र क्षत्रीय मिलेर शासन गर्दै आए ।

मानवलाई अबाधगतिले यौनसुखको आवश्यकता पर्‍यो । हरेक नरनारीमा यौन भावना रहेको हुन्छ । यसलाई व्यवस्थित गर्न उसले परिवारको आविष्कार गर्‍यो । यही सामान्य प्राकृतिक र सर्वमान्य मान्यता नै विवाह सिद्धान्त हो ।

हाम्रो संवैधानिक व्यवस्था बालिक युवकयुवतीले स्वविवेकले आफ्नो दम्पती रोज्न पाउने हक छ । प्राचीनकालदेखि नै स्वजातीय विवाह नै यस्तो सूत्र वा शक्तिशाली हतियार हो, जसले जात व्यवस्था बचाइराखेको छ । यसलाई भत्काएर मानवता प्रवर्द्धन गर्न स्वजातीय विवाहको पर्खाललाई भत्काउनैपर्छ ।

मेखराज

Link copied successfully