हतारको बिहे, फुर्सदको पारपाचुके 

बुबाआमाको सम्बन्ध बिग्रिएर छोराछोरीमा नकारात्मक प्रभाव परेका उदाहरणहरू प्रशस्तै देखिन्छन्, यस्तो कर्म गर्ने छुट बुबाआमालाई हुँदैन

वैशाख ३, २०८२

दुर्गा कुमारी कँडेल

Hasty marriage, free time

विवाहलाई मानिसको जीवनको एउटा महत्त्वपूर्ण पाटोका रूपमा लिने गरिन्छ । यसले नै मानिसको जीवनको भोगाइलाई कहाँ र कसरी अगाडि बढ्ने र बढाउने निर्दिष्ट गर्दछ । सामान्यतः एउटा निश्चित उमेरमा विवाहको गरिन्छ । नेपालमा मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुष तथा महिलाको न्यूनतम उमेर २० वर्ष र अभिभावकको सहमतिमा विवाह गर्न मिल्ने न्यूनतम उमेर १८ वर्ष तोकिएको छ ।

व्यवस्थित विवाह, प्रेमविवाह, अन्तरजातीय विवाह, गन्धर्व विवाह, बहुविवाह, बालविवाहलगायतका विवाह संस्कार नेपालमा चलनचल्तीमा रहेको पाइन्छ । बालविवाह, बुहविवाह कानुनी रूपमा बन्देज छ । 

विवाह गर्ने समयमा एकअर्काको परिवार, समाज, व्यक्ति स्वयंका विचार, भावना, पारिवारिक संस्कार, परिस्थिति, स्तरलगायत विषयहरू आफूअनुकूल छन्/छैनन् ? घरपरिवारको वातावरण सुहाउँदो छ/छैन ? जस्ता विषयमा पहिले नै मानसिक रूपमा तयार हुनुपर्छ ।

विवाहपछि मानिस सामाजिक कानुनी, धार्मिक, सांस्कृतिक रूपमा स्वतन्त्र तथा अविवाहितभन्दा फरक हुन्छ र हुनुपर्छ । सोच, स्वभाव, सम्बन्ध, व्यवहारलगायत अन्य क्रियाकलापहरूमा विवाह गर्ने पुरुष तथा महिलाहरू परिवर्तन हुनुपर्छ । विवाहसँगै जोडिने विषय भनेको एकअर्काप्रतिको जिम्मेवारी र जवाफदेहिता हो । यसबाहेक घरपरिवार समाज, समुदाय त्यसपछिका पक्षहरू रहन्छन् ।

 विवाह बन्धनमा रहेका केही अनुभवीहरूले भन्ने गर्दछन्– विवाह खाँदा पनि तितो नखाँदा पनि तितो विषय हो ।’ श्रीमान्श्रीमती एक रथका दुई पांग्रा मानिन्छ । दुवै पांग्रा एकै किसिमका सबल हुन्छन् भन्ने हुँदैन, जीवनलाई पूर्णरूपमा सार्थक बनाउन दुवै पांग्राको भूमिका उत्तिकै महत्त्व रहन्छ र समान गतिमा चल्न सक्नुपर्छ । जब एउटा पांग्रा केही कमजोर बन्छ, रथको गतिमा अवरोध तथा सुस्तता आउँछ । यस्तो अवस्थामा एउटामा भएको कमीलाई अर्को पांग्राले सन्तुलन मिलाउनुपर्छ । सन्तुलन मिलाउने सामर्थ्य जब हुँदैन, रथको अगाडिको यात्रा त्यहीनेर बन्द हुन्छ । 

आर्थिक वर्ष २०७९/८० मा देशभरका जिल्ला, उच्च र सर्वोच्च अदालतहरूमा सरदर ४० हजार मुद्दा दर्ता भएका थिए । यस्ता घटनाक्रमहरूको तीव्रताले विवाह संस्थामा ठूलो धक्का पुगेको छ, जसको प्रभाव समग्र समाजमा प्रत्यक्ष रूपमा पर्ने नै भयो ।

विवाहलाई सामान्य लिनु हुँदैन । धेरै सोचविचार गरेर निर्णयमा पुग्ने विषय हो । विवाहका लागि योग्य व्यक्ति आफूका लागि योग्य हो/होइन भन्ने पक्षहरूमा ध्यान पुर्‍याउनुपर्छ । शिक्षाको स्तर, उमेर, पारिवारिक संरचना, आर्थिक स्तर, धर्म, संस्कार, समुदाय, वर्ग, पेसालगायतका पक्षहरू अनुकूल छन् त ? जानकारी लिनुपर्छ । जीवनमा सबै किसिमका विषय पढ्न सहज छ तर मानवीय विषय पढ्न गाह्रो छ । सम्भव भएसम्म मानिसका व्यवहार, स्वभावजस्ता विषयहरूको जानकारी लिएर मात्र अगाडि बढ्नुपर्छ । 

अरूलाई हेर्दा आफ्नालाई हेर्न बिर्सन हुँदैन । अरूका खोट तथा कमजोरी केलाइरहँदा आफ्ना खोट तथा कमजोरी के–के छन् हेर्न सक्नुपर्छ । एकअर्कामा भएका सबल र कमजोर पक्षको विश्लेषण गरी निर्णयमा पुग्नुपर्छ ।

 विवाहमा यो नै वा त्यो नै हुनुपर्छ भन्ने मापदण्ड हुँदैन । सबैले खोजेजस्तो र रोजेजस्तो व्यक्ति भेटिन्छ र विवाह गर्ने भन्ने सायद हुँदैन । पर्याप्त मापदण्डहरूमध्ये मुख्य मापदण्ड छन् भने बाँकी सम्झौता गरी अगाडि बढ्नुपर्छ । केही पक्षहरू विवाहअघि सम्झौता गरिन्छ भने विवाहपछि । दुवै पक्षको जति धेरै सम्झौता उति गहिरो प्रेमसम्बन्ध बढ्दै जान्छ । सम्झौता गर्ने क्षमताको विकासले नै विवाह र वैवाहिक जीवन अगाडि बढ्छ । यदि सम्झौता गर्न नसक्ने हो भने कसैको वैवाहिक सम्बन्ध रहँदैन । वैवाहिक जीवनका सफल अनुभवीहरू भन्छन्– सम्झौताबिनाको वैवाहिक जीवनको सफलता अकल्पनीय मानिन्छ ।

उल्लेखित विषयहरूको अध्ययन विश्लेषण तथा जानकारीबिना हतारमा जब विवाह गरिन्छ तब फुर्सद निकालेर सम्बन्धविच्छेद गर्न अदालत धाउनुपर्ने समय आउँछ । विशेष गरी मागीविवाहको तुलनामा प्रेमविवाहमा सम्बन्धविच्छेदका घटनाक्रमहरू बढी भएको देखिन्छ । व्यक्ति स्वयं र परिवारको सहमतिमा जोडिएको सम्बन्धमा दरार आउनु भनेको सोचको अपरिपक्वता हो । परिपक्व मनस्थितिमा विवाह गरी अनुकूल परिस्थिति बनाई जीवन अगाडि बढाउन सक्नुपर्छ । 

हाम्रो समाज, धर्म, संस्कार, पितृ सत्ताको जगमा अडेको छ । हाम्रा मानसिकताहरूलगायत सबै पक्षहरूले सम्बन्धविच्छेद एउटा सहस्र रूपमा लिँदैन त्यसैले सम्बन्धविच्छेद गर्नुअघि सोच्नुपर्ने पक्षहरू छन् । 

(क) विचार नमिल्ने विषय : नमिलेका विषयहरूको बुझाइ कसको कति छ ? विषयको अध्ययन गर्ने कमीकमजोरी पत्ता लागाउने आत्मानुभूति गर्ने यति गर्दा पनि भएन भने बाटो सफा छँदै छ । 

(ख) वातावरण प्रतिकूल : वातावरण अनुकूल वा प्रतिकूल कस्तो छ हेर्नुपर्छ । शारीरिक सुरक्षामा नै खतरा छ भन्ने विचार पुर्‍याउनुपर्छ । यदि प्रतिकूल वातावरण छैन भने हतारमा निर्णयमा पुग्नु हुँदैन 

(ग) प्रभावित पक्ष : दुई पक्षबीचको असमझदारीले तेस्रो पक्ष प्रभावित हुनु राम्रो होइन । आजका दिनमा बुबाआमाको सम्बन्ध बिग्रिएर छोराछोरीमा नकारात्मक प्रभाव परेका उदाहरणहरू प्रशस्तै देखिन्छन् । यस्तो कर्म गर्ने छुट बुबाआमालाई हुँदैन 

(घ) समयको विश्लेषण : भनिन्छ, अघि हेर्नु चार हात, पछि हेर्नु बाह्र हात । भोलिसम्मको यात्रामा सम्बन्धविच्छेदले पार्ने प्रभाव हेर्नुपर्छ । शरीर, सोच, अवस्था सधैं एकैनाश रहँदैन र हुँदैन पनि । दु:ख र कमजोर हुनासाथ प्यारो हुन्छ र लाग्छ पनि । यस्ता विषय सोच्न बिर्सनु हुँदैन ।

(ङ) उचित समय : परिवर्तनले भइरहेको अवस्थाभन्दा राम्रो हुने अवस्था त्यति नै बेला आवश्यक हो भने स्वीकार गर्नुपर्छ । यदि भइरहेको अवस्थाभन्दा नाजुक अवस्थामा रहने हो भने त्यसको अर्थ हुँदैन । जीवनको यात्रामा हुने जोड–घटाउको हिसाब गरेर उचित समयमा गरिएको निर्णय प्रभावकारी बन्छ । जहाँ हिसाबको नतिजा नकारात्मक नआएको होस् । उचित समयमा गरिएको निर्णयले मात्र सकारात्मक नतिजा दिन सक्छ ।

अपवाद छोडेर विवाह भइसकेपछि सायद कोही जोडी पनि सम्बन्धविच्छेद चाहँदैन होला । तर विभिन्न कारण र परिस्थितिहरूले यो अवस्थामा ल्याउँछ र सहयात्रा टुंग्याउन बाध्य बन्छ । समय गतिशील छ । व्यक्तिका बारेमा पर्याप्त स्रोत र समय प्रयोग गरी जानेर बुझेर विवाहसम्म पुग्नुपर्छ । विवाहपछि दुवै पक्षले भनेजस्तो सबै पूर्ण हुँदैन ।

जीवनलाई सार्थक बनाउन हदैसम्मको सम्झौता आवश्यक हुन्छ । विवाह एउटा सामाजिक संस्था भएकाले सामाजिक सन्तुलनका लागि पनि जति बढी सम्झौता उति जीवन सहज बन्ने हुँदा सामर्थ्यले भ्याएसम्म सम्बन्ध जोगाएर अगाडि बढ्नुपर्छ ।

दुर्गा

Link copied successfully