बुबाआमाको सम्बन्ध बिग्रिएर छोराछोरीमा नकारात्मक प्रभाव परेका उदाहरणहरू प्रशस्तै देखिन्छन्, यस्तो कर्म गर्ने छुट बुबाआमालाई हुँदैन
विवाहलाई मानिसको जीवनको एउटा महत्त्वपूर्ण पाटोका रूपमा लिने गरिन्छ । यसले नै मानिसको जीवनको भोगाइलाई कहाँ र कसरी अगाडि बढ्ने र बढाउने निर्दिष्ट गर्दछ । सामान्यतः एउटा निश्चित उमेरमा विवाहको गरिन्छ । नेपालमा मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुष तथा महिलाको न्यूनतम उमेर २० वर्ष र अभिभावकको सहमतिमा विवाह गर्न मिल्ने न्यूनतम उमेर १८ वर्ष तोकिएको छ ।
व्यवस्थित विवाह, प्रेमविवाह, अन्तरजातीय विवाह, गन्धर्व विवाह, बहुविवाह, बालविवाहलगायतका विवाह संस्कार नेपालमा चलनचल्तीमा रहेको पाइन्छ । बालविवाह, बुहविवाह कानुनी रूपमा बन्देज छ ।
विवाह गर्ने समयमा एकअर्काको परिवार, समाज, व्यक्ति स्वयंका विचार, भावना, पारिवारिक संस्कार, परिस्थिति, स्तरलगायत विषयहरू आफूअनुकूल छन्/छैनन् ? घरपरिवारको वातावरण सुहाउँदो छ/छैन ? जस्ता विषयमा पहिले नै मानसिक रूपमा तयार हुनुपर्छ ।
विवाहपछि मानिस सामाजिक कानुनी, धार्मिक, सांस्कृतिक रूपमा स्वतन्त्र तथा अविवाहितभन्दा फरक हुन्छ र हुनुपर्छ । सोच, स्वभाव, सम्बन्ध, व्यवहारलगायत अन्य क्रियाकलापहरूमा विवाह गर्ने पुरुष तथा महिलाहरू परिवर्तन हुनुपर्छ । विवाहसँगै जोडिने विषय भनेको एकअर्काप्रतिको जिम्मेवारी र जवाफदेहिता हो । यसबाहेक घरपरिवार समाज, समुदाय त्यसपछिका पक्षहरू रहन्छन् ।
विवाह बन्धनमा रहेका केही अनुभवीहरूले भन्ने गर्दछन्– विवाह खाँदा पनि तितो नखाँदा पनि तितो विषय हो ।’ श्रीमान्श्रीमती एक रथका दुई पांग्रा मानिन्छ । दुवै पांग्रा एकै किसिमका सबल हुन्छन् भन्ने हुँदैन, जीवनलाई पूर्णरूपमा सार्थक बनाउन दुवै पांग्राको भूमिका उत्तिकै महत्त्व रहन्छ र समान गतिमा चल्न सक्नुपर्छ । जब एउटा पांग्रा केही कमजोर बन्छ, रथको गतिमा अवरोध तथा सुस्तता आउँछ । यस्तो अवस्थामा एउटामा भएको कमीलाई अर्को पांग्राले सन्तुलन मिलाउनुपर्छ । सन्तुलन मिलाउने सामर्थ्य जब हुँदैन, रथको अगाडिको यात्रा त्यहीनेर बन्द हुन्छ ।
आर्थिक वर्ष २०७९/८० मा देशभरका जिल्ला, उच्च र सर्वोच्च अदालतहरूमा सरदर ४० हजार मुद्दा दर्ता भएका थिए । यस्ता घटनाक्रमहरूको तीव्रताले विवाह संस्थामा ठूलो धक्का पुगेको छ, जसको प्रभाव समग्र समाजमा प्रत्यक्ष रूपमा पर्ने नै भयो ।
विवाहलाई सामान्य लिनु हुँदैन । धेरै सोचविचार गरेर निर्णयमा पुग्ने विषय हो । विवाहका लागि योग्य व्यक्ति आफूका लागि योग्य हो/होइन भन्ने पक्षहरूमा ध्यान पुर्याउनुपर्छ । शिक्षाको स्तर, उमेर, पारिवारिक संरचना, आर्थिक स्तर, धर्म, संस्कार, समुदाय, वर्ग, पेसालगायतका पक्षहरू अनुकूल छन् त ? जानकारी लिनुपर्छ । जीवनमा सबै किसिमका विषय पढ्न सहज छ तर मानवीय विषय पढ्न गाह्रो छ । सम्भव भएसम्म मानिसका व्यवहार, स्वभावजस्ता विषयहरूको जानकारी लिएर मात्र अगाडि बढ्नुपर्छ ।
अरूलाई हेर्दा आफ्नालाई हेर्न बिर्सन हुँदैन । अरूका खोट तथा कमजोरी केलाइरहँदा आफ्ना खोट तथा कमजोरी के–के छन् हेर्न सक्नुपर्छ । एकअर्कामा भएका सबल र कमजोर पक्षको विश्लेषण गरी निर्णयमा पुग्नुपर्छ ।
विवाहमा यो नै वा त्यो नै हुनुपर्छ भन्ने मापदण्ड हुँदैन । सबैले खोजेजस्तो र रोजेजस्तो व्यक्ति भेटिन्छ र विवाह गर्ने भन्ने सायद हुँदैन । पर्याप्त मापदण्डहरूमध्ये मुख्य मापदण्ड छन् भने बाँकी सम्झौता गरी अगाडि बढ्नुपर्छ । केही पक्षहरू विवाहअघि सम्झौता गरिन्छ भने विवाहपछि । दुवै पक्षको जति धेरै सम्झौता उति गहिरो प्रेमसम्बन्ध बढ्दै जान्छ । सम्झौता गर्ने क्षमताको विकासले नै विवाह र वैवाहिक जीवन अगाडि बढ्छ । यदि सम्झौता गर्न नसक्ने हो भने कसैको वैवाहिक सम्बन्ध रहँदैन । वैवाहिक जीवनका सफल अनुभवीहरू भन्छन्– सम्झौताबिनाको वैवाहिक जीवनको सफलता अकल्पनीय मानिन्छ ।
उल्लेखित विषयहरूको अध्ययन विश्लेषण तथा जानकारीबिना हतारमा जब विवाह गरिन्छ तब फुर्सद निकालेर सम्बन्धविच्छेद गर्न अदालत धाउनुपर्ने समय आउँछ । विशेष गरी मागीविवाहको तुलनामा प्रेमविवाहमा सम्बन्धविच्छेदका घटनाक्रमहरू बढी भएको देखिन्छ । व्यक्ति स्वयं र परिवारको सहमतिमा जोडिएको सम्बन्धमा दरार आउनु भनेको सोचको अपरिपक्वता हो । परिपक्व मनस्थितिमा विवाह गरी अनुकूल परिस्थिति बनाई जीवन अगाडि बढाउन सक्नुपर्छ ।
हाम्रो समाज, धर्म, संस्कार, पितृ सत्ताको जगमा अडेको छ । हाम्रा मानसिकताहरूलगायत सबै पक्षहरूले सम्बन्धविच्छेद एउटा सहस्र रूपमा लिँदैन त्यसैले सम्बन्धविच्छेद गर्नुअघि सोच्नुपर्ने पक्षहरू छन् ।
(क) विचार नमिल्ने विषय : नमिलेका विषयहरूको बुझाइ कसको कति छ ? विषयको अध्ययन गर्ने कमीकमजोरी पत्ता लागाउने आत्मानुभूति गर्ने यति गर्दा पनि भएन भने बाटो सफा छँदै छ ।
(ख) वातावरण प्रतिकूल : वातावरण अनुकूल वा प्रतिकूल कस्तो छ हेर्नुपर्छ । शारीरिक सुरक्षामा नै खतरा छ भन्ने विचार पुर्याउनुपर्छ । यदि प्रतिकूल वातावरण छैन भने हतारमा निर्णयमा पुग्नु हुँदैन
(ग) प्रभावित पक्ष : दुई पक्षबीचको असमझदारीले तेस्रो पक्ष प्रभावित हुनु राम्रो होइन । आजका दिनमा बुबाआमाको सम्बन्ध बिग्रिएर छोराछोरीमा नकारात्मक प्रभाव परेका उदाहरणहरू प्रशस्तै देखिन्छन् । यस्तो कर्म गर्ने छुट बुबाआमालाई हुँदैन
(घ) समयको विश्लेषण : भनिन्छ, अघि हेर्नु चार हात, पछि हेर्नु बाह्र हात । भोलिसम्मको यात्रामा सम्बन्धविच्छेदले पार्ने प्रभाव हेर्नुपर्छ । शरीर, सोच, अवस्था सधैं एकैनाश रहँदैन र हुँदैन पनि । दु:ख र कमजोर हुनासाथ प्यारो हुन्छ र लाग्छ पनि । यस्ता विषय सोच्न बिर्सनु हुँदैन ।
(ङ) उचित समय : परिवर्तनले भइरहेको अवस्थाभन्दा राम्रो हुने अवस्था त्यति नै बेला आवश्यक हो भने स्वीकार गर्नुपर्छ । यदि भइरहेको अवस्थाभन्दा नाजुक अवस्थामा रहने हो भने त्यसको अर्थ हुँदैन । जीवनको यात्रामा हुने जोड–घटाउको हिसाब गरेर उचित समयमा गरिएको निर्णय प्रभावकारी बन्छ । जहाँ हिसाबको नतिजा नकारात्मक नआएको होस् । उचित समयमा गरिएको निर्णयले मात्र सकारात्मक नतिजा दिन सक्छ ।
अपवाद छोडेर विवाह भइसकेपछि सायद कोही जोडी पनि सम्बन्धविच्छेद चाहँदैन होला । तर विभिन्न कारण र परिस्थितिहरूले यो अवस्थामा ल्याउँछ र सहयात्रा टुंग्याउन बाध्य बन्छ । समय गतिशील छ । व्यक्तिका बारेमा पर्याप्त स्रोत र समय प्रयोग गरी जानेर बुझेर विवाहसम्म पुग्नुपर्छ । विवाहपछि दुवै पक्षले भनेजस्तो सबै पूर्ण हुँदैन ।
जीवनलाई सार्थक बनाउन हदैसम्मको सम्झौता आवश्यक हुन्छ । विवाह एउटा सामाजिक संस्था भएकाले सामाजिक सन्तुलनका लागि पनि जति बढी सम्झौता उति जीवन सहज बन्ने हुँदा सामर्थ्यले भ्याएसम्म सम्बन्ध जोगाएर अगाडि बढ्नुपर्छ ।
